शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
फिचर

युरोपकी सिना लिँदैछिन् सोलुखुम्बुको गाउँले जीवनको अनुभव

बुधबार, १४ माघ २०८२, ०७ : ५१
बुधबार, १४ माघ २०८२

सारांश

  • जर्मनीकी सिना इडर सोलुखुम्बुको चाचालुङ गाउँमा स्वयंसेवक शिक्षकको रूपमा कार्यरत छिन्, जहाँ उनले फरक जीवनशैलीको अनुभव गरिरहेकी छिन्।
  • सिनाले नेपालको ग्रामीण जीवन, नेपालीहरूको आत्मीयता र साना बालबालिकाहरूलाई अनुशासनको नाममा पिट्ने चलनलाई लिएर आफ्ना अनुभवहरू व्यक्त गरेकी छिन्।
  • सिनालाई नेपाली खाना, संस्कृति र ग्रामीण जीवनशैली मन परेको छ, र उनले भविष्यमा सामाजिक कार्यका लागि नेपाल फर्कने इच्छा व्यक्त गरेकी छिन्।

जर्मनी । युरोपको अत्याधुनिक सुविधा सम्पन्न समाज र नेपालको दुर्गम हिमाली जिल्लाको कठिन जीवन । २५ वर्षीयमा सिना इडरले यी दुईबिच तुलना गर्दै सुन्दर अनुभव बटुलिरहेकी छन् । सोलुखुम्बुको चाचालुङ गाउँको एक विद्यालयमा स्वयंसेवक शिक्षकको रूपमा काम गरिरहेकी सिनालाई त्यहाँको जीवनशैलीले अनौठो महसुस गराइरहेको छ । 

अस्ट्रियाको साल्जबर्गमा जन्मिएर जर्मन सहर बार्यनमा हुर्किएकी सिनाले नेपालको दुर्गम हिमाली जिल्ला सोलुखुम्बुको विकट गाउँमा पुगौंला भनेर कहिल्यै सोचेकी थिइनन् । तर मनमा अचानक साहसिक यात्रा गर्ने सोच आउँदा नेपालतिर डोर्‍यायो । पहिलो पटक आउँदा काठमाडौं र पुनहिलको यात्रा गरिन् । दुई साताको त्यो यात्राले नेपालप्रतिको मोह अरू जाग्यो र दोस्रो पटक अध्ययनको सिलसिलामा व्यावहारिक स्वेच्छिक अभ्यासका लागि नेपाल नै रोजिन् । अनि पुगेकी हुन् चाचालुङ गाउँ ।

01-Cena (3)

चाचालुङ उनका लागि खास बनेको छ । जहाँ उनले हातले लुगा धुने, निकै चिसो पानीले कपाल नुहाउने, कहिलेकाहीँ बिजुली नआए पनि सहज रूपमा दिन कटाउने, दुई घण्टा पैदलै हिँडेर किनमेल गर्न जाने जस्ता अनौठा अनुभव बटुलिरहेकी छन् ।

सिनाले प्राथमिक र माध्यमिक तहको शिक्षा बायर्नमै पूरा गरिन् । सन् २०१८ मा उच्च माध्यमिक तहको शिक्षा पूरा गरेपछि उनले जर्मनीको एक अस्पतालमा संघीय स्वयंसेवा कार्यक्रम अन्तर्गत ६ महिना सेवा गरिन् । त्यसै अन्तर्गत अहिले उनी चाचालुङ गाउँमा रहेको श्री अमरज्योति विद्यालयमा स्वयंसेवक शिक्षकका रूपमा पढाइरहेकी छन् । सन् २०२५ अक्टोबरबाट यो विद्यालयमा पढाउन थालेकी उनी सन् २०२६ को फेब्रुअरी अन्तिमसम्म रहनेछिन् ।

02-Cena (1)

यस क्रममा नेपाल र नेपालीप्रति यति मोह बस्यो कि युरोप फर्किने दिन नजिकिँदै जान थालेपछि उनलाई दुःख लाग्न थालेको छ । ह्वाट्सएपमार्फतको भिडियो संवादमा उनले भनिन्, 'अझै लामो समय नेपालमै बस्न मन लागेको छ । तर फेब्रुअरी अन्तिममा फर्कनैपर्छ ।' उनलाई नेपालको यो हिमाली गाउँ अर्कै संसार जस्तो लाग्छ । नेपालीहरूको आत्मीयता, सरलपन र जस्तोसुकै कठिनाइलाई पनि सहज रूपमा लिने बानी उनलाई औधी मन परेको छ ।

03-Cena (2)

नेपाली ग्रामीण जीवनमा घरमै सुँगुