शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

सरस्वती क्याम्पसमा प्रत्येक शुक्रबार एआईको पढाई

बुधबार, ०९ पुस २०८२, १४ : २१
बुधबार, ०९ पुस २०८२

सारांश

  • सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा पत्रकारिताका विद्यार्थीहरूलाई एआईको अध्ययन सुरु भएको छ।
  • एआईका अध्येता जीवन भण्डारीले एआईको इतिहास, प्रयोग र सम्भावनाबारे विद्यार्थीहरूलाई जानकारी गराउँदै आएका छन्।
  • विद्यार्थीहरू एआई कक्षामा नयाँ कुरा सिक्न पाएकोमा उत्साहित छन् र यसले गीत बनाउन समेत सिकाएको अनुभव सुनाए।

काठमाडौँ । सोह्रखुट्टेस्थित सरस्वती बहुमुखी क्याम्पसमा आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) पढाई हुन थालेको छ ।

विएसडब्लु अन्तर्गत पत्रकारिता तथा आमसञ्चार अध्ययन गरिरहेका स्नातक प्रथम वर्षका विद्यार्थीहरूलाई एआई पढाउन थालिएको हो ।

क्याम्पसमा अध्यापनरत एआईका अध्येता तथा अभ्यासकर्ता जीवन भण्डारीले पाठ्यक्रममा नभएपनि हरेक शुक्रबार विद्यार्थीहरूलाई एआईका बारेमा अध्ययन गराउन थालेको जानकारी दिए ।

मिडियामा एआईको प्रयोगका सम्बन्धमा दुई दर्जनभन्दा बढी जिल्लाका सयौँ पत्रकारहरूलाई प्रशिक्षण दिइसेका भण्डारीले विद्यार्थीहरूलाई एआईको इतिहास, परिभाषा, वहुआयामिकता, मिडियामा यसको प्रयोग, प्रभाव र सम्भावनाका बारेमा जानकारी दिने गरेको बताएका छन् ।

उनका अनुसार एआईको क्लास हुनेदिन विद्यार्थीहरूमा फरक खालको उत्साह र उत्सुकता देखिने गरेको छ । ‘कक्षामा आफूले मात्रै सिकाउने भन्दा पनि एआईका बारेमा सबैले जानेका कुरा एक अर्कालाई सिकाउने वा एआईका विभिन्न प्रयोगहरूलाई देखाएर छलफल चलाउने गरिएको छ’, भण्डारीको भनाइ छ ।

एआई कक्षमा सहभागी दिपा परियारले नयाँ कुरा सिक्न पाएकोमा खुसी लागेको बताइन् । ‘एआईको बारेमा पढ्ने र सिक्ने चाहना हुँदाहुदै पनि गन्तव्य नभेटेका बेला क्याम्पसमा पढ्ने व्यवस्था मिल्दा खुशी छौँ’, परियारको भनाइ छ ।

अर्का विद्यार्थी निश्चल तामाङले एआई पढेपछि आफैले गीत बनाउन सिकेको बताए । ‘सरले क्लासमा सुनो एआईबाट गीत बनाउन सकिन्छ भन्दै आफूले बनाएका गीतहरू सुनाउनुभयो । मैले पनि तत्कालै सुनो एआई खोलेर प्रयास गरेको गीत बनिहाल्यो, अनि क्लासमै सुनाइदिएँ, हामी सबै दङ्ग भयौँ’ हर्ष मिश्रित स्वरमा तामाङले भने । त्यस्तै पत्रकारिताकी विद्यार्थी स्वस्तिका डङ्गोलले अन्य दिन आउन नभ्याउनेहरू विद्यार्थीहरू पनि एआईको क्लास हुने दिन आउन थालेको बताइन् ।

क्याम्पस प्रमुख डा ठाकुर प्रसाद वाग्लेले पाठ्यक्रममा नभएपनि विद्यार्थीको चाहना अनुसार  समयको आवश्यकता बनेको एआईका बारेमा अध्यापन हुनु आफैमा प्रशंसनीय रहेको बताए ।

विएसडब्लुका संयोजक गिरिन्द्र शाहले पाठ्यक्रममा मात्रै सिमित नभई अहिलेको आवश्यकता, व्यवहारिकता र उपयोगिताका आधारमा नयाँ नयाँ विषयवस्तु समावेश गर्नु पर्ने खाँचो औँल्याए ।

त्रिवि पत्रकारिता केन्द्रीय विभागका प्रमुख डा. कुन्दन अर्याल पनि तत्काल सबै तहमा एआईको बारेमा अध्ययन अध्यापन गराउनु पर्नेमा जोड दिन्छन् । ‘यो अभ्यास अन्य क्याम्पसहरूमा अहिले नियमित रूपमा भएजस्तो लागेको छैन, सबैले गर्नु राम्रो हुन्छ’, अर्यालको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप