बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

रोनाल्डो चुक्दा अल नासरको अपराजित यात्रामा पूर्णविराम

शनिबार, १९ पुस २०८२, ०८ : २९
शनिबार, १९ पुस २०८२

सारांश

  • अल नासर साउदी प्रो लिगमा अल अहलीसँग २-३ गोलले पराजित भयो।
  • खेलमा इभान टोनीले दुई गोल गरे भने अल अम्रीले नासरका लागि दुई गोल फर्काए।
  • रोनाल्डोको क्लब नासर उपाधि दौडमा पछि पर्दै अंक तालिकामा दबाबमा परेको छ।

रियाद । क्रिस्टियानो रोनाल्डो र उनको क्लब अल नासरका लागि सन् २०२६ को सुरुवात सुखद हुन सकेन। साउदी प्रो लिगको जारी सिजनमा ११ खेलसम्म अपराजित रहेको नासरले शुक्रबार राति अल अहलीसँग २-३ गोलको स्तब्धकारी हार बेहोरेको छ।

रोनाल्डोले गोल गर्ने केही सुन्दर अवसर सदुपयोग गर्न नसकेको रात अल अहलीको जितमा इभान टोनी नायक बने। रोमाञ्चक पहिलो हाफ र टोनीको दबदबा खेलको सुरुवातदेखि नै घरेलु टोली अल अहली आक्रामक देखियो। ब्रेन्टफोर्डका पूर्वस्ट्राइकर टोनीले सातौँ मिनेटमा नै गोल गर्दै अहलीलाई सुरुवाती अग्रता दिलाए। लगत्तै रक्षापङ्क्तिको लामो पासलाई नियन्त्रणमा लिँदै टोनीले व्यक्तिगत दोस्रो गोल गरेपछि नासर खेलमा २–० ले पछि परेको थियो।

तर, खेलमा नाटकीय मोड तब आयो जब नासरका डिफेन्डर अब्दुलेल्लाह अल–अम्री चम्किए। अहलीका गोलकिपर अब्दुल रहमान अल–सान्बीको गम्भीर गल्तीको फाइदा उठाउँदै अम्रीले पहिलो गोल गरे। त्यसको केही समयमै मार्सेलो ब्रोजोभिचको कर्नरमा सटिक हेडमार्फत गोल गर्दै अम्रीले नै नासरलाई २–२ को बराबरीमा ल्याए।

दोस्रो हाफमा खेल निकै प्रतिस्पर्धात्मक बन्यो। ५८ औँ मिनेटमा इभान टोनीकै उत्कृष्ट ‘फ्लिक’ लाई सदुपयोग गर्दै मेरिह डेमिरलले हेडमार्फत गोल गरेपछि अहलीले ३–२ को अग्रता लियो। बाँकी समयमा क्रिस्टियानो रोनाल्डो र जोआओ फेलिक्सले गोलका लागि निकै प्रयास गरे पनि उनीहरूको प्रहार सफल हुन सकेन। रोनाल्डो सिजनकै खराब फर्ममा देखिएको खेलमा नासरले बराबरी गर्ने मौका बारम्बार गुमाएको थियो।

अन्तिम समयको तनाव र अंक तालिकामा असर खेलको इन्जुरी समयमा दुवै टोलीका एक–एक खेलाडीले रातो कार्ड पाएका थिए। अहलीका अली मजराशी र नासरका नवाफ अल–बौशैल मैदानबाट बाहिरिए पनि खेलको नतिजामा त्यसले प्रभाव पारेन। यसअघिको खेलमा अल इत्तिफाकसँग २–२ को बराबरी खेल्दै मुस्किलले हार टारेको नासर यो हारसँगै दबाबमा परेको छ।

यो हारपछि ३१ अंकसहित शीर्ष स्थानमा रहेको अल नासरको उपाधि यात्रामा धक्का लागेको छ। आइतबार हुने खेलमा अल हिलालले डामकलाई पराजित गरेमा नासरलाई पछि पार्दै हिलाल शीर्ष स्थानमा उक्लिनेछ। हाल हिलाल नासरभन्दा मात्र २ अंकले पछाडि छ भने अल अहली जितसँगै चौथो स्थानमा उक्लिएको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप