बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
कांग्रेस विशेष महाधिवेशन

‘जेनजी’ विद्रोह नेतृत्व र कांग्रेसविरुद्धको विस्फोट थियो : महामन्त्री थापा

सोमबार, २८ पुस २०८२, १३ : ४२
सोमबार, २८ पुस २०८२

सारांश

  • कांग्रेस महामन्त्री गगन थापाले २०८२ भदौको 'जेनजी' विद्रोहलाई पार्टी नेतृत्व र सत्ता सञ्चालकविरुद्धको विस्फोट भनेका छन्।
  • उनले युवाहरूको विद्रोहलाई आर्थिक विकास, सुशासन र जवाफदेहिताको माग गर्दै भएको आमूल परिवर्तनको आन्दोलनको रूपमा व्याख्या गरे।
  • थापाले पार्टीको विधान पालना गर्न र जनताको विश्वास जित्न विशेष महाधिवेशन आवश्यक रहेको बताए।

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले २०८२ भदौमा भएको ‘जेनजी’ विद्रोह पार्टी नेतृत्व र सत्ता सञ्चालकविरुद्धको विस्फोट भएको बताएका छन् । सोमबार विशेष महाधिवेशनको बन्दसत्रमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले युवाहरूको उक्त विद्रोह बारम्बार असफल भइसकेको नेतृत्वको निरन्तरता, कुशासन र भ्रष्टाचारविरुद्ध भएको निष्कर्ष सुनाए ।

महामन्त्री थापाले भदौ २३ र २४ गतेको विद्रोहले विघटित संसद्को पहिलो दल र अपदस्थ सरकारको हिस्सेदार भएकाले कांग्रेसले पनि त्यसको जिम्मेवारी लिनुपर्ने बताए । जनताले उठाएका मुद्दा र विसङ्गतिलाई समयमै नियन्त्रण गर्न नसकेको यथार्थलाई आत्मसात् गर्नुपर्नेमा उनले जोड दिए । थापाले जेनजी विद्रोहलाई आर्थिक विकास, सुशासन र जबाफदेहिताको माग गर्दै भएको आमूल परिवर्तनको आन्दोलनका रूपमा व्याख्या गरे ।

प्रस्तावमा थापाले विद्रोहको मुख्य मर्म नै नीति, कार्यशैली, प्रवृत्ति र पात्रमा परिवर्तन रहेको उल्लेख गरेका छन् । पार्टीको तल्लो तहबाट परिवर्तनको आवाज उठिरहँदा पनि केन्द्रले निर्णय लिन नसक्नु विडम्बना भएको उनको भनाइ छ । कांग्रेसले विगतमा राणा शासन, पञ्चायत र राजतन्त्र अन्त्यका लागि नेतृत्व गरेको स्मरण गर्दै अब जेनजी विद्रोहको सन्देश ग्रहण गरेर भविष्यको यात्रा तय गर्नुपर्ने उनले बताए ।

देश र जनताको हितका लागि कांग्रेसले व्यक्ति र पार्टी स्वार्थभन्दा माथि उठ्नुपर्ने थापाको तर्क छ । दिशाहीन बन्दै गएको देशलाई सम्हाल्न र रूपान्तरणकारी नेतृत्व दिन विशेष महाधिवेशन अपरिहार्य भएको उनले प्रस्ट पारे । लाखौँ मतदाता र जनतालाई विश्वासमा लिन पहिले पार्टीले नै आफ्नो विधानको पूर्ण पालना गर्नुपर्ने उनले बताए ।

थापाले पार्टीले आफ्नै विधान नमानेको अवस्थामा जनताले कांग्रेसलाई संविधान र कानुनको शासन मान्छ भनेर विश्वास नगर्ने जिकिर गरे । उनले यो विशेष महाधिवेशनलाई पार्टीभित्र सार्थक परिवर्तन ल्याउने वैधानिक आधार र जनताको विश्वास जित्ने प्रस्थान विन्दुका रूपमा चित्रण गरे । महाधिवेशनबाट भविष्यको स्पष्ट मार्गचित्र तयार गरेर मात्र कांग्रेस सच्चिएको सन्देश दिन सकिने उनको निष्कर्ष छ ।

यस्तो छ थापाको विश्लेषण

  • जेन-जी विद्रोह र विशेष महाधिवेशनको आवश्यकता 

नवयुवाको आह्वानमा २०८२ भाद्र २३-२४ गते भएको विद्रोह पश्चात् नेपाली राजनीति एउटा विशिष्ट र चुनौतीपूर्ण मोडमा आइपुगेको छ । भाद्र २३ अगाडि र पछाडिको राजनीतिक परिदृश्य एउटै होइन भन्ने हाम्रो पार्टीको दृष्टिकोण छ । एउटै र बारम्बार असफल पुष्टि भइसकेको नेतृत्वको निरन्तरता, सार्वजनिक संस्थाहरूको विश्वसनीयताको क्षयीकरण, कुशासन र भ्रष्टाचारजस्ता विकृति र विसंगतिविरुद्ध जनताको विस्फोट थियो त्यो विद्रोह । हामी त्यस आन्दोलनले विघटित गरेको संसद्को पहिलो दल थियौँ, अपदस्थ सरकारको हिस्सेदार थियौँ, जुन मुद्दा बोकेर विद्रोह भयो ती विषयसँग कतै न कतै हाम्रो संलग्नता छ भन्ने आम जनतालाई लागिरहँदा हामीले समयमै हस्तक्षेप गरेर ती विसंगतिहरूलाई नियन्त्रण गर्न नसकेको यथार्थलाई आत्मसात् गर्नै पर्छ । जेन-जी विद्रोहलाई युवाहरूले आम मानिसको अपेक्षा सरह देशको आर्थिक विकास, युवाको भूमिका, सुशासन र सरकारको जबाफदेहिताको माग गर्दै आमूल परिवर्तनका लागि भएको विद्रोहको रूपमा बुझ्नु पर्छ । 

जेन-जी विद्रोहको मर्म थियो परिवर्तन: हामीले लिएका नीतिमा परिवर्तन, अपनाइरहेका तौर तरिकामा परिवर्तन, प्रवृत्तिमा परिवर्तन, कतिपय पात्रमा परिवर्तन । हामी संसद्मा सबै भन्दा ठुलो दल र हामी सम्मिलित सरकारविरुद्ध भएको आन्दोलन भएका कारण हामीभित्र पनि परिवर्तनको आवश्यकता देखाएकै हो । यही महसुस गरेर पार्टीका तमाम साथीहरूले परिवर्तनको लागि आवाज उठाउनु भयो । पार्टीको तल्लो तहमा परिवर्तनको आवाज मुखरित हुँदै गर्दा केन्द्रमा भने हामीले निर्णय लिनै नसक्ने अवस्थामा पुग्नु विडम्बनाको विषय हो । 

इतिहासका खास खास चरणमा नेपाली कांग्रेस पार्टीले खास निर्णय गरेर आफ्नो मौलिक पहिचान स्थापित गरेको छ । स्थापनाकालमा स्वतन्त्रता, नागरिक सर्वोच्चता, मानवअधिकार, एकतन्त्रीय राणा शासनबाट मुक्ति र प्रजातन्त्रको स्थापना जस्ता जनभावनालाई पार्टीले वाणी दिएको थियो । २०४६ सालमा जन अधिकारको बहाली र बहुदलीय व्यवस्थाको स्थापना पार्टीका मूलमन्त्र थिए । २०६२/०६३ पश्चात् लोकतन्त्र, गणतन्त्र, संघीयता र समावेशीताका मुद्दामा कांग्रेसले लोकतान्त्रिक संविधान मार्फत निकासको बाटो कोरेको थियो । हामीले त्यही परिवर्तनकारी दृष्टिकोणका साथ जेन-जी विद्रोहको सन्देश ग्रहण गर्दै यस विशेष महाधिवेशनबाट भविष्यको यात्रा तय गर्नु पर्नेछ । 

स्थापनाकालदेखि नै नेपाली कांग्रेसले राष्ट्रका सामु उत्पन्न असाधारण परिस्थितिमा मुलुकलाई सम्हालेर सबैका लागि मान्य हुने निकास दिँदै आएको छ । व्यक्ति र पार्टीभन्दा माथि देश र जनताको हित हुने गरी कांग्रेसले पहलकदमी लिने गरेको गौरवपूर्ण इतिहास हाम्रा सामु छ । आज पनि नेपाली कांग्रेसले राष्ट्रिय शक्ति भएका हिसाबले पार्टीलाई वा व्यक्ति विशेषलाई केन्द्रमा राखेर होइन देश, काल र परिस्थितिलाई मध्यनजर गर्दै नेतृत्वदायी बाटो देखाउनु पर्नेछ । कांग्रेसले नै दिशाहीन हुँदैगएको देशलाई सम्हाल्ने छ र रूपान्तरणकारी नेतृत्व दिनेछ । त्यही दिशामा गम्भीर भएर चिन्तन मनन गर्न यो विशेष महाधिवेशन अपरिहार्य भएको छ । 

यद्यपि देशको वर्तमान अवस्थामा आमूल परिवर्तन हामीले नै ल्याउँछौं भनेर मात्र हुँदैन, मतदाता पनि त्यसमा विश्वस्त हुनुपर्छ । मतदातामा नेपाली कांग्रेसका क्रियाशील सदस्य मात्र छैनन्, लाखौँ नेपाली जनता छन् ।

त्यसैले हामी आफैँले पार्टीको विधान मानेनौँ भने हामी संविधान र कानुनको शासनमा विश्वास गर्छौँ भनेर आम नेपाली जनतालाई कसरी विश्वस्त तुल्याउने ? हामी आफैँभित्र संवाद गर्न र सुधार गर्न तयार छैनौँ भने हामी कसरी भन्न सक्छौँ - कि हामी सच्चियौँ, सुध्रियौँ । यही आलोकमा नेपाली कांग्रेसको यो विशेष केन्द्रीय महाधिवेशनलाई हेर्नुपर्दछ । यो महाधिवेशन नै आजको दिनमा हामीले हामीभित्र सार्थक परिवर्तन लिएर आउने वैधानिक आधार हो र हामीले जनताको विश्वास बढाउने प्रस्थान बिन्दु पनि यही हो । त्यसैले, वर्तमान परिस्थितिको वस्तुनिष्ठ मूल्याङ्कन गर्दै भविष्यका लागि मार्गचित्र तयार गर्ने सर्वोच्च वैधानिक निकाय महाधिवेशन नै भएकोले विशेष महाधिवेशनको आयोजना अपरिहार्य भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप