शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
निर्वाचन चर्चा

६ निर्वाचन क्षेत्र भएको मोरङ : पुरानाविरुद्ध वैकल्पिक दलहरूबिच महाभिडन्त

६ वटा क्षेत्रमा लड्दैछन् ११८ उम्मेदवार
बुधबार, ०७ माघ २०८२, २० : ४६
बुधबार, ०७ माघ २०८२

सारांश

  • मोरङका ६ वटै निर्वाचन क्षेत्रमा प्रतिनिधि सभा निर्वाचनको चुनावी माहोल सुरु भएको छ, जसमा ११८ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
  • निर्वाचनमा स्थापित दल र नयाँ वैकल्पिक दलहरूबीच प्रतिस्पर्धा हुने अनुमान गरिएको छ, जसमा पुराना नेता र नयाँ अनुहारहरूबीच प्रतिस्पर्धा हुने देखिन्छ।
  • विभिन्न निर्वाचन क्षेत्रमा कांग्रेस, एमाले, नेकपा र रास्वपाका उम्मेदवारहरूबीच प्रतिस्पर्धा हुनेछ, जसमा केही उम्मेदवार जितको ह्याट्रिकको लागि मैदानमा उत्रिएका छन्।

विराटनगर । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मोरङका ६ वटै निर्वाचन क्षेत्रमा चुनावी माहोल सुरु भएको छ ।

जेनजी आन्दोलनपछिको बदलिएको परिस्थितिमा हुन लागेको यो निर्वाचनलाई स्थापित पुराना शक्ति र नयाँ वैकल्पिक दलहरूबिचको जनमतसंग्रहकै रूपमा हेरिएको छ । मोरङका ६ वटा निर्वाचन क्षेत्रमा मंगलबार उम्मेदवारी मनोनयन भएसँगै कुल ११८ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् । 

७ लाख ८३ हजार ५० मतदाता रहेको मोरङमा यसपटक कतै पुराना प्रतिस्पर्धीबिच नै प्रतिस्पर्धा हुँदैछ भने कतै नयाँ अनुहारले स्थापित नेताहरूको विरासतलाई चुनौती दिइरहेका छन् ।

यस्तै कतै जितको ह्याट्रिक गर्ने दाउमा उम्मेदवार देखिएका छन् भने कतै हारको ह्याट्रिकबाट बच्न उम्मेदवार बनेका छन् । मुख्यगरी नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारबिच नै यहाँ प्रतिस्पर्धा हुने देखिन्छ । त्यसबाहेक क्षेत्र नम्बर ५ मा जनता समाजवादी पार्टीका उम्मेदवारले पनि कडा टक्कर दिने अवस्था छ । 

क्षेत्र नम्बर १ः नयाँ अनुहारको अग्निपरीक्षा 

१ लाख २८ हजार ५४५ मतदाता रहेको यस क्षेत्रमा १८ जना उम्मेदवार छन् । यहाँ कांग्रेसका खड्ग फागो उम्मेदवार बनेका छन् । मोरङ कांग्रेसका सभापति तथा पूर्वमन्त्रीसमेत रहेका डिकबहादुर लिम्बूले अन्तिम पटक प्रतिस्पर्धा गर्ने चाहना राखे पनि कांग्रेसको विशेष महाधिवेशनपछि नेतृत्व फेरिएसँगै यस क्षेत्रमा उम्मेदवार पनि फेरिए । फागो कांग्रेस कोशी प्रदेशका सहमहामन्त्री हुन् भने उर्लाबारी नगरपालिकाका पूर्वप्रमुख पनि हुन् ।

२०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी भएका फागो २०७९ सालको निर्वाचनमा भने पराजित भएका थिए । 

सोही क्षेत्रमा नेकपा एमालेले कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडालाई उम्मेदवार बनाएको छ । खतिवडा सोही क्षेत्रको लेटाङ नगरपालिका निवासी हुन् । उनले सो क्षेत्रबाट निरन्तर निर्वाचन लड्दै आएका छन् । २०४९ सालमा खतिवडा लेटाङ गाविसको अध्यक्ष निर्वाचित भएका थिए । २०५४ सालमा उनी पुनः दोस्रो कार्यकालका लागि लेटाङ गाविस अध्यक्षमा चुनिए । ०७० सालको संविधानसभा निर्वाचनमा उनी पराजित बने पनि २०७४ सालमा विजयी भएका थिए । २०७९ सालको निर्वाचनमा कांग्रेसका उम्मेदवार लिम्बूसँग भने उनी पराजित भएका थिए । र पुनः जितको खोजीमा मैदानमा उत्रिएका छन् । 

नेकपाले यो क्षेत्रबाट कुलप्रसाद साम्बालाई उतारेको छ । साम्बा मोरङको जाँते निवासी साम्बा ०७४ सालको निर्वाचनमा प्रदेश सांसदमा विजयी बनेका थिए भने ०७९ सालको निर्वाचनमा सोही पदमा पराजित बनेका थिए । साम्बा सोही क्षेत्रका बासिन्दा हुन् । 

रास्वपाले यस क्षेत्रमा यज्ञमणि न्यौपानेलाई प्रतिस्पर्धामा उतारेको छ । न्यौपाने यस क्षेत्रका लागि नयाँ हुन् । रास्वपाको बढ्दो लहर उनका लागि सहज हुन सक्छ भने अपरिचित हुँदा अप्ठ्यारो पर्न पनि सक्छ । यस्तै सो क्षेत्रमा हर्क साम्पाङले श्रम संस्कृति पार्टीबाट शान्ति पाख्रिनलाई उम्मेदवार बनाएको छ, पाख्रिनको मतले पनि यहाँ अन्य उम्मेदवारको नतिजामा प्रभाव पार्न सक्छ । 

क्षेत्र नम्बर २ : रिजालको पुनरागमन र बगडियाको आकांक्षा 

कांग्रेसका प्रभावशाली नेता डा. मीनेन्द्र रिजाल यसपटक चुनावी मैदानमा फर्किएका छन् । एमालेले साविक विजेता ऋषिकेश पोखरेलको ठाउँमा रंगेलीका पूर्वमेयर दिलिप बगडियालाई उठाएर नयाँ प्रयोग गरेको छ । १७ जना उम्मेदवार रहेको यस क्षेत्रमा रास्वपाका कृष्णकुमार कार्की र नेकपाका चन्द्रवीर राईले पनि बलियो उपस्थिति देखाएका छन् । कांग्रेसका रिजाल २०७४ सालमा सोही क्षेत्रबाट विजयी बनेका थिए । रंगेलीका मेयर बगडियाले भने दोस्रो कार्यकालका लागि नगर प्रमुख जितेका थिए । उनले बाँकी कार्यकालबाट राजीनामा दिँदै प्रतिनिधिसभामा जाने चाहना राखेपछि एमालेले उनलाई टिकट दिएको हो । स्थानीयस्तरमा लोकप्रिय रहेका बगडिया एमालेका केन्द्रीय सदस्य पनि हुन् ।

क्षेत्र नम्बर ३ : जित्ने दाउमा गणेश कार्की

मोरङको सबैभन्दा धेरै १ लाख ५८ हजार ५७ मतदाता रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका नेता डा. सुनिल शर्मा आफ्नो विरासत जोगाउन सक्रिय छन् । एमालेले यसपटक भानुभक्त ढकालको साटो स्थानीय इरान राईलाई मैदानमा उतारेको छ । रास्वपाका गणेश कार्की चुनावी मैदानमा छन् । तुलनात्मक रूपमा रास्वपाका उपल्लो तहका नेता कार्कीको गृहक्षेत्र समेत रहेको मोरङ–३ मा डाक्टर सुनिल शर्मा पनि लोकप्रिय छन् । सो क्षेत्रबाट नेपाली कम्युनिस्ट पार्टीले डा. देवमान साम्बाहाम्फेलाई उम्मेदवार बनाएको छ । 

क्षेत्र नम्बर ४ : मोदीलाई ‘घिमिरे’द्वयको चुनौती

यसअघि दुईपटक लगातार जितेका नेपाली कम्युनिस्ट पार्टीका नेता तथा पूर्वमन्त्री अमनलाल मोदी यसपटक ह्याट्रिक’ गर्ने दाउमा छन्, तर उनलाई रोक्न कांग्रेसका गुरुराज घिमिरे र एमालेका जीवन घिमिरे चुनावी मैदानमा उत्रिएका छन् । विशेष महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित घिमिरे यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेशसभा–१ बाट एमाले उम्मेदवार जयप्रकाश चौधरीसँग पराजित भएका थिए । एमालेका केन्द्रीय सदस्यसमेत रहेका जीवन घिमिरे पनि यसअघि सोही निर्वाचन क्षेत्रको प्रदेशसभा–२ बाट कांग्रेसका भीम पराजुलीसँग पराजित भएका थिए । उल्लेख्य मात्रामा चौधरी र राजवंशीहरूको बसोबास रहेको यस क्षेत्रमा मोदी बलियो दाबेदार मानिन्छन् । यहाँबाट रास्वपाले नेपाल टेलिभिजन इटहरी च्यानलका पूर्वकर्मचारी सन्तोष राजवंशीलाई उम्मेदवार बनाएको छ । 

क्षेत्र नम्बर ५ः मण्डल भर्सेस मण्डल

२२ जना उम्मेदवार रहेको यो क्षेत्रमा गत निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर विजेता बनेका योगेन्द्र मण्डल यसपटक आफ्नै राष्ट्रिय ऊर्जाशील पार्टीबाट मैदानमा छन् । पूर्वमन्त्रीसमेत रहेका नेकपाका शिवकुमार मण्डल यस क्षेत्रका अर्का चर्चित उम्मेदवार हुन् । २०७९ सालको निर्वाचनमा यहाँ कांग्रेस र एमालेले उम्मेदवारी दिएका थिएनन् । कांग्रेसले मण्डललाई र एमालेले जसपाका राजकुमार यादवलाई सहयोग गर्ने औपचारिक निर्णय गरेको थियो, तर अन्तिममा दुवै पार्टीले योगी मण्डललाई भोट दिएपछि उनले बाजी मारेका थिए । यसपटक भने एमालेले मनोज अग्रवाललाई र कांग्रेसले फूलकुमार लालवाणीलाई उम्मेदवार बनाएको छ । यस्तै रास्वपाकी आशा झा तथा जसपाबाट राजकुमार यादव पुनः चुनावी मैदानमा छन् । 

क्षेत्र नम्बर ६ : कोइरालालाई रोक्न चाहन्छन् ढकाल

विराटनगरको मुख्य भाग समेटिएको यस क्षेत्रमा कांग्रेस नेता डा. शेखर कोइराला र एमालेका विनोद ढकालबिच कडा प्रतिस्पर्धा हुने देखिन्छ । क्षेत्र नम्बर ४ बाट सरेका ढकाल कोइरालाको किल्ला भत्काउने दाउमा छन् । सबै संसदीय निर्वाचनमा पराजय बेहोरेका ढकाल आफ्नो पराजय श्रृंखलालाई रोक्न खोजिरहेका छन् । शेखर पनि आफ्नो 'अन्तिम संसदीय निर्वाचन' जित्न चाहन्छन् ।

ढकाल र कोइरालाको प्रतिस्पर्धा चलिरहेको सो क्षेत्रमा रास्वपाबाट रुविना आचार्य र नेकपाबाट ओपेन्द्र रायले उम्मेदवारी दिएका छन् । दुवै युवा उम्मेदवार हुन् । मजदुर नेता हुँदै उम्मेदवार बनेका राय आधारभूत तहका जनतामा परिचित छन् । रास्वपाकी उम्मेदवार आचार्य भने मतदाताका लागि नयाँ हुनेछिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप