राजुली नगरअस्पतालमा पहिलोपटक ‘वासिङ मेसिन’ राखिएपछि...
सारांश
- कालिकोटको राजुली नगर अस्पतालमा रेडक्रसले वासिङ मेसिन उपलब्ध गराएपछि सुत्केरी र शिशुको कपडा धुने समस्या हटेको छ।
- चिसो मौसममा हातैले लुगा धुनुपर्ने बाध्यताबाट मुक्ति मिल्दा नर्सिङ स्टाफ र सेवाग्राही खुसी भएका छन्।
- नगर प्रमुखको पहलमा वासिङ मेसिन, हिटर, कुर्सी र पानी प्रशोधन उपकरण अस्पतालले प्राप्त गरेको छ।
कालिकोट । कालिकोटको चिसो मौसम, त्यसमा पनि बर्थिङ सेन्टरमा सुत्केरी र नवजात शिशुका कपडा धुनुपर्ने बाध्यता। राजुली नगर अस्पतालमा कार्यरत नर्सिङ इन्चार्ज अञ्जना धामी र उनको टोलीका लागि यो नियमित जसोको सास्ती थियो।
हातै काटिने गरी चिसो पानीमा कपडा धोए पनि घाम नलाग्दा कपडा सुक्दैनथे, जसले गर्दा संक्रमणको डर उत्तिकै हुन्थ्यो। तर अब राजुली अस्पतालको यो पीडादायी अवस्था अन्त्य भएको छ।
नेपाल रेडक्रस सोसाइटी कालिकोट शाखाले लक्जम्बर्ग रेडक्रसको सहयोगमा अस्पताललाई १२ केजी क्षमताको 'वासिङ मेसिन' उपलब्ध गराएपछि त्यहाँका कर्मचारी र सेवाग्राहीमा खुसीयाली छाएको छ। नगर प्रमुख शङ्करप्रसाद उपाध्यायको विशेष पहलमा अस्पतालले वासिङ मेसिनसँगै इलेक्ट्रिक हिटर, बिरामी कुरुवाका लागि कुर्सी र पानी प्रशोधन उपकरण समेत प्राप्त गरेको हो। यसअघि नर्सिङ स्टाफ र सुत्केरीका आफन्तले हिउँ पर्ने मौसममा समेत हातैले लुगा धुनुपर्ने बाध्यता थियो।
अस्पतालकी नर्सिङ इन्चार्ज धामीका अनुसार वासिङ मेसिन सुन्दा सानो सहयोग लागे पनि यसले सेवाको गुणस्तरमा ठुलो प्रभाव पार्नेछ। हिउँदका समयमा सुकेका कपडामा ढुसी पर्ने र त्यसले बिरामीमा थप सङ्क्रमण फैलाउने जोखिम अब हटेको छ। कर्णाली राजमार्ग नजिकै रहेको यो १० शय्याको अस्पतालले दुर्गम बस्तीका सुत्केरीलाई सेवा दिँदै आएको छ। गत आर्थिक वर्षमा मात्रै यहाँ ५४ जनाले सुत्केरी सेवा लिएका थिए।
रेडक्रसले अस्पताललाई मात्र नभई तिलागुफा नगरपालिकाका विभिन्न वडामा खानेपानी, सरसफाइ र विपद् जोखिम न्यूनीकरणका क्षेत्रमा पनि काम गरिरहेको छ। बाढीले पुल बगाएको र भौगोलिक रूपमा अत्यन्तै विकट रहेको यो क्षेत्रमा स-साना प्रविधिको सहयोगले पनि स्थानीयको जीवन सहज बनाउन ठुलो भूमिका खेलेको छ। नगर प्रमुख उपाध्यायले रेडक्रसको यो सहयोगलाई ‘विपद्को साथी’ भन्दै प्रशंसा गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिमी न्यून चापीय रेखा तर स्थानीय वायुको प्रभाव कायमै, आज सातै प्रदेशमा वर्षाको सम्भावना
-
वैदेशिक रोजगार त्यागेका युवालाई पशुपालनबाट सफलता
-
सौर्य ऊर्जाले उज्यालियो खयरकन्द्रा होमस्टे, पर्यटक सेवामा सुधार
-
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
-
‘एयर पोलुसन स्टेसन’ले राप्तीमा सहज
-
मंगलबार यी राशिहरुकाे लागि शुभ, हेर्नुहाेस् राशिफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण