बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
राजनीतिक दल

विशेष महाधिवेशन भएपछि कांग्रेसमा अघि बढेन क्रियाशील सदस्यतासम्बन्धी काम

प्रवक्ता चालिसे भन्छन्- निर्वाचन अगाडि सुरू हुँदैन
आइतबार, ११ माघ २०८२, १८ : २१
आइतबार, ११ माघ २०८२

काठमाडौँ । विशेष महाधिवेशनपछि नेपाली कांग्रेसमा क्रियाशील सदस्यतासम्बन्धी काम अघि बढ्न सकेको छैन । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौंमा भएको कांग्रेसको विशेष महाधिवेशनले गगन थापालाई सर्वसम्मत सभापति चयन गरिसकेको छ । 

आगामी १५ औँ महाधिवेशनका लागि भइरहेको क्रियाशील सदस्यता वितरण र नवीकरणको काम ठप्प भएको छ । कांग्रेस प्रवक्ता देवराज चालिसेले विशेष महाधिवेशनपछि क्रियाशील सदस्यता नवीकरण र वितरणको काम रोकिएको र अब प्रतिनिधिसभा निर्वाचनपछि मात्रै अघि बढ्ने जानकारी दिए । 

‘अहिले क्रियाशील सदस्यताको काम भएको छैन । विशेष महाधिवेशनपछि रोकिएको छ,’ प्रवक्ता चालिसेले रातोपाटीसँग भने, ‘अब सम्पूर्ण पार्टी निर्वाचनमा लागेको छ । निर्वाचनमा पार्टीलाई जिताएपछि केन्द्रीय समिति बैठक बसेर कसरी अगाडि बढाउने भन्ने निर्णय गछौँ ।’

कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले तत्कालीन महामन्त्री गगन थापाको नेतृत्वमा २०८१ कात्तिक १७ गते चार सदस्यीय क्रियाशील सदस्यता व्यवस्थापन समिति बनाएका थिए । समितिमा तत्कालीन केन्द्रीय सदस्यहरू योगेन्द्र चौधरी, सीता गुरुङ र प्रकाश स्नेही रसाइली सदस्य थिए । विशेष महाधिवेशनबाट रसाइली र चौधरी सहमहामन्त्री भएका छन् भने थापा सभापति चुनिएका छन् ।
 
गत मंसिर १५ गते बसेको कांग्रेसको तत्कालीन केन्द्रीय कार्यसमिति बैठकले गत पुस २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशन गर्ने निर्णयसहितको कार्यतालिका सार्वजनिक गरेको थियो । तर निर्धारित मितिमा हुन नसकेपछि पुस १८ गते बसेको तत्कालीन कार्यसम्पादन समिति बैठकले आगामी वैशाख २८ देखि ३१ गतेसम्म कांग्रेसको नियमित महाधिवेशन गर्ने निर्णय गरेको थियो । 

त्यो निर्णयमा असन्तुष्टि जनाउँदै १४ औँ महाधिवेशनबाट निर्वाचित महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माको अगुवाइमा विशेष महाविधेशन भएको थियो । त्यो महाधिवेशनको विरुद्ध तत्कालीन सभापति देउवा समूह र इतर समूहका नेता डा. शेखर कोइराला समूह थियो । निर्वाचन आयोगले विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई आधिकारिकता दियो । 

थापा नेतृत्वको समितिले नवीकरणको काम अन्तिम चरणमा पुर्‍याए पनि वितरणको काम भने सुरु मात्रै गरेको थियो । नयाँ क्रियाशील सदस्यता वितरणका लागि ६ लाख फारम पठाइए पनि एक लाख ५० हजार मात्रै भरेर केन्द्रीय कार्यालयमा फिर्ता आएका थिए । नवीकरणको काम भने ८५ प्रतिशत सकिएको केन्द्रीय कार्यालयले जानकारी दिएको छ ।
 
नियमित महाधिवेशन वैशाखमा नहुने विशेष महाधिवेशनबाट महामन्त्रीमा चुनिएका गुरुराज घिमिरेले सार्वजनिक कार्यक्रममा बताइसकेका छन् । बिहीबार विराटनगरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले फागुन २१ गतेको निर्वाचन र त्यसपछि हुने राजनीतिक गतिविधिका कारण आगामी वैशाखमा पार्टीको नियमित महाधिवेशन गर्न नसकिने बताए । २०८३ पुस मसान्तभित्र पार्टीको नियमित महाधिवेशन गर्ने गरी तयारी गरिने उनको भनाइ छ । 

कांग्रेस विधानमा चार वर्षमा नियमित महाधिवेशन गर्ने उल्लेख छ । तर केन्द्रीय कार्यसमितिको बहुमतले केन्द्रीय कार्यसमितिसहित सबै तहको म्याद एक वर्ष थप्न सक्ने व्यवस्था छ । १४ औं महाधिवेशन २०७८ साल मंसिरमा भएकाले चार वर्ष २०८२ मंसिरमा पुग्छ । एक वर्ष थप्दा २०८३ मंसिरभित्र गरिसक्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप