शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

बागमती सरकारद्वारा ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट

बुधबार, ३० पुस २०८२, २० : ४०
बुधबार, ३० पुस २०८२

मकवानपुर । बागमती प्रदेश सरकारले बैठकले ३२ वटा ‘प्रदेश गौरवका आयोजना’ छनोट गरी कार्यान्वयन गर्ने निर्णय गरेको छ ।

प्रदेश सरकारको बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयहरूले प्रस्ताव गरेका प्रदेश गौरवका आयोजना तथा बहुवर्षीय आयोजनाहरूलाई पारित गरेको हो ।

सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङका अनुसार सरकारले प्रदेशमा ३२ वटा आयोजनाहरूलाई गौरवको आयोजनाका रूपमा अघि बढाइनेछ ।

गौरवको आयोजना अन्तर्गत भौतिक पूर्वाधार मन्त्रालयका १७ वटा, खानेपानी तथा सरसफाइ मन्त्रालयका ९ वटा, पर्यटन मन्त्रालयका ३ वटा र स्वास्थ्य मन्त्रालयका ३ वटा आयोजनाहरू रहेका छन् ।

सो आयोजनाहरूको हाल शीर्षक मात्र स्वीकृत गरिएको र बजेटको हकमा आर्थिक मामिला मन्त्रालयले वित्तीय व्यवस्थापनको क्षमता हेरेर तय गर्ने उनले बताए ।

बैठकले बहुवर्षीय आयोजनाहरूको हकमा नामसहितको प्रस्ताव पारित गरी बजेट सिलिङका लागि अर्थ मन्त्रालयको सहमति अनुसार अघि बढ्ने निर्णय गरेको उनले बताए ।

बैठकले केही समयदेखि रोकिएको सचिवहरूको तलबका विषयमा पनि बैठकमा छलफल गरी प्रदेश ऐनले तोकेको बमोजिम प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ ।

प्रदेश निजामती सेवा नियमावलीको मस्यौदा तयार गरी परामर्शका लागि लोक सेवा आयोगमा पठाउने निर्णय गरेको छ ।

निजामती सेवा ऐनले निदृष्ट गरे बमोजिमका विषयमा थप प्रस्ट पार्न र ऐनले नसमेटेका विषयहरूलाई तोकिएको ढाँचामा प्रस्तुत गर्न नियमावली तयारी गरिएको हो । सो नियमावलीको मस्यौदालाई प्रभावकारी र व्यवहारिक बनाउन आयोगको परामर्श लिने गरी पठाउने निर्णय गरेको उनले बताए ।

त्यस्तै बैठकले सामाजिक विकास मन्त्रालयको प्रस्तावमा ‘विज्ञान प्रविधि नवप्रवर्तन तथा विकास कोष नियमावली २०८२’ लाई पनि मन्त्रिपरिषद्ले स्वीकृत गरेको छ भने कृषि तथा पशुपन्छी विकास मन्त्रालयको प्रस्तावमा ‘प्रादेशिक कृषि थोक बजार सञ्चालन निर्देशिका २०८२’ को मस्यौदा स्वीकृत गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप