शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
उडानमा रुख बाधक

बुद्ध एयरको विमान दुर्घटनापछि प्रशासन सक्रिय, भद्रपुर विमानस्थल क्षेत्रको रुख काटियो

शुक्रबार, २५ पुस २०८२, १७ : ००
शुक्रबार, २५ पुस २०८२

सारांश

  • झापाको भद्रपुर विमानस्थलमा बुद्ध एयरको जहाज दुर्घटना भएपछि रनवे आसपासका रुखहरू काटिएका छन्।
  • दुर्घटनापछि विमानस्थलको उडान सुरक्षामा प्रश्न उठेपछि स्थानीय प्रशासनले रुख कटान गरेको हो।
  • मन्त्रीपरिषद्को निर्णय अनुसार दुर्घटनाको छानबिन गर्न एक समिति गठन गरिएको छ, जसले ४५ दिनभित्र प्रतिवेदन बुझाउनेछ।

काठमाडौँ ।  झापाको भद्रपुरस्थित चन्द्रगढी विमानस्थलमा गत पुस १८ गते राति बुद्ध एयरको जहाज दुर्घटना भएपछि विमानस्थलको रनवे क्षेत्र आसपासका रुखहरू काटिएका छन् । काठमाडौँबाट ५१ जना यात्रु, चार चालक दलका सदस्य र एक इन्जिनियर बोकेर उडेको बुद्ध एयरको एटीआर ७२ जहाज अवतरणका क्रममा रन–वेभन्दा करिब ३०० मिटर अगाडि पुगेर घाँसे मैदान र माटोमा भासिएको थियो । उक्त दुर्घटनामा को–पाइलट सुशान्त श्रेष्ठसहित सात जना घाइते भएका थिए ।

दुर्घटनापश्चात् विमानस्थलको उडान सुरक्षामा गम्भीर प्रश्न उठेपछि स्थानीय प्रशासनले सक्रियता देखाउँदै रुख कटान गरेको हो । विगतमा भद्रपुर विमानस्थलमा लामो समय उडान भरेका पूर्व पाइलट रमेश श्रेष्ठले विमानस्थलको पूर्वतर्फ रहेको नेपाली सेनाको ब्यारेक क्षेत्रका अग्ला रुखहरूले समस्या निम्त्याएको बताउँदै आएका थिए ।  विशेष गरी रात्रिकालीन उडान र अवतरणमा ठुलो जोखिम निम्त्याइरहेको उनको भनाइ थियो ।

श्रेष्ठका अनुसार ती रुखहरूका कारण पाइलटहरूले जहाजलाई रन–वेमा निकै होचो गरी अवतरण गराउन समस्या हुने र अलिकति पनि प्राविधिक त्रुटि भएमा ठुलो दुर्घटना हुन सक्ने जोखिम रहन्थ्यो । उनले आफ्नो २५ वर्षे अनुभवका आधारमा यसअघि पटक–पटक यो विषयमा सरोकारवालाको ध्यान आकर्षण गराएको र यो दुर्घटनाले आफ्नो चिन्तालाई पुष्टि गरेको उल्लेख गरेका छन् ।

दुर्घटना भएसँगै अहिले विमानस्थलको एप्रोच क्षेत्रमा रहेका ती रुखहरूले उडान सुरक्षामा अवरोध पुर्याएको निष्कर्ष निकाल्दै  जिल्ला प्रशासन कार्यालय झापाले रुख काट्ने प्रक्रिया अगाडि बढाएको हो । प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले विमानस्थलको धावनमार्ग नजिकै रहेका र उडानमा अवरोध पुर्याउन सक्ने विभिन्न प्रजातिका रुखहरू फेदैबाट काटिएको बताए ।  बिहीबार फेदैदेखि रुख काटिएको उनले बताए ।

यद्यपि पुस १८ को दुर्घटनाको मुख्य कारण ती रुखहरू नै हुन् वा अन्य प्राविधिक कारण पनि हो भन्ने विषयमा भने आधिकारिक छानबिन प्रतिवेदन आएपछि मात्र प्रस्ट हुने उनले बताए । प्रशासनले भविष्यमा यस्ता दुर्घटना न्यूनीकरण गर्न र पाइलटहरूलाई जहाज अवतरणका क्रममा सजिलो होस् भन्ने उद्देश्यले यो कदम चालेको उनको भनाइ छ । 

मन्त्रिपरिषद्को पुस २१ गतेको निर्णयअनुसार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले उक्त दुर्घटनाको छानबिन गर्न एक समिति गठन गरेको छ । वरिष्ठ क्याप्टेन विनोद पुरीको संयोजकत्वमा गठित उक्त समितिले गैरसैनिक हवाई उडान (दुर्घटना जाँच) नियमावली, २०७१ बमोजिम ४५ दिनभित्र विस्तृत प्रतिवेदन पेस गर्नेछ । 

हाललाई सुरक्षाका उपायहरू अपनाउँदै रुखहरू काटिए पनि जहाजको प्राविधिक अवस्था, मानवीय त्रुटि वा वातावरणीय प्रभावका बारेमा समितिको अन्तिम प्रतिवेदनले नै ठोस जानकारी दिने प्रशासनको भनाइ छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप