स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनीको २६औं वार्षिक साधारण सभा सम्पन्न
सारांश
- स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ।
- सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको भावी रणनीति र निर्माणाधीन आयोजनाको प्रगतिबारे विस्तृत छलफल गरेको छ।
- कम्पनीले ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका क्षेत्रमा अवस्थित १२८ मेगावाट क्षमताको 'तमोर-मेवा' जलविद्युत परियोजनालाई अगाडि बढाइरहेको छ।
काठमाडौं । स्पार्क हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडले आफ्नो २६औं वार्षिक साधारण सभा सफलतापूर्वक सम्पन्न गरेको छ। कम्पनीका अध्यक्ष एवं प्रबन्ध सञ्चालक सुदिप कुमार चौधरीको अध्यक्षतामा सम्पन्न उक्त सभामा शेयरधनीहरूको उल्लेख्य सहभागिता रहेको थियो।
सभाले आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीको भावी रणनीति र निर्माणाधीन आयोजनाको प्रगतिबारे विस्तृत छलफल गरेको छ।
कम्पनीले ताप्लेजुङ जिल्लाको फुङ्लिङ नगरपालिका, मिक्वाखोला, मेरिङदेन र आठराई त्रिवेणी गाउँपालिका क्षेत्रमा अवस्थित १२८ मेगावाट क्षमताको 'तमोर-मेवा' जलविद्युत परियोजनालाई अगाडि बढाइरहेको छ।
वि.सं. २०५६ सालमा दर्ता भएको यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग २०८० असोज २४ गते विद्युत खरिद-बिक्री सम्झौता गरिसकेको छ। आयोजनाको व्यापारिक उत्पादन सुरु गर्नुपर्ने मिति २०८५ असोज २५ गते तय गरिएको छ। यस आयोजनाबाट वार्षिक करिब ७११ गिगावाट घण्टा ऊर्जा उत्पादन गरी राष्ट्रिय प्रसारण लाइनमा जोडिने लक्ष्य राखिएको छ।
कुल २,३०४ करोड रुपैयाँ अनुमानित लागत रहेको यस आयोजनाका लागि वित्तीय व्यवस्थापनको काम समेत टुङ्गिएको छ। जसअनुसार १,७२८ करोड रुपैयाँ ऋण र ५७६ करोड रुपैयाँ शेयर पुँजीबाट लगानी जुटाइनेछ।
ऋण लगानीका लागि सिद्धार्थ बैंकको अगुवाइ र माछापुच्छ्रे बैंकको सह-अगुवाइमा वित्तीय व्यवस्थापन सम्झौता सम्पन्न भइसकेको जानकारी अध्यक्ष चौधरीले सभामा दिए ।
आयोजनाको भौतिक प्रगतिका सम्बन्धमा जानकारी दिँदै अध्यक्ष चौधरीले स्थायी संरचना निर्माणका लागि आवश्यक अधिकांश जग्गा खरिद गरिसकिएको बताए। हाल आयोजना स्थलमा पहुँच मार्गको स्तरोन्नति, हेडवर्क्स, हेडरेस टनेल प्रवेश क्षेत्र र पावरहाउससम्म सडक निर्माण सम्पन्न भइसकेको छ।
त्यस्तै, सिभिल निर्माणतर्फ बालुवा थिग्राउने पोखरी, सुरुङको प्रवेशद्वार र विद्युत गृहको उत्खनन कार्य सुरु भइसकेको छ। विस्फोटक पदार्थ भण्डारणका लागि नेपाली सेनाको आवास र बंकर निर्माण कार्य आगामी दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ।
इलेक्ट्रोमेकानिकल र प्रसारण लाइन निर्माणको काम पनि महत्त्वपूर्ण चरणमा पुगेको कम्पनीले जनाएको छ। टर्बाइन, जेनेरेटर लगायतका उपकरणहरूको डिजाइन र उत्पादन प्रक्रिया अगाडि बढिसकेको छ। स्थानीय समुदाय र सरकारको सकारात्मक सहयोगका कारण आयोजना निर्माणमा कुनै अवरोध नरहेको र आगामी दिनमा मुख्य संरचनाहरूको निर्माणलाई अझ तीव्र पारिने प्रतिबद्धता सभामा व्यक्त गरिएको थियो।
सभामा सञ्चालक समितिका सदस्यहरू भनेन्द्र कुमार लिम्बू, नवराज राउत, बम बहादुर थापा, हरि प्रसाद भट्ट, राजाराम खड्का, ईश्वरी बहादुर अधिकारी र बलदेव चौधरी लगायतको उपस्थिति रहेको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हात्ती प्रभावित क्षेत्रमा कृषकको रोजाइ सुपारीखेती
-
कुनशानको पिरामिड आकारको अनौठो अपार्टमेन्ट भवन
-
देवनगरमा ५० हेक्टरको 'टाइगर सेन्चुरी' बनाएर समस्याग्रस्त बाघ व्यवस्थापन गर्ने सरकारको तयारी
-
विश्वकपमा यमालको जादु
-
सुदूरपश्चिमको कानुन मन्त्रालयको बजेटमा खेलमैदान र विद्यालय भवन
-
‘क्रिस्टियानो रोनाल्डोलाई नै बल पास गर्नुपर्ने कुनै दबाब छैन’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण