मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय

टुक्रियो के-पप ब्यान्ड ‘न्युजिन्स’

मङ्गलबार, १५ पुस २०८२, ०८ : २३
मङ्गलबार, १५ पुस २०८२

सारांश

  • दक्षिण कोरियाली के-पप ब्यान्ड 'न्युजिन्स' र एडोरबीचको विवादले नयाँ मोड लिएको छ, डानियलको सम्झौता रद्द गरियो।
  • एडोरले डानियललाई हटाएपछि फ्यानहरूले सामाजिक सञ्जालमा विरोध जनाएका छन्, 'न्युजिन्स इज फाइभ अर नथिङ' भन्दै।
  • एजेन्सीले डानियलको बहिर्गमनपछि हानीसँग छलफल गरिरहेको छ, मिन्जीसँगको कुराकानी जारी छ, र अन्य सदस्यहरू फर्किसकेका छन्।

सिओल । विश्वचर्चित दक्षिण कोरियाली के-पप ब्यान्ड ‘न्युजिन्स’ र यसको रेकर्ड लेबल ‘एडोर’ बिचको लामो विवादले नयाँ मोड लिएको छ। ब्यान्डकी चर्चित सदस्य डानियल मार्ससँगको सम्झौता एडोरले रद्द गरेपछि अब यो समूह पूर्ण टोलीका रूपमा नदेखिने निश्चित भएको छ। यस निर्णयले विश्वभरका फ्यानहरूलाई स्तब्ध बनाएको छ।

सन् २०२४ देखि सुरु भएको कार्यस्थलमा उत्पीडन र व्यवस्थापनसँगको विवादका कारण न्युजिन्सका पाँचै सदस्यले एडोर छोड्ने घोषणा गरेका थिए। तर अक्टोबरमा अदालतले उनीहरूलाई सन् २०२९ सम्म सोही एजेन्सीसँग रहनुपर्ने फैसला सुनाएपछि सबै सदस्यहरू फर्कन तयार भएका थिए। यस्तो अवस्थामा एडोरले अचानक डानियललाई मात्रै हटाउने निर्णय गरेपछि फ्यानहरूले सामाजिक सञ्जालमा ‘न्युजिन्स इज फाइभ अर नथिङ’ भन्दै विरोध सुरु गरेका छन्।

एडोरले डानियलको सम्झौता रद्द गर्नुका साथै पूर्व म्यानजेर मिन ही-जिन र डानियलका एक परिवारका सदस्यविरुद्ध कानुनी कारबाही गर्ने चेतावनी समेत दिएको छ। उनीहरूले नै कम्पनी र कलाकारबिच गलत बुझाइ र विवाद उत्पन्न गराएको आरोप एडोरको छ। डानियलले भने यस विषयमा अहिलेसम्म कुनै सार्वजनिक टिप्पणी गरेकी छैनन्।

यसैबिच, एजेन्सीले ब्यान्डका अन्य सदस्य हानी र मिन्जीसँग छलफल भइरहेको जानकारी दिएको छ। हानी एजेन्सीमै रहने पक्का भए पनि मिन्जीसँगको कुराकानी जारी रहेको बताइएको छ। अन्य दुई सदस्य हेइन र हेरिन यसअघि नै फर्किसकेका छन्।

संगीत समीक्षकहरूले न्युजिन्सलाई के-पप जगतमा परिवर्तन ल्याउने महत्त्वपूर्ण समूहका रूपमा हेर्ने गरेका छन्। डानियलको बहिर्गमनसँगै अब यो समूह कहिल्यै पहिले जस्तो पूर्ण टोलीका रूपमा नफर्कने भन्दै समीक्षक लिम ही-युनले यस नतिजाले कसैलाई पनि खुसी नबनाउने प्रतिक्रिया दिएका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप