शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

रुकुम पश्चिममा नेकपाबाट गोपाल शर्माको नाम एकल सिफारिस

लक्ष्मी पुनद्वारा बागी उम्मेदवारीको घोषणा
बिहीबार, १० पुस २०८२, १६ : ४८
बिहीबार, १० पुस २०८२

सारांश

  • नेकपाले रुकुम पश्चिमबाट गोपाल शर्मा 'अनल' लाई प्रतिनिधि सभाको प्रत्यक्षतर्फको चुनावका लागि सिफारिस गरेको छ।
  • नेकपा नेतृ लक्ष्मी पुनले एकल सिफारिसको विरोध गर्दै स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेकी छिन्।
  • पार्टीभित्रै देखिएको विवादका कारण चुनावअघि नै नेकपा रुकुममा भाँडभैलो सुरु भएको छ।

सुर्खेत । माओवादीको आधार भूमि रुकुम पश्चिमबाट नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले गोपाल शर्मा ‘अनल’ को नाम सिफारिस गरेको छ । आगामी फागुनमा हुने प्रतिनिधिसभाको प्रत्यक्षतर्फको चुनावका लागि शर्माको नाम सर्वसम्मतले सिफारिस गरिएको नेकपाकी नेतृ विमला केसीले जानकारी दिइन् ।

उम्मेदवारका लागि रुकुम पश्चिममा बिहीबार नेकपा जिल्ला कार्य समितिको बैठक बसेको थियो । रुकुम पश्चिम जनार्दन शर्मा ‘प्रभाकर’को गृह जिल्ला हो । उनले हाल प्रलोपा नामको छुट्टै पार्टी गठन गरेका छन् । तर, उनकै छत्रछायामा हुर्किएका नेताहरूले प्रचण्डको साथ नछाड्ने बताउँदै नेपाली कम्युनिस्ट पार्टीमा रहेर नै पार्टीका गतिविधि गरिरहेका छन् ।

नेतृ विमला केसीले गोपाल शर्माको नाम सिफारिस भएको भन्दै सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘रुकुम पश्चिममा हामीलाई एउटा चुनौती थियो, त्यो थियो कि कमरेड प्रभाकरको बहिर्गमनपछि रुकुमका सबै नेताहरू पदका लागि आपसमा लड्नेछन् र जसले गर्दा माओवादी केन्द्र ध्वस्त हुनेछ । उनीहरूले कहिल्यै पनि चुनाव जित्न सक्ने छैनन् ।’

बिहीबार बसेको जिल्ला कार्य समितिको बैठकले त्यसको उत्तर शानदार ढङ्गले दिएको उनले बताएकी छिन् । तर, नेकपाकै अर्की नेतृ लक्ष्मी पुनले भने गोपालको नाममा एकल सिफारिस गरिएको प्रति असन्तुष्टि मात्रै होइन, बागी उम्मेदवार नै उठ्ने घोषणा गरिसकेकी छिन् ।

उनले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘कहीँ नभएको जात्रा रुकुम पश्चिममा ! सबै जिल्लाले प्रत्यक्षतर्फ ५ जनासम्म उम्मेदवारहरूको नाम सिफारिस गर्ने बेला, यहाँ एक जनाको मात्र सिफारिस गर्ने कुराप्रति मेरो आपत्ति छ । त्यसैले स्वतन्त्र उठ्ने निर्णय गरेँ ।’

बिहीबार पुनः पुनले ‘इज्जत भनेको महिला र जनजातिले मात्र राख्दिनु पर्ने हो ?’ भन्दै प्रश्न उठाएकी छन् । उनी नेकपाको केन्द्रीय सदस्य समेत हुन् ।

चुनाव नहुँदै नेकपा रुकुमभित्र भाँडभैलो सुरु भएको विश्लेषण हुन थालेको छ । पेसाले पत्रकार लक्ष्मी कुनै बेला जनार्दन शर्मा निकटमा रही उनको प्रेस संयोजकको रूपमा समेत काम गरेकी थिइन् । साथै, नेकपाबाट सिफारिस भएका गोपाल शर्मा प्रभाकरका ‘किचेन क्याबिनेट’ का सदस्यका रूपमा थिए । प्रभाकरकै आशीर्वादले कर्णाली प्रदेशको अर्थमन्त्री समेत रहेका गोपाल पछिल्लो समय उनको साथ छोडेर प्रचण्डतिर लागेका हुन् ।

अन्तिम समयसम्म प्रभाकरकै प्रशंसा गरिरहेका गोपाललाई जब प्रचण्डले एक्लै भेटे, त्यसपछि उनले प्रभाकरसँग दुरी बढाएको स्रोतको दाबी छ । अहिले पनि उनको नाम प्रचण्डकै चाहना अनुसार एकल सिफारिस गरिएको बताइन्छ ।

स्वतन्त्र उम्मेदवार लड्ने घोषणा गरेकी लक्ष्मी पुनले गोपालको नाममा एक सिफारिस गर्ने कुरामा आफ्नो कुनै समर्थन नरहेको रातोपाटीलाई बताइन् । ‘५ जनासम्मलाई सिफारिस गर्न भनिएको थियो, तर उहाँलाई एकल गरे,’ उनले भनिन्, ‘यो कुरा मलाई पहिल्यै थाह थियो ।’ उनी स्वतन्त्र भएर लड्ने कुराबाट आफू ब्याक नभएको पनि बताइन् ।

उनले थपिन्, ‘यहाँ २० वर्षसम्म क–कसलाई बनाउने भनेर सेड्युल बनाइसके । यो समस्या छ ।’ यता नेकपा नेतृ विमला केसीले भने लक्ष्मी पुनले अराजकता देखाएको बताइन् । ‘पार्टी बैठकमा पनि नआउने, गरेका निर्णयमा विरोध गर्ने ?’ उनले भनिन्, ‘उहाँ हाम्रो पार्टीमा भए÷नभएजस्तो छ, अर्को टिमले बखेडा झिक्न पठाएजस्तो छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप