शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

सन् २०२५ मा बलिउड : ५ खलनायकको दबदबा

सोमबार, ०७ पुस २०८२, १३ : ३२
सोमबार, ०७ पुस २०८२

सारांश

  • सन् २०२५ मा बलिउड फिल्ममा दमदार खलनायकको भूमिका निर्वाह गर्ने ५ कलाकारको चर्चा गरिएको छ।
  • अक्षय खन्ना, रणदीप हुड्डा, रितेश देशमुख, फरदीन खान र नवाजुद्दीन सिद्दीकीले विभिन्न फिल्ममा खलनायकको भूमिका निभाएका छन्।
  • यी कलाकारहरूले दर्शकको मन जित्ने खालका अभिनय प्रस्तुत गरेका छन्, जसले उनीहरूको चर्चा बढाएको छ।

मुम्बई । सन् २०२५ बिदा हुने तरखरमा छ । फिल्म पारखीका लागि यो वर्ष निकै उत्साहजनक रह्यो । वर्षको अन्त्य (अहिले) ‘धुरन्धर’ले दर्शकलाई भरपुर मनोरञ्जन दिइरहेको छ । यो वर्ष कयौँ यस्ता फिल्म रिलिज भए, जसमा मुख्य अभिनेता (हिरो)को चर्चा त भयो नै खलनायक (भिलेन) को पनि उस्तै चर्चा  भयो । सन् २०२५ मा बलिउड फिल्ममा दमदार खलनायक अभिनयले दर्शकको मन जित्ने यी ५ कलाकारबारे यहाँ चर्चा गरिएको छ ।

अक्षय खन्ना 

आदित्य धर निर्देशित फिल्म ‘धुरन्धर’ अहिले चर्चामा छ । गत ५ डिसेम्बरमा रिलिज भएको फिल्ममा रणवीर सिंह मुख्य भूमिकामा छन् । तर अक्षय खन्नाले ‘रहमान डकैत’को भूमिका निर्वाह गर्दै यो फिल्मबाट सबैमा ध्यान आफूतिर खिच्न सफल भएका छन् । उनको खौफनाक चरित्रलाई यति जीवन्त ढङ्गले प्रस्तुत गरेका छन् कि दर्शकहरू उनको अभिनयको फिदा भएका छन् । विशेषगरी फिल्ममा रहेको उनको नृत्य सामाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

रणदीप हुड्डा 

सनी देओल अभिनित फिल्म ‘जाट’मा रणदीप हुड्डा ‘राणातुंगा’को भूमिकामा देखिएका छन् । यो भूमिकामा उनले देखाएको जङ्गलीपन र शारीरिक शक्तिले दर्शकहरूलाई स्तब्ध बनायो । एक्सन फिल्मका सौखिनहरूले रणदीपको कामलाई निकै रुचाएका छन् । नायकको अगाडि एक बलियो प्रतिपक्षीको रूपमा उनले आफूलाई अब्बल साबित गरेका छन् । 

रितेश देशमुख 

अजय देवगन अभिनित फिल्म ‘रेड २’ मा रितेश देशमुखले सबैलाई चकित पारिदिएका छन् । प्रायः हास्य भूमिका लागि चिनिने रितेश यसपटक एक भ्रष्ट र धूर्त केन्द्रीय मन्त्री ‘दादा मनोहर भाइ’को गम्भीर र भिलेन भूमिकामा देखिए । उनको यो नयाँ रूप देखेर दर्शक र समीक्षक दुवै अचम्मित छन् । 

फरदीन खान 

मल्टीस्टारर कमेडी फिल्म ‘हाउसफुल ५’ मा फरदीन खान एउटा फरक र डरलाग्दो रूपमा देखिए ‘देव डोबरियाल’को भूमिकामा । भूमिका मार्फत उनले जुन सस्पेन्स सिर्जना गरे, त्यसको सर्वत्र प्रशंसा भइरहेको छ । फिल्मको अन्त्यमा उनी खलनायकको रूपमा बाहिर आउनु यो वर्षको फिल्मको सबैभन्दा ठुलो ट्वीस्ट मानिएको छ।

नवाजुद्दीन सिद्दीकी

म्याडक फिल्मस्को हलिउड–कमेडी विधाको फिल्म ‘थामा’मा नवाजुद्दीन सिद्दीकी ‘यक्षासन’को अवतारमा देखिए। उनको भयानक हाँसो र प्रभावशाली अभिनयले फिल्म दर्शकको मनमा छाउन सफल रह्यो । चर्चाको हिसाबले यस फिल्मका मुख्य नायक आयुष्मान खुरानाभन्दा पनि नवाजकै अभिनयको बढी भयो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप