देउवासँगै छ शक्ति, कांग्रेसभित्र र बाहिरका पुग्छन् भेट्न
काठमाडौँ । जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते आफ्नै निवास बूढानीलकण्ठमा धर्मपत्नी डा. आरजु राणा देउवासहित कुटिएका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा त्यसपछि एक महिनासम्म सार्वजनिक भएनन् । लामो समय छाउनीस्थित सैनिक अस्पतालमा उपचार गरेर ‘गुप्तबास’ बसेका देउवा असोज २८ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा पार्टीको केन्द्रीय कार्यसमिति बैठकको अध्यक्षता गर्न सार्वजनिक भए ।
केन्द्रीय समिति बैठकको सुरुवात लिखित मन्तव्य राखेर गरेका देउवाले त्यसैदिन उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी सुम्पिए । पार्टीमा कार्यवाहक जिम्मेवारी दिएपछि देउवा श्रीमती तथा पार्टी केन्द्रीय सदस्य डा. आरजु राणालाई लिएर थप उपचारका लागि सिंगापुर गए । कात्तिक १० गते सिंगापुर उडेका देउवा दम्पती १८ दिनपछि कात्तिक २८ गते नेपाल फर्किएका थिए ।
फर्केपछि पनि देउवा सक्रिय राजनीतिमा छैनन् । कांग्रेस बैठकको अध्यक्षता र गर्ने निर्णय कार्यवाहक सभापतिको हैसियतमा खड्काले गर्दै आएका छन् । दलीय बैठक र कार्यक्रममा पनि देउवा सहभागी भएका छैनन् ।
खड्काको अध्यक्षतामा बसेको केन्द्रीय कार्यसमिति बैठकले मंसिर १५ गते पार्टीको १५ औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरिसकेको छ । कांग्रेस विधान अनुसार अर्को कार्यकालका लागि देउवा सभापति बन्न पाउँदैनन् । देउवा स्वयंले पनि अब महाधिवेशनबाट सभापति नबन्ने घोषणा सार्वजनिक रूपमा गरिसकेका छन् ।
_7m2Y5dF8K7.jpg)
२०८० जेठ २० गते शनिबार कांग्रेस जिल्ला कार्यसमिति ललितपुरको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै देउवाले आफ्नो सभापतिमा रहेर काम गर्ने कार्यकाल यो नै अन्तिम रहेको बताएका थिए । ‘गाली गरेर कहाँ पार्टी बन्छ । लडाइँ गर्ने हो ? अप्ठ्यारोमा गयो भने के गर्ने ? अहिले पार्टीलाई मजबुत बनाउने हो, मैले पार्टी ठुलो बनाइहालेँ । अब त मैले सहयोग गर्ने हो, पार्टी सभापति हुने होइन,’ देउवाले त्यो कार्यक्रममा भनेका थिए । त्यति मात्रै होइन, देउवाले पार्टीभित्रका छलफल र अन्य सार्वजनिक कार्यक्रमहरूमा पनि आफू सभापति नहुने बताइरहेका छन् ।
तर पछिल्लो समय कांग्रेस राजनीति देउवाको वरिपरि नै घुमिरहेको छ । कार्यवाहक सभापतिको जिम्मेवारी दिएपनि पार्टीभित्रको विवाद मिलाउने मियो देउवा बनिरहेका छन् । नेताहरू लावालस्कर लगाएर देउवालाई नै भेट्न पुगिरहेका हुन्छन् ।
महाधिवेशनको मिति निर्क्योल गर्ने विषयमा पनि पार्टीभित्रको संस्थापन र इतर समूहबीच विवाद थियो । संस्थापनले फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनपछि महाधिवेशन गर्नुपर्ने बताइरहेको थियो । इतर समूह त्यसमाथि पनि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कुनै पनि हालतमा निर्वाचन अगाडि महाधिवेशन हुनुपर्ने बताइरहेका थिए । दुई महामन्त्रीको अगुवाइमा विशेष महाधिवेशनका लागि २ हजार ४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षर कार्यवाहक सभापति खड्कालाई बुझाएपछि देखिएको विवाद पनि देउवाले अनौपचारिक रूपमा छलफल गरेर मिलाएको नेताहरू स्वीकार्छन् ।
पार्टीभित्रका मात्रै होइन, बाहिरका नेताहरू पनि सभापतिका हैसियतमा देउवालाई भेट्न पुगिरहेका हुन्छन् । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २० दिनको अन्तरालमा देउवालाई उनकै निवास महाराजगञ्जमा पुगेर दुई पटक भेट गरिसके ।

मंसिर १९ गते श्रीमती राधिका शाक्यलाई लिएर देउवा भेट्न उनकै निवास महाराजगञ्ज नै पुगेका ओली पुस ७ गते पार्टी महासचिव शंकर पोखरेललाई देउवा भेट्न महाराजगञ्ज नै पुगे ।
ओली मात्रै होइन, नवगठित नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि देउवालाई उनकै निवास महाराजगञ्जमा पुगेर भेटेका छन् । आफूले कहिले भेटेको हो भन्ने नखुलाएपनि केही दिनअघि उनकै निवासमा पुगेर भेटेको प्रचण्डले एक अन्तर्वार्तामा बताएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले पनि पुस ८ गतेको छलफलका लागि कांग्रेस सभापतिको हैसियतमा देउवालाई नै बोलाए । कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले पार्टीभित्र र बाहिरका नेताहरू मुख्य नेता भएर सभापति देउवाकोमा पुगिरहेको बताउँछन् ।

‘सभापति त उहाँ (देउवा) नै हो नि महाधिवेशन नआउँदासम्म,’ प्रवक्ता डा. महतले रातोपाटीसँग भने, ‘सभापतिको हैसियतमा नेता मानेर पार्टीभित्रका साथीहरू पुगिरहनुभएको छ । पार्टी बाहिरका कांग्रेसको मूल नेता उहाँ नै हो भनेर भेट्न गएका हुन् नि ।’
प्रवक्ता डा. महतले पार्टीमा त उहाँ (देउवा)ले कार्यवाहक सभापतिको जिम्मेवारी दिइसक्नुभयो नि भन्ने रातोपाटीको प्रश्नमा भने, ‘कार्यवाहक त डे–टु–डे काम गर्नका लागि दिइएको हो । महाधिवेशनसम्म मूल नेता त उहाँ नै हो, त्यसकारण मूल नेताकहाँ गइहाल्ने भए नि ।’
राजनीतिक विश्लेषक भीम भुर्तेल भने आन्दोलन गर्ने प्रयत्नका लागि ओलीले देउवालाई भेटेको हुनसक्ने बताउँछन् ।
‘उनीहरू (देउवा–ओली)को नेतृत्वमा कांग्रेस–एमालेले शान्तिपूर्ण तरिकाले एक–दुई लाख मान्छे सडकमा निकाले भने फेरि हाम्रो राष्ट्रपतिले राजनीतिक निर्णय भनेर उल्ट्याउन सक्छन् । अदालतले भने केही गर्न सक्दैन,’ भूर्तेलले रातोपाटीसँग भने, ‘मलाई लाग्छ त्यही भएर एकचोटि जनप्रदर्शनको तयारी गर्ने प्रयत्न गर्न ओली–देउवाबिच भेट भएको हुनसक्छ ।’
राजनीतिशास्त्री डा. भेषराज घिमिरे भने अलि फरक धारणा राख्छन् । देउवाले आफ्नो पद नछोडेकाले कांग्रेस र बाहिरका नेताहरू देउवालाई भेट्नु स्वाभाविक भएको उनको भनाइ छ । ‘कांग्रेस सभापति शेरबहादुर देउवाले पद छोड्नुभएको होइन । आफ्नै पदमा हुनुहुन्छ । पार्टीभित्रका नेता र बाहिरका नेताले उहाँलाई अहिले पनि डिजुरे र डिफ्याक्टो मानेका छन्,’ डा. घिमिरेले रातोपाटीसँग भने, ‘महाधिवेशन नसकिँदासम्म देउवा नै सभापति हो । पार्टीमा शक्तिशाली उहाँ नै हुनुहुन्छ । उपसभापति खड्कालाई त काम गर्दै गर भनेर कार्यवाहक दिनुभएको हो । तपाईंले सक्नुभएन, म फर्किएँ पनि भन्न सक्नुहुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी ६ प्रदेशमा भारी वर्षाको सम्भावना
-
पूर्व सहमति नलिई सवारीसाधन खरिद गर्न नपाइने
-
यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर
-
जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु
-
कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजकाे राशिफल
-
सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण