जसराज किरातीका तीन कविता
खोटाङ जिल्लामा जन्मिएका जसराज किराती नेपाली कविता र साहित्यका एक प्रभावशाली र सम्मानित व्यक्तित्व हुन्। सरल तर गहिरो भाव व्यक्त गर्न सक्ने विशिष्ट शैलीका कारण उनलाई नेपाली साहित्य जगतमा एक मौलिक पहिचान बोकेका कविको रूपमा चिनिन्छ।
उनको साहित्यिक यात्रामा 'उर्जत छोजने अन्य लेखहरू' (२०३६), 'जसराज किरातीका कविता' (२०५७) र 'जसराज किरातीका प्रतीकात्मक कविताहरू' (२०६५) जस्ता कृतिहरूले विशेष महत्त्व राख्छन्। उनका कविताहरूमा विम्ब र प्रतीकको प्रयोग कलात्मक हुने गर्दछ, जसले पाठकलाई समाजको गहिराइ बुझ्न मद्दत गर्दछ।
१. जसराज
मसँगै उभेको/मसँगै सुतेको
निश्चय पनि यो जसराज हो ।
ऊ एउटा पेट/टाउको
अनि एक जोडा खुट्टा र दुइटा लुला हात हो
पुरुष र स्त्रीका पुत्र जसराज
कुखुराको झोले भेटे झोलै पनि तान्छ
गुन्द्रुकको झ्याम्टा भेटे झ्याम्टै पनि खान्छ
उसको पेटभित्र
जे पायो त्यै राख्ने एउटा खोर छ
खोरदेखि बाहिर खुब भए
बीस धार्नीको हाडखोर छ
त्यसलाई ऊ माटोमा धस्छ, कागजमा घस्छ
र खोरमा कहिले चामल त कहिले पिठो भर्छ
यसै गरेर ऊ आफ्नो शरीरको स्याहार गर्छ ।
बिचरा जसराज !
खोर भर्न र हाडखोर ढाक्न
कहिले यहाँ कहिले उहाँ
जताततै दगुर्दै गरेको देखिन्छ
अक्सर किचिक्क हाँस्दै–
‘नमस्ते’ गर्दै गरेको भेटिन्छ ।
२. ट्याम्के, परशु र म
उताबाट ट्याम्केलाई तिमीले हेरिरहेछौ
मैले यताबाट हेरिरहेछु
परशु !
निःसन्देह हामी एउटै कुरालाई दुईतिरबाट हेरिरहेछौँ ।
आकाशलाई अलिकता ढाकेर
यसो भनौँ– आपस्तमा हामीलाई ढाकिदिएर
त्यो आफू अग्लो हुनुको अभिमान बोकिरहेछ
र हामी
आ–आफ्नै बिन्दुको आकाश ओढेर उभेका छौँ
सायद म
त्यसैको छेउतिर उभेको वा उभ्न नसकेको आकृतिमा छु ।
यो चाहिँ सत्य हो कि
त्यो ट्याम्के
एउटा आकाशलाई दुई फब्ल्याँटा पारेर
हामी बीचमा उभिएको छ ।
ट्याम्के–
एकातिर उकालाहरू चढेर त्यो अग्लो पनि छ
अर्कातिर ओरालाहरू झरेर त्यो होचो पनि छ
तिमी उकालाहरू चढ्छौ
म ओरालाहरू झर्छु
परशु !
निःसन्देह एउटै ट्याम्केमा हामी दुइटा यात्रा हिँडिरहेछौँ ।
त्यहाँ ट्याम्केमा
देख्नेहरूले इन्द्रेणी टाँगिएको पनि देखेका छन्
त्यहाँ डढेलो पनि भेटेका छन्
र त्यो इन्द्रेणी
त्यो डढेलो
यता मेरो यात्राको पदचापमा दुख्छ
मेरो सपनाको आगोमा त्यो फुस्स खरानी खस्छ
र परशु !
मरेका मेरा सपनाका आगाहरू टाँगेर आकाशमा
म ट्याम्केलाई छोप्न खोज्छु
सायद
यो बिडम्बना हो कि–
आफ्ना नियतिहरू उचालेर म ट्याम्के उभिन खोज्छु
मैले आफ्नो उचाइमा
ट्याम्केको घाम झुल्का र भुवादार मौसमलाई
बोकी हिँड्न खोइ कहाँ सक्छु र ?
