बिहीबार, ०७ साउन २०८३
ताजा लोकप्रिय

इरानसँगको तनावबिच अमेरिकाले कतारको अल–उदैद बेसबाट सेना घटाउँदै

बुधबार, ३० पुस २०८२, २१ : ०४
बुधबार, ३० पुस २०८२

सारांश

  • अमेरिकाले कतारस्थित सैन्य अखडाबाट कर्मचारी र सैनिक कटौती गर्ने भएको छ, जसलाई सावधानीको उपाय भनिएको छ।
  • कतार सरकारले क्षेत्रीय तनावलाई ध्यानमा राख्दै आवश्यक सुरक्षा उपायहरू अपनाउने बताएको छ, जसमा पूर्वाधार र सैन्य संरचनाको सुरक्षा समावेश छ।
  • इरानमा जारी सरकार विरोधी प्रदर्शनमा २ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी मारिएको मानव अधिकारवादी समूहहरूको दाबी छ।

दोहा । मध्यपूर्वमा बढ्दो तनावका बिच अमेरिकाले कतारस्थित आफ्नो महत्त्वपूर्ण सैन्य अखडा 'अल–उदैद एयर बेस' बाट कर्मचारी तथा सैनिकको सङ्ख्या कटौती गर्ने भएको छ। अमेरिकी सञ्चारमाध्यम सीबीएस न्युजले अधिकारीहरूलाई उद्धृत गर्दै यसलाई 'सावधानीका उपाय' का रूपमा व्याख्या गरेको छ।

कतार सरकारले जारी गरेको विज्ञप्तिमा पनि क्षेत्रीय तनावलाई मध्यनजर गर्दै यो कदम चालिएको उल्लेख छ। इरानमा जारी सरकार विरोधी प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई त्यहाँको सत्ताले मृत्युदण्ड दिएमा अमेरिकाले 'निकै कडा कारबाही' गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीपछि यो घटनाक्रम विकसित भएको हो। ट्रम्पको धम्कीलगत्तै इरानले पनि आफूमाथि आक्रमण भए त्यसको बदला लिने प्रतिउत्तर दिएको छ।

इरानमा जारी सरकार विरोधी प्रदर्शनमा त्यहाँको सुरक्षा फौजले गरेको दमनमा परी २ हजार ४ सयभन्दा बढी प्रदर्शनकारी मारिएको मानव अधिकारवादी समूहहरूले दाबी गरेका छन्। यस्तो अवस्थामा कतार सरकारले आफ्ना नागरिक र बासिन्दाको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक सबै उपाय अपनाउने बताएको छ। यसमा महत्त्वपूर्ण पूर्वाधार र सैन्य संरचनाको सुरक्षासमेत समावेश छ।

यसअघि अमेरिकी आक्रमणको बदला भन्दै गत जुन महिनामा इरानले यही अल–उदैद एयर बेसलाई लक्षित गरी मिसाइल प्रहार गरेको थियो। इरानी सर्वोच्च नेता अयातोल्लाह अली खमेनीका वरिष्ठ सल्लाहकार अली शामखानीले सोही आक्रमणलाई स्मरण गराउँदै ट्रम्पलाई चेतावनी दिएका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेख्दै जुन महिनाको आक्रमणले इरानको जवाफ फर्काउने क्षमता र इच्छाशक्ति प्रस्ट पारेको उल्लेख गरेका छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप