शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
विचार

चाउसेक्कुको पतन किन भयो ?

सोमबार, १२ माघ २०८२, १५ : ००
सोमबार, १२ माघ २०८२

सारांश

  • रोमानियाका तानाशाह निकोलाई चाउसेस्कुको शासनकालको अन्त्य, जसलाई २५ डिसेम्बर १९८९ मा गोली हानी मारिएको थियो।
  • चाउसेस्कुलाई सत्ताबाट हटाउन प्रदर्शनहरू भए, र उनलाई भाग्ने क्रममा पक्राउ गरी मृत्युदण्ड दिइयो।
  • चाउसेस्कुको परिवारवाद, विलासितापूर्ण जीवनशैली र जनताको अभावबीचको भिन्नताको चित्रण।

आज २६ जनवरी । आजकै दिन रोमानियाको तानाशाह निकोलाई चाउसेस्कुको जन्म भएको थियो । १९६५ देखि १९८९ सम्म मृत्युपर्यन्त रोमानिया कम्युनिस्ट पार्टीको महासचिव पदमा र १९७४ देखि राष्ट्रपतिको पदमा रहेका चाउसेस्कु र उनकी पत्नी एलिनालाई भाग्दै गर्दा पक्रिएर रोमानियाको सेनाले २५ डिसेम्बर १९८९ मा गोलीले उडाइदिएको थियो ।

आउनुस् रोमानियामाथि दशकौँसम्म निरंकुश शासन गरेको शक्तिशाली तानाशाहको पतन कसरी भयो भन्नेबारे चर्चा गरौँ ।

२१ डिसेम्बर १९८९ । दिउँसोको समय । रोमानियाको राजधानी बुखारेस्टको प्यालेस स्क्वायर अर्थात् दरबार चोकमा एक लाखको संख्यामा नरनारीहरू राष्ट्रपति चाउसेक्कु र उनकी पत्नी एलिना चाउसेक्कुका ठुला ठुला तस्बिरहरू र हातमा  रोमानियाली कम्युनिस्ट पार्टीको झन्डा बोकेर उपस्थित भएका थिए । ती नरनारीहरू सरकारले प्रचार गरेजसरी स्वतःस्फूर्त रूपमा त्यहाँ जम्मा भएका थिएनन् । ती कारखानाका ‘विश्वसनीय’ श्रमिकहरू थिए । उनीहरूलाई पार्टीको निगरानीमा बसका बस भरेर चुपचाप बुखारेस्ट ल्याई विभिन्न कारखानाका ब्यारेक र गेस्ट हाउसहरूमा अघिल्लो रात राखिएको थियो । केही दिन पहिले तिमीस्वारामा चाउसेस्कुविरुद्ध भएका प्रदर्शनहरूको प्रत्युत्तरमा चाउसेस्कुको निर्देशनमा सरकारले यस प्रदर्शनको आयोजना गरेको थियो ।  

पूर्वनिर्धारित तालिकाअनुसार २१ डिसेम्बर १९८९ मा चाउसेक्कु, उनकी पत्नी एलिना चाउसेस्कुका साथै पार्टी र सरकारका उच्च ओहोदाका व्यक्तिहरू रोमानिया कम्युनिस्ट पार्टीको केन्द्रीय कमिटी भवनको बालकोनीमा देखिए । त्यहाँ चाउसेस्कुको भाषणमा थुप्रै माइक्रोफोनहरू राखिएका थिए । टेलिभिजन क्यामेराहरू थिए । चाउसेस्कुको देब्रेपट्टि एलिना चाउसेस्कु उभिएकी थिइन् । जनताको विशाल उपस्थिति देखेर चाउसेस्कुले हौसिँदै आफ्नो भाषणको सुरुमै आयोजकहरूलाई बधाई दिएका थिए । यसरी हौसिँदै गर्दा चाउसेस्कुले सपनामा पनि सोचेको थिएन कि अबका ९६ घण्टाभित्र उनीहरू यो दुनियाँबाट बिदा भइसकेका हुनेछन् । 

चाउसेस्कुले भाषण सुरु गरेको दुई– तीन मिनट नहुँदै पछाडितिर ठुलो होहल्ला सुरु भयो । त्यहाँ जनताले चाउसेस्कु मुर्दावाद ! चाउसेक्कु हत्यारा हो ! भन्ने नारा लगाइरहेका थिए । तर अगाडि उभिएकाहरूले भने चाउसेस्कुको भाषणमा थपडी बजाइरहेका थिए । चाउसेक्कुले भाषण रोकेर शान्त रहन धेरै पटक अपिल गर्दा पनि होहल्ला र नाराबाजी रोकिएन । 

त्यसपछिको लगभग दश मिनेटको समय डरलाग्दो थियो । दसौँ हजार मानिस चाउसेस्कुले भाषण दिइरहेको भवन अर्थात् कम्युनिस्टहरूको पार्टी हेडक्वार्टरमा प्रवेश गर्न खोज्दै थिए । चाउसेक्कुका अंगरक्षकहरूले भाषण रोक्न लगाएर उनलाई भाषण गरिरहेको बालकनीबाट भवनको भित्र लगे । त्यहाँ चाउसेस्कुको कोर टिमका सबै उपस्थित थिए । चाउसेस्कु मातहतको शक्तिशाली सेक्युरिटाको सुरक्षा प्रमुख लुलियन भ्लाड पनि चाउसेस्कुसँगै थिए । लुलियन भ्लाड त्यही मानिस थिए, जसले रोमानियामा हजारौँ विरोधीहरूको सफाया गरेका थिए, तर त्यस बखत उनी मौन थिए । 

त्यसो त कम्युनिस्ट पार्टीको त्यो भवनमा भूमिगत टनेलहरू थिए । त्यो बाटो प्रयोग गरेको खण्डमा चाउसेक्कु सहरबाट टाढा भाग्न सक्थे । तर उनले त्यो बाटो प्रयोग गरेनन् । उनले सन् १९८० देखि आफ्नो हेलिकोप्टर उडाएको पाइलट भासीले मलुतानलाई तत्काल वायुसेनाको हेलिकोप्टरसहित उपस्थिति हुनआदेश दिए । हेलिकोप्टरमा चाउसेस्कु दम्पती, दुई अंगरक्षक र चाउसेस्कुका दुई विश्वासपात्र (उपप्रधानमन्त्री तथा चाउसेस्कुको ज्वाइँ मलिया मलेस्कु र प्रधानमन्त्री एमिल बबु) पाइलटलाई बुखारेस्टबाट ४० माइल टाढा स्नोगोभ भन्ने ठाउँमा लैजान आदेश दिइयो । केहीबेरमा हेलिकोप्टर स्नोगोभमा अवतरण गर्‍यो । चाउसेस्कुले पाइलटलाई वायुसेना प्रमुखसँग कुरा गरेर दुई थप हेलिकप्टर सुरक्षा गार्डसहित ल्याउन निर्देशन दिए, तर वायुसेना प्रमुखले त्यो निर्देशन पालना गरेनन् । तत्पश्चात् चाउसेस्कुले पाइलटलाई बोटेनी सैन्य एअरपोर्टमा लैजान निदेश दियो ।

हेलिकप्टरमा ओभरलोडिङ भएकाले सबै जनालाई लैजान नसक्ने बताएपछि चाउसेस्कु दम्पती र अंगरक्षकहरू मात्र उडे । प्रधानमन्त्री र उपप्रधानमन्त्री उड्न पाएनन् । बोटेनी पुग्नै लाग्दा चाउसेस्कुले हेलीलाई सडकमै ल्यान्ड गर्न आदेश दिए । यसबिच रेडियोमा रोमानियाको आकाशमा कुनै पनि उडान गरेको खण्डमा गोली हानेर खसालिने समाचार प्रचारण भइसकेको थियो ।

चाउसेस्कु दम्पती र अंगरक्षक हेलीबाट ओर्लिए । पाइलट र क्रुहरू हेली लिएर उडे । सडकमा चाउसेस्कुको हतियारधारी अंगरक्षक मेरियन रुसुले गुडिरहेको रातो कारलाई हात दिएर रोक्न खोज्यो, तर कार रोकिएन । अर्को कारलाई राइफल तेर्‍स्याए रोक्ने आदेश दिइयो । त्यो कारको मालिक डा. निकोलाई डेकाले आतंकित भएर चाउसेस्कु दम्पती र एक अंगरक्षकलाई कारमा बसाले । कार वकारेस्टी नामको गाउँका एक व्यक्तिको घर अगाडि पुगेर रोकियो । कारको पेट्रोल सकिएको थियो । त्यो घर निकोलाई पेत्रोसरको थियो । पेत्रोसरले चाउसेस्कुलाई तिर्गोभित्से क्षेत्रमा रहेको एउटा स्टिल फेक्टरीमा चाउसेक्कुले भनेबमोजिम पुर्‍याए, तर उनीहरूलाई कारखानामा पस्न दिइएन । त्यो त्यही मोडेल कारखाना थियो, जसलाई विदेशी विशिष्ट पाहुनाहरू आउँदा देखाउन ल्याउने गरिन्थ्यो ।

पेत्रोसरले चाउसेस्कुहरूलाई स्थानीय पार्टी कार्यालयतिर लैजान कार मोडे, तर त्यहाँ पनि माहोल ठिक थिएन । अन्ततः पेत्रोसरले उनीहरूलाई एउटा नर्सरी संरक्षण केन्द्रमा छाडेर आफू त्यहाँबाट टाप कसे । नर्सरी केन्द्रको प्रमुखले पुलिसलाई खबर गरेर चाउसेस्कुहरूको सुरक्षाका लागि अनुरोध गरेपछि उनीहरू स्थानीय मिलिसियाको मुख्यालयका लागि प्रस्थान गरे । सहरमा चारैतिर तनावपूर्ण वातावरण थियो । भिडबाट बचाएर मिलिसिया मुख्यालयमा चाउसेस्कुलाई पुर्‍याउँदा बेलुकी ६ बजिसकेको थियो । यसबिच रोमानियाको सेनाले विद्रोहीहरूलाई समर्थन जनाइसकेको थियो । सेना चाउसेक्कुविरुद्ध रहेको जानकारी मिलिसियालाई प्राप्त भइसकेपछि उनीहरू गाडी, हतियार र गोलाबारुद सबै  छाडेर तिर्गोभित्सेको मिलिसिया भवनबाट भागिसकेका थिए । मिलिसिया भवन नजिकै सेनाको ब्यारेक थियो । त्यहाँको कमान्डरले मुख्यालयबाट हतियार छाडेर सबै मिलिसियाहरू भागेको थाहा पाएपछि स्थिति सम्हाल्न ५० जनाको सैन्य टुकडी त्यहाँ पठाएका थिए । चाउसेस्कुहरू मिलिसिया भवनमा पुग्नासाथ सैन्य टुकडीले उनीहरूलाई नियन्त्रण लिएको थियो । 

त्यसपछिका तीन दिन चाउसेक्कु दम्पतीले तिर्गोभित्से सैन्य ब्यारेकमा बन्दीको रूपमा काटे । २५ डिसेम्बरमा बिहान ९ बजे त्यहाँ एउटा हेलिकप्टर ल्यान्ड गर्‍यो, जसमा भर्खरै गठित राष्ट्रिय मुक्तिमोर्चाका एक जना सदस्य, केही अधिवक्ता तथा कार्यवाहक रक्षामन्त्री भिक्टर स्टानकुलेसु सवार थिए । तत्कालै ब्यारेकभित्र रहेको सैन्य स्कुलको कोठालाई अस्थायी विशेष सैन्य अदालतका रूपमा बदलेर निकोलाई चाउसेस्कु र एलिना चाउसेस्कुमाथि मुद्दा चलाइयो । ४५ मिनेटको बहसपछि दुवैलाई मृत्युदण्ड सुनाइयो । केहीबेरमा दुवैलाई खुला मैदानमा ल्याएर गोली हानेर मारियो । यस प्रकार रोमानियामा २५ वर्षदेखि एकछत्र निरङ्कुश शासन चलाएको ‘कामरेड’ चाउसेस्कुको अन्त भयो । 

केही दिनपछि चाउसेक्कुको मृत्युको समाचार रोमानियाको सरकारी टिभीमा पढ्ने एक जना समाचारवाचकलाई सोधिएको थियो कि तपाईंलाई यो समाचार पढ्दा कस्तो अनुभूति भएको थियो । उसको कथन थियो; ‘रोमानियाका जनताको लागि चाउसेक्कुको मृत्यु क्रिसमसको ठुलो  उपहार थियो ।’ 

चाउसेस्कुको शासनबाट जनता आजित भएका थिए । एकातिर जनताको जीवनस्तर दिनप्रतिदिन कठिन बन्दै गइरहेको थियो भने चाउसेक्कु र उनको परिवारको जीवन राजा महाराजाको जीवनशैलीलाई माथ गर्ने खाले थियो । पार्टी र राज्यका सबै अंगहरूमा चाउसेस्कु परिवारको वर्चस्व थियो । चाउसेस्कुकी पत्नी एलिना चाउसेस्कु प्रथम उपराष्ट्रपति र रोमानियाको कम्युनिस्ट पार्टीको चाउसेस्कुपछि दोस्रो वरिष्ठ तहमा थिइन् । उनी महँगा कपडा गहना र जुत्ताहरूको असाध्यै सौखिन थिइन् । विदेश भ्रमण जाँदा त्यहाँबाट महँगा उपहार प्राप्त गर्न पहिल्यैदेखि नै रोमानियाको विदेशका नियोगहरूलाई निर्देशन दिइने गर्दथे । त्यसैगरी चाउसेक्कुको छोरा निकू चाउसेक्कु कार्यकारी समितिको वैकल्पिक सदस्य थिए । कार्यकारी समिति रोमानियाको कम्युनिस्ट पार्टीको कोर कमिटी थियो । साथै उनलाई केन्द्रीय समिति सदस्य र वाईसीएलको प्रमुख बनाइएको थियो । चाउसेस्कु दम्पतीले निकूलाई आफूपछि पार्टी अध्यक्ष र राष्ट्रपति बनाउनुपर्छ भनेर पहिल्यैदेखि नै पार्टीमा निर्देशन गरेका थिए । निकू शराबी, चरित्रहीन र स्त्रीलम्पट मानिस थिए । 

चाउसेक्कुका दुई बहिनी ज्वाइँ एक जना इलि भर्डेट र अर्को मनिया मनेस्कुमध्ये दुवैलाई पालैपालो रोमानियाको प्रधानमन्त्री बनाइएको थियो । त्यसैगरी दाजु इलि चाउसेक्कुलाई उपप्रधानमन्त्री बनाइएको थियो । अर्को एक जना भाई निकोलाई एन्ड्रूता लेफ्टिनेन्ट जनरलको पदमा थियो  तर रक्षा मन्त्रालयको हर्ताकर्ता बनेको थियो । त्यसो त रोमानिया देशको पूरा नाम समाजवादी रोमानिया थियो । तर जनताले भन्ने गर्दथे ‘समाजवाद रोमानियामा छैन, चाउसेक्कुको परिवारमा मात्र समाजवाद छ ।’ 

एक पटक विदेश भ्रमणमा रहँदा पत्रकारले तपाईँमाथि परिवारवादको आरोप लाग्ने गरेको छ भनेर प्रश्न सोधेको थियो । चाउसेस्कुको गोलमटोल र चक्करदार जवाफ थियोः

म तपाईंसमक्ष सामाजिक सरकारको संयन्त्र कसरी चल्छ भन्नेबारे ज्यादा आमधारणा राख्न चाहन्छु । रोमानियाली समाजवादी समाज सामूहिक नेतृत्वको अवधारणामा सञ्चालित रहेको हुन्छ । विभिन्न निकायहरूमा पार्टी र राज्यका कार्यकर्ताहरू आम जनताका साथमा बहसमा भाग लिएर नीति निर्धारण गर्दछन् किनभने रोमानियामा समाजवादी व्यवस्था छ । सबै आर्थिक सामाजिक क्षेत्रहरूमा यस्ता निकायहरू छन्, जसमा सबै कामदार र जनसमुदाय संलग्न रहन्छन् । सबैले सामूहिक निर्णय गर्दछन्, सामूहिक कर्म गर्दछन् र सामूहिक रूपमा समस्याहरूको समाधान गर्दछन् । सरकारले सामूहिक नेतृत्वको सिद्धान्तका आधारमा निर्णय गर्दछ ।

पार्टीका महाधिवेशनहरूका बिचमा केन्द्रीय समिति र कार्यकारी समितिले सबै घरेलु र अन्तर्राष्ट्रिय मामिलाहरूमा निर्णय गर्दछ । यसै नियमअन्तर्गत एलिनाले पनि हाम्रो समाजको विकासका समस्याहरू समाधान गर्न आफ्नो योगदान गर्छिन् । 

चाउसेक्कुको देवत्वकरण चीनमा माओ र रुसमा स्टालिनको भन्दा कम थिएन । उसले मार्क्स एङ्गेल्स र लेनिनका तस्बिरहरूको सट्टा आफ्नो र आफ्नो पत्नीको मात्र फोटो प्रयोग गर्ने आदेश दिएको थियो । चाउसेस्कुले सन् १९७० तिर स्वास्थ्य मन्त्रीलाई भनेका थिए– ‘मजस्तो मानिस पाँच सय वर्षमा एक पटक मात्र जन्मिन्छ ।’ 

अन्तमा चाउसेक्कुको गुप्तचर प्रमुख र सल्लाहकारको पुस्तक रेड होराइजनको यो अंशबाट यो लेखलाई समाप्त गर्दछु–

‘रोमानियाको राजधानी बुखारेस्टमा कम्युनिस्ट पार्टीको अतिथिगृहमा एउटा रात्रिभोजको आयोजना गरिएको थियो । कर्नेल बर्तिका विदेश व्यापार मन्त्री बनेको खुशीयालीमा सो रात्रिभोजको आयोजना गरिएको थियो ।  रात्रिभोजमा रोमानियाली गुप्तचर निकायका प्रमुख र निकोलाई चाउसेस्कुका सल्लाहकारको पनि उपस्थिति थियो । ह्विस्कीका बोतलहरू खाली हुँदै जाँदा इधरउधरका विषयमा कुराकानी गरिरहेका पाहुनाहरूको वार्तालाप कामरेड चाउसेस्कुमाथि ठोक्किन पुग्यो । रक्षामन्त्री आयोन कोमानले भने, 'विचरा कामरेड ! वासिङ्टन र ह्वाइट हाउसको भ्रमण पर्याप्त थियो । बेलायती महारानीबाट हेपिन लन्डन किन जानुपरेको होला ?’

कर्नेल बर्तिकाले च्याँटिठदै जवाफ फर्काए, 'हेर कोमान !  रोमानियाका जनताले कामरेडलाई बितेका २० वर्षमा यति दिएका छन्, जति बेलायती महारानीलाई हजार वर्षमा उपलब्ध हुन सकेको छैन । महारानीको एउटा मात्र कार्यालय छ, कामरेडका तीनवटा छन्, जसमा एउटा राजमहल पनि सामेल छ । कोमानज्यु, बेलायतकी महारानीका तीन वटा मात्र आवास छन्, हाम्रो कामरेडका पाँच वटा आवास छन् । कामरेडका लागि ३९ जिल्लामध्ये हरेकमा सुविधासम्मन्न आवासहरू छन् । सिकार खेल्न वा अन्य बेलामा त्यहाँ जाँदा कामरेडले ती आवासहरूको उपयोग गर्दछन् । हाम्रा कामरेडका लागि विदेशका प्रत्येक दूतावासमा राष्ट्रपति आवासहरू बनाइएका छन्, जो विदेश भ्रमणमा जाँदा कामरेडले प्रयोग गर्नुहुन्छ । यस्ता विशिष्ट आवासहरूको संख्या २१ छ । त्यहाँ अरू कसैलाई जाने अनुमति छैन ।’ 

‘बेलायतकी महारानीका दुई मात्र निजी विमान छन् कोमान महोदय । हाम्रा कामरेडसँग ९ वटा विमान र तीन हेलिकप्टर छन् । महारानीसंग एउटा मात्र रेलगाडी छ, कोमानज्यु । तर हाम्रो कामरेडका तीन वटा अत्याधुनिक रेलगाडी छन्,’ उनले भनेका थिए, ‘महारानीका मात्र दुई वटा एम्बुलेन्स छन् । हाम्रो कामरेडसित अमेरिका र जर्मनीबाट विशेष अडर गरेर झिकाइएका चार एम्बुलेन्स छन् । कामरेडको उपचारका लागि पृथक् अस्पताल र चिकित्सक छन् । महारानीका लागि भने कुनै पृथक् निजी अस्पताल छैन । के बेलायतकी महारानीले लन्डनको केन्द्र भाग भत्काएर आवास वा प्रशासनिक भवन बनाउने क्षमता राख्छिन् ? तर हामीसँग त्यो क्षमता छ कमरेडहरू । हामी छिट्टै एउटा प्रशासनिक भवन बनाउनेछौं । त्यसको नाम हुनेछ– निकोलई चाउसेस्कु प्रशासनिक केन्द्र ।’ 

एकातिर चाउसेस्कुको वैभवले आक्काश छोएको थियो भने अर्कोतिर राजधानी बुखारेस्टसहित रोमानियाभरि खाद्य सामग्रीहरू, चिनी, मासु आदि वस्तुहरूको चरम अभाव थियो । सरकारले मुलुकको औद्योगिकीकरण गर्ने नाममा र विदेशी मुद्रा आर्जन गर्ने नाममा खाद्य वस्तुहरूको विदेशमा निर्यात गर्ने आदेश दिएको थियो । आम जनतालाई खाना पकाउने ग्यास लिन तीन–तीन दिनसम्म लाइनमा बस्नु पर्थ्यो । सीमित मात्रामा प्राप्त हुने खाद्यान्न, अण्डा, मासुका लागि राति तीन बजेदेखि नै स्टोरहरूमा मानिसहरूको लामो लाइन लाग्ने गर्थ्यो । कुखुराको मासु पाउनु दुर्लभ थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लक्ष्मण पन्त
लक्ष्मण पन्त
लेखकबाट थप