१३ औँ किन्डर ओलम्पिक सम्पन्न, ६७ विद्यालयका १६ सय विद्यार्थी सहभागी
सारांश
- नेपाल विद्यालय खेलकुद महासंघद्वारा आयोजित १३औँ किन्डर ओलम्पिक दशरथ रंगशालामा सम्पन्न भयो।
- कार्यक्रममा विभिन्न विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रह्यो र विभिन्न खेलहरूमा प्रतिस्पर्धा भयो।
- ओलम्पिक टर्च पूर्वसांसद माधव सापकोटाले ओलम्पियन कमलबहादुर अधिकारीलाई हस्तान्तरण गरेका थिए।
काठमाडौँ । नेपाल विद्यालय खेलकुद महासंघ (एनएसएसएफ) को आयोजनामा १३ औँ किन्डर ओलम्पिक मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न भएको छ। दोस्रो चरणको यस कार्यक्रममा ६७ विद्यालयका करिब १ हजार ६ सय विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका छन्। यसअघि सम्पन्न पहिलो चरणमा उपत्यकाका ३४ विद्यालयका १ हजार ५ सय ४० विद्यार्थी सहभागी थिए।
सहभागीहरूको मार्चपास्टपछि पूर्वसांसद माधव सापकोटाले ओलम्पियन कमलबहादुर अधिकारीलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका थिए। अधिकारीसँगै ओलम्पियनहरू सन्तोषी श्रेष्ठ, आयशा शाक्य र मानमति विष्टले दशरथ रंगशालाको ट्रयाकमा टर्च परिक्रमा गराएका थिए। कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको शुभकामना सन्देश प्रसारण गरिएको थियो भने पहिलो चरणको संक्षिप्त श्रव्यदृश्य समेत प्रस्तुत गरिएको थियो।
प्रतियोगितामा विभिन्न १२ खेलमा प्रतिस्पर्धा भएको थियो। बालबालिकाका लागि खेलका अतिरिक्त विभिन्न मनोरञ्जनात्मक प्रदर्शनीहरू समेत राखिएको थियो। एनएसएसएफका महासचिव राजकुमार कार्कीले कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सबैप्रति आभार व्यक्त गर्दै आगामी संस्करण अझ भव्य रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।
यसअघि पुस १२ गते भएको पहिलो चरणको कार्यक्रमको उद्घाटन सभामुख देवराज घिमिरेले गरेका थिए भने पुस ४ गते राष्ट्रपति रामचन्द्र पौडेलले किन्डर ओलम्पिकको मस्कट अनावरण र टर्च हस्तान्तरण गरेका थिए। सानै उमेरदेखि बालबालिकालाई खेलकुदप्रति आकर्षित गर्ने उद्देश्यले सन् २०१२ देखि यो कार्यक्रमको सुरुवात गरिएको हो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण