बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

समयमा भुक्तानी नहुँदा स्वास्थ्य बीमा सङ्कटमा, मन्त्री गौतमले गरिन् कमजोरी स्वीकार

आइतबार, ११ माघ २०८२, १४ : ४५
आइतबार, ११ माघ २०८२

सारांश

  • स्वास्थ्यमन्त्री डा. सुधा शर्मा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन चुनौती रहेको बताइन्।
  • उनले स्वास्थ्य बीमामा देखिएका समस्या र समाधानका उपायबारे प्रकाश पारिन्, जसमा उच्च जोखिम समूहको सहभागिता र दाबी व्यवस्थापनमा कमजोरीहरू समावेश थिए।
  • मन्त्री गौतमले आफ्नो कार्यकालमा जनयुद्धका घाइतेको उपचार, मातृ स्वास्थ्य, र स्वास्थ्य प्रणाली सुधारलाई प्राथमिकतामा राखेको बताइन्।

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा. सुधा शर्मा गौतमले वित्तीय असन्तुलन र समयमै दाबी भुक्तानी हुन नसक्दा स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन चुनौती थपिएको बताएकी छन्। मन्त्रालय सम्हालेको तीन महिना पुगेको अवसरमा आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले बीमा क्षेत्रमा देखिएका गम्भीर समस्याहरूबारे स्पष्ट पारेकी हुन्।

मन्त्री गौतमका अनुसार स्वास्थ्य बीमामा उच्च स्वास्थ्य जोखिम भएका व्यक्तिहरूको मात्र बढी सहभागिता हुनु, अनावश्यक रूपमा सेवा उपभोग गरिनु र दाबी व्यवस्थापनमा कमजोरी देखिनुले यो प्रणालीलाई सोचेजस्तो सफल बनाउन सकिएको छैन। पदभार ग्रहण गरेकै दिनदेखि बीमा सुधारलाई प्राथमिकतामा राखे पनि विभिन्न प्राविधिक र व्यवस्थापकीय झमेलाले काममा बाधा पुगेको उनले उल्लेख गरिन्। यद्यपि, स्वास्थ्य बीमा बोर्डको ओएनएम सर्वेक्षण प्रतिवेदन तयार भई स्वीकृतिको अन्तिम प्रक्रियामा पुगेको जानकारी उनले दिएकी छन्।

गुणस्तरीय स्वास्थ्य सेवाका लागि दक्ष जनशक्ति उपलब्ध भए पनि भौतिक पूर्वाधारको अभाव र पुरानो संरचनाका कारण सुधारका कामहरू कठिन भएको मन्त्री गौतमको भनाइ छ। उनले आफ्नो कार्यकालमा जनयुद्धका घाइतेहरूको उपचार, मातृ तथा नवजात शिशुको स्वास्थ्य, वैदेशिक रोजगारमा रहेका श्रमिकको स्वास्थ्य सुरक्षा र औषधि प्रयोगशालाको सुधारलाई प्रमुख प्राथमिकतामा राखेर काम गरिरहेको दाबी गरिन्।

विशेष गरी लुम्बिनी, कर्णाली, गण्डकी र मधेस प्रदेशमा मातृ मृत्युदर उच्च रहेकाले ती क्षेत्रमा विशेष कार्यक्रम सञ्चालन गरिएको उनले बताइन्। आगामी दिनमा स्वास्थ्य प्रणालीलाई पारदर्शी र जबाफदेही बनाएर नागरिकको विश्वास जित्ने गरी सेवा प्रवाहलाई केन्द्रमा राखिने मन्त्री गौतमले प्रतिबद्धता जनाएकी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप