बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीति

रेशम–रञ्जिता विवादले नाउपा सङ्कटमा, रास्वपालाई फाइदा !

सोमबार, २८ पुस २०८२, १८ : ३०
सोमबार, २८ पुस २०८२

सारांश

  • नागरिक उन्मुक्ति पार्टी (नाउपा) आन्तरिक विवादका कारण कमजोर हुँदै गएको छ, जसले सुदूरपश्चिममा वैकल्पिक राजनीतिक शक्ति गुमाएको छ।
  • पार्टीका नेताहरू राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्दैछन्, जसले आगामी चुनावमा प्रतिस्पर्धा गर्ने तयारी गरेका छन्।
  • रेशम चौधरी र रञ्जिता श्रेष्ठबीचको शक्ति संघर्षका कारण पार्टी विभाजन भएको र थारु समुदायको भोट विभाजन हुने सम्भावना छ।
00:00 / NaN:NaN
Audio By AI

धनगढी । २०७९ सालको स्थानीय तह, प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा लोभलाग्दो गरी स्थापित भएको नागरिक उन्मुक्ति पार्टी (नाउपा) अहिले छिन्नभिन्न अवस्थामा पुगेको छ । सुदूरपश्चिम प्रदेशलाई आधार क्षेत्र बनाएको यो पार्टी वैकल्पिक राजनीतिक शक्तिका लागि निकै सहज माहोल बनेको अवस्थामा समेत आन्तरिक विवादका कारण विभाजित भएर कमजोर हुन पुगेको हो ।

थरुहट आन्दोलन र टीकापुर घटनाको जगमा उदाएको नाउपाबाटै राजनीतिमा उदाएका कतिपय नेता राष्ट्रिय स्वतन्त्र पार्टीमा आवद्ध भएर चुनावी मैदानमा उत्रिने तयारीमा छन् । हिजो रेशम चौधरी र रञ्जिता श्रेष्ठको नेतृत्वमा एक ढिक्का रहेका कतिपय थारु नेता अहिले रास्वपाको झण्डा मुनि गोलबद्ध हुँदै चुनाव लड्ने तयारीमा जुटेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको संगठन निर्माणमा महत्त्वपूर्ण भूमिका खेलेका नेताहरू अहिले रास्वपाको बलियो खम्बा बनेका छन् । अघिल्लो निर्वाचनमा नाउपाबाट सक्रिय रहेकी कैलालीकी करिश्मा कठरिया यसको उदाहरण हुन् । विगतमा नाउपाको केन्द्रीय सचिव रहेकी कठरिया अहिले रास्वपा सुदूरपश्चिमको सह–महामन्त्री र संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालिरहेकी छन् । उनी आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रास्वपाबाट समानुपातिकतर्फको बन्दसूचीमा समेत परिसकेकी छन् ।

त्यस्तै, कञ्चनपुरबाट पनि नाउपाको विरासत रास्वपामा सर्दैछ । २०७९ को चुनावमा नागरिक उन्मुक्ति पार्टीबाट कञ्चनपुर क्षेत्र नं. २ (१) मा प्रदेश सभा सदस्यको उम्मेदवार बनेकी गीता चौधरीले पनि पुरानो घर छोडेकी छन् । उनी अहिले रास्वपामा आबद्ध भई समानुपातिकतर्फको बन्द सूचीमा परेकी छन् ।

थारु समुदायको बाहुल्यता रहेको क्षेत्रमा रास्वपाले नाउपाका पुराना र पढे–लेखेका अनुभवी नेताहरूलाई भित्र्याएर आफ्नो जनाधार बलियो बनाउने रणनीति बताएको छ ।

समानुपातिकमा मात्र होइन, प्रत्यक्षतर्फ पनि नाउपाका पूर्वनेताहरू रास्वपाको चुनाव चिह्न लिएर मैदानमा उत्रिने तयारीमा छन् । नाउपाका तत्कालीन वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित रास्वपामा प्रवेश गरिसकेका छन् । थरुहट आन्दोलनका अगुवा नेता लक्ष्मण थारु, राजेश अधिकारी, कोमल ज्ञवालीलगायतका नेताहरूको लाम रास्वपातिर लागेको छ । कैलालीबाट लक्ष्मण थारुले यसपटक रास्वपाबाटै प्रत्यक्ष चुनाव लड्ने तयारी गरेको चर्चासमेत छ ।

यसअघि प्रतिनिधि सभामा नाउपाले प्रत्यक्षतर्फ तीन वटा सिट जितेको थियो । यसपटक ती तीन वटै सिटमा रास्वपाले नाउपाबाट आफ्नो पार्टीमा आएका नेतालाई टिकट दिने योजना बनाएको छ ।

यद्यपि, रास्वपाले कञ्चनपुर बाहेक सुदूरपश्चिमका अन्य जिल्लामा प्रत्यक्षतर्फका उम्मेदवारहरूको विवरण औपचारिक रूपमा सार्वजनिक गरेको छैन । स्रोतका अनुसार ०७९ को निर्वाचनमा नाउपाको टिकटमा चुनाव जितेका वा थोरै मतान्तरले पराजित भएका धेरैजसो अनुहारलाई रास्वपाले अवसर दिने रणनीति बनाएको छ ।

नाउपाबाट रास्वपा प्रवेशको लहर चलिरहँदा सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री लक्ष्मणकिशोर चौधरीको भूमिका भने रहस्यमय बनेको छ । २०७९ मा कैलाली–१ (२) प्रदेश सभा सिटबाट नाउपाको टिकटमा निर्वाचित उनी रास्वपा प्रवेश गरेको खबर सार्वजनिक भयो । तर, प्रवेश गरेको दोस्रो दिनमै उनले आफू रास्वपामा प्रवेश नगरेको दाबी गरे ।

उनको यो यु–टर्नले रास्वपाका नेताहरू नै अचम्ममा परेका छन् । चौधरी पुनः नाउपामा फर्किएका हुन् वा अन्य कुनै दलसँग बार्गेनिङ गरिरहेका छन् भन्ने प्रश्न अनुत्तरित छ ।

२०७८ पुसमा निर्वाचन आयोगमा दर्ता भएको छोटो समयमै स्थानीय तहमा ४ पालिका प्रमुख र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा समेत राम्रो प्रभाव बनाएको नाउपाको यो हविगत हुनुमा मुख्यतः श्रीमान्–श्रीमती (रेशम चौधरी र रञ्जिता श्रेष्ठ) बिचको शक्ति संघर्षलाई प्रमुख कारण मानिएको छ ।

अध्यक्ष रञ्जिता श्रेष्ठले पार्टीभित्र पर्याप्त छलफल नै नगरी कम्युनिस्ट पार्टीहरूसँग एकता र सहकार्यको हात बढाएपछि असन्तुष्टिको आगो सल्किएको थियो । रेशम जेलमुक्त भएपछि २०८० पुसमा भएको महाधिवेशनबाट अध्यक्ष बने पनि निर्वाचन आयोगले रञ्जितालाई नै वैधानिकता दिएपछि विवाद उत्कर्षमा पुग्यो ।

अहिले रेशमले ‘नागरिक उन्मुक्ति पार्टी नेपाल’ नामक छुट्टै दल दर्ता गराएका छन् भने रञ्जिता मूल पार्टीको अस्तित्व जोगाउन संघर्षरत छिन् । केन्द्रको यो झगडाले तल्लो तहका कार्यकर्तालाई नराम्ररी असर गरेको बताउँछन् नाउपाका प्रदेश सांसद रामेश्वर चौधरी । ‘पार्टीका नेताहरू तीनतिर लागे, हामी माउबिनाको चल्लाजस्तै भयौँ,’ उनले भने ।

पार्टी फुट र नेताहरूको बहिर्गमनका बिच अध्यक्ष रञ्जिता श्रेष्ठले भने आफ्नो बचाउ गर्दै आलोचकहरूलाई कडा जबाफ दिएकी छन् । उनले फेसबुकमा लेख्दै पार्टीको विवादलाई ‘श्रीमान्–श्रीमतीको झगडा’ भनेर हल्का रूपमा नलिन चेतावनी दिएकी छन् ।

‘यदि साँच्चिकै हाम्रो व्यक्तिगत झगडा भएको भए त्यो अंश मुद्दा वा बहुविवाह मुद्दाका रूपमा देखिन्थ्यो होला,’ उनले लेखेकी छन्, ‘यहाँ व्यक्तिगत झगडा थिएन । राजनीतिक असहमति र परिस्थितिजन्य मतभेदलाई श्रीमान्–श्रीमतीको झगडामा झार्नु राजनीतिक असफलता र कायरताको प्रमाण हो ।’

रञ्जिताले आफू राजनीतिमा रहरले नभई बाध्यताले आएको र राजबन्दी रिहाइका लागि सत्ता समीकरणको उपयोग गरेको दाबी गरेकी छन् । ‘राजबन्दी रिहाइ कुनै संयोग थिएन । प्रचण्ड नेतृत्वको सरकारमा म मन्त्री हुँदा गरिएको ठोस पहल थियो,’ उनले भनेकी छन्, ‘मलाई रहरले होइन, टीकापुर घटनामा मेरो श्रीमानलाई फसाइएपछि न्यायको खोजीले राजनीतिमा ल्याएको हो ।’

रञ्जिताले आफूलाई पदलोलुप भनेर चरित्र हत्या गरिएको भन्दै आक्रोश पोखेकी छन् । ‘झुटा कथा बनाएर एउटी नारी नेतृलाई बदनाम गराउने प्रयास केवल राजनीतिक अपराधमात्र होइन, यो नारीमाथिको योजनाबद्ध प्रहार हो,’ उनको भनाइ छ ।

नागरिक उन्मुक्ति पार्टीले उठाएको पहिचान र थरुहटको मुद्दा अहिले नेतृत्वको व्यक्तिगत टकराब र अदूरदर्शिताका कारण ओझेलमा परेको देखिन्छ । हिजो थारु समुदायको एकलौटी भोट पाएको नाउपाको जनाधार अहिले विभाजित छ ।

एकातिर रेशम चौधरीको नयाँ पार्टी, अर्कोतिर रञ्जिताको नेतृत्वमा रहेको संस्थापन पक्ष र यही अन्योलका बिच नागरिक उन्मुक्तिका केही प्रभावशाली नेता रास्वपातिर लागेका छन् । कैलालीमा रास्वपाले नाउपाको स्थान लिने चर्चा चलिरहँदा थरुहट आन्दोलनको भावना र मुद्दाहरू अब कुन दलको घोषणापत्रमा समेटिएलान् भन्ने प्रश्न थारु समुदायका स्थानीय सर्वसाधारणले अघि सारेका छन् । यही अवस्थाका बिच यो पटक थारु समुदायको भोटसमेत विभाजन हुने आकलन गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप