मंसिरमा नेपाली फिल्म बक्स अफिस : लगानी करोड, आम्दानी लाख
सारांश
- मंसिर महिना नेपाली फिल्म बक्स अफिसका लागि असफल रह्यो, किनकि कुनै पनि फिल्मले राम्रो कमाई गर्न सकेनन्।
- विभिन्न फिल्महरूले लगानीको १० प्रतिशत रकम समेत सुरक्षित गर्न सकेनन्, जसले निर्माताहरूलाई ठूलो घाटा पुर्यायो।
- चलचित्र विकास बोर्डको रिपोर्ट अनुसार, अधिकांश फिल्मले अपेक्षित दर्शक पाउन सकेनन् र लगानी उठाउन संघर्ष गरे।
काठमाडौँ । नेपाली फिल्म बक्स अफिसका लागि मंसिर ‘असफल महिना’ साबित भएको छ । किनकि यो महिना प्रदर्शनमा आएका सबै फिल्म बक्स अफिसमा जमेनन् । ‘पीआर’, ‘अभिमन्यु : च्याप्टर १’, ‘हर्ष’, लाेकन्ती र ‘चिराग’ गरेर पाँच फिल्म मंसिरमा रिलिज भए । तर कुनै पनि फिल्मले बक्स अफिसमा सफलताको झन्डा गाड्न सकेनन् । अवस्था यतिसम्म छ, कतिपय फिल्मले त लगानीको १० प्रतिशत रकम समेत सुरक्षित गर्न सकेनन् ।
यस महिना प्रदर्शनमा आएका पाँच फिल्ममा कुल ५ करोड ८५ लाख रुपैयाँ बढी लगानी भएको देखिन्छ । हलबाट भएको कुल आम्दानी (ग्रस कलेक्सन) भने ६१ लाख ६३ हजार रुपैयाँ मात्र छ । यसरी हेर्दा यो महिना ५ करोड २० लाख रुपैयाँ निर्माताको डुबेको छ । हलको सेयर र वितरकको कमिसन काट्दा निर्माताको हातमा आउने रकम अझै घट्छ ।
चलचित्र विकास बोर्डले सोमबार सार्वजनिक गरेको बक्स अफिस रिपोर्ट अनुसार मंसिरको पहिलो साता अर्थात् मंसिर ५ बाट प्रदर्शनमा आएको फिल्म ‘चिराग’ले ८६ हजार ४ सय ५० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्मको टिकट ३३० वटा मात्र बिक्री भएको देखिन्छ । कलाकार त्यागमूर्तिको निर्माण निर्देशन रहेको फिल्मको प्रदर्शनका लागि प्रचारप्रसारसम्म सबै खर्च गर्दा एक करोड ५० लाख लागेको निर्माता निर्देशक त्यागमूति बताउँछन् ।
‘वितरक, हल लगायत कारण फिल्मले लगानी उठाउन सकेन’, उनी भन्छन्, ‘फिल्मले लगानी नउठाएपनि फिल्म क्षेत्रभित्र हुने विभिन्न राजनीति थाहा पाएँ ।’ फिल्मको लगानी स्रोतबाट उठाउने कोसिस रहने उनी बताउँछन् ।
त्यस्तै मंसिर दोस्रो साता अर्थात् मंसिर १२ मा रिलिज फिल्म ‘हर्ष’ले २८ लाख ७८ हजार ५३६ रुपैयाँ ग्रस कलेक्स गरेको छ । एकता पौडेल निर्देशित स्टार कलाकार खगेन्द्र लामिछाने र वर्षा राउत अभिनित फिल्मको ८ हजार ८६६ वटा टिकट बिक्री भएका छन् । निर्माता समेत रहेकी एकताले प्रचारका क्रममा फिल्ममा २ करोड बढी लगानी भएको बताएकी थिइन् । फिल्मले सार्वजनिक प्रदर्शनबाट लगानीको एक तिहाइ पनि उठाउन सकेन ।
मंसिर १८ गतेबाट रिलिज भएको ‘अभिमन्यु : च्याप्टर १’ ले पनि बक्स अफिसमा खासै कमाइ गर्न सकेन । यस फिल्मले प्रदर्शनको १७ औं दिनसम्म जम्मा २१ लाख ४८ हजार ७०२ रुपैयाँ कमाइ गरेको छ । निर्माण पक्षले प्रदर्शनअघि प्रचारप्रसारमा बताए अनुसार फिल्ममा एक करोड बढी लागेको छ । फिल्मले सार्वजनिक प्रदर्शनबाट भने तीन प्रतिशत पनि लगानी सुरक्षित गर्न सकेन । सुशान्त गौतमले निर्देशन गरेको फिल्मको प्रदर्शन मिति धेरै पटक सरेको थियो । त्यही कारण फिल्मको बक्स अफिसमा असर परेको बताइन्छ । फिल्मको टिकट ६ हजार ८५० वटा बिक्री भएको छ ।
फिल्म ‘लोकन्ती’को व्यवसाय पनि निकै कमजोर देखियो । रञ्जित राना निर्देशित फिल्मले ४ लाख १ हजार ३४० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्मको एक हजार ३५७ वटा टिकट बिक्री भएका छन् ।
मंसिर २६ मा प्रदर्शनमा आए दुई फिल्म ‘पीआर’ र ‘लोकन्ती’ । यी दुवै फिल्मले बक्स अफिसमा कमाल देखाउन सकेनन् । शोभित बस्नेत निर्देशित ‘पीआर’को पनि अवस्था कमजोर रह्यो । फिल्मले देशव्यापी ६ लाख ६८ हजार ६३३ रुपैयाँ ग्रस कलेक्सन गर्यो । यो फिल्मको २ हजार १०९ वटा टिकट बिक्री भएका छन् ।
अहिले नेपाली विद्यार्थीको पहिलो रोजाइमा पर्ने देश हो अस्ट्रेलिया । पीआरका लागि नेपाली विद्यार्थीले अस्ट्रेलियामा गर्ने संघर्षको कथामा निर्माण गरिएको यो फिल्मले ६ लाख रुपैयाँ भन्दा बढी कमाउन सकेन । फिल्मले बक्स अफिसमा सोचेजस्तो व्यवसाय गर्न नसकेको निर्माता तथा निर्देशक शोभित बस्नेत बताउँछन् ।
‘८० लाख फिल्म निर्माणमा लागेको छ’, बस्नेतले भने, ‘बक्स अफिसले त जोगाउन सकेन, डिजिटल, विदेश प्रदर्शन लगायतबाट लगानी सुरक्षित भइसकेको छ ।’
फिल्म ‘लोकन्ती’को व्यवसाय पनि निकै कमजोर देखियो । रञ्जित राना निर्देशित फिल्मले ४ लाख १ हजार ३४० रुपैयाँ ग्रस कलेक्सन गरेको छ । यो फिल्मको एक हजार ३५७ वटा टिकट बिक्री भएका छन् । पुराना निर्देशक रानाले पूर्ण सामाजिक विषयमा पारिवारिक ड्रामाको ‘लोकन्ती’ बनाएका हुन् । त्यसैले फिल्मले दर्शकलाई नयाँ स्वाद दिने उनको दाबी थियो । तर फिल्मले लगानीको १० प्रतिशत पनि उठाउन सकेन । फिल्ममा प्रदर्शनसम्म ५५ लाख लगानी भएको निर्माता कुमार लोकन्ती बताउँछन् ।
‘फिल्म प्रदर्शनमा हामीलाई वितरकबाट खेल भयो । देशभर रिलिज गर्दिन्छु । उपत्यका बाहिर गर्दा १० वटा हलमा मात्र फिल्म लाग्यो’, निर्माता लोकन्तीले भने, ‘डिजिटल प्रदर्शन र डिजिटल राइटबाट केही कभर हुन्छ कि भन्ने छ ।’ आफू नयाँ र सोझो भएकाले जालझेलमा परेको उनको गुनासो छ ।
स्टार र ब्यानरले जोगाउन सकेनन् साख

फिल्म क्षेत्रमा चलेका ब्यानर र स्टार कलाकार भए फिल्म चल्छ भन्ने भाष्य छ । मंसिरमा रिलिज भएका फिल्मले त्यो साख जोगाउन सकेनन् । ‘हर्ष’ खगेन्द्र लामिछाने र वर्षा राउतजस्ता चल्तीका कलाकारका साथमा अग्रज कलाकारहरू नीर शाह, सन्तोष पन्त र शर्मिला मल्लले अभिनय गरेको फिल्म हो । स्वर्गीय निर्देशक शिव रेग्मीकी भान्जी एकता पौडेलको निर्देशकीय डेब्यु फिल्म भएकाले पनि निकै अपेक्षा गरिएको थियो । फिल्मले प्रिमियरमा सकारात्मक प्रतिक्रिया पाएको थियो । तर सार्वजनिक प्रदर्शनमा आउँदा ‘हर्ष’लाई दर्शकले रूचाएनन् ।
दुई करोड बढी खर्चिएको फिल्मले ३० लाख पनि उठाउन नसक्नुले ‘स्टार’को अनुहार हेरेर मात्र दर्शक हलसम्म आउँदैनन् भन्ने पुष्टि हुन्छ ।
त्यस्तै, ऐतिहासिक रेकर्ड राख्न सफल फिल्म ‘पूर्णबहादुरको सारङ्गी’को ब्यानर सेभेन सिज र त्यसका निर्माता विनोद पौडेलले बनाएको फिल्म ‘अभिमन्यु : च्याप्टर १’ हो । कामेश्वर चौरसिया र लक्ष्मी बर्देवाजस्ता अभिनयमा पोख्त थिएटर कलाकारहरूको मुख्य भूमिका रहेको फिल्मले हलमा ‘शो’ पनि राम्रै पाएको थियो । उँधौली पर्वको बिदाको सुविधा पाएको फिल्मले त्यसको सदुपयोग गर्न पाएन । किनकि फिल्मले बक्स अफिसमा कुनै कमाल गरेन ।

सुशान्त गौतमको निर्देशन र विनोद पौडेल, गुञ्जन गिरी निर्माता रहेको फिल्मले प्रिमियरपछि दर्शकको ‘वर्ड अफ माउथ’ सकारात्मक हुने अपेक्षा गरेको थियो । तर सोचेजस्तो हुन सकेन, करोड बढी लगानी गरेका निर्माता निराश हुनुपर्यो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनुमति लिएर मात्र अन्तःशुल्कजन्य वस्तुको कारोबार गर्न आग्रह
-
‘सैयारा’ को सफलतापछि पुनः पर्दामा जोडिँदै अहान र अनीत
-
छिन्नमस्ता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यकक्षमै दुर्व्यवहार, कर्मचारीद्वारा विरोध
-
हिमालयन लिटरेचर फेस्टिभल एण्ड राइटर्स वर्कशप २०२६ सुरु
-
राष्ट्रिय गौरवको आयोजनामा अलमल, कालीगण्डकी ‘करिडोर’ अधुरो
-
चलचित्र ‘काला हिरण’ विवाद : निर्माता भन्छन्, ‘यो सलमान खानको बायोपिक होइन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण