'सबैलाई प्रधानमन्त्री बन्ने भूत सवार भएको छ'
प्रगतिशील लोकतान्त्रिक पार्टीका अध्यक्ष सन्तोष परियारले नयाँ दलहरूको एकतालाई लक्षित गरी सबैलाई प्रधानमन्त्री बन्ने भूत सवार भएको बताएका छन्। पोखरामा प्रगतिशील लोकतान्त्रिक पार्टीको प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै उनले देश फागुन २१ को निर्वाचनमा केन्द्रित भइरहँदा सबै प्रधानमन्त्रीको कुर्सीका लागि मरिहत्ते गरिरहेको बताए ।
‘सबैलाई प्रधानमन्त्री हुनुपरेको छ। यो मधेशको समस्या कसैलाई दुखिरहेको छैन। महिलाहरूलाई समावेश गर्न नसकेको कुरा कसैलाई दुखिरहेको छैन। दलितले जातका कारणले मर्नुपरेको कुरा कसैलाई दुखिरहेको छैन,’ उनले भने, ‘मात्र प्रधानमन्त्री हुनुपरेको छ। उसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ, उसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ। त्यो हुने विधि के हो भन्ने पनि थाहा छैन, ज्ञानका हिसाबमा यति दरिद्र छन् कि त्यो प्रधानमन्त्री कसरी हुने भन्ने पनि थाहा छैन ।’
उनले पूर्व पार्टी राष्ट्रिय स्वतन्त्र पार्टीमा विचारको निर्माण गर्नै नसकेर आफूले पार्टी छोडेको बताएका छन्। ‘आजको युगलाई नेतृत्व गर्नुपर्ने पार्टी भनेर जो दाबी गरिएको छ, त्यो पार्टीमा विचार नै निर्माण गर्न सकिएन। मैले निरन्तर प्रयत्न गरेँ। तर त्यो पार्टीमा कहिले पनि विचार निर्माण गर्न सकिएन,’ उनले भने, ‘मात्र ताली बजाउने र लोक रिझाउने त्यो पार्टीले विचार बनाउन नसकेपछि प्रगतिशील लोकतान्त्रिक पार्टीको गठन गर्यौँ।’
प्रदेशस्तरीय भेलामा उनले गरेको सम्बोधन जस्ताको त्यस्तैः
हामी इतिहासको एउटा खास कालखण्डमा छौँ, अहिले नेपालमा भइरहेका जस्ता पार्टी होइन, एउटा विशिष्ट खालको पार्टी, विशिष्ट अभ्यासका साथ एउटा नयाँ राजनीतिक संस्कार विकास गर्नलाई हामी एउटा पार्टी गठन गरिरहेका छौँ। साथीहरू, यहाँहरूले मलाई संसदमा बोलेको देख्नुभएको थियो। विभिन्न मिडियाहरूमा मैले बोलेको यहाँहरूले देख्नुभएको थियो। हामी फरक पार्टीमा हुँदाखेरि पनि निरन्तर नेपाली समाजको रूपान्तरण कसरी गर्न सकिन्छ, हामीले आज अवलम्बन गर्नुपर्ने वैचारिकी के हो र कस्तो पार्टी हामीलाई चाहिएको हो भन्ने विषयमा सधैँ आफ्नै समीक्षा गर्दै बहस छलफलमा भाग लिइरहेका हुन्थ्यौँ।
धेरैचोटि सिंहदरबारमा भएको संसदीय दलको कार्यालयमा हामीले धेरै बहस छलफल गरेका छौँ। र मलाई त्यतिबेला आशा के लाग्थ्यो भने, यतिका नौजवान साथीहरू, जो यत्तिको प्रगतिशील मुद्दा बोकेर हिँड्नुभएको छ। नेपाली समाजको बनावटलाई उहाँहरूले निकै राम्रोसँग गहिरोसँग बुझ्नुभएको छ। यी साथीहरूसँग मिलेर काम गर्न पाए त कहीँ न कहीँ नेपाली समाज रूपान्तरण गर्न सकिन्थ्यो कि भन्ने मनमा हुटहुटी थियो। र गएको भदौ २३ र २४ गते जुन जेनजी आन्दोलन भयो, त्यो आन्दोलन पछाडि आज हामी जुन ठाउँमा आएर पुग्यौँ, यो आन्दोलनको पनि उचित समीक्षा गरौँला। तर अब नेपाली राजनीति हिजो जसरी थियो, त्यसरी जाँदैन भन्ने यसले एउटा नजिर स्थापित गरेको छ।
त्यसलाई आत्मसात गरेर डा। बाबुराम भट्टराई, जो नेपाली राजनीतिको एउटा असाध्यै शिखर व्यक्तित्व हुनुहुन्छ – विचारका हिसाबमा, बुझाइका हिसाबमा, प्राज्ञिक कार्यका हिसाबमा। त्यसैगरी जनार्दन शर्मा, जो संगठन निर्माण गर्ने क्रममा निकै नै अब्बल सावित भइसक्नुभएको एकजना नेता हुनुहुन्छ। राम कार्की जो हामीसँग हुनुहुन्छ, उहाँले निरन्तर नेपाली समाजको विचार निर्माणमा हस्तक्षेप गरिरहनुभएको छ। र आज हामी जस्ता युवाहरू उहाँहरूको अभिभावकत्वमा, उहाँहरूले सिकाउने शर्तमा एकठाउँमा आइपुग्यौँ।
किनभने देश परिवर्तन गर्ने हुटहुटी छ, धेरै गर्न सकिन्छ भन्ने लाग्छ। तीनै वर्षको पार्लियामेन्टमा संसद भएर पनि धेरै चिज गरिएको छ। कति चिज त बाहिर आएको पनि छैन। तर यो सबै हामी एक ठाउँमा आयौँ भने, हामीले नेपाली समाजलाई एउटा बाटोमा लान सक्छौँ भन्ने हाम्रो बुझाइका साथ हामीले गएको मङ्सिर ७ गते निकै ठुलो कार्यक्रम गरेर, वृहत एकता भेला गरेर त्यहाँबाट प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्यौँ।
अब कुरा के हो भने, अहिलेको विश्व राजनीतिलाई तपाईंले हेर्नुभयो भने राजनीति दुईटा धारमा चलिरहेको छ। एउटा घोर दक्षिणपन्थीहरू छन्, जसलाई यो संसारमा केही पनि कुरा चाहिँदैन। आफैँ मात्र सत्ता–शक्तिमा भए, आफ्ना मान्छेलाई मात्रै गर्न पाए हुन्थ्यो भन्ने एक खालको दक्षिणपन्थी विचारधारा हावी हुँदैछ, त्यो संसारभरि देखिन्छ। अर्को खालको एउटा सामाजिक न्यायसहितको वामपन्थी विचारधारा जसलाई भनौँ, यहाँ साथीहरू धेरैलाई लाग्न सक्छ वामपन्थी हुनु र कम्युनिष्ट हुनु एउटै हो, त्यस्तो होइन। आज पर्यावरणको मुद्दा समेत उठाउने वामपन्थीहरू हुन्। जसले वामपन्थी विचारधारा बोक्छ, त्यसले गरिबहरूको कुरा गर्छ, श्रमिकहरूको कुरा गर्छ, मजदुरहरूको कुरा गर्छ, समाजमा भएका अल्पसंख्यकहरूको कुरा गर्छ, सत्ता र शक्ति संरचनामा रहेकाहरूको मात्र होइन।
यसर्थ हामीले नेपालको समाज अनुसारको, नेपाली समाजको चरित्र अनुसारको, नेपाली समाज जस्तो बनेको छ, यसको बनावट अनुसारको पार्टी अब नेपालमा चाहिन्छ। हामीले त्यो विचारमा टेकेर आज बहस गरेनौँ भने, हामी त्यो विचारमा अडिग भएर आज नेपाली समाजलाई नेतृत्व गरेनौँ भने, भोलि यो देश दक्षिणपन्थीहरूको हातमा जानेछ। र उनका स्वार्थका लागि आज जसरी सबै मिल्नुपर्छ भनेर कुनै विचार बिना, विचार नभएका, कार्यक्रम नभएका, बुझाइ नभएकाहरू नितान्त निर्वाचनका लागि, निर्वाचनको मार्फतबाट शक्ति संरचनामा गएर अनि आफ्नो मनोमानी गर्न खोज्नेहरू जसरी आज मिल्न खोजिरहेका छन्, प्रिय साथीहरू, दक्षिणपन्थको सबैभन्दा ठुलो प्रवृत्ति नै यही हो कि यसलाई केही पनि कुरा चाहिँदैन। यसलाई जसरी हुन्छ शक्ति संरचनामा आफू जानु छ र आफू शक्तिमा जाने कुरा हो।
यसर्थ हामी लामो समयदेखि डा। बाबुराम भट्टराई, जनार्दन शर्मा, सुदन किराँती, नेत्रजीहरू (नेत्र चपाईं) निरन्तर छलफलमा लागिरहेका थियौँ। त्यो छलफलमा लाग्ने क्रममा हिजो विगतमा हामीले गरेका गल्ती–त्रुटिहरूको पनि आत्मसमीक्षा भयो। अब भविष्यमा कसरी जानुपर्छ भन्ने विषयको लामो समयको छलफल बहस पछाडि हामी मङ्सिर ७ मा त्यो ठाउँमा पुगेका हौँ। हामीले भन्ने गरेका छौँ, हामी त्यो राजनीतिक दस्तावेजमा लेख्छौँ कि, पहिला त हामी हाम्रो आत्मसमीक्षा गर्छौँ। हामीले के गर्न खोजेको हो, के गर्न सकेनौँ। यहाँहरूलाई मैले भनौँ, मैले राष्ट्रिय स्वतन्त्र पार्टीमा राजीनामा दिँदाखेरि जो लेखेको छु, त्यही हो मेरो आत्मसमीक्षा।
आजको युगलाई नेतृत्व गर्नुपर्ने पार्टी भनेर जो दाबी गरिएको छ, त्यो पार्टीमा विचार नै निर्माण गर्न सकिएन। मेरो कसैलाई केही भन्नु छैन। मैले निरन्तर प्रयत्न गरेँ। तर त्यो पार्टीमा कहिले पनि विचार निर्माण गर्न सकिएन। जनताका कुनै मुद्दाहरू उठाउन सकिएन। मात्र ताली बजाउने र ‘लोक रिझाउने’ त्यो पार्टीमा विचार निर्माण गर्न सकिएन। अनि फेरि भेडा भेडाकै हुलमा, बाख्रा बाख्राकै हुलमा भनेजस्तो विचारका हिसाबमा एक ठाउँमा भएका साथीहरू एक ठाउँमा आउनुपर्छ र मिलेर संघर्ष गर्नुपर्छ, सामूहिकतामा नेपाली समाजलाई रूपान्तरण गर्नुपर्छ भन्ने हामी त्यो ठाउँमा पुगेपछि प्रगतिशील लोकतान्त्रिक पार्टीको गठन गर्यौँ।
हामी सबै नयाँ भनेका छौँ। हामी यहाँ कोही पनि पुराना छैनौँ। हामी सबै नयाँ भएका छौँ। नयाँ किन भएका छौँ भन्दाखेरि आजको समाजको आवश्यकता अनुसारका हामी नयाँ भएका छौँ। हिजोसम्म हामीले जे विचार बोकेर हिँड्थ्यौँ, जुन अभ्यास गर्यौँ, त्यो अभ्यास लिएर अगाडि जान सक्दैन भन्ने हिसाबमा हामीले नयाँ गरेका छौँ।
जेनजी आन्दोलनको धेरै कुराहरू गरिनँ, मैले जम्माजम्मी दुईवटा कुरा यसले निकै राम्रो महत्वपूर्ण कुरा स्थापित गरेको छ भनेको छु। त्यो के हो भने, एउटा यो आन्दोलनले परम्परागत रूपमा जस्तो नेतृत्वको हामीले अभ्यास गर्यौँ, त्यो नेतृत्वलाई, त्यो अभ्यासलाई यसले खारेज गरेको छ भन्ने मेरो बुझाइ हो। यसर्थ हामीले के भन्यौँ – सामूहिकता र समावेशितामा, सामूहिक नेतृत्वमा हामीले जानुपर्छ भनेर हामीले अध्यक्ष परिषदको परिकल्पना गर्यौँ। यो फेरि विल्कुलै नयाँ होइन, इतिहासमा यो अभ्यास भएको पनि छ। यसमा हाम्रो सफलता रहन्छ भन्ने मलाई लाग्छ। यसर्थ हामीले समावेशिताका आधारमा सामूहिक नेतृत्व प्रणाली विकास गरेका छौँ।
यो कोही एउटा व्यक्तिलाई सर्वेसर्वा ठान्ने, एउटा मसिहा खोज्ने, एउटा उद्धारकर्ता खोज्ने, एउटा हाम्रो सबैकुरा उद्धार गर्दिने मान्छे खोज्ने कुरा आफैँमा लोकतान्त्रिक कुरा होइन। किनभने त्यो त आफैँमा एउटा सामन्ती, एउटा फ्युडल संस्कृतिबाट विकास भएको कुरा हो। प्रत्येक नागरिक जिम्मेवार नभएसम्म, प्रत्येक नागरिक अनुशासित नभएसम्म, प्रत्येक नागरिकले देश र जनता नबुझेसम्म, प्रत्येक नागरिकले न्याय र अन्याय नबुझेसम्म कुनै पनि देश बन्छ भन्ने कुरा मलाई चाहिँ लाग्दैन। यद्यपि राजनीति गर्नेहरूको, नेतृत्व गर्नेहरूको भूमिका त्यसमा अलि बढी रहन्छ। हामीले यो खालको पार्टी बनाउनुपर्छ भनेर हामी सामूहिक नेतृत्वमा गयौँ।
अर्को एउटा यसको सन्देश के छ भने, निरन्तर एउटै व्यक्ति मात्रै पार्टीमा हावी भइरहने र राज्यका संरचनाहरूमा पार्टीले जुन किसिमको दलले हस्तक्षेप गरेर दलीयकरण गर्ने, त्यो कुरालाई पनि यसले खारेज गरेको छ। अब उप्रान्त नेपाली राज्यका संरचनाहरूमा दलको होइन, त्यो नागरिक प्रति जिम्मेवार हुनुपर्छ। नागरिक प्रति जवाफदेही हुनुपर्छ। नागरिकका लागि त्यसले काम गर्नुपर्छ भन्ने हाम्रो बुझाइ हो। यसर्थ हामी प्रगतिशील लोकतान्त्रिक पार्टीका माध्यमबाट, यो पार्टीको तर्फबाट बदलिँदो नेपाली समाजलाई नेतृत्व गर्ने एउटा पार्टी बनाउने प्रयत्न गरिरहेका छौँ।
हो, आज गण्डकी प्रदेशमा यहाँ आइरहँदाखेरि कतिपय कुराहरू साथीहरूलाई लागेको हुन सक्छ – हामी फरक चाहिँ के भयौँ भनेर। यो बिस्तारै स्थापित हुँदै जाने कुरा पनि हो। हामी आज प्रदेशस्तरीय भेला र बैठक गरिरहेका छौँ, साथीहरू त्यहाँ खटिरहनुभएको छ। राष्ट्रिय अन्तर्राष्ट्रिय रूपमा आज हामीले जे गर्न खोजिरहेका छौँ, त्यसको निकै राम्रो सन्देश गएको छ। अब कुरा के मात्रै हो भने हामीले यसलाई कति स्थापित गर्न सक्छौँ भन्ने कुरा हो। मैले भन्नुपर्दाखेरि, मैले राजनीति बुझिरहँदाखेरि, राजनीति गरिरहँदाखेरि मलाई जहिले पनि मनमा लागेको कुरा के हो भने – यो राज्य भन्ने अवधारणा नै हामीले जनताका लागि, नागरिकका लागि बनायौँ। तर राजनीतिका नाउँमा, पार्टीका नाउँमा हामीले गरेछौँ के भन्दाखेरि तिनीहरू माथि शासन गरेछौँ।
राजनीति त तिनको सेवा गर्ने हुनुपथ्र्यो। यो सिंगो देश, सिंगो राज्य, यो पृथ्वी नै मान्छेका लागि हो। जसका लागि हामीले बनायौँ, तिनको जीवन सजिलो नबनाएर, तिनलाई न्याय नदिएर हामी तिनीमाथि शासन गर्ने भएछौँ। यो खालको उल्टो बाटोमा हिँडेको राजनीतिलाई अब सुल्टो बाटोमा प्रगतिशील लोकतान्त्रिक पार्टीले हिँडाउनुपर्छ भन्ने मेरो आफ्नो ठम्याई पनि हो। हो, नागरिक रहेसम्म, जनता रहेसम्म देश हो। तर सारा नागरिकहरूलाई अप्ठ्यारोमा पारेर शक्ति संरचनामा आफू हावी भएर जो राजनीति गर्ने गरियो आजसम्म, अब यो राजनीतिक बाटोलाई, राजनीतिको यो अवस्थालाई हामीले चाहिँ करेक्सन गर्नुपर्छ, यसलाई हस्तक्षेप गर्नुपर्छ र जनउत्तरदायी, जनतामा समर्पित, नागरिकलाई सबैभन्दा सम्मान गर्ने राज्य बनाउनुपर्छ भन्ने हाम्रो बुझाइका साथ हामी अहिले प्रगतिशील लोकतान्त्रिक पार्टीमा छौँ।
चुनौतीका चाङ छन्। आज सबैभन्दा बढी रोष, सबैभन्दा बढी गुनासो, सबैभन्दा बढी मान्छेहरूसँग त्यो एउटा हिनताबोध भएको छ, राजनीतिका कारणले। हामीले दिन नसकेका सेवाहरूका कारणले। हामीले पढाउन नसकेका हाम्रा विश्वविद्यालयका कारणले आज त्यो किसिमको समाज भएको छ। तर यो चुनौतीका बाबजुद पनि यदि हाम्रो पुस्ताले, हामीभन्दा अग्रज पुस्ताहरूसँग सिकेर, हामीभन्दा पछिल्लो जेनजी पुस्ता जो भनेको छ, उहाँहरूलाई साथमा लिएर हाम्रो पुस्ताले संघर्ष गर्ने हो भने यो संसार बदल्न सकिँदैन भन्ने कुरा मलाई चाहिँ लाग्दैन।
यसर्थ हामी प्रगतिशील लोकतान्त्रिक पार्टीमा निरन्तर जनताको मुद्दा उठाएर, निरन्तर जनतालाई केन्द्रविन्दुमा राखेर, निरन्तर मान्छेलाई परेका अप्ठ्याराहरूलाई सहज बनाएर, राज्यले न्याय प्रदान गर्नुपर्छ। राजनीतिक पार्टी भनेको न्याय सम्पादन गर्ने हो। यसरी काम गरेर हामी यो देशको रूपान्तरण गर्न चाहन्छौँ, यो देशलाई बदल्न चाहन्छौँ। अहिले लाग्छ, आजकाल मिडियामा देखिन्छ, आजकाल मान्छेका जीवन पद्धतिहरू पनि फरक भएका छन्। सामाजिक सञ्जालहरू देख्दाखेरि यहाँहरूलाई लाग्न सक्छ कि – कतै बहस अन्तै त गएको छैनरु कतै हामीभन्दा प्रभावकारी अरु कोही त भइरहेको छैनरु म यहाँहरूलाई विनम्रताका साथ के भन्न चाहन्छु भने, समय कहिलेकाहीँ यस्तो उल्टो समय आउँछ। कहिलेकाहीँ राम्रा हौं भन्नेहरू पाखा लाग्न सक्छन्।
कहिलेकाहीँ अलि नभएका तर ठुलो स्वरमा कराउनेहरू अलि चर्को लाग्न सक्छ। तर मेरो दाबी के हो भने, तपाईं १० वर्ष, १५ वर्ष, २० वर्षको राजनीति सोच्नुस् – यी सबै पाखा लाग्नेछन् र साँच्चिकै जानेकै मान्छे, साँच्चिकै बुझेकै मान्छे, साँच्चिकै गहिरो अध्ययन भएका मान्छे नेपाली राजनीतिमा स्थापित हुनेछन्। यो अहिले दुई(चार दिनको कुराले मात्र हुँदैन साथीहरू।
हाम्रो कुरा के हो भने, यो सारा देश आज फागुन २१ को निर्वाचनमा केन्द्रित छ। ठीक छ, फागुन २१ मा निर्वाचन हुनुपर्छ। प्रगतिशील लोकतान्त्रिक पार्टीले निर्वाचनबाट जनताको नयाँ जनमत लिएर अगाडि जानुपर्छ भनेको छ। तर कुरा एउटा निर्वाचनको मात्रै होइन। कुरा लोकतन्त्रको हो, कुरा संविधानको हो, कुरा विधिको शासनको हो। कुरा लोकतन्त्र रहिरहँदाखेरि यस्ता निर्वाचन हरेक पाँच वर्षमा आउँछ भन्ने हो। तर आज भइराखेको छ के भने – सबैलाई फागुन २१ मा निर्वाचनमा जाने, अनि सबैलाई प्रधानमन्त्री हुनुपरेको छ। यो मधेशको समस्या कसैलाई दुखिरहेको छैन यहाँ। महिलाहरूलाई समावेश गर्न नसकेको कुरा कसैलाई दुखिरहेको छैन। दलितले जातका कारणले मर्नुपरेको कुरा कसैलाई दुखिरहेको छैन। मात्र प्रधानमन्त्री हुनुपरेको छ। उसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ, उसलाई पनि प्रधानमन्त्री हुनुपरेको छ। त्यो हुने विधि के हो भन्ने पनि थाहा छैन, ज्ञानका हिसाबमा यति दरिद्र छन् कि त्यो प्रधानमन्त्री कसरी हुने भन्ने पनि थाहा छैन। मात्र प्रधानमन्त्री हुनुपरेको छ। यस्तो खालको यो समयमा हामी निकै महत्वपूर्ण, निकै पेचिलो र निकै ठुलो जिम्मेवारी लिइरहेका छौँ भन्ने मलाई लाग्छ।
हामीले भन्ने गरेका छौँ – अहिले नेपाली समकालीन राजनीतिमा दुइटा धार छ। मूलतः दुई–तीन वटा धार छ। एउटा यथास्थितिवादी धार छ, जसले के चाहन्छ भने – यो संविधान बचोस्, यो पार्लियामेन्ट बचोस्, यहाँभित्र रहौँ, चलखेल गरौँ, प्रधानमन्त्री बनाऔँ, सरकार बनाऔँ। भनेर नेकपा एमाले, माओवादी लगायतले एउटा यथास्थितिवादी धार छ। अर्को एउटा धार छ, जसले यो भएको उपलब्धिलाई पछाडि फर्काऔँ। यो ठीक छैन। यसले हामीलाई शक्ति संरचनामा जान दिएन। यसले कमजोरहरूलाई उकास्यो। यसलाई पछाडि फर्काऔँ भन्ने अर्को प्रतिगमनकारी धार छ। र हामीले भन्ने के गरेका छौँ भने, यो हाम्रो दाबी हो – गण्डकी प्रदेशको यो एकता भेला र यो बैठकको मार्फतबाट म भन्न चाहन्छु – प्रगतिशील लोकतान्त्रिक पार्टी अग्रगमनकारी पार्टी हो। हामी यो संविधानमा भएको व्यवस्थालाई अझ जनताको पक्षमा बनाउन चाहन्छौँ। हामी यसलाई अझ परिस्कृत गरेर अगाडि लान चाहन्छौँ। जे जति संविधानमा हामीले व्यवस्था गर्यौँ, तिनलाई कानुन बनाएर जनतालाई त्यो अधिकार सम्पन्न बनाउन चाहन्छौँ। यस मानेमा हामी सबैभन्दा अग्रगमनकारी र हामी सबैभन्दा प्रगतिशील राजनीतिक पार्टी हौं।
जुन दिन हामीले यो स्थापित गर्छौँ, जुन दिन हामीले नेपाली जनतालाई यो कुरा बुझाउन सक्छौँ, त्यस पछाडि त्यतिबेला हामीसँग प्रतिस्पर्धा गर्न पनि कोही पार्टी आउने छैन। अहिले तपाईंले हेर्नुभयो भने, यथास्थितिवादी, जो आफूले हिजो कुनै बेलाको सबैभन्दा क्रान्तिकारी कम्युनिष्ट, प्रचण्ड लगायत यिनका पार्टी आज सबैभन्दा यथास्थितिवादी भएका छन्। एमालेहरू आज घोर दक्षिणपन्थी भएका छन्। राष्ट्रवादका नाउँमा जे जति गरेका छन्, जुन जति पार्टी संस्थाहरू जसरी बनाएका छन्, ती प्रतिगमनको बाटोतिर लाग्दैछन्।
यतिबेला नयाँ भनेकाहरू, विकल्प भनेकाहरू – विचार नचाहिने, सिद्धान्त नचाहिने, कार्यक्रम नचाहिने, जिउ आए पनि उनी जे गरे पनि, उनी तर आफू चाहिँ सत्तामा जानुपर्ने। त्यस्तो एक खालको सस्तो विचारधारा बोकेर, त्यस्तो कार्यक्रम लिएर हिँड्ने आफूलाई वैकल्पिक भन्नेहरू अहिले निकै ठुला ठुला मिटिङहरू गरिरहेका छन्। म तपाईंहरूलाई भन्न चाहन्छु – यी कुनै पनि यिनका बैठकहरू, यी कुनै पनि यिनका उठबसहरू, यी कुनै पनि यिनका सरसल्लाहहरू नेपाली जनताका हितमा छैनन्। यिनले महिलालाई समावेश गर्दैन, दलितलाई न्याय दिँदैन, मधेशको राष्ट्रवादलाई यसले सधैँ प्रश्न गर्छ।
यसर्थ यी घोर दक्षिणपन्थी हुन् र यिनले नेपाली जनता र नेपाली समाजको रूपान्तरण गर्छन् भन्ने कुरामा मलाई चाहिँ रत्तिभर विश्वास छैन, म भन्न चाहन्छु – नेपाली जनताले पनि यो कुरा पत्याउनु हुँदैन। यदि त्यसो भयो भने, इतिहासमा धेरै कुराहरू बिग्रेको छ। निर्वाचनबाटै पनि धेरै नराम्रा कुराहरू भएका छन्। अहिले नै भर्खरै तपाईंले युक्रेन हेर्नुभयो भने पनि हामी प्रष्ट छौँ। त्यत्रा मान्छे मर्नुपर्ने एउटा व्यक्तिको घमण्डका कारणले, एउटा व्यक्तिको मुर्खताका कारणले सिंगो देश खण्डहर भएको छ। धेरै मान्छे मारिएका छन्। इतिहासमा त्यस्तो दिन नआओस्, यसर्थ आज हामी जिम्मेवार भएर राजनीति गर्नुपर्ने छ। इतिहासमा त्यस्तो ठाउँमा हामी पुग्न नपरोस्, तसर्थ हामी जिम्मेवार हुनुपर्ने छ।
साथीहरू, हामी केन्द्रदेखि प्रदेशसम्मका साथीहरू यहाँ छौँ। मलाई थाहा छ तपाईंहरूले निकै गहिरोसँग नेपाली समाजको अध्ययन गर्नुभएको छ। डा। बाबुराम भट्टराईको पछाडि हिँड्नलाई पनि पूर्वज्ञान चाहिन्छ। त्यसै मान्छे हिँड्न पाउँदैन, डा। बाबुराम भट्टराईको पछाडि। तपाईंले समयलाई पहिल्याउन पनि तपाईंसँग पूर्वज्ञान चाहिन्छ, केही शर्तहरू हुन्छन्। नबुझ्नेहरूलाई त हिँड्न पर्दैन। त्यो नबुझे पछि त्यो बाटोमा जानुपरेन। केही बाटोमा हिँड्नलाई पनि तपाईंले केही बुझ्नुपर्छ। र मैले भन्न खोजेको कुरा के हो भने, तपाईंहरूको जुन परिपक्वता, निरन्तर तपाईंहरूले विशेषगरी नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)मा रहेर तपाईंले जे स्थापित गर्न खोज्नुभयो, जुन वैकल्पिक शक्तिको अभ्यास गर्ने, वैकल्पिक राजनीतिक शक्ति निर्माण गर्ने जुन प्रयास तपाईंले गर्नुभयो, त्यसको लागि म तपाईंलाई साधुवाद भन्न चाहन्छु।
मैले पनि म पूर्व पार्टीमा हुँदाखेरि वैकल्पिक शक्ति, वैकल्पिक पार्टी बनाउनै खोजेको हो। तर वैकल्पिक हुनु भनेको केही नहुनु होइन भन्ने मेरो सधैँको दाबी हो। वैकल्पिक हुनु भनेको सबैभन्दा अग्रगमनकारी हुनु हो। वैकल्पिक हुनु भनेको सबैभन्दा अनुशासित हुनु हो। वैकल्पिक हुनु भनेको सबैभन्दा समावेशी हुनु हो भन्ने मेरो कुरा हो। मैले कहिलेकाहीँ हाम्रा साथीहरूलाई भन्ने गर्थेँ – तपाईं यो युगको पार्टीको कुरा गर्नुहुन्छ, हामी पछिल्लो पुस्ता भन्ने कुरा गर्नुहुन्छ, त्यसो हो भने मेरो एउटा–दुईटा मात्रै कुरा छ।
कि यदि कसैले आजको दिनमा आफूलाई नवयुगको पार्टी मान्छ भने, कसैले आजको दिनमा आफूलाई अरु भन्दा यो समाजको, यो समयको नेतृत्व गर्ने पार्टी मान्छ भने, त्यो सबैभन्दा प्रगतिशील हुनुपर्छ, त्यो सबैभन्दा अग्रगमनकारी हुनुपर्छ, त्यो सबैभन्दा समावेशी हुनुपर्छ र त्यो सबैभन्दा न्यायसंगत हुनुपर्छ। यदि त्यो हुन सकेन भने यी सब हावाका कुरा हुनेछन्, यी सबै गफ हुनेछन्।
यसर्थ प्रगतिशील लोकतान्त्रिक पार्टीमा हामी पाँचजना अध्यक्ष परिषदमा छौँ, हामी यसलाई अध्यक्ष परिषदका सदस्य भन्ने गर्छौँ। तपाईं हामी सबै सहयोद्धा हौँ। मात्र जिम्मेवारीको कुरा हो, कसले कहाँ बसेर कुन भूमिका खेल्ने भन्ने कुरा हो। तपाईंहरूले सधैँ हामीलाई झकझकाउनुहोला। हाम्रो जीवन पद्धति पनि अब अनुशासित भएन भने, हामीले बोकेको विचार अनुसारको हाम्रो जीवन भएन भने, त्यो ढोंग हुनेछ र त्यो ढोंगले हामीलाई ठीक ठाउँमा पुर्याउँदैन साथीहरू।
यसर्थ एउटा प्रगतिशील, एउटा अनुशासित, असाध्यै लोकतान्त्रिक, लोकतान्त्रिक विधि पद्धतिमा विश्वास गर्ने, सामाजिक न्याय – कहाँ–कहाँ कसलाई(कसलाई सामाजिक न्याय छुटेको छ, कसलाई(कसलाई समाजले हेला गरेको छ, जानेर(नजानेर समाजले कसलाई पछाडि पारेको छ, तिनलाई अगाडि सारेनौँ भने यो समाज रूपान्तरण हुँदैन, यो समाज विकास हुँदैन। हामीले लोकतन्त्रका विधि पद्धतिबाट सामाजिक न्यायलाई सम्बोधन गर्दै समाजवादमा पुग्ने भनेका छौँ। त्यो समाजवाद भनेको आफैँमा एउटा अभ्यास हो, त्यो आफैँमा एउटा प्रवृत्ति हो। त्यसका लागि तपाईं हाम्रा सामूहिक प्रवृत्तिहरू हामीले विकास गर्नुपर्ने हुन्छ। तपाईं हाम्रा सामूहिक चिन्तन हामीले विकास गर्नुपर्ने हुन्छ। अनि गर्नलाई केही पनि नगर्ने, पुग्न चाहिँ त्यहाँ पुग्नुपर्ने, यो मिल्दैन साथीहरू।
मैले धेरैचोटि भन्ने गरेको छु – हामी चिन्तनमा सामन्तवादी, व्यवहारमा पुँजीवादी अनि पुग्न चाहिँ पर्या हामीलाई कहाँ छ भने समाजवादी ! यो बाटो नै उल्टो छ, यसलाई सच्याउनुपर्छ हामीले। भ्रममा पर्नुपर्ने कारण केही पनि छैन। कसैले कराएर, कसैले ठुलो स्वर गरेर, कसैले तपाईंको सामाजिक सञ्जालमा दुई(चार वटा स्ट्याटस लेखेर यहाँ केही हुनेवाला छैन। यो मानव समाजको विकास यो ज्ञानले भएको विकास हो, चेतनामा निरन्तर चेतना भएको परिष्करणले भएको विकास हो। यसर्थ प्रगतिशील लोकतान्त्रिक पार्टी त्यो ज्ञान मीमांसामा विश्वास गर्छ। त्यो अनुशासनमा विश्वास गर्छ। त्यो सामूहिक प्रयत्नमा विश्वास गर्छ। राजनीति भनेकै सामूहिक हो, अनि यहाँ एउटा व्यक्तिलाई ठुलो बनाएर, एउटा व्यक्ति नै सबैथोक भनेर हामीले केही पनि प्राप्त गर्दैनौँ। हो, व्यक्तिका आफ्ना किसिमका क्षमताहरू हुन्छन्। ती फरक–फरक क्षमतालाई एक ठाउँमा राखेर गर्ने भनेकै राजनीति हो। अनि मात्र हामीले हाम्रो उद्देश्य पूरा गर्न सक्छौँ।
यसर्थ, अब मैले यो भेलालाई फेरि पनि यहाँलाई शुभकामना भन्दै हामी अहिले दस्तावेज लेखनका धेरै कामहरू गरिरहेका छौँ। १३ र १४ गते निर्वाचन आयोगमा बन्दसूची बुझाउनुपर्ने छ, भोलि हामीले त्यसमा पनि काम गर्नुपर्ने छ। निर्वाचन हुँदाखेरि हाम्रा साथीहरू अघि नेत्रजीले यहाँ भनिसक्नुभयो – अब प्रत्येक मान्छेलाई हामी त्यो चेस खेल्दा जस्तो चेक गर्छौँ। प्रत्येक मान्छेलाई। किनभने त्यस्तो पनि कुनै लोकतान्त्रिक व्यवस्था हुन्छ ? हामीले देखदेखि एउटै मान्छे नेता भइरहनुपर्ने ? उसैले मात्रै चुनाव जितिरहनुपर्ने ? उसैले मात्रै राज्यसत्तामा कब्जा जमाइराख्नुपर्ने ? हामी प्रत्येक पुस्तालाई लिएर हिँड्ने हो। मैले त भन्ने गरेको छु – हामीले लामो समयदेखि धेरै निकै पुस्ताहरूलाई छुटायौँ राजनीतिमा। धेरै त पलायन भएर गए, कोही विदेश गए, कसैले व्यवसाय परिवर्तन गरे, राजनीतिबाट छुट्टिए। तर आजको जेनजीले त्यो पलायन हुन मानेन र यसले विद्रोह गर्यो।
अब पनि फेरि हामीले छुटायौँ भने फेरि अर्को विद्रोह हुन्छ। त्यसकारण यो समाज विकासको क्रममा कसैलाई पनि छुटाउनुहुन्न साथीहरू। त्यो नसक्नुजेलसम्म मात्रै चुप लागेर बस्ने हो। जुन दिन अन्याय अत्याचार परेको मान्छेले, जुन दिन उसले उफ्रिन पाउँछ, त्यसले त विद्रोह त गर्छ। यसर्थ हामीले यहाँबाट के सिक्नुपर्छ भने हाम्रा पछाडिका पुस्ताहरूलाई पनि निरन्तर हामीले सँगसँगै अगाडि लानुपर्छ र हामी सबै मिलेर काम गर्नुपर्छ भन्ने छ।
अहिले हामी संगठन निर्माणको क्रममा छौँ। चाँडै नै हामी मधेश अभियान, दलित अभियान, युवा अभियान, महिला अभियान लिएर आउने छौँ। हाम्रो राजनीतिक गराइ भनेको नितान्त फगत एउटा निर्वाचन मात्र हुने छैन साथीहरू। राजनीति आफैँमा पनि एउटा विश्वविद्यालय हो। यो आफैँमा पनि एउटा शिक्षा हो। यसले समाज रूपान्तरण गर्नुपर्छ। तपाईंलाई थाहा छ, रेनेसा देखि प्रबोधन युगदेखि आएर कसरी संसार परिवर्तन भएको छ भन्ने कुरा तपाईं हामी सबैलाई थाहा छ। हामी र आज हाम्रो विश्वविद्यालय निकम्मा भएका छन्, काम नलाग्ने भएका छन्। कुनै सामाजिक मुद्दाहरू विश्वविद्यालयमा छलफल हुँदैन। तपाईं हामीले अलिअलि गर्नुपरेको छ। पुरै त्यो पार्टीकरण गरिएको छ, त्यहाँ ज्ञानको कुनै उत्पादन हुँदैन।
समाजका नयाँ–नयाँ अन्तरद्वन्द्वहरूलाई, नयाँ–नयाँ समस्यालाई समाधान कसरी गर्ने भनेर कसैले पनि ल्याउँदैन। यत्रो समस्या भइराछ, यत्रो ‘जेनजी’ आन्दोलन भयो, विश्वविद्यालयको एउटा प्रोफेसरले एउटा पत्र, एउटा अवधारणापत्र लेखेको, एउटा प्राज्ञिक लेख लेखेको मैले भेटेको छैन। भनेपछि यस्तो ठाउँमा पुगेका छौँ, हामी टाट पल्टेका छौँ। हामी धेरै ठुलो कुरा गर्ने फेरि, हामी त ऋषिका सन्तान भन्ने। तर ब्यांकरप्ट भन्छ नि अंग्रेजीमा, टाट पल्टेको, बौद्धिक तप्कामा टाट पल्टेका हौँ हामी। अब प्रगतिशील लोकतान्त्रिक पार्टीले निरन्तरको छलफल, निरन्तरको बहस, निरन्तरको संवाद, निरन्तरको प्रतिवादले एउटा बहसको सिर्जना गर्छ। गण्डकीमा जतिबेला आवश्यक हुन्छ त्यतिबेला म आउन तयार छु।
मैले केही समयअघि मलाई एउटा लेख लेख्न भनिएको थियो। निकै गाह्रो गरी, समय नहुँदा नहुँदै आफ्नो ज्ञानको सीमितताका कारणले निकै गाह्रो गरी मैले त्यहाँ एउटा लेख लेखेँ। र त्यो लेख्ने क्रममा, केही पढ्दाखेरि मैले के पाएँ भने – हामीले धेरै ठुला–ठुला आन्दोलन, धेरै ठुला–ठुला सामाजिक–राजनीतिक आन्दोलन गर्यौँ। तर सबै गर्दाखेरि पनि हामी घुमिफिरी कहाँ पुग्दा रहेछौँ भने एउटै ठाउँ पुग्दा रहेछौँ। सबै आन्दोलन गरे पनि हामी घुमिफिरी कहाँ पुग्दा रहेछौँ भने, प्रधानमन्त्री हुने बेला त्यही पुरुष, कथित उच्च जातमा पुग्दा रहेछौँ। जहाँसुकै जेसुकै गरे पनि पुग्ने चाहिँ त्यहीँ रहेछ। त्यो किन त्यस्तो भएछ भन्दाखेरि, यो मार्क्सवादी साहित्यमा एन्टोनियो ग्राम्स्की भन्ने एकजना माक्र्सिस्ट दार्शनिक पनि हुन्, राजनीतिक पनि हुन्, पत्रकार पनि हुन्। उनले भन्ने गर्थे, यो संस्कृति पनि यस्तो हुन्छ कि त्यो आफैँमा उपरिसंरचना बन्न सक्छ। भनेको के हो भने, हामीले समाजका जुन(जुन अप्ठ्याराहरू छन् त्यहाँ चाहिँ काम गरेनौँ। आन्दोलन गर्यौँ हामीले। माओवादी जनयुद्ध जस्तो घनघोर युद्ध पनि गर्यौँ। तर अन्ततः कमरेड प्रचण्ड बस्ने ठाउँमा पुग्यो। किन भयो त्यो भन्दाखेरि हाम्रो समाजका केही एउटा जटिल अन्तरद्वन्द्वहरू छन्। समाजका केही हाम्रा जडताहरू छन्। त्यो जडताबाट उठेनौँ भने हामी समाज बनाउन सक्दैनौँ। त्यो जडता, त्यो पितृसत्ता एउटा जडता हो। जात व्यवस्था एउटा जडता हो।
मधेस–पहाडको राष्ट्रवादको जुन हामीले रेखा कोरेका छौँ, त्यो एउटा जडता हो। यस्ता धेरै किसिमका जडताहरू छन्। ती जडताहरूमा हामीले काम गरेनौँ भने फेरि पनि प्रगतिशील लोकतान्त्रिक पार्टीले पनि ठुलै आन्दोलन गरेर ठुलै गरे पनि, पुग्ने फेरि ठाउँचाहिँ त्यही हुन्छ। यसर्थ यतातिर अलिकति सामाजिक, अलिकति ज्ञानका हिसाबमा यता पनि काम गर्नुपर्छ भनेर अहिले म आफैँ पनि पार्टीको दस्तावेज लेख्ने समितिमा राम दाइको संयोजकत्वमा हामीले बनाएका छौँ, म आफैँ पनि छु।
यसरी हामीले काम गर्यौँ भने समस्या नयाँ–नयाँ आउँछन् हेर्नुस्। आउँछन्, कोभिड आयो त पछिल्लो समय। हिजो कुनै बेला ट्युबरक्लोसिस पनि त्यस्तै रूप, महामारी रोग थियो। तर पछिल्लो समयमा कोभिड आयो। तर मान्छेको एउटा मान्छेको सबैभन्दा निकै ठुलो गुण के हो भने, एउटा मान्छेको क्षमता के हो भने, यस्ता कयौँ समस्याबाट मान्छे पार भएर यहाँसम्म आएको छ। पहिलो विश्वयुद्ध भएपछि लागेको थियो कि यो संसारमा मान्छे रहन्नन् भन्ने लागेको थियो। तर त्यस्तो भएन, मान्छे निरन्तर अगाडि गयो। त्यस्ता ठुला–ठुला महामारीहरू फैलिए, र पनि मान्छेको ज्ञान, मान्छेको संघर्षले हामी यहाँसम्म आइपुगेका छौँ।
यसर्थ कार्ल माक्र्सले भनेको झैँ, फेरि म अन्तिममा एउटा कुरा भनेर यहाँबाट बिदा हुन चाहन्छु – यो संसार हिजो जस्तो थियो त्यो पनि मान्छेले बनाएको हो। यो संसार आज जस्तो छ त्यो पनि मान्छेले नै बनाएको हो। यो संसार भोलि जस्तो हुनेछ, त्यो पनि मान्छेले नै बनाउने हो। यसर्थ न्यायपूर्ण, न्यायसंगत, लोकतान्त्रिक, अग्रगमनकारी, समावेशी राज्य बनाउनलाई प्रगतिशील लोकतान्त्रिक पार्टी छ र हामी त्यसमा काम गरौँ भन्दै पुनः एकचोटि यो भेला र यो बैठकको शुभकामना दिँदै मेरो भनाइ यहीँ टुङ्ग्याउँछु। हस् त धन्यवाद नमस्कार।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विराटनगर महानगरपालिकाका सबै वडा पूर्णखोप सुनिश्चित
-
एमालेको २ दिने कार्यशाला : सदस्यता नवीकरणको म्याद थप्न सुझाव
-
राप्रपाका केही पदाधिकारीसहित १८३ नेता कार्यकर्ताद्वारा पार्टी परित्यागको घोषणा (सूचीसहित)
-
कुशलको कीर्तिमानी ब्याटिङमा नेपालको विशाल स्कोर
-
सरकार सुशासन र द्रुत आर्थिक विकासको काममा प्रतिबद्ध छ : परराष्ट्रमन्त्री खनाल
-
केन्द्रीय कारागारका कैदीलाई सामाखुसीको होटलमा लगेर मासु र बियर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण