बिहीबार, १८ असार २०८३
ताजा लोकप्रिय

नेसनल लाइफ इन्स्योरेन्सको ३६औँ वार्षिक साधारण सभा सम्पन्न: बोनस र नगद लाभांश पारित

बिहीबार, ०१ माघ २०८२, ०७ : २१
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । नेसनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३६औँ वार्षिक साधारण सभा पुस ३० गते काठमाडौँमा सम्पन्न भएको छ। कम्पनीकी अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा सम्पन्न उक्त सभाले सञ्चालक समितिले प्रस्ताव गरेको आर्थिक वर्ष २०८१/८२ को लाभांश पारित गर्नुका साथै वार्षिक प्रतिवेदन समेत अनुमोदन गरेको छ।

सभालाई सम्बोधन गर्दै अध्यक्ष सिंहले समीक्षा वर्षमा विभिन्न आर्थिक चुनौतीका बावजुद कम्पनीको व्यवसाय सन्तोषजनक रहेको जानकारी दिइन्। यस अवधिमा कम्पनीको कुल बीमाशुल्क १०.२६ प्रतिशतले वृद्धि भई ७ अर्ब २५ करोड ९३ लाख रुपैयाँ पुगेको छ। त्यस्तै, कम्पनीको कुल लगानी ११.०४ प्रतिशतले बढेर ७७ अर्ब १० करोड २० लाख रुपैयाँ पुगेको छ भने लगानीमा औसत ८.७६ प्रतिशत प्रतिफल प्राप्त भएको विज्ञप्तिमा उल्लेख छ। कम्पनीले सो अवधिमा मृत्यु दाबी, अवधि समाप्ति र समर्पण मूल्य गरी कुल ९ अर्ब ४८ करोड ६५ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ।
कम्पनीले आफ्नो लगानी विविधीकरण गर्ने क्रममा हिमालयन बैंक लिमिटेडको १३.६१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ भने सहायक कम्पनी 'नेसनल क्यापिटल लिमिटेड' मार्फत मर्चेन्ट बैंकिङ सेवा समेत सञ्चालनमा ल्याएको छ। साथै, इटहरीमा आधुनिक व्यापारिक भवन निर्माणको प्रक्रिया अघि बढाइएको जानकारी दिइएको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले ७० लाख २५ हजारभन्दा बढी आर्थिक सहयोग गरेको छ, जसमा प्रधानमन्त्री दैवी प्रकोप राहत कोष र काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई २५-२५ लाख रुपैयाँ प्रदान गरिएको छ।
लाभांशतर्फ सभाले चुक्ता पूँजीको ८.५ प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव सर्वसम्मतिले पारित गरेको छ। बोनस सेयर जारी भएपछि कम्पनीको कूल चुक्ता पूँजी ५ अर्ब ६९ करोड १६ लाख ४९ हजार ३२५ रुपैयाँ पुगेको छ। 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप