सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

मकवानपुरको २ क्षेत्रमा ४४ जनाको उम्मेदवारी दर्ता

मङ्गलबार, ०६ माघ २०८२, १९ : ३०
मङ्गलबार, ०६ माघ २०८२

मकवानपुर । आसन्न प्रतिनिधि सभा निर्वाचनमा मकवानपुरको २ वटा क्षेत्रबाट ४४ जनाले मनोनयन दर्ता गरेका छन् । 

२ क्षेत्र रहेको मकवानपुर–१ बाट २३ र मकवानपुर–२ बाट २१ जनाले मनोनयन दर्ता गरेका हुन् । मकवानपुर–१ बाट १३ जनाले विभिन्न दलबाट र १० जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन् भने मकवानपुर–२ बाट विभिन्न दलबाट १६ र ५ स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् । 

मकवानपुर क्षेत्र नम्बर–१ बाट कांग्रेसकी महालक्ष्मी उपाध्याय ‘डिना’, नेकपाका विजय गौतम, एमालेका रामेश्वर राना, प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का तेजप्रसाद उप्रेतीले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत गिता श्रेष्ठले बताइन् । 

उनका अनुसार सो क्षेत्रबाट राप्रपाका दीपक बहादुर सिंह, रास्वपाका प्रकाश गौतम, जसपाका दीपक सिन्तान, नेकपा माओवादीका महेश नेपाली, मंगोल नेशनल अर्गनाइजेशनका युवराज लामा, नेमकिपाकी रञ्जना सुवाल मगजु, जसपा नेपालका रुपक लामा, श्रम संस्कृति पार्टीकी विद्या श्रेष्ठ महर्जन र उज्यालो नेपाल पार्टीका सुरेन्द्र लामाले उम्मेदवारी दिएका छन् । 

सो क्षेत्रमा स्वतन्त्रबाट अमर दंगाल, अमिक परियार, टिका प्रसाद चौलागाई, प्रमिला कुमारी खतिवडा, मिठु कुमारी मगर, राकेश कुमार शर्मा, रामकुमार खड्का, राजाराम बोगटी, सुशीला सुवेदी र ज्ञान सागर लामाले उम्मेदवारी दिएको मुख्य निर्वाचन अधिकृत श्रेष्ठले बताइन् । 

मकवानपुर क्षेत्र नम्बर–२ तर्फ नेकपाका लवशेर विष्ट, कांग्रेसका बुद्ध लामा, एमालेका महेश बर्तौला, प्रलोपाका सन्तोष विष्टले मनाेनयन दर्ता गरेका छन् । 

सो क्षेत्रबाट श्रम संस्कृति पार्टीका युनिश लामा, उज्यालो नेपाली पार्टीका प्रविन कुमार स्याङतान, रास्वपाका प्रशान्त उप्रेती, मंगोल नेशनल अर्गनाइजेशनका हिरालाल स्याङतान, नेशनल रिपब्लिक नेपालका सुर्य तामाङ बल, आम जनता पार्टीका सुर्य राई, नेमकीपाका सरोज तामाङ, संयुक्त नागरिक पार्टी शुभराज प्रजा, नेकपा माओवादीका राम घलान, राप्रपाका रामबहादुर थोकर, जसपाका छविलाल वाइवा, जनमोर्चाका निरबहादुर सिन्तानले उम्मेदवारी दिएका छन् । 

स्वतन्त्रबाट अमृत बल, कृष्णराम श्रेष्ठ, प्रतीक्षा बानियाँ, रमेश आचार्य र सितामाया बलले उम्मेदवारी दर्ता गरेका छन् । आगामी फागुन २१ मा हुने निर्वाचन कार्यक्रम अन्तर्गत बुधबार बिहान १० बजेबाट साँझ ५ बजेसम्म मनोनयन दर्ता गरिएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप