शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

नेपाल संवत् नेपाल र नेपालीको एक मात्र मौलिक संवत्: प्रदेश प्रमुख देवकोटा

बुधबार, १६ पुस २०८२, ०० : ३२
बुधबार, १६ पुस २०८२

सारांश

  • प्रदेश प्रमुख देवकोटाले नेपाल संवत् सबै नेपालीको मौलिक संवत् भएको बताए।
  • उनले शंखधर साख्वाः र नेपाल संवत् दुवैको संरक्षण आवश्यक रहेको बताइन्।
  • प्रदेश सरकारले नेपाल भाषा र तामाड भाषालाई सरकारी कामकाजमा ल्याएको छ।

भक्तपुर । बागमती प्रदेशका प्रमुख दीपकप्रकाश देवकोटाले नेपाल संवत् नेपाल र सबै नेपालीको एकमात्र मौलिक संवत् भएकाले यसलाई सबैले आत्मासाथ गरेर जानु पर्नेमा जोड दिएका छन् । 

राष्ट्रिय विभूति शखधर साख्वाः प्रतिष्ठानले मंगलबार यहाँ आयोजना गरेको नेपाल संवत् र शंखधर साख्वाः पुस्तक विमोचन कार्यक्रममा उनले राष्ट्रिय विभूति शंखधर साख्वाः र नेपाल संवत् दुवै राष्ट्रका गौरव भएकाले यसलाई लिपिबद्ध गर्दै जानु आवश्यक रहेको बताएका हुन् ।

ओझेलमा परेको ऐतिहासिक व्यक्तित्व साख्वाः र नेपाल संवत्लाई उजागर गर्दै संरक्षण गर्न निरन्तर लागि रहनु गौरवको विषय भएको बताउँदै उनले यसमा मध्यपुरथिमिको नागरिक समाज, अभियन्ताको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरे ।

प्रदेश प्रमुख देवकोटाले मस्तिष्क र हृदयको संगम रहेको दुर्लभ मानवका रूपमा साख्वालाई लिन सकिने उल्लेख गर्दै कुनै पनि राजनीतिक भूमिकामा आबद्ध नरहेर पनि समाजवाद, सर्वहारावादका क्रान्तिका नायकका रूपमा आफूलाई उभ्याउँदै उनले गरिब किसानको ऋण मोचन गरी सर्वसाधारणको पीडामा मलहम बन्नु भएको बताए । 

सु–संस्कृति र सुशासन युक्त समाज निर्माणको प्रेरणाका रूपमा साख्वालाई लिन सकिने बताउँदै उनको भनाइ थियो । उनले भने, “नेपाल संवत्लाई नेवारी संवतको रूपमा बुझ्नु इतिहासको अल्पज्ञान हो, नेपाल संवत् सबै नेपाल र नेपालीको मौलिक संवत् हो, सभ्य, सुसंस्कृत र संवृद्ध देश निर्माणमा साख्वाबाट धेरै सिक्नु जरुरी छ ।” 

बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापामगरले भाषा, कृति, कला, संस्कृतिको संरक्षण एवं प्रवर्द्धनमा साख्वाःको भूमिका महत्त्वपूर्ण रहेको चर्चा गरेका थिए । मन्त्री थापामगरले भने, “प्रदेश सरकारले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजमा ल्याउन र सरकारी कार्यालयमा प्रयोग गर्न ऐन बनाएर सुरुवात गरेका छौँ । सरकारी कामकाजमा प्रयोगमा ल्याइसकेका छौँ ।”

हरेक जातजातिका भाषा, कला, संस्कृतिको संरक्षण गर्न प्रदेश सरकारले प्रतिष्ठानका लागि बजेट विनियोजन गरेको बताउँदै उनले पुस्तकालय सञ्चालन र अन्य शीर्षकमा प्रदेश सरकारले बजेटका विनियोजन गरेको उल्लेख गरे । उपत्यकामा मात्र नभई विभिन्न जिल्लामा बसाइ सरेर गएका नेवारको भाषा, कला, संस्कृतिको क्षेत्रमा संरक्षण र विकासमा लाग्नु आवश्यक रहेको उनले बताए ।

कार्यक्रममा नेपाल भाषा एकेडमीका चान्स्लर मल्ल के. सुन्दर, मध्यपुरथिमि नगरपालिकाका नगरप्रमुख सुरेन्द्र श्रेष्ठ, भाषाविद् सुरेश मानन्धर, प्रा डा पुरुषोत्तमलोचन श्रेष्ठलगायतले शंखधर साख्वाले पुर्‍याएको योगदानको चर्चा गरे । प्रतिष्ठानका अध्यक्ष एवं कार्यक्रमका सभापति ज्ञानराम श्रेष्ठले नेपाल संवत् र शंखधर साख्वाको योगदानलाई देशव्यापी फैलाउन प्रकाशित गरिएको पुस्तकको प्रकाशन गरेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप