शुक्रबार, ०१ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
क्रिकेट

बंगलादेशको बहिर्गमन : जब टोलीहरूले आईसीसी प्रतियोगिताका खेलहरू खेल्न अस्वीकार गरे

आइतबार, ११ माघ २०८२, १५ : ००
आइतबार, ११ माघ २०८२
00:00 / NaN:NaN
Audio By AI

काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०२६ को टी–२० विश्वकपबाट बंगलादेशलाई हटाएर स्कटल्यान्डलाई समावेश गरेको छ ।

बंगलादेश क्रिकेट बोर्ड (बीसीबी) ले सुरक्षा चासोका कारण भारतमा हुने प्रतियोगिताका लागि टोली पठाउन अस्वीकार गरेपछि झण्डै तीन हप्ताको वार्तापछि यो निर्णय आएको हो । 

आईसीसीले शुक्रबार साँझ बीसीबीलाई इमेल मार्फत यो निर्णयबारे जानकारी गराएको बुझिएको छ । बंगलादेश सरकारले फेब्रुअरी ७ बाट सुरु हुने उक्त प्रतियोगिताका लागि भारत भ्रमणको अनुमति नदिएको बीसीबीले जानकारी गराएको थियो ।

यस सन्दर्भमा, यहाँ अन्य ५ घटनाहरू प्रस्तुत गरिएको छ जहाँ टोलीहरूले आयोजक राष्ट्रमा गएर आईसीसी प्रतियोगिता खेल्न अस्वीकार गरेका थिए:

१. सन् १९९६ को एकदिवसीय विश्वकप: अस्ट्रेलिया र वेस्ट इन्डिजद्वारा श्रीलंकामा खेल्न अस्वीकार

सन् १९९६ को एकदिवसीय विश्वकपको पूर्वसन्ध्यामा सह–आयोजक श्रीलंका गृहयुद्धको चपेटामा थियो। प्रतियोगिता सुरु हुनुभन्दा दुई साताअघि मात्रै कोलम्बोमा भएको बम विस्फोटले सुरक्षा चिन्ता ह्वात्तै बढाएको थियो।

256324.3

सह–आयोजकप्रति ऐक्यबद्धता जनाउन भारत र पाकिस्तानको संयुक्त टोलीले प्रतियोगिता सुरु हुनुअघि कोलम्बोमा श्रीलंकाविरुद्ध मैत्रीपूर्ण खेल खेलेको थियो। यद्यपि, अस्ट्रेलिया र वेस्ट इन्डिजले श्रीलंकाविरुद्धको समूह चरणका खेल खेल्न कोलम्बो जान अस्वीकार गरे, जसका कारण उनीहरूले ती खेलको अंक गुमाउनु पर्‍यो।

रोचक कुरा के भयो भने, श्रीलंका सहजै क्वार्टरफाइनलमा पुग्यो (अस्ट्रेलिया र वेस्ट इन्डिज पनि पुगे) र अन्ततः लाहोरमा भएको फाइनलमा अस्ट्रेलियालाई नै हराएर विश्वकपको उपाधि जित्यो।

२. सन् २००३ को एकदिवसीय विश्वकप: इंग्ल्यान्डद्वारा जिम्बाब्वे र न्युजिल्यान्डद्वारा केन्या बहिष्कार

अफ्रिकामा (दक्षिण अफ्रिका, जिम्बाब्वे र केन्याद्वारा संयुक्त रूपमा) आयोजना भएको पहिलो विश्वकपमा दुईवटा टोलीले आयोजक देशमा खेल्न अस्वीकार गरे।

जिम्बाब्वेका शासक रोबर्ट मुगाबेविरुद्ध बेलायत सरकार (टोनी ब्लेयरको नेतृत्वमा) को कडा अडानका कारण इंग्ल्यान्डले हरारेमा जिम्बाब्वेसँग खेल्न अस्वीकार गर्‍यो।

उता, केही महिनाअघि मोम्बासामा भएको बम विस्फोटका कारण सुरक्षाको कारण देखाउँदै न्युजिल्यान्डले नैरोबीमा केन्याविरुद्ध खेल्न मानेन।

इंग्ल्यान्ड र न्युजिल्यान्ड दुवैले खेलको स्थान सार्न अनुरोध गरे पनि आईसीसीले मानेन र जिम्बाब्वे तथा केन्यालाई ‘वाकओभर’ (विजेता घोषित) दियो। यसको परिणामस्वरुप इंग्ल्यान्ड पहिलो चरणबाटै बाहिरियो भने न्युजिल्यान्ड मुस्किलले सुपर सिक्समा पुग्यो। वाकओभरको फाइदा पाएको केन्या भने सेमिफाइनलसम्म पुग्न सफल भयो।

३. सन् २००९ टी–२० विश्वकप: जिम्बाब्वेको नाम फिर्ता

पाँच वर्षपछि पनि मुगाबेको जिम्बाब्वे र बेलायतबिचको सम्बन्ध सुध्रिएन। इंग्ल्यान्ड आयोजक रहेको सन् २००९ को टी–२० विश्वकपमा जिम्बाब्वेका खेलाडीले भिसा पाउने वा नपाउने भन्ने अनिश्चितता सिर्जना भयो।

अन्ततः सन् २००८ को जुलाईमा आईसीसी र जिम्बाब्वेबीच ‘विन-विन’ (दुवै पक्षलाई फाइदा हुने) सम्झौता भयो। जिम्बाब्वेले खेलको बृहत्तर हितका लागि भन्दै प्रतियोगिताबाट नाम फिर्ता लियो। उनीहरूले नबोलाएको भोजमा जान नचाहेको बताए पनि सहभागिता बापतको पूरा रकम भने प्राप्त गरे। जिम्बाब्वेको सट्टा स्कटल्यान्डलाई छनोट खेलबाट ल्याइयो।

४. सन् २०१६ यू–१९ विश्वकप: अस्ट्रेलियाको फिर्ती

सन् २०१५ को अक्टोबरमा सुरक्षा चिन्ताका कारण अस्ट्रेलियाले बंगलादेशमा हुने द्विपक्षीय शृङ्खला रद्द गरेको थियो। सन् २०१६ को यू–१९ विश्वकप आउँदासम्म पनि उनीहरूको अडान फेरिएन। 

बंगलादेशमा अस्ट्रेलियाली हितमाथिको खतरा पहिले जस्तै उच्च रहेको उनीहरूको निष्कर्ष थियो। आईसीसीले बंगलादेश नजाने अस्ट्रेलियाको निर्णयलाई ‘सम्मान’ गरे पनि निराशा व्यक्त गर्‍यो। प्रतियोगितामा अस्ट्रेलियाको स्थान आयरल्यान्डले लियो।

397088.4

५. सन् २०२५ च्याम्पियन्स ट्रफी: भारतद्वारा पाकिस्तान जान अस्वीकार

सन् २०२५ को च्याम्पियन्स ट्रफी २९ वर्षपछि पाकिस्तानमा हुन लागेको पहिलो आईसीसी प्रतियोगिता थियो। सन् २०२१ को नोभेम्बरमै पाकिस्तान आयोजक पक्का भए पनि सन् २००८ देखि पाकिस्तान नगएको भारत, दुई देशबिचको तिक्ततापूर्ण राजनीतिक सम्बन्धका कारण त्यहाँ जान्छ वा जाँदैन भन्ने ठूलो प्रश्न थियो।

पाकिस्तानले २०२३ को एकदिवसीय विश्वकपका लागि भारत भ्रमण गरेको थियो, तर भारतले पनि त्यही गर्नेछ भन्ने स्पष्ट थिएन। अन्ततः प्रतियोगिता नजिकिँदै गर्दा बीसीसीआईले सरकारबाट अनुमति नपाएको भन्दै च्याम्पियन्स ट्रफीका खेल खेल्न पाकिस्तान नजाने घोषणा गर्‍यो। 

दुई देशका बोर्ड र आईसीसीबिचको लामो रस्साकस्सीपछि २०२४–२०२७ चक्रका लागि एक सहमति भयो: भारत वा पाकिस्तानले आयोजना गर्ने कुनै पनि आईसीसी प्रतियोगितामा अर्को देशका खेलहरू तटस्थ भूमिमा खेलाइनेछ। 

फलस्वरूप, २०२५ को च्याम्पियन्स ट्रफीमा भारतका खेलहरू दुबईमा खेलाइयो र भारतले उक्त प्रतियोगिता जित्यो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप