कविता : देश जनताबाट सुरु हुन्छ
देश कुनै झण्डाको रङ होइन
न कुनै भाषणमा पटक–पटक दोहोरिने शब्द
देश त
माटोमा मिसिएको पसिनाको इतिहास हो
जनताको स्पन्दन अनि सास हो ।
देश भनेको
भोकले सिकाएको धैर्य हो
अन्यायले जन्माएको मौन हो
र आशाले निभ्न नदिएको
भित्री आगो हो ।
तर आज
देश आफ्नै नाममा हराइरहेको छ
नक्सा जस्ताको तस्तै छ
तर आत्मा
कुर्सीको छायाँमा थकित देखिन्छ ।
यहाँ सत्ता भन्छ ‘म नै देश हुँ’
र देश चुपचाप
आफ्नै अस्तित्वको प्रमाण खोज्दै
इतिहासका पानामा भौतारिन्छ
जनता
यहाँ संख्यामा गनिन्छन्,
तर निर्णयमा गनिँदैनन् ।
चुनावको दिन
उनीहरू सार्वभौम कहलिन्छन्
भोलिपल्ट
उनीहरू फेरि
शासन सहने अनुहारमा फेरिन्छन्
जनतालाई जनार्दन भनिन्छ,
जनता जनार्दन होइनन्,
उनीहरू
लामो समयदेखि
आशामा बाँधिएका विवश आत्मा हुन् ।
जब जनता बोल्छन्
आवाजलाई
भीडको हल्लामा परिभाषित गरिन्छ,
जब जनता प्रश्न गर्छन
प्रश्नलाई
राज्यद्रोहको भाष्य बनाइन्छ
देशमा
स्वतन्त्रता छ, संविधानमा छ
तर व्यवहारमा डर छ ।
देशमा
अधिकार छ, केवल कागजमा
पहुँच
सत्ताको ढोकाभित्र थुनिएको छ
गरिबी
यहाँ कुनै दैवी दुर्घटना होइन
यो त
नीतिले जन्माएको अवस्था हो
गरिबी
पेटको समस्या होइन
समानता अभावको प्रत्यक्ष प्रमाण हो
एकै देशमा
महलहरू आकाश छुन्छन्
र झुपडीहरू
आफ्नै छायाँसँग लाज मान्छन्
घोसे मुन्टो लगाएर भुइँमा झुक्छन् ।
गरिबको जीवन
सधैं अस्थायी हुन्छ
घर अस्थायी
काम अस्थायी
सम्मान अस्थायी
तर गरिबीलाई
भाग्य भनिन्छ
किनकि
भाग्य दोषी बनाइ दिएपछि
नीति निर्दोष देखिन्छ
र सत्ता
सजिलै उम्किन सक्छ ।
शासक
स्वेच्छाचारितामा रमाउँछ
उसको गल्ती हुँदैन
उसको बानी बन्न थाल्छ
उसलाई लाग्छ
कुर्सी स्थायी छ
र जनता
सधैं परिवर्तनशील
शासक
कानुनलाई आफ्नो आकारमा ढाल्न खोज्छ,
इतिहासलाई
आफ्नो सुविधाअनुसार लेख्न खोज्छ
सत्य आवाजलाई
असहज ठानेर
देशद्रोही घोषणा गर्छ ।
जब कलम उठ्छ
कारागार तयार हुन्छन्
जब विचार बिउँझिन्छ
डर फैलाइन्छ
शासक सधैं यो बिर्सन्छ,
सत्ताले देश चलाउँदैन
देश त जनमतले चल्छ ।
दर्शन भन्छ
मानव स्वतन्त्र भएर जन्मिन्छ
तर समाजले
उसलाई डर सिकाउँछ
तर यही दर्शन
फेरि भन्छ
डर
कहिल्यै अन्तिम सत्य हुँदैन ।
इतिहास साक्षी छ
जहाँ–जहाँ सत्ताले
आफूलाई देवता ठान्यो
त्यहाँ–त्यहाँ
जनताले
नयाँ ईश्वर जन्माए
चेतनामा र परिवर्तनमा
परिवर्तनका नयाँ ईश्वर
देवत्वकरण भयो
तर परिवर्तन
कुनै घोषणाबाट आउँदैन
कुनै भाषणले जन्मिँदैन
परिवर्तन
त्यस दिन सुरु हुन्छ,
जुन दिन
गरिबले
आफ्नो गरिबीलाई भाग्य मान्न छोड्छ
जनताले
नेतालाई देवता होइन
सेवक ठान्न थाल्छ
र आफैंसँग प्रश्न गर्ने आँट गर्छ ।
आज देश घाइते छ
तर मृत छैन
आज जनता
थाकेका छन्
तर चेतनाशून्य छैनन्
आज गरिबी गहिरो छ
तर शाश्वत छैन
र शासकको स्वेच्छाचारिता
इतिहासले सधैं देखाएको छ,
कुनै पनि अहंकार
जनताको चेतनाभन्दा
ठूलो हुँदैन ।
यसैले
यो कविता
आक्रोश होइन
यो त
विवेकको साक्ष्य हो
यो
देशको आत्माले
आफैंलाई लेखेको
स्वीकारोक्ति हो ।
जहाँ
आशा अझै अपराध बनेको छैन
जहाँ
कलम अझै तेजोबध भएको छैन
जहाँ
देश फेरि जनताबाट सुरु हुने
तारतम्य गर्दैछ,
देश जनताबाटै सुरु हुन्छ ।
काठमाडौं, कुलेश्वर
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण