शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय
बागमती प्रदेश

पूर्व मुख्यमन्त्रीसहितका प्रदेश सभा सदस्यहरूको ध्यान प्रतिनिधिसभाको टिकटतिर

शनिबार, ०३ माघ २०८२, १५ : ५१
शनिबार, ०३ माघ २०८२

सारांश

  • बागमती प्रदेश सभाका विभिन्न सांसदहरू आगामी निर्वाचनमा प्रतिनिधिसभा सदस्य बन्ने तयारीमा छन्।
  • पूर्व मुख्यमन्त्री बहादुर सिंह लामा, कुन्दन काफ्ले, रामकृष्ण चित्रकार लगायतका नेताहरूले उम्मेदवारी दिने तयारी गरेका छन्।
  • विभिन्न पार्टीका नेताहरूले प्रतिनिधिसभाका लागि आफ्नो नाम सिफारिस गराएका छन्, जसमध्ये केहीले प्रदेश सभाबाट राजीनामा दिने तयारी गरेका छन्।

हेटौँडा । बागमती प्रदेश सभाका केही सांसदहरू फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा उम्मेदवार बन्ने दौडमा रहेका छन् । प्रदेश सभाको अझै दुई वर्ष कार्यकाल बाँकी रहँदै उनीहरू प्रतिनिधिसभाको उम्मेदवार बन्न चासो देखाएका हुन् ।

सोहीअनुसार प्रतिनिधिसभाको तयारीमा कांग्रेसबाट बागमती प्रदेशका पूर्वमुख्यमन्त्री बहादुर सिंह लामा प्रतिनिधिसभाको उम्मेदवार बन्ने दौडमा छन् । उनको नाम नुवाकोट–२ बाट सिफारिसमा परेको छ । विशेष महाधिवेशनबाट कांग्रेसको सहमहामन्त्री बनेका लामा टिकट पाएमा निर्वाचन लड्ने योजनामा छन् । 

लामा २०८० साउन ९ देखि २०८१ साउन २० सम्म बागमती प्रदेशको मुख्यमन्त्री रहेका थिए भने २०७९ चैतदेखि २०८० फागुनसम्म प्रदेशको अर्थमन्त्री बनेका थिए । उनले २०७९ मा नुवाकोट–२ (ख) बाट प्रदेश सांसद जितेका थिए ।

यता, दोलखाबाट प्रदेश सांसद बनेका कुन्दन काफ्ले पनि प्रतिनिधि सभाको चुनाव लड्ने योजनामा छन् । प्रदेश सभाबाट राजीनामा दिएर उनी प्रतिनिधिसभामा उम्मेदवार बन्ने तयारीमा रहेका हुन् । प्रदेशको अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी दोलखाबाट उम्मेदवार सिफारिस भएका छन् । उनले केही दिनअघि रातोपाटीलाई प्रतिक्रिया दिँदै आफू संघीय निर्वाचन लड्ने योजनामा रहेको बताएका थिए । 

बागमती प्रदेशका सांसद रामकृष्ण चित्रकार पनि प्रतिनिधिसभा निर्वाचनको तयारीमा छन् । ललितपुर–२ बाट चुनाव लड्ने गरी उनका नाम सिफारिस गरिएको छ । २०७९ भदौदेखि २०८० फागुनसम्म प्रदेशको उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्रीको भूमिकामा रहेका उनी संविधानसभा सदस्य समेत हुन् ।

यद्यपि कांग्रेस केन्द्रले तोकेको मापदण्ड विपरीत उम्मेदवार सिफारिस भएका उनीहरूको उम्मेदवारीबारे निर्णय भने हुन बाँकी छ । कांग्रेसले जनप्रतिनिधिलाई उम्मेदवार नबनाउने यसअघिको निर्णय अब संशोधन भएको खण्डमा उनीहरूका लागि बाटो खुल्नेछ ।

यता एमालेबाट २०७९ को निर्वाचनमा काठमाडौँ–७ (ख) बाट निर्वाचित प्रदेशसभा सांसद प्रकाश श्रेष्ठ प्रतिनिधिसभा निर्वाचन लड्ने तयारीमा छन् । उनको नाम काठमाडौँ–७ बाट सिफारिसमा परेको छ । बागमती प्रदेशका पूर्वमन्त्रीसमेत रहेका श्रेष्ठको नाम पहिलो नम्बरमा सिफारिस भएको छ ।

दुई कार्यकाल प्रदेश सभामा रहेका श्रेष्ठ हाल कायम रहेको पदबाट राजीनामा दिएर संघीय संसद जाने तयारीमा जुटेका हुन् । उनी उम्मेदवार सिफारिसमा परेको क्षेत्रबाट एमालेका ११ जनाको नाम सिफारिसमा परेको छ ।

२०७९ को निर्वाचनमा काठमाडौँ–६ (ख) बाट निर्वाचित भएका अमन कुमार मास्के पनि प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्ने तयारीमा छन् । काठमाडौँ–६ बाट चुनावी मैदानमा होमिने तयारीमा रहेका उनीसहित १२ जनाको नाम सिफारिसमा परेको छ ।

बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रीका रूपमा एक वर्ष कार्यभार सम्हालेका उनको कामको अहिले पनि प्रशंसा हुने गरेको छ । हालै सम्पन्न एमाले महाधिवेशनमा खुला तर्फको केन्द्रीय सदस्य पदमा जितेका आर्किटेक्ट इन्जिनियर मास्के एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् ।

उता तत्कालीन नेकपा माओवादी केन्द्रका प्रदेश सांसद युवराज दुलाल ‘शरद’ पनि प्रदेशबाट राजीनामा दिएर प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारीमा छन् । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट सिन्धुपाल्चोक–२ बाट एकल सिफारिसमा परेका दुलाल प्रतिनिधिसभा निर्वाचनको तयारीमा जुटेका हुन् ।

सिन्धुपाल्चोक–२ (क) बाट दुई पटक चुनाव जितेर बागमती प्रदेशसभा सांसद बनेका दुलाल लामो समय सरकारमा रहे । प्रदेशको सामाजिक विकास मन्त्रालय र भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी सम्हालेका उनी निर्वाचन क्षेत्रमा सक्रिय भइसकेका छन् ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्रीसमेत रहेका बागमती प्रदेशका पूर्वसभामुख भुवन कुमार पाठकले यसअघि नै प्रदेश सांसदबाट राजीनामा दिइसकेका छन्  । उनले अब प्रतिनिधिसभा निर्वाचनमा होमिने तयारी गरेका छन् । उनको नाम राप्रपाले काठमाडौँ–४ बाट पहिलो नम्बरमा सिफारिस गरेको छ ।

२०७९ को आम निर्वाचनमा काठमाडौँबाट समानुपातिक सांसद बनेका पाठक २०७९ पुस २९ गते बागमती प्रदेशसभा सभामुखमा निर्वाचित भएका थिए ।

पूर्वमन्त्रीसमेत रहेका एमालेका कृष्ण प्रसाद सिलवाल, राप्रपाकी सांसद कुमारी तामाङ, नेकपाका सांसद प्रेमबहादुर पुलामी छिन्तु, कुमारी मोक्तानलगायत प्रतिनिधिसभाको उम्मेदवारका रुपमा नाम सिफारिस भएको छ । टिकट पाएको खण्डमा माघ ५ गते हेटौंडा आएर राजीनामा दिने तयारी उनीहरूले गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप