मकवानपुरमा ४४ जनाको उम्मेदवारी कायम, नयाँ दलमा ‘जेनजी’ र युवा उम्मेदवार
सारांश
- मकवानपुरमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जनाको उम्मेदवारी कायम रहेको छ।
- निर्वाचनमा युवा र महिलाको प्रतिनिधित्व उल्लेखनीय देखिएको छ, जसमा २५ देखि ४० वर्ष उमेर समूहका युवाको संख्या १५ रहेको छ।
- कांग्रेस र एमालेले पाका नेतालाई प्राथमिकता दिँदा रास्वपा, नेकपा माओवादी, र स्वतन्त्र उम्मेदवारमा युवाहरूको आकर्षण बढेको छ।
हेटौँडा। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट मनोनयन दर्ता गराएका ४४ जनाको उम्मेदवारी कायम रहेको छ। निर्वाचन अधिकृतको कार्यालय मकवानपुरका अनुसार दुवै क्षेत्रका उम्मेदवारमध्ये कसैले पनि मनोनयन फिर्ता नलिएकाले ४४ जनाको उम्मेदवारी कायम भएको हो।
शुक्रबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तोकिएको मनोनयन फिर्ता अवधिमा कुनै पनि उम्मेदवारले निवेदन नदिएको मुख्य निर्वाचन अधिकृत गीता श्रेष्ठले जानकारी दिइन्। मकवानपुरका दुई निर्वाचन क्षेत्रमा यसपटकको निर्वाचनमा पुस्तान्तरणको दृश्य देखिएको छ। पुराना र स्थापित दलदेखि नयाँ दल र स्वतन्त्र उम्मेदवारसम्म युवा र महिलाको प्रतिनिधित्व उल्लेखनीय देखिएको छ।
निर्वाचनमा २५ देखि ४० वर्ष उमेर समूहका करिब १५ जना युवा चुनावी मैदानमा उत्रिनुले राजनीतिमा नयाँ पुस्ताको हस्तक्षेप बढ्दै गएको देखिन्छ। एकातिर स्थापित पुराना नेताहरूको अनुभव र अर्कोतिर ‘जेनजी’ तथा युवाहरूको नयाँ भिजनबीचको चुनावी प्रतिस्पर्धा मकवानपुरमा रोचक हुने देखिएको छ।
निर्वाचनमा सबैभन्दा कान्छो उम्मेदवार २५ वर्षका रहेका छन्। ‘जेनजी’ पुस्ताको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मकवानपुर–२ मा उम्मेदवारी दिएको छ। रास्वपाबाट मकवानपुर–२ मा उम्मेदवारी दिएका प्रशान्त उप्रेती (२५ वर्ष) जिल्लाकै सबैभन्दा कान्छा उम्मेदवार हुन्।
मकवानपुर–१ मा रास्वपाकै उम्मेदवार ३७ वर्षीय प्रकाश गौतम उम्मेदवार छन् । यसैगरी उज्यालो नेपाल पार्टीबाट ३० वर्षीय डा. प्रविण कुमार स्याङ्तान र ३६ वर्षीय सुरेन्द्र लामा रहेका छन्। स्याङ्तानले मकवानपुर–२ र लामाले मकवानपुर–१ बाट उम्मेदवारी दिएका छन्।
नेकपा माओवादीबाट मकवानपुर–१ मा ३८ वर्षीय महेश नेपाली र मकवानपुर–२ मा ३६ वर्षीय राम घलानले उम्मेदवारी दिएका छन्। मकवानपुर–२ मा जनता समाजवादी पार्टीबाट ३४ वर्षीय दीपक सिन्तान, संस्कृति पार्टीका ३४ वर्षीय युनेश लामा सिन्तान, राष्ट्रिय जनमोर्चाका ३४ वर्षीय निरबहादुर सिन्तान र संयुक्त नागरिक पार्टीका ३६ वर्षीय शुभराज प्रजा पनि चुनावी मैदानमा छन्।
पुराना र स्थापित दलहरूले भने पाका र अनुभवी नेताहरूलाई प्राथमिकता दिएका छन्। कांग्रेस र एमालेले अनुभवी र पाका अनुहारलाई उम्मेदवार बनाएका छन्। कांग्रेस र नेकपा एमालेले ६० वर्षको हाराहारीमा रहेका अनुभवी नेताहरूलाई प्रतिस्पर्धामा उतारेका हुन्।
मकवानपुर–१ मा कांग्रेसबाट उम्मेदवार बनेकी महालक्ष्मी उपाध्याय ‘डिना’ ६१ वर्षकी छन् भने मकवानपुर–२ का कांग्रेस उम्मेदवार बुद्ध लामा ५८ वर्षका छन्। एमालेबाट मकवानपुर–१ का उम्मेदवार रामेश्वर राना मगर ६३ वर्षका छन्। यद्यपि एमालेले मकवानपुर–२ मा भने युवा उम्मेदवार ४३ वर्षीय महेश कुमार बर्तौलालाई उठाएको छ।
नेकपाले पनि युवाहरूलाई चुनावी मैदानमा पठाएको छ। मकवानपुर–१ बाट विजय गौतम (४० वर्ष) उम्मेदवार रहेका छन् भने मकवानपुर–२ बाट लवशेर विष्ट (५४ वर्ष) ले उम्मेदवारी दिएका छन्।
राप्रपाले सबैभन्दा पाका उम्मेदवारलाई मैदानमा उतारेको छ। मकवानपुर–१ बाट उम्मेदवार बनेका दीपकबहादुर सिंह ६४ वर्षका छन्, जो दलका उम्मेदवारमध्ये सबैभन्दा जेठा हुन्। मकवानपुर–२ बाट राप्रपाका उम्मेदवार रामबहादुर थोकर ५९ वर्षका छन्।
स्वतन्त्र उम्मेदवारमा युवाको लहर
यसपटकको निर्वाचनमा स्वतन्त्र रूपमा चुनाव लड्ने युवाहरूको संख्या पनि उल्लेखनीय छ। कुल ११ जना स्वतन्त्र उम्मेदवारमध्ये चार जना ४० वर्षमुनिका छन्। महिला उम्मेदवारमध्ये चार जना स्वतन्त्र र तीन जना मात्र दलको तर्फबाट रहेका छन्। यसले निर्णायक राजनीतिमा महिलालाई अझै पनि दलहरूले टिकट दिन कञ्जुस्याइँ गरिरहेको देखाउँछ।
स्वतन्त्रबाट चुनावी प्रतिस्पर्धामा रहेका युवाहरूमा ३१ वर्षीया प्रतीक्षा बानियाँ, ३८ वर्षीय राजाराम बोगटी, ३८ वर्षीया सिता माया बल र ३९ वर्षीया सुशिला सुवेदी रहेका छन्।
कुल ४४ जना उम्मेदवारमध्ये महिलाको उपस्थिति सात जना (करिब १६ प्रतिशत) मात्र रहेको छ। मकवानपुर–१ मा नेपाली कांग्रेसबाट ६१ वर्षकी महालक्ष्मी उपाध्याय ‘डिना’, श्रम संस्कृति पार्टीबाट ४९ वर्षकी विद्या श्रेष्ठ महर्जन, नेपाल मजदुर किसान पार्टीबाट ५४ वर्षकी रञ्जना सुवाल मगाजु, स्वतन्त्रबाट ३९ वर्षकी सुशिला सुवेदी र ४२ वर्षकी प्रमिला कुमारी खतिवडा उम्मेदवार रहेका छन्।
मकवानपुर–२ मा स्वतन्त्रबाट ३१ वर्षकी प्रतीक्षा बानियाँ र ३८ वर्षकी सिता माया बल उम्मेदवार छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अनधिकृत रूपमा ‘डाक्टर’ लेख्ने व्यक्तिविरुद्ध कारबाही प्रक्रिया अघि बढ्ने
-
त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
-
रवि लामिछानेको ‘विकास कूटनीति’: पूरा होला मल कारखानाको सपना ?
-
मोरङ कांग्रेसमा क्रियाशील सदस्यताको विषयलाई लिएर विवाद, सह–महामन्त्री संग्रौला सहभागी कार्यक्रम बिथोलियो
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण