पार्टी प्रचण्ड र माधवको तजविजमा चल्न थाल्यो : झलनाथ खनाल
सारांश
- झलनाथ खनालले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाएका छन्, वरिष्ठ नेताहरूलाई कारबाही गरिएकोमा आपत्ति जनाए।
- खनालले पार्टीमा निर्णय प्रक्रिया संस्थागत नभएको र विधि-पद्धति मिचिएको भन्दै आकस्मिक बैठकको माग गरे।
- उनले पार्टीलाई सामूहिक नेतृत्व र विधिसम्मत सञ्चालन गर्नुपर्नेमा जोड दिँदै, नेतृत्व सच्चिन आग्रह गरे।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका नेता झलनाथ खनालले संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' र सहसंयोजक माधवकुमार नेपालले पार्टीको विधि–पद्धतिविपरीत वरिष्ठ नेताहरूलाई कारबाही गरेको भन्दै असन्तुष्टि जनाएका छन्।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागी उम्मेदवारलाई सघाएको भन्दै नेताद्वयले हरिबोल गजुरेल, कुलप्रसाद केसी, मेजर राई, महेश्वर दाहाल, धर्मनाथ साह, जीवछ साहलगायतलाई कारबाही गरेका थिए। उक्त कारबाहीप्रति नेता खनालले असन्तुष्टि पोख्दै आकस्मिक बैठक बोलाएर घटनाक्रमहरूबारे ब्रिफिङ गर्न माग गरेका हुन्।
साथै खनालले पार्टीका निर्णय प्रक्रिया संस्थागत रूपमा हुन छाडे विशृङ्खलता बढ्ने र पार्टी एकता नै जोगाउन नसकिने चेतावनी दिएका छन्। यसै विषयमा रातोपाटीले नेता खनाललाई 'तपाईंको असन्तुष्टि के हो र किन आकस्मिक बैठकको माग गर्नुभयो' भनेर सोधेको छ। प्रस्तुत छ नेता खनालसँग गरिएको छोटो कुराकानी :
- हरिबोल गजुरेललगायतका नेतामाथिको कारबाहीको विषयलाई लिएर तपाईंले पार्टी नेतृत्वसँग तत्काल बैठक राख्न माग गर्नुभएछ। चुनावको मुखमा जनतामा जाने बेलामा बैठक किन आवश्यक पर्यो?
किन पर्यो भने, हाम्रो पार्टी एकीकरण भएको कात्तिक १९ गते हो। अहिले माघ १९ अर्थात् तीन महिना पुग्न लाग्यो। तीन–तीन महिना पुग्न लाग्दा पनि न त पूर्ण रूपमा केन्द्रीय कमिटी नै घोषणा भएको छ, न पार्टीका नेतृत्वदायी संस्थाहरू नै बनेका छन्। कुनै पनि संस्थाहरू नबन्दै पार्टीमा भयंकर ठुलठुला निर्णयहरू भइरहेका छन्। ती निर्णय त भए–भए, चुनावमा उम्मेदवार चयनलगायतका विषयमा पनि संस्थागत निर्णय भएनन्।
मैले पार्टी विभाजन हुन्छ भनेको छैन। संस्थागत निर्णय गरिएन भने विशृङ्खलताबाट जोगाउन सकिँदैन भनेको हो।
त्यसमाथि अहिले वरिष्ठ नेताहरूलाई ठाडै कारबाही गरेको कुरा आयो। हरिबोल गजुरेल भनेको वरिष्ठ वामपन्थी नेता हो। त्यस्तो नेतामाथि जुन प्रकारको कारबाही भयो, त्यो किन भयो? कारण के हो? सिन्धुलीमा के भएको हो? हामी अरू नेताहरूले बुझ्न पाउनुपर्ने अधिकार हो। तर, त्यो हकबाट हामी वञ्चित भयौँ। तपाईंहरूले कारबाही भएको समाचार लेखेपछि पढ्ने मात्र हो। के गरेको हो भन्ने पनि थाहा छैन, हाम्रो भूमिका पनि कहीँकतै छैन। यो प्रकारको संस्थागत प्रक्रियाविना पद्धतिहीनता देखियो। यसप्रति आपत्ति जनाएर यस्ता कुराहरू गर्दा संस्थागत हुनुपर्छ भनेर संयोजकलाई विनम्रतापूर्वक आकस्मिक बैठक बोलाउन माग गरेको हो।
- गजुरेलमाथिको कारबाही फिर्ता नभए वा यस्तै संस्थागत निर्णय नगर्ने हो भने पार्टी फुट्न पनि सक्छ भन्ने तपाईंको सङ्केत हो?
मैले पार्टी विभाजन हुन्छ भनेको छैन। मैले भर्खर बन्दै गरेको पार्टी सामूहिक नेतृत्व र कार्यगत प्रणालीको विकास गर्ने र संस्थागत निर्णय गर्ने पार्टी बनाउन सकेनौँ भनेको हो। संस्थागत निर्णय गरिएन भने विशृङ्खलताबाट जोगाउन सकिँदैन भनेको हो। कुनै पनि पार्टीमा अराजकता छायो, विधि–पद्धति भएन र एकाध मान्छेहरूको हालीमुहाली भयो भने पार्टी कसरी रहन्छ? रहँदै रहँदैन।
_4UkVGC0kGY.jpg)
- नेता हरिबोल गजुरेल पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने बागी उम्मेदवारको प्रस्तावक बसेको र बागी उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न दिएको निर्देशन पनि नमानेपछि पार्टीले कारबाही गरेको कुरा सार्वजनिक भइसकेको विषय होइन र?
ठिकै छ। तर, त्यसभित्रका घटनाक्रम के हुन्? किन त्यस्तो भयो? पार्टीको एउटा वरिष्ठ नेताले पार्टी निर्णय नमानेर अर्को निर्णय गर्नुपर्ने आवश्यकता के पर्यो? के परिस्थिति छ सिन्धुलीको? यो कुरा पार्टीका सबै नेताले थाहा पाउनु पर्छ कि पर्दैन? नेतृत्व भनेको संयोजक–सहसंयोजक मात्र पनि होइन। उहाँहरू त कुनै निर्वाचित अथोरिटी पनि होइन। अहिले त उहाँहरूलाई नियुक्त गरिएको मात्र हो। त्यस्तो हैसियतका साथीभाइले यत्रो ठुलो कारबाही गर्दा सामान्यतः केन्द्रीय कमिटीले मात्र गर्न सक्छ।
२५ सयको केन्द्रीय कमिटी मैले बनाएको होइन। त्यो बनाउने पनि उहाँहरू नै हो। म संलग्न मात्र हो।
- प्रक्रियाविपरीत नै कारबाही गरिएको हो त?
पद्धतिमा विश्वास गर्ने हो भने एउटा स्पष्टीकरण त माग्नुपर्छ। खै स्पष्टीकरण मागेको? त्यसमा कारबाही नै गर्नुपर्दा पनि विभिन्न चरणहरू हुन्छन्। केही नगरी कसरी एकैपटक निष्कासन गर्ने अवस्था आयो भनेर प्रक्रिया र घटनाक्रमका बारेमा हामीलाई पनि जानकारी हुनुपर्छ।
- नेताहरू जोडेर पार्टी ठुलो पार्टी देखाउने प्रयास गर्नुभएको छ। झण्डै २५ सय केन्द्रीय समिति घोषणा गरेको धेरै दिन पनि भएको छैन। चुनाव पनि नजिकिएको छ। यस्तो अवस्थामा केन्द्रीय कमिटी बैठक बस्न सम्भव छ?
सम्भव नभए र छैन भने नहुने काम किन गरेको त? यो मलाई सोध्ने प्रश्न होइन। २५ सयको केन्द्रीय कमिटी मैले बनाएको होइन। त्यो बनाउने पनि उहाँहरू नै हो। म संलग्न मात्र हो।
- नेपाल कम्युनिस्ट पार्टी प्रचण्ड र माधवको तजविजमा मात्र चल्न थाल्यो र विधि–पद्धतिको बर्खिलाप हुन थाल्यो भन्ने तपाईंको चिन्ता हो?
यथार्थ यही हो। पार्टी भनेको कमिटी पद्धतिबाट चल्छ। त्यसमा सामूहिक नेतृत्व र व्यक्तिगत जिम्मेवारी हुन्छ। यो आधारमा हो कम्युनिस्ट पार्टी चल्ने। त्यसलाई हाँक्ने भनेको वैचारिक राजनीतिक सिद्धान्त हुन्छ। त्यो कुराविना पार्टी रहँदा पनि रहँदैन, चल्दा पनि चल्दैन। यही कारण मैले पार्टीलाई संस्थागत र विधिसम्मत सञ्चालन गरौँ भनेको हो। पार्टीका जो नीति–सिद्धान्त अघि सारेका छौँ, त्यसलाई व्यवहारमा लागु गर्ने विधि, पद्धति र कार्यशैली हुन्छ, त्यसलाई स्थापित गर्नुपर्छ। कसैलाई कारबाही नै गर्नुपरेछ भने पनि विधि पुर्याएर गरेको कारबाहीलाई कसैले प्रश्न उठाउन पाउँदैन। अरू कैयौँ निर्णय गर्दा पनि कुन विधिबाट गर्ने हो भन्ने कुरा प्रस्ट हुनुपर्छ।
कम्युनिस्ट आन्दोलनमा पुनर्गठन र रूपान्तरणको माग धेरै नै उठेको छ। सर्वत्र उठेको छ। त्यो भावना र आन्दोलनको आवश्यकतालाई कुनै पनि पार्टी नेताहरूले गहिरोसँग बुझ्न जरुरी छ।
- ठुलो पार्टी बनाउने नाममा नेताहरू थुपारे पनि पार्टी सञ्चालनमा विधि–पद्धति नअपनाउँदा, देख्दा ठुलो देखिए पनि पार्टी थप कमजोर हुन लाग्यो भन्ने तपाईंको बुझाइ हो?
कम्युनिस्ट पार्टी खिरिलो, धारिलो, दरिलो र प्रस्ट विचार, दृष्टिकोण, लक्ष्य भएको हुनुपर्छ/बनाउनुपर्छ। तबमात्र त्यसले आमजनतालाई, राष्ट्रलाई र क्रान्तिलाई हाँक्न सक्छ। जतिसुकै मान्छे र जुनसुकै मान्छेलाई वरिपरि थुप्रो लगाएर पार्टी हाँकिदैन। त्यसकारण पार्टी कमिटीको आकार कत्रो र कस्तो बनाउने भन्नेमा विचार पुर्याउनुपर्छ। पार्टी सदस्य कति छन्? त्यो सदस्यताको अनुपातमा कमिटीका आकारहरू बन्नुपर्ने हुन्छ। त्यसको बारेमा पार्टी नेतृत्वले व्यापक छलफल गरेर नीति निरूपण गरेर कमिटी बनाइएन भने पार्टी चलाउन गाह्रो हुन्छ।
- जनआन्दोलनपछि नेकपा रूपान्तरण भयो भनिएको थियो। तर, तपाईंको कुरा सुन्दा नाम परिवर्तन भयो, नेतृत्वको कार्यशैली परिवर्तन भएन भन्ने बुझिन्छ नि, के यो सत्य हो?
कम्युनिस्ट आन्दोलनमा पुनर्गठन र रूपान्तरणको माग धेरै नै उठेको छ। सर्वत्र उठेको छ। त्यो भावना र आन्दोलनको आवश्यकतालाई कुनै पनि पार्टी नेताहरूले गहिरोसँग बुझ्न जरुरी छ। बुझ्न सकिएन भने नेतृत्वका सामु धेरै अप्ठ्याराहरू आइलाग्छन्। नेतृत्वले ती अप्ठ्याराहरू पार गर्न सक्दैन। त्यस्तो अवस्थामा आफू त जान्छ–जान्छ, पार्टीलाई पनि भड्खालोमा हाल्ने खतरा हुन्छ। यस्ता कुराहरूमा हाम्रो जस्तो गतिशील पार्टीका नेताहरूले गहिरोसँग ध्यान दिनुपर्छ, बुझ्नुपर्छ र पार्टी सञ्चालन गर्ने कुरामा सचेत भएर लाग्नुपर्छ।
- तपाईंले भनेअनुसार नेतृत्व सच्चिने आशा गर्न सकिन्छ?
सम्भावना सकिइसकेको छैन। त्यसैकारण मैले अनुरोध र आग्रह गरेको हो। सच्चिऊ, पार्टीलाई संस्थागत, दह्रो, खिरिलो, क्रान्तिकारी पार्टी बनाऊ भनेको हो।
- बैठक बोलाउन तपाईंले गरेको आग्रह दुई नेताले सुनेनन् भने तपाईं के गर्नुहुन्छ त?
बोलाउँदै बोलाउनुभएन भने त्यही बेलामा सोचेर जे गर्नुपर्छ गर्छु।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खराब मौसमको कारण फ्रान्स र इराकबिचको दोस्रो हाफ सुरु हुन थप १५ मिनेट ढिलाइ
-
लगातार दोस्रो जिततर्फ फ्रान्सको पाइला: पहिलो हाफको समाप्तिमा इराकमाथि १–० को अग्रता
-
क्षयरोगीलाई पोषणका लागि खाद्यान्न सहयोग
-
खतरनाक ‘हिट स्ट्रेस’ मा विश्वव्यापी वृद्धि
-
एम्बाप्पेको गोलमा इराकविरुद्ध फ्रान्सलाई सुरुवाती अग्रता
-
चीन र इयूका व्यापार प्रमुखहरू अर्को साता भेट्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण