मबाट अब केही आश नगरे हुन्छ, मैले आफैँलाई बिर्सिसकेँ : जसराज किराती
सारांश
- कवि जसराज किरातीसँगको कुराकानीमा, उनले आफ्नो जीवनका विभिन्न अनुभवहरू साझा गरे।
- उनले आफ्नो सम्झना शक्ति कमजोर भएको र साहित्यिक सिर्जनामा ध्यान दिन नसकेको कुरा व्यक्त गरे।
- किरातीले राजनीति, परिवार र पुरस्कार सम्बन्धी आफ्ना विचारहरू पनि व्यक्त गरे।
कवि जसराज किरातीको निवास ललितपुरको लुभु पुग्दा बुढ्यौली शरीर लिएर ढोकामै स्वागत गर्न उभिनुभएको थियो, जसराज ‘आप्पा’ । उहाँले ‘छोरा’ भन्नुभएपछि मनमा अग्रज कविलाई गरिरहेको सम्मान एक खुड्किलो माथि उक्लेर प्रेमसँग आलिङ्गन गर्न पुग्यो र मैले पनि ‘आप्पा’ सम्बोधन गरेँ ।
‘मेरो त सम्झना शक्ति हरायो । पहिले भेटेको होला कति ?’ उहाँले मेरो परिचय सोध्नुअघि नै सम्झनाका पानाहरूलाई पल्टाउने कोसिस गर्नुभयो । कता–कता मनै कुँडिएर आयो र भनेँ, ‘हजुर, हाम्रो भेट त भएकै हो । तर, बाक्लो नभएपछि सम्झिरहन पनि गाह्रो हुन्छ नि आप्पा ।’
त्यसपछि उहाँले डाइनिङ रुममा लगेर झ्यालबाट छिरिरहेको मन्सिरे घामको न्यानोमा केही अनौपचारिक कुराकानी गर्न थाल्नुभयो । अझ भनौँ उहाँ सहज हुनुभयो । उहाँले घर र थर सोध्नुभयो । मैले भनेँ, ‘म सोलुखुम्बुको खालिङ राई ।’ उहाँले भन्नुभयो, ‘ए ए । हामी चाहिँ चाम्लिङ । तर, भाषा नबोल्ने चाम्लिङ । तपाईंहरूकोतिर त सप्पैले भाषा बोल्नुहुन्छ । त्यो कस्तो राम्रो हो नि ।’ यस्तै अनौपचारिक गफ हुँदाहुँदै मैले रेकर्डर अन गरेँ र कुराकानीको सिलसिला अघि बढ्यो ।
रातोपाटीको ‘साहित्यकारका कुरा’ शृङ्खलामा उनै किरातीसँग कुराकानी गरेका छन् कवि गणेशकुमार राई ‘गिलु रातोस’ले, प्रस्तुत छ कुराकानीको सम्पादित अंश :
- तपाईं अहिले ८२ वर्षको उमेरमा पनि आफ्नो जीवनलाई सक्रिय रूपले अध्ययनमा लगाइरहनुभएको छ । यो यात्रामा तपाईंको जीवन धेरै नै उतारचढाव वा रोचकताहरूले भरिएको छ हगि ?
कुरा त राम्रै भनियो भने होला पनि । तर मैले जति गर्नु र भन्नु वा सुनाउनु थियो, बिचमा आएर सकिनँ । बिचमा आएर बिग्रिएँ । एक वर्ष भयो, अहिले मेरो सम्झना शक्ति हरायो । त्योभन्दा अगाडि वास्तवमा म अरूलाई अर्ति–उपदेश दिन पनि सक्थेँ, हकार्न पनि सक्थेँ । तर अहिले ‘मैले के बोल्नुपर्ने हो, के भन्नुपर्ने हो, के गर्दाखेरि उचित हुन्छ, के गर्दाखेरि मान्छेलाई प्रभाव पर्छ, भन्नुपर्ने कुरा मैले कति भनेँ त उसलाई’ भन्नेजस्ता सोचहरू मनमा आइरहन्छन् । त्यसले गर्दाखेरि म आफैँलाई नै अप्ठ्यारो मान्छु । आफैँलाई नै असहज लाग्छ मलाई ।
मैले केही पनि गर्न सकेको छैन । भनेजस्तो केही पनि छैन भन्ने चाहिँ मनमा लागिरहन्छ । कहिलेकाहीँ मन–मनमा ‘साला म जत्तिको नजान्नेहरू त्यत्रो माथि ठूलो नेता भए, म चाहिँ त्यसै हराएर गएँ’ भनेर मनमा विस्मात पनि लाग्छ । लोभ हुँदो रहेछ नि मान्छेलाई । कि के भन्ने त्यसलाई ? त्यसैले त अझै म पूर्ण भइनँ है, म पूर्ण हुनुपर्ने थियो, म पूर्ण हुन सकिनँ भन्ने कुरा मनमा लागिरहन्छ ।
- एउटा रोचक पनि र तपाईँको जीवनको वास्तविकता पनि । सायद संसारमा धेरै सन्तानहरूको बुवा मध्येमा तपाईं पनि एकजना पर्नुहुन्छ । ८ छोरा र ७ छोरीको ‘आप्पा’ हुनुभयो, उनीहरूलाई जन्माउनुभयो, हुर्काउनुभयो । अहिले आ–आफ्नो ठाउँमा सबैजना एक किसिमले ‘सेटल’ पनि भए । त्यति धेरै सन्तानहरू हुर्काएको एउटा कवि अभिभावकको अनुभव चाहिँ कस्तो छ ?
मलाई मिठो कुरा सोध्नुभयो । मैले भन्नैपर्ने कुराहरूमध्येको एक कुरा हो, यो । म जे थिएँ, पहिलो कुरा त मैले पढ्न पाइनँ । आफूले पढ्न पाएको भएदेखि म छोराछोरीलाई झनै राम्रोसँग पढाउँथेँ होला । तर यस सन्दर्भमा मैले गल्ती पनि गरिनँ । किनभने मेरो छोराछोरीहरूलाई पढाउनुपर्छ भन्ने भावना चाहिँ दिलभित्र बोकेकै थिएँ ।
बाबाले मलाई पढ्न दिनुभएन, मैले लुकेर पढ्छु भन्दा पनि कुटाइ खाएँ । म ‘लाहुरे हुन्छु’ भन्दा लाहुरे पनि हुन दिनुभएन । त्यसपछि आफैँमाथि नै कस्तो अप्ठ्यारो–अप्ठ्यारो भयो । म त्यस्तो खास निकै चेतना बोकेको मान्छे चाहिँ होइन है । तर ‘त्यस्तो चाहिँ हुनुपर्थ्यो नि त मैले’ भन्ने चाहिँ मेरो सोच छँदै थियो । त्यसै कारणले छोराछोरीलाई पढाउनुपर्छ भनेर मैले बल गरेँ । पढाएँ पनि छोराछोरीहरूलाई । आफूले पढ्न सकिएन, २१–२२ वर्षको उमेरमा त नाथे क–ख लेखी हिँडेको । छोराछोरीलाई के पढाउँथेँ होला र ? यद्यपि, मैले छोराछोरीलाई कुटेर होइन, प्यारो गरेर ‘पढ्नुपर्छ छोराछोरी हो’ भनेँ ।
मेरो बाबु र मबिचमा जहिल्यै विवाद हुन्थ्यो । ‘भाँडा बोकेर, भारी बोकेरै मात्रै जीवन निर्वाह गर्नु त अनुचित हो’ भन्ने कुरा मेरो मनमा थियो । तर बाबुसँग डराउनुपर्ने । त्यसैले गर्दा मैले आफूले पढ्न सकिनँ । तर छोराछोरीलाई राम्रै पढाएँ । जे गरेर भए पनि राम्रै पढाएँ भन्ने लाग्छ । पछि छोराछोरीहरू आफैँ पढ्ने भइसकेपछि त मलाई त गर्व पो हुन थाल्यो । मलाई त आनन्द अनि एकदम सुख पो हुन थाल्यो । मैले एकजनालाई एकैचोटी पनि हिर्काइनँ । कुटिनँ ।
८ भाइ छोरा र ७ बहिनी छोरी छन् मसँग । र, अहिलेसम्म ती आठै जना, त्यो सातै जनाले कुनै पनि धोका दिएका छैनन् मलाई जीवनमा । उनीहरूबाट म सन्तुष्ट छु । खुसी छु । साँच्चै खुसी छु । म हेर्छु, मैले मेरो छोराहरूको चरित्र हेर्छु र उनीहरूले गरेको काम हेर्छु । आनन्द मात्रै होइन मलाई गर्व पनि लाग्छ । मेरा छोराछोरीले चाहिँ गरेकै हो है भन्ने लाग्छ । अहिले पनि म उनीहरूलाई बारबार यही कुरा भन्ने गर्छु कि अहिले लेख्न पनि सक्छौ, पढ्न पनि सक्छौ । तिमीहरू अब अफिसर पनि हुने बेला भइसक्यो । तिमीहरूले गीत पनि गाउन सक्छौ, लेख्न पनि सक्छौ, जम्मै कुरा गर्न सक्छौ । तर तिमीहरू फुर्केका छैनौ । तिमीहरू नफुर्केको देख्दाखेरि खुसी भएको छु । बाबुले पाउने शोभा मैले तिमीहरूबाट पाएको छु । म उनीहरूबाट सन्तुष्ट छु । यो कुरा सबैलाई भन्दिनुहोला ।
- झण्डै एक प्लाटुन छोराछोरी हुर्काउँदाखेरिको व्यावहारिक पाटोका अन्य तीता–मीठा अनुभवहरू पनि होलान् नि, तपाईंसँग ?
हो, त्यो कुरा सही हो । हामीले अर्काको बारी कमाएर हुर्किएको हो । तर, पछि त धनी भयौँ नि ! जब ममा अलि चेतना आयो, धनी भनेको अर्काको बारी कमाउन नपर्ने भयो । आफ्नै बारी कमाउनेमा पुग्यौँ हामीहरू । र, त्यो पुगेर नै अहिले पनि सन्तोष लागिराखेको छ । तर यो मुलुकमा अहिले के भयो झन् हामीहरूले कमाएको, आफूले बनाएको जग्गा जमिन सबैले मिल्काइराखेका छौँ । बाँझो बनाएर त्यसै फालिराखेका छौँ । हामीसँग १५–२० मुरी धान हाम्रो हुन्थ्यो । तर अहिले त्यो त्यसै बारीमा मिल्काइराखेका छौँ ।
अब त्यो छोराछोरीलाई ‘तिमीहरूले जोत, त्यो जोत्नुपर्छ, त्यहाँ धान किन नफलाएको ?’ भन्दिनँ । परिस्थिति त्यस्तै आयो । त्यसैले तिमीहरूले यसमा चिन्ता नगर भन्छु छोरा–बुहारीहरूलाई । तिमीहरूले पैसा कमाउन सक्यौ भने पुगिहाल्यो नि, त्यो बारी खेत लडिरहन्छ नि । त्यो कसले खान पाउँछ त ? भन्छु ।
अरू त्यहाँभन्दा परतिर त हाम्रो बिचमा बाबु–छोराहरूमा पनि, बुहारीहरूमा पनि सबैमा साँच्चै मजाको स्वभाव छ । चरित्र पनि राम्रो छ सबैसँग । बाबु भनेपछि सबैले मलाई माया गर्छन् । हकार्दैनन् । उनीहरूलाई बरु कति ठाउँमा दुःखिराखेको होला, तर त्यो उनीहरूले बाहिर निकाल्दैनन् । बाबु–छोरा पनि कहिलेकाहीँ त नाच्न पनि पो खोज्छौँ त । छोरी (गायिका बबिना किराती) त नाच्ने नै भइहाली । दुनियाँ थर्काएर, गाएर, नाचेरै पैसा कमाउँछे । यो सबै हेर्दाखेरि चाहिँ म सन्तुष्ट छु । छोराछोरीहरूलाई मैले जति गरेँ, जे गरेँ त्यसलाई उनीहरूले पछ्याए ।
- तपाईं राजनीतिक रूपमा पनि अग्रभागमै सक्रिय हुनुभयो । पञ्चायतकालीन व्यवस्थामा तीन पटकसम्म उप–प्रधानपञ्च हुनुभयो । तर, तीन पटकसम्म उप–प्रधानपञ्च भएर पनि प्रधानपञ्च चाहिँ किन नभएको त ?
उप–प्रधानपञ्च तीन पटक बनाइएको थियो, मलाई । के भनेँ, म त एउटा सामान्य गरिब मान्छे । त्यहाँ धनी–धनी राईहरू छन् । तीनजना चाहिँ साँच्चैका धनी राईहरू थिए । ती राईहरूमध्ये दुईजना चाहिँ मेरो ससुरालीहरू । तिनीहरूले मलाई अल्मल्याउने जहिले पनि । ‘म पनि प्रधानपञ्च हुन पाए हुन्थ्यो नि त’ भन्ने लाग्थ्यो । ‘मलाई किन चाहिँ प्रधानपञ्च नबनाएका ? गर्छु नि म पनि काम त’ भन्थेँ । ससुरालीहरूले जहिल्यै ‘हैन, बेला आउँछ तपाईंको, बेला आउँछ’ भन्यो । खालि त्यसै गरेर अल्मल्यायो... (लामो हाँसो) ।
अनि ‘लु लु ज्वाइँलाई बोलाउनु घरमा’ भनेको छ, बोला’को छ । म ज्वाइँ ठहरेँ नि त उनीहरूको, अनि गएपछि जाँड दिने, रक्सी पनि दिने । कुखुरा काटिदिने, सुँगुरको मासु काटिदिने है ! अनि अब छोरी पनि उनीहरूकै बिहे गरेको मैले । (हाँस्दै) मैले भनेको नमानिदिने भन्छन् भन्या दुइटा ससुराले । अनि खाली उप–प्रधानपञ्च मात्रै बनाइदिने ।
म फेरि लेख्न पनि जान्ने भइसकेँ नि त्यसबेला त । अक्षर पनि राम्रो लेख्थेँ । म नेपाली विषयको टिचर भएँ । नेपाली टिचर भएपछि त झन् साह्रै नामुद मान्छे पो भएँ त म । ओखलढुङ्गाले पनि बोलाउँथ्यो, भोजपुरले पनि बोलाउँथ्यो । गाउँको त कुरै नगरौँ । म राम्ररी नै लेख्थेँ पनि । मलाई मेरो मास्टर (बिर्सिएको शिक्षकको नाम सम्झने प्रयास गर्दै), यी सबै मेरो हेडसरहरूको नाउँ नै बिर्सन्छु । अनि म के जान्दछु, भो अब ? ती सरहरूले मलाई कति फकाउनुभयो, मलाई कति मज्जाले सघाउनुभयो । त्यसै भएको हुनाले म राम्रो पनि भएको थिएँ । मञ्जुल, अनि उसको साथी रामेश र रायन । यिनीहरू चाहिँ गायक, लेखकहरू हुन् । मलाई यत्तिको बनाउने यिनीहरू नै हुन् ।
- रामेश, रायन र मञ्जुलहरूसँग अहिले पनि तपाईँहरूको भेट हुन्छ ?
अहिले पनि बारबार भइराखेको छ । तर म यति फटाहा मान्छे भइसकेँ, यति नराम्रो भइसकेँ कि अहिलेसम्म गोरखबहादुर श्रेष्ठलाई चाहिँ भेट्न गएको छैन । कहिलेकाहीँ फोन गर्छु, अनि ‘अब तिमीले मलाई बिर्सेको, म मर्ने बेला भएको’ भन्छ । ‘तपाईं मभन्दा दुई महिना पनि जेठो होइन’ भन्छु म । उनीहरूले नै हो मलाई यत्तिको बनाएको ।
- भेट हुँदा कस्तो कुरा हुन्छ त तपाईंहरूको बिचमा ?
कस्तो खालको भन्नु । त्यही त हो नि, ‘तिमीले गर्दा म यत्तिको भएको’ भन्छु म । ‘तिमीले गर्दा हामी यत्तिको भएको’ भन्छन्, उनीहरू । त्यसरी नै गफ गर्छौं, बस्छौँ । ‘तिमी’ बाहेक कहिल्यै केही भनिएन । त्यति नजिकमा बस्यौँ हामी । पहिलेदेखि नै उनीहरूको त वंश नै पढ्नेवाला । म नाथे त केही पनि त होइन नि । तर, उनीहरूसँग म छु । उनीहरू मलाई इज्जत गर्छन् । जसराज भनेपछि दगुरेर पनि आउँछन् । फोन पनि गरेको गरेकै गर्छन् । मज्जा लाग्छ । जसराज भनेर अरू मान्छेको अगाडि उनीहरू सबैले व्याख्या गर्छन्, मेरो बारेमा । म कति गर्व गर्छु के त्यो बेला चाहिँ । तर, गर्नु चाहिँ सत्य केही गरेको होइन मैले । केही नापेको होइन/छैन ।
पञ्चायती व्यवस्थामा तपाईं उप–प्रधानपञ्च हुनुभयो । जनयुद्ध र ०६२/६३ पछि जुन परिवेशमा हामीले प्रवेश गर्यौँ र त्यो परिस्थितिको प्रमुख जग बसाउने तत्कालीन (माओवादी) को समानुपातिक उम्मेदवारको सूचीमा तपाईं पर्नुभयो । राजनीतिक रूपले हेर्दा पञ्चायती व्यवस्था र राजतन्त्र उन्मुलन गर्ने प्रमुख राजनीतिक शक्तिबिचको ध्रुव विपरीत छन् । तर, तपाईंको जीवनमा त्यही एउटा मान्छे उप–प्रधानपञ्च अनि त्यही मान्छे माओवादीको समानुपातिक उम्मेदवार बन्ने अवसर प्राप्त भयो । त्यो कसरी सम्भव भयो ?
म वास्तवमा राजनीतिमा लाग्नु नै पर्छ भनेर कहिले पनि लागेको होइन । कतै पनि नलागेको । कांग्रेस पनि हुन सकिन्थ्यो होला । मैले कसैलाई पनि विरोध जनाइनँ क्या । ‘मेरो चाहिँ पार्टी राम्रो हो, तिम्रो चाहिँ पार्टी नराम्रो हो’ भनेर कसैलाई कहिल्यै भनिनँ । नभएदेखि मान्छे त झगडा गर्ने नि । म त झगडा पनि गरिनँ ।
माओवादी आउँथे, माओवादीले पनि मलाई पत्याइ नै रहन्थे । मैले पनि उनीहरूलाई पत्याइदिन्थेँ । उनीहरूले मलाई गाली पनि गर्न सक्दैनथे, ‘यसो–उसो गरौँ’ भनेर अर्ति पनि दिन सक्दैनथे । साँच्चै भनेको मलाई माओवादी मन पर्नु चाहिँ परेकै हो । माओवादी नै मलाई मन परेको हो । किन–किन उनीहरू सारै राम्रा लाग्थे हौँ मलाई । ती किन मन परे ? के थियो उनीहरूसँग त्यो चाहिँ म भन्दिनँ । माओवादीको समानुपातिक उम्मेदवार त्यसरी भए होला ।
- एउटा कविको रूपमा राजनीतिकर्मी हुँदाको अनुभवहरू कस्तो छ तपाईँको ?
साहित्यमा चाहिँ तपाईं किन पछि पर्नुभयो, किन बिग्रनुभयो ? भनेजस्तो कुरा हो यो । किन साहित्यमा ख्याल गर्नुभएन भनेको होला जस्तो लाग्छ । यो चाहिँ ममा के भएर त्यो आयो भनेदेखि यो सबै कुरा गरेर के हुन्छ होला र ? मेरो के इज्जत हुन्छ होला र ? भन्ने आयो क्या । जति लेख्थेँ, जति बनाउँथे, जे गर्थें, म बनाउँदा–बनाउँदै, लेख्दा–लेख्दै छोडिदिन्थेँ । लेख्न थाल्यो, आफैँले लेखेको आफूलाई चित्त नबुझ्ने । कहिले पनि म आफू सन्तुष्ट रहिनँ । के गरेर म सन्तुष्ट हुन सक्छु त ? भन्ने कुराको सोच गर्दाखेरि पनि कहिल्यै मेरो मस्तिष्कमा आएन । म लाटिएको लाटिएकै भएँ । त्यसै कारणले गर्दाखेरि नै हो ।
अहिले पनि मेरो चेतना त छ । म आफैले लेखेका किताबहरू कहिलेकाहीँ पढ्छु । लेख्दै जान्छु । मलाई चित्तै बुझ्दैन । अनि मैले जति लेखेँ, त्यो पनि त कहाँ चित्त बुझ्ने छ र ? छैन नि । अरूले यसलाई राम्रो भन्छन् । किन राम्रो भनेको होला ? मैले लेखेकोलाई किन राम्रो भन्छन् उनीहरू ? यो कुरो मलाई सही लाग्दैन । तर यसो हेर्छु । सबैले इज्जत दिन्छ त मलाई फेरि । सम्मान गरिराख्या छ । तर त्यो मलाई चित्त बुझ्दैन । अनि त्यही कारणले मैले लेख्न छोडेँ । फेरि म जाँड्याहा, रक्स्याहा पनि होइन । जता पायो त्यतै केटीहरूसँग लागेर हिँड्ने पनि होइन ।
बरु राम्रो घर बनाइयो, छोराछोरीहरूले राम्रो ठाउँमा बस्न पाए भनेदेखि इज्जत बढ्दै जान्थ्यो । यिनीहरू सुखी हुँदै जान्थ्यो । यिनीहरूको इज्जत नै मेरो इज्जत हुँदै जान्छ भन्ने मात्रै मेरो सोचमा आयो । त्यो कुरो मलाई मन परिराखेको हुन्छ, जहिले पनि । र, लेख्नमा मैले वास्तवमा के लेखेँ होला र खै ? अहिले पनि मलाई त्यस्तै लाग्छ । अस्ति भर्खरै पनि ठूलो कार्यक्रम भयो । मलाई त्यत्रो पैसा (नेपाली प्रतिभा प्रतिष्ठान, बेलायतले एक लाख रुपैयाँसहित प्रदान गरेको प्रतिभा विशिष्ट सम्मान) दियो, म खुसी भएँ । त्योभन्दा अगाडि पनि मलाई थुप्रै पल्ट दिइसक्या छन् ।
- तपाईंको जीवनमा त्यो एउटा पाटो भयो । तर राजनीतिमा लागेर मैले राम्रो या नराम्रो के गरेँ भन्ने लाग्छ तपाईंलाई ?
हैन, त्यो चाहिँ के हो भने, म अर्काको पक्षमा लाग्ने भइनँ क्या । फेरि मेरो त दुस्मन पनि कस्तो भइदियो भने नि, मैले अलिकति लेख्न थाले, मैले केही गर्न थाले भनेदेखि पर्लक्क पल्टेरै आएर मलाई मिच्ने गर्छन् । त्यो पनि मेरै वंशहरूकाहरू, मेरै मान्छेहरू । कहिले पनि मेरो कुरालाई उनीहरूले मञ्जुर नगर्ने । उनीहरू मेरो बाटो रोक्ने जहिले पनि । निकै धनीहरू, निकै जान्ने बुझ्ने, गतिलो मै हुँ भन्नेहरू छन् नि । तर तिनीहरू म जत्तिको गतिलो नि भएका छैनन् ।
तर, बिगार्ने चाहिँ तिनीहरू नै हो मलाई । यो साँचो कुरा हो । तर मान्छेको नाउँ काढ्दिनँ म । उनीहरू मलाई कहिले चुट्नु पनि तयार, धपाउनु पनि तयार । भाग्नुपर्ने मैले, जहिले पनि । फेरि अरूसँग गएर ‘मलाई यसो यसो भन्यो, यसो यसो गर्दैछ’ भनेर भनौँ भने त्यो पनि मेरो चित्तले नमान्ने । म किन उनीहरूको खुट्टा परिरहनु ? उनीहरूको खुट्टामा किन गइरहनुपर्ने ? भन्ने सोच मेरो मनमा आइरहन्थ्यो । बरु एकान्तकै जीवन ठिक हो, आखिर यत्तिकै भइराखेकै छ भन्ने सोच्थेँ ।
भनेको अब आफैँ राजनीतिमा लाग्छु भनेर लाग्न नसकिने रहेछ । सम्पन्न हुनुपर्यो नि त मान्छे त हगि । पैसाबिना त अगाडि बढ्न सकिन्न क्यारे । दुनियाँलाई नि खुट्टा समाउनै पर्यो । ढोग्नै पर्यो । म अर्काको अगाडि टाउको झुकाउने मान्छे होइन है फेरि ।
- राजनीतिमा आउनु जीवनको एउटा संयोगहरू हो भनौँ त्यसो भए ?
संयोगहरू । हजुर हजुर । त्यस्तै हो ।
- तपाईं राल्फा आन्दोलनसँग पनि नजिकबाट जोडिनुभयो । त्यसबेलाका कुराहरू पनि सुनाइदिनुस् न ?
राल्फाको त गति नै अर्को हो । उसको प्रवृत्ति नै अर्कै हो क्या । राल्फाको म सदस्य नै चाहिँ भइनँ । तर, उनीहरूको संरक्षण चाहिँ मबाट हुन्थ्यो । संरक्षण मैले गर्थें । रामेश साहित्यमा लाग्थ्यो । मञ्जुल गीतमा लाग्थ्यो । म त्यसलाई कसरी सुरक्षा गर्न सकिन्छ भन्ने पक्षमा जान्थेँ । उनीहरू अझै पनि जस्ताको तस्तै नै छन्, एक किसिमले । मञ्जुल चाहिँ अलि लाटिएको छ । म जस्तै नै लाटिएर बस्यो त्यो अहिले । अहिले त बोल्दैन पनि उ त । विचरा ! म त कमसेकम यति त बोल्छु । रामेश वास्तवमा निकै तगडा मान्छे मध्येको एक मान्छे हो । यो बिर्सनु हुन्न ।
- अघि पनि पुरस्कारको थोरै कुरा आयो । पछिल्लो समय तपाईंले थुप्रै पुरस्कार, सम्मानहरू प्राप्त गरिराख्नु भएको छ । र, तपाईंले आफ्नो नाममा ‘जसराज किराती प्रतिभा पुरस्कार’ पनि स्थापना गर्नुभएको छ । यो पुरस्कार वा सम्मानको अनुभव चाहिँ कस्तो छ, तपाईंको ?
त्यो त खै बिर्से । कसरी भन्नुपर्ने ? जान्दिनँ भो (लामो हाँसो) ।
- भन्नुको मतलब, यो पुरस्कार अथवा सम्मानहरू दिने अथवा लिने क्रममा भित्र–भित्रै केही राजनीतिहरू पनि हुन्छ भन्छन् । तपाईंको अनुभवमा यस्तो राजनीति हुन्छ कि हुँदैन ?
खै, त्यो राजनीतिले मलाई चाहिँ छोएन जस्तो लाग्छ । त्यो माया र स्नेह, प्रेमले नै दिएको हो कि भन्छु । मबाट केही फाइदा लिउँला, जसराजबाट केही पाइन्छ भन्ने पनि होइन । त्यो पुरस्कार मलाई मिलाइदेऊ न हौ भनेको पनि होइन । पैसाको त्यति लोभ पनि गर्दिनँ । दिएपछि नाइँ भन्दिनँ । भर्खरैको कार्यक्रममा पनि यो कुरा आएको थियो । मैले त्यहाँ भनेँ– ‘म लोभ लागेर यो पुरस्कार लिइराखेको होइन । मैले मागेर पनि लिएको होइन । मैले पाउनुपर्ने थियो होला अनि मैले पाएँ होला ।’
मेरो जवाफ यही हुन्छ । म त्यस्तै सम्झिन्छु । धेरैजना मित्रहरू देखेँ–सुनेँ पनि मैले, ‘मलाई दिनुपर्ने, जसराजलाई चाहिँ दिन्छ’ भन्नेहरू पनि । भित्रभित्र जसराजले चाहिँ पैसा नि दिने गर्छ, पैसा दिएको छ, खुसी बनाएको छ । अनि त्यसरी लिन्छ भन्ने पनि कुरा मैले सुनेको छु । तर त्यस्तोसँग बाझ्ने कुरा नि भएन । बेकारको कुरा । जति पुरस्कार दिएको छ, त्यो एउटा उचित तरिकाले, स्वाभाविक तरिकाले दिएको हो कि भन्छु म ।
- तपाईंले ८२ वर्षको जीवन जिउँदै हुनुहुन्छ, यत्रो लामो जीवनमा तपाईंले जम्मा तीन कविता सङ्ग्रह मात्रै प्रकाशन गर्नुभयो ?
म त्यसै लोलाएँ क्या । त्यसै बिग्रिएँ । अघि भनेको थिएँ नि मैले, ‘के यतिको कुरा लेखिरहनु, पहिला नि अरूले नि लेखिराख्या छ, सबैले बनाइराखेकै छ’ भन्ने लाग्यो । तर, त्यो बनाउनु पर्ने रहेछ । लेख्नु पर्ने रहेछ । तर ममा त्यो स्वभाव आएन । त्यो चरित्रै मैले गलत गरेँ क्या । मैले गरेको गल्ती हो यो । अहिले पो याद आउँछ र लेख्न खोज्छु । तर, सबै कुरो बिग्रिसक्या छ । सबै कुरो भत्किसक्या छ । जम्मै पहिरो–पहिरो गएको छ मेरो त । त्यसै कारणले म चुपचाप बस्छु । के गर्नु त अब । मैले सकिनँ ।
हामीजस्ता युवा पुस्तालाई तपाईंजस्ता अग्रज कविहरूको थप कविता वा सिर्जना पढ्न पाए कस्तो राम्रो हुन्थ्यो भन्ने आशा भइराख्दो रहेछ । हाम्रो यो आशा पूरा हुन्छ, तपाईंबाट ?
(लामो हाँसोपछि) त्यो सम्भावना छैन । आफैँले आफैँलाई बिर्सिसकेँ । आफैँले आफैँलाई बिर्सेपछि के गर्न सकिन्छ ? ल भन्नु त । बरु रक्सी खाएर बसेको भए राम्रो हुन्थ्यो रहेछ नि । जाँड खाएरै बसेको भएदेखि बरु सन्तोष त हुन्थ्यो मलाई । रक्सी नि छाडेँ । केही खान्नँ तर लेख्न सक्दिनँ । पागल भएर हिँड्न पनि मिलेको छैन । हो, साँचो कुरा । मलाई साँच्चैको कुरा भन्नुभो तपाईंले ।
- तपाईंको अप्रकाशित कविताहरू पनि छन् नि त ?
छैन–छैन । त्यस्तो केही पनि छैन । र, यही त लोभ लाग्छ र रिस उठ्छ क्या । ‘मैले किन नलेखेको होला ?’ भन्छु । आफैँलाई गाली गर्छु । आफैँसँग बाझ्छु । आफैँसँग जुध्छु । तर यस्तै हो । ल भयो–भयो । यस्तो कुरा नगरौँ अब ।
- झिजै भए पनि अन्त्यमा नयाँ पुस्ताका लेखकहरूलाई तपाईंको तर्फबाट केही सुझाव अथवा प्रेरणा दिनुहोस् न ?
खै, अलमलिएको मान्छेले कसलाई के भन्न सक्ला र ? कसैलाई केही भन्न सक्छ ? टाउको भुइँतिर भएको, खुट्टातिर चाहिँ निधार भएको, त्यस्तो मान्छेले सक्दै सक्दैन । यति हो, नलेख्ने गलत मबाट भयो । यो जीवनमा मैले गलत गरेँ । अब मेरो यो जीवन फेरि आउँदैन तर त्यो जीवनमा म बाँकी छैन । त्यसै कारण म सन्तोष मात्रै गर्न सक्छु । नयाँ पुस्ताका लेखकले यो गल्ती नगर्नुहोस् । अथवा मैले गरेको गल्ती नदोहोर्याउनुहोस् । अहिलेलाई यत्ति भन्न सकेँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दृष्टिविहीन बालबालिकाका लागि निर्मित आवासीय भवन सम्पन्न गर्न नेपाल लाइफ इन्स्योरेन्सको सहयोग
-
जनकपुरको रामानन्द र पिडारी चोक सवारी दुर्घटनाको अति जोखिममा
-
कुकुरको खाना भनेर अस्ट्रेलिया पठाउन लागिएको अवैध चुरोट त्रिभुवन विमानस्थलबाट बरामद
-
सुर्खेतमा अपराधजन्य घटनाको ग्राफ बढ्दो
-
जीडब्ल्युएम ओरा ५ ईभीमा आफ्नै अत्याधुनिक प्रविधिको ब्याट्री प्रयोग
-
बजेट कार्यान्वयनबारे अर्थ मन्त्रालयले जारी गर्यो ३७ बुँदे मार्गदर्शन (पूर्णपाठ)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण