सोमबार, ०८ असार २०८३
ताजा लोकप्रिय

अस्पतालबाटै किशोरीको शव हराएको विषयमा मंगलबार पनि प्रदर्शन

मङ्गलबार, १३ माघ २०८२, १२ : ४८
मङ्गलबार, १३ माघ २०८२

सारांश

  • सिरहाको गोलबजारमा १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएपछि आफन्तले प्रदर्शन गरेका छन्।
  • शव पोस्टमार्टमका लागि लहान अस्पतालमा राखिएको थियो, तर परिवारले शव लिन जाँदा फेला पारेनन्।
  • स्थानीयले अस्पताल प्रमुख र प्रहरी प्रशासनको लापरबाहीको कारण शव हराएको आरोप लगाएका छन्।

सिरहा । सिरहाको गोलबजार नगरपालिका–३ जमदहका रमेश बानियाँकी छोरी १६ वर्षीया निशा बानियाँको शव अस्पतालबाट हराएको आक्रोशमा आफन्तले मंगलबार गोलबजारमा प्रदर्शन सुरु गरेका छन् । यसअघि पीडितका आफन्तले सोमबार साँझ पनि सडक अवरुद्ध पारेका थिए । 

पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उपमाप्रसाद प्रादेशिक अस्पतालमा राखिएको शव हराएपछि आक्रोशित स्थानीयले अस्पताल प्रमुखसहित सम्वन्धित निकायलाई कारबाहीको माग गर्दै प्रदर्शन गरेका हुन् । 

गत माघ १० गते आफ्नै घरमा मृत फेला परेकी किशोरीलाई इलाका प्रहरी कार्यालय गोलबजारले प्राकृतिक घटना मुचुल्कासहितको प्रक्रिया पुरा गरी पोस्टमार्टमको लागि लहान अस्पताल पठाएको थियो । उनका बुबा आमा रोजगारीको क्रममा भारतमा रहेकाले सोमबार आएर शव लिन अस्पताल पुग्दा फेला परेन । 

स्थानीय शिक्षक समर भण्डारीले पोस्टमार्टमसमेत नभएको शव हराउनु अस्पताल प्रशासन र प्रहरी प्रशासनको गम्भीर लापरबाही भएको बताए । उनले यस्तो लापरबाही गर्ने अस्पताल प्रमुख र प्रहरीलाई हदैसम्मको कारबाही गर्नुपर्ने माग गरेका छन् ।

सोमबार गोलबजार नगरपालिका–३ का वडाध्यक्ष धनप्रसाद लामाले मंगलबार १० बजेभित्र शव उपलब्ध नगराए पुनः सडकमा उत्रने चेतावनी दिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रामभरोसी यादव
रामभरोसी यादव

रामभरोसी यादव रातोपाटीका सिरहा संवाददाता हुन् ।

लेखकबाट थप