खोइ– कहाँ क्षितिजको अडेस गरेर म विश्राम लिन सक्छु र ?
मैले ट्याम्केमा देखेको इन्द्रेणी
आफ्नै रङहरूमा मेटिएको रिक्तता देख्छु
मैले हेरेको क्षितिज पनि
आफ्नै शून्यतामा क्षतिग्रस्त देख्छु
र हरेक पटक
मेरो ट्याम्केमा
केही न केही दुर्घटना हुन्छ
केही न केही विघटन र विध्वंश भइरहन्छ
अर्थात्
हरेक पटक म आफ्नो आकृतिमा कहीँ न कहीँ मरिरहेको हुन्छु ।
परशु !
तिमीले ट्याम्केको लालीगुराँसका रङहरू
तिम्रो फूलबारीमा सारेका छौ
कमसेकम केही पुतली र भँमराहरू
त्यहाँ उडेका/गुनगुनाएका
सुन्दै/हेर्दै गरेका पनि छौ
तिम्रो आँखामा
ट्याम्केको जून रेशाजस्तो गाजल छ
तिमीलाई त्यो खुलेको छ
राम्रो छ
तिमीले हेर्दा ट्याम्केमा वसन्त हेर्छौ
लालुपाते फूलहरू हेर्छौ
सायद म
त्यहाँ ठिहीले लछारेको जिङ्ग्रिङ्ग थुप्रै जीर्ण रुख हेर्छु
र सायद
म बाँचिरहेको यो विदीर्ण आफ्नै रूप हेर्छु ।
उकालाहरू चढ्दै उक्लिनु यौटा यात्रा
ओरालाहरू ओर्लदै झर्नु यौटा यात्रा
परशु !
हामी एउटै ट्याम्केमा दुइटा यात्री हिँडिरहेछौँ
यो शाश्वत सत्य हो कि
हामी एउटै समयमा दुइटा मृत्यु मरिरहेछौँ ।
३. मेरो जन्म
झुप्रामा ज्युँनु र दश लाख अँध्याराहरूमा मर्नु
रुनु र बीस लाख मृत्युहरूमा विसर्जित हुनु
देश हुनु र देश नहुनु
बाटाहरू सर्प–रङको पल्टिनु र
यात्रीहरू तारा–रङमा हराउनु
लहरहरू हुनु र किनाराहरू नहुनु
एउटा राष्ट्र हुनु
लाग्छ— म त्यस बेला जन्मिएको थिएँ ।
सम्मानित तर सडकमा उभ्याइएको
पुरानो सालिकजस्तो
म आमाको चेहरामा हेर्छु
हिउँद भइसकेको आँखाबाट
मेरी आमाको नतमस्तक मन्जुरी र विवशता बोकेर
हुलका हुल हिँडिरहेका मौसमहरू हेर्छु
सायद यो विरक्तिबाट छुटकारा मागेको बेला
अझ आफ्नो जवानीको अँगालो थापेर
आमाले आकाशसँग
निर्मल उज्यालो देऊ भन्नुहुँदा
मेरो जन्म भएको थियो ।
माटोसित अँगालो मारेर सुतिरहेको बखत
मैले त्यहाँ मुठी बटारेर सङ्कल्प पनि गरेँ
म बोल्न नसक्नेहरूलाई बोली दिन्छु
सुन्न नसक्ने व्यक्तिहरूलाई शब्द दिन्छु
र नेत्रहीनहरूलाई आँखा दिन्छु
तर पछि आएर मैले बिर्सें–
मेरो जन्मको अर्थ यहीँ कतै हराएँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चेक बाउन्स प्रकरणबारे आशिका : पीडित पक्ष म नै हुँ
-
नेपाल–स्पेन व्यापार र लगानी सुदृढ बनाउन दुई चेम्बरबिच समझदारीको तयारी
-
झ्याप–झ्याप जाने बत्ती : तथ्याङ्कमा ट्रिपिङ घटे पनि व्यवहारमा उस्तै सास्ती
-
दिल्लीमा प्रदर्शनः ककरोच जनता पार्टीका संस्थापक दीपके नियन्त्रणमा
-
छात्रालाई अश्लील म्यासेज गर्ने दुई शिक्षकसहित तीन जना पक्राउ
-
सेयर बजारमा दुई दिनमा १२१ अङ्क वृद्धि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण