सुदूरपश्चिममा एमालेको उम्मेदवार चयन : सिफारिस एकातिर, टिकट अर्कातिर
सारांश
- नेकपा एमालेले सुदूरपश्चिमका १६ वटै निर्वाचन क्षेत्रका लागि प्रतिनिधिसभा सदस्यको उम्मेदवार टुंगो लगाएको छ।
- कतिपय क्षेत्रमा तल्लो कमिटीको सिफारिसलाई बेवास्ता गर्दै केन्द्रले उम्मेदवार चयन गरेकोमा असन्तुष्टि बढेको छ।
- कञ्चनपुर र बझाङमा पार्टी कार्यकर्ता र स्थानीय नेताहरूले टिकट वितरणमा विभेद भएको भन्दै विरोध जनाएका छन्।
धनगढी । लामो रस्साकस्सी र अनेकौँ अडकलबाजीका बिच नेकपा एमालेले अन्ततः सुदूरपश्चिमका १६ वटै प्रतिनिधि सभा निर्वाचन क्षेत्रको उम्मेदवार टुङ्गो लगाएको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा चुनावका लागि एमालेले सुदूरपश्चिमका सबै निर्वाचन क्षेत्रमा उम्मेदवार चयन गरेको हो । यद्यपि उम्मेदवार चयनमा तल्ला कमिटीबाट गरिएका सिफारिसलाई कतिपय क्षेत्रको हकमा नजरअन्दाज गरिएको देखिन्छ ।
कैलाली क्षेत्र नम्बर १ मा द्वारिका न्यौपाने, २ मा सूर्यबहादुर थापा र ३ मा गौरीशंकर चौधरीले टिकट पाएका छन् । एमालेका शीर्ष नेता लेखराज भट्टले आफ्नो गढ मानिने कैलाली–४ बाटै टिकट सुरक्षित गर्दा कैलाली–५ मा यज्ञराज ढुङ्गानालाई अगाडि सारिएको छ ।
उता कञ्चनपुर क्षेत्र नम्बर १ मा कमला बोहरा, २ मा वचनबहादुर सिंह र ३ मा दीपक भट्ट चुनावी मैदानमा उत्रिनेछन् । पहाडी जिल्लाहरूतर्फ अछाम–१ मा झपटबहादुर बोहरा र २ मा यज्ञ बोगटीले टिकट पाएका छन् । बाजुरामा लालबहादुर थापा, डोटीमा दीपक धामी, डडेल्धुरामा चक्र स्नेही र बझाङमा अफिलाल ओखेडालाई एमालेले विश्वास गरेको छ । त्यस्तै बैतडीमा दामोदर भण्डारी र दार्चुलामा गणेशसिंह ठगुन्नाले निरन्तरता पाएका छन् ।
उम्मेदवारको सूची सार्वजनिक भएलगत्तै एमाले वृत्तमा देखिएको असन्तुष्टि भने सामान्य छैन । टिकट वितरणमा पावर र पहुँच हाबी भएको भन्दै कार्यकर्ता पङ्क्तिमा नैराश्यता छाएको छ ।
सोचेको भन्दा फरक अवस्था कञ्चनपुर क्षेत्र नम्बर २ मा देखिएको छ । यहाँ उम्मेदवार छनोटका लागि एउटा लोकतान्त्रिक अभ्यास भएको थियो । केन्द्रको सर्कुलर अनुसार २ पुरुष र १ महिलाको नाम सिफारिस गर्नुपर्ने थियो, तर आकाङ्क्षी धेरै भएपछि सहमति जुटेन । अन्ततः एमाले क्षेत्र नम्बर २ कमिटीले लोकतान्त्रिक विधि अपनाउँदै आन्तरिक चुनाव गरायो ।
त्यो चुनावको नतिजा स्पष्ट थियो । प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि भएको भोटिङमा अशोककुमार चन्दले सर्वाधिक ६१ मत पाए । पूर्वसांसद नरबहादुर धामीले ५७ मत ल्याए । महिलातर्फ पार्वती जोशीले ४४ मत ल्याएर आफूलाई अब्बल सावित गरिन् । खुलातर्फ वचनबहादुर सिंहले ५० मत पाएका थिए भने महिलातर्फ पार्टी जिल्ला अध्यक्ष लक्ष्मी बुढाले ४१ मत पाइन् । आन्तरिक चुनाव जितेर यी तीन जनाको नाम सिफारिस गरियो ।
अशोककुमार चन्द ०७४ मा बेदकोट नगरको मेयर चलाइसकेका हुन् भने नरबहादुर धामी ०७४ को संसदीय निर्वाचन जितेर अनुभव बटुलिसकेका नेता हुन् । न आन्तरिक चुनाव जित्ने चन्दले टिकट पाए, न त धामी र पार्वती जोशीले नै टिकट पाइन् । धेरैको अपेक्षा विपरीत वचनबहादुर सिंहले टिकट पाए । उनी आन्तरिक प्रतिस्पर्धामा पछाडि परेका त थिए नै, यसअघि प्रदेश सभामा समेत पराजित भइसकेका थिए ।
यति ठुलो आन्तरिक कसरत र कार्यकर्ताको मतलाई लत्याउँदै केन्द्रले गरेको यो निर्णयलाई कञ्चनपुरका एमाले कार्यकर्ताले विभेदको संज्ञा दिएका छन् । ‘कार्यकर्ताको मतको कदर नहुने भए किन त्यो नाटक मञ्चन गरियो ?’ एक स्थानीय नेताले आक्रोश पोखे ।
असन्तुष्टिको आगो कञ्चनपुरमा मात्र होइन, बझाङमा पनि सल्किएको छ । बझाङ एमालेमा युवा नेता ऐन महर आकांक्षी थिए । युवा पुस्तामा लोकप्रिय महरले टिकट पाउनेमा धेरै ढुक्क थिए । जिल्ला कमिटीले पनि ऐन महरको नाम पहिलो नम्बरमा सिफारिस गरिएको थियो । महरसँगै मोहनराज जोशी र धनलक्ष्मी खत्रीको नाम सिफारिस गरेर केन्द्रमा पठाएको थियो ।
तर, केन्द्रले जिल्लाको सिफारिसलाई पूरै बेवास्ता गरिदियो । सिफारिस सूचीमै नभएका अफिलाल ओखेडालाई उम्मेदवार बनाएर पठाइयो । जिल्लाले जसलाई उम्मेदवारका लागि योग्य ठानेर सिफारिस गरेको थियो, उनीहरू पाखा लागे । जसको नामै चर्चामा थिएन, उनले टिकट पाए ।
‘यसपालि युवा र लोकप्रिय अनुहारले टिकट पाउँछन् भन्ने सोचेका थियौँ, तर सोचेभन्दा ठिक उल्टो भयो । दुःखको कुरा यत्ति हो, आफ्नै पार्टीका कारण एमाले हार्ने भयो,’ असन्तुष्ट एक एमाले कार्यकर्ताले भने । केन्द्रको निर्णयले जिल्लाको सिफारिस बेवास्ता गरेको भन्दै जिल्ला तहका नेताहरू असन्तुष्ट बनेको उनले बताए ।
‘पार्टीको विधि र प्रक्रिया मिचेर टिकट वितरण गरिनु दुर्भाग्यपूर्ण हो । जिल्ला कमिटीको निर्णयलाई सम्मान नगर्ने हो भने पार्टीभित्र गम्भीर समस्या उत्पन्न हुन्छ,’ जिल्ला कमिटीका एक एमाले पदाधिकारीले भने ।
अघिल्लो निर्वाचनमा कांग्रेस, माओवादी र नेकपासहितको गठबन्धनविरुद्ध निर्वाचन लडेका महर ९९८ मत अन्तरले पराजित भएका थिए । यो परिणाम सुदूरपश्चिम प्रदेशका सबै प्रतिनिधि सभा निर्वाचन क्षेत्रमध्ये सबैभन्दा कम मत अन्तरको हार हो । तत्कालीन नेकपा एकीकृत समाजवादीका भानुभक्त जोशीले २८ हजार १४३ मत प्राप्त गर्दा महरले २७ हजार १४५ मत पाएका थिए ।
सोही निर्वाचनमा प्रदेश सभामा पराजित भएका ओखेडालाई यस पटक पार्टीले उम्मेदवार बनाएको हो । बझाङको प्रदेश सभा (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह विजयी हुँदा ओखेडा पराजित भएका थिए । सिंहले ओखेडालाई ३ हजार ६७९ मतले पराजित गरेका थिए ।
सिंहको दुर्घटनामा निधन भएपछि सो क्षेत्रमा भएको उपनिर्वाचनमा एमालेका उम्मेदवार दमन भण्डारी विजयी भएका थिए । भण्डारीले ११ हजार ६१३ मत ल्याउँदा नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ११ हजार ३४६ मत प्राप्त गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पेप्सी उत्पादक ‘वरुण बेभरेज’ लाई ३ दिनभित्र कागजातसहित हाजिर हुन निर्देशन
-
कक्षा १२ को नतिजाको विश्वसनीयतामाथि प्रश्न : आन्दोलनको तयारीमा विद्यार्थी
-
म्यानमार अनलाइन जुवासँग सम्बन्धित १ लाख ४३ हजारभन्दा बढी सिमकार्ड निष्क्रिय
-
रवि–बालेन बिचको ट्रस्ट व्यवहारले नै देखाउँछ : सस्मित पोखरेल
-
राहदानी छपाइ प्रकरण : ठेकेदारलाई १ अर्ब पेस्की दिएको फेला
-
अन्तर्राष्ट्रिय हवाई सञ्जालमा जोडिँदै पोखरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण