पार्टी छाड्ने 'घुर्की'ले गर्यो काम, वासुदेवले पाए एमालेबाटै टिकट
सारांश
- नेकपा एमालेको सचिवालय बैठकले वासुदेव घिमिरेलाई रुपन्देही-३ बाट प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गर्यो।
- घिमिरेले पार्टी छाड्ने घोषणा गरेपछि एमालेका नेताहरूले उनलाई फर्काउन प्रयास गरेका थिए, र उनले निर्णय फिर्ता लिए।
- अन्ततः घिमिरेले एमालेबाटै टिकट सुरक्षित गरे, र उपमहासचिव लेखराज भट्टले उम्मेदवारको अन्तिम सूची सार्वजनिक गरे।
बुटवल । नेकपा एमालेको सचिवालय बैठकले रुपन्देही क्षेत्र नम्बर ३ बाट वासुदेव घिमिरेलाई प्रतिनिधि सभाको उम्मेदवार बनाउने निर्णय गरेको छ। केही साताअघि मात्रै सामाजिक सञ्जालमार्फत पार्टीको जिम्मेवारीबाट अलग भएको घोषणा गरेका घिमिरेले अन्ततः एमालेबाटै टिकट सुरक्षित गरेका हुन्।
गत पुस १५ गते घिमिरेले फेसबुकमार्फत एमालेको सबै जिम्मेवारी त्याग गरेको घोषणा गर्दा एमाले वृत्तमा हलचल मच्चिएको थियो। उनले आम जनताको चाहना सुशासन, विकास र समृद्धिसँगै नेतृत्व हस्तान्तरण र पुस्तान्तरण भएको उल्लेख गर्दै पुराना राजनीतिक दलहरूको मुख्य नेतृत्वबाट नागरिकको अपेक्षा सम्बोधन हुने अवस्था नदेखेकाले आफू अलग भएको बताएका थिए। त्यतिबेला उनी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने र रुपन्देही-३ बाटै चुनाव लड्ने तयारीमा रहेको चर्चा बुटवलमा निकै तातिएको थियो।
रुपन्देही क्षेत्र नम्बर ५ बाट निर्वाचित प्रतिनिधि सभाका पूर्व सदस्य तथा तिलोत्तमा नगरपालिकाका तत्कालीन प्रमुख समेत रहेका घिमिरेले पार्टी छाड्दा एमालेको गढ मानिएको रुपन्देहीमा ठुलो धक्का लाग्ने विश्लेषण गरिएको थियो। घिमिरेको उक्त घोषणा लगत्तै एमाले उपाध्यक्ष विष्णु पौडेल उनलाई फकाउन र पार्टी काममै फर्काउन सक्रिय भएका थिए ।
पुस १८ गते उपाध्यक्ष पौडेलसहितका नेताहरूसँग बुटवलमा भएको लामो छलफल र निकटस्थ कार्यकर्ताहरूको निरन्तर दबाबपछि घिमिरे आफ्नो निर्णय फिर्ता लिन तयार भएका थिए। पार्टीमा फर्किएपछि उनले सामाजिक सञ्जालमार्फत प्रष्टीकरण दिँदै आवेगको निर्णय सार्वजनिक गरे पनि आफू मन, वचन र कर्मदेखि नै एमालेमै रहेको बताएका थिए। उनले आफूले पार्टीमा काम गर्नका लागि कुनै पदको बार्गेनिङ नगरेको दाबी गरे पनि अन्ततः उनले रोजेकै क्षेत्रबाट उम्मेदवारी पाउन सफल भएका छन्। पार्टी छाड्ने'घुर्की' र घोषणाले उनले अहिले एमालेको टिकट पाउनेसम्मको स्थिति बनेको रुपन्देहीका एमाले नेताहरू बताउँछन् ।
उपमहासचिव लेखराज भट्टले सार्वजनिक गरेको उम्मेदवारको अन्तिम सूचीमा रुपन्देही-३ बाट वासुदेव घिमिरे र क्षेत्र नं. ५ बाट खिमलाल भट्टराईको नाम तय भएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१० प्रतिशत शय्या निःशुल्क कार्यान्वयनमा किचलो
-
स्वाद र सुगन्धले चर्चित जोरायले बासमती पुनः किसानको रोजाइमा
-
झापामा लागुऔषध सेवन र कारोबार घटाउन अभियान सञ्चालन
-
भन्सालीको ‘लभ एन्ड वार’ को सेटमा भयानक दुघर्टना, एक जनाको मृत्यु
-
टिपर दुर्घटनामा चालकको मृत्यु
-
पूर्वप्रधानन्यायाधीश पराजुली भन्छन्, ‘न्यायाधीशलाई गोलाप्रथाबाट मुद्दा तोक्ने व्यवस्था संविधानसम्मत छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण