सुर्खेतका प्रेमबहादुरको इमानदारीः बाटोमा भेटिएको ८१ हजार रुपैयाँ फिर्ता
सारांश
- सुर्खेतका प्रेमबहादुरले बाटोमा भेटिएको ८१ हजार रकम फिर्ता गरे।
- रकम हराएका टेकबहादुर कुमाललाई उक्त पैसा फिर्ता गरियो।
- प्रेमबहादुरको इमानदारिताको प्रशंसा भयो।
सुर्खेत। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ निवासी टेकबहादुर कुमालले घरखर्च र छोराछोरीको पढाइका लागि आफन्तबाट सापटी लिएको ८१ हजार रुपैयाँ बाटोमै खसालेर गुमाएपछि ठूलो तनावमा परे।
वीरेन्द्रनगर बजारबाट रकम लिएर घर फर्कँदै गर्दा खसेको पैसा घर पुगेपछि मात्रै हराएको थाहा पाएपछि कुमाल दिनभर आफू हिँडेको बाटोभरि रकम खोज्न निस्किए । तर कतै पनि रकम फेला नपरेपछि उनी निराश हुँदै साँझ घर फर्किए ।
घरको गर्जो टार्न र शिक्षा खर्चका लागि ल्याएको रकम हराएपछि उनी गम्भीर समस्यामा परेका थिए। सोही क्रममा उनका आफन्तले सामाजिक सञ्जाल फेसबुकमार्फत रकम भेटिएको जानकारी पाए ।
उक्त ८१ हजार रुपैयाँ लेकबेँसी नगरपालिका–सुर्खेतका प्रेमबहादुर रास्कोटीले बाटोमा भेट्टाएका थिए । रास्कोटीले रकम सुरक्षित रूपमा राखी स्थानीय रेडियो भेरी एफएममा बुझाएका थिए । रेडियो भेरीका पत्रकार मधुवन विसीको रोहबरमा उक्त रकम वास्तविक धनी टेकबहादुर कुमाललाई फिर्ता हस्तान्तरण गरिएको हो ।
पछिल्लो समय समाजमा नकारात्मक प्रवृत्तिको चर्चा भइरहेका बेला प्रेमबहादुर रास्कोटीले देखाएको इमानदारीको चौतर्फी प्रशंसा भएको छ। उनले मानवीय मूल्य, संस्कार र इमानदारीलाई व्यवहारमै उतार्दै समाजमा सकारात्मक सन्देश दिएका छन् ।
रास्कोटीले भने, ‘बाटोमा नगद भेट्दा केही क्षण सोचें, तर त्यो पैसा मेरो होइन भन्ने कुराले मनले स्वीकार गरेन। त्यो रकम कसैको अत्यन्तै आवश्यकताका लागि हुन सक्छ भन्ने लाग्यो, त्यसैले जसको हो उसैलाई फिर्ता गर्नु नै उचित ठानेँ। इमानदारीले आत्मसन्तुष्टि दिन्छ।’
रकम फिर्ता पाएपछि कुमालले आभार व्यक्त गर्दै भने, ‘मैले पैसा भेटिन्छ भन्ने आशा लगभग गुमाइसकेको थिएँ । यस्तो इमानदार व्यवहारले समाजप्रतिको विश्वास अझ बलियो बनाएको छ।’
प्रेमबहादुर रास्कोटीको यो उदाहरणले समाजमा सत्य, नैतिकता र जिम्मेवारीप्रति सजग हुन सबैलाई प्रेरणा दिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण