२०२६ को आम चुनावमा शेख हसिनाको पार्टी बहिष्कृत
ढाका । बंगलादेशको अन्तरिम सरकारले पूर्वप्रधानमन्त्री शेख हसिनाको पार्टी अवामी लिग फेब्रुअरी २०२६ मा हुने राष्ट्रिय संसदीय चुनावमा भाग लिन नसक्ने स्पष्ट पारेको छ ।
सरकारले पार्टीको गतिविधिमा प्रतिबन्धका कारण चुनाव लड्न अनुमति नदिने बताएको हो ।
पत्रकार सम्मेलनका क्रममा एक पत्रकारले केही अमेरिकी सांसदहरूले अवामी लिगमाथिको प्रतिबन्धबारे चिन्ता व्यक्त गर्दै प्रमुख सल्लाहकारलाई पत्र लेखेको बारे सोधेका थिए । आफूले त्यस्तो कुनै पत्र नदेखेको अनि आफूलाई पत्रबारे थाहा नभएको अन्तरिम सरकारका प्रमुख सल्लाहकारका प्रेस सचिव शफिकुल आलमले भनेका थिए । यद्यपि उनले सरकारको अडान पूर्ण रूपमा स्पष्ट रहेको दोहोर्याएका थिए ।
मे महिनाको सुरुमा अन्तरिम सरकारले अवामी लिग र यसका सबै सम्बद्ध र सहयोगी संस्थाहरूको गतिविधिमा प्रतिबन्ध लगाउने राजपत्र सूचना जारी गरेको थियो । यो सूचना गृह मन्त्रालयको सार्वजनिक सुरक्षा विभागले जारी गरेको थियो । सरकारले यो कारबाही आतंकवाद विरोधी (संशोधन) अध्यादेशअन्तर्गत गरिएको र अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दा पूरा नभएसम्म प्रतिबन्ध लागु रहने बताएको छ ।
हाल अवामी लिगका धेरै नेताहरूले अन्तर्राष्ट्रिय अपराध न्यायाधीकरणमा मुद्दाको सामना गरिरहेका छन् र पार्टीको दर्ता निलम्बित गरिएको छ ।
यता पूर्वप्रधानमन्त्री हसिनाले चुनावबाट बहिष्कारको कडा विरोध गरेकी छिन् । उनले भनेकी छन्, 'अवामी लिगबिनाको चुनाव चुनाव होइन, राज्याभिषेक हुनेछ ।' हसिनाले थपिन्, 'जब मानिसहरूलाई आफ्नो मनपर्ने पार्टीलाई मतदान गर्ने अवसर हुँदैन, तिनीहरूले मतदान नै गर्दैनन् । यदि अवामी लिग प्रतिबन्धित रह्यो भने लाखौं मानिसहरू मतदानबाट वञ्चित हुनेछन् । यस्तो चुनावबाट बनेको सरकारमा शासन गर्ने नैतिक अधिकारको अभाव हुनेछ ।'
बंगलादेशलाई यस समयमा राष्ट्रिय मेलमिलापको आवश्यकता रहेको अनि यो निर्णय ठुलो अवसर गुम्नुजस्तो भएको उनले बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक नियम उल्लङ्घनको अभियोगमा हर्क साम्पाङलाई के भयो कारबाही ?
-
गुजरात जिएम चेसमा पुरूषोत्तम सिलवाल उत्कृष्ट विदेशी दोश्रो खेलाडी घोषित
-
रास्वपा जिल्ला अधिवेशन : मधेसमा सुल्झिएन विवाद, महिलाको उपस्थिति कमजोर
-
सुदूरपश्चिम मन्त्रिपरिषद् पुनर्गठनमा ढिलाइ, शपथका लागि पुगेकाहरू डेढ घण्टादेखि प्रतीक्षामा
-
मन्त्री छनाेटलाई लिएर एमाले सुदूरपश्चिममा विवाद, कार्यालयमा लगाइयाे ताला
-
हर्कराज राईलाई ट्राफिक प्रहरीले गर्यो कारबाही
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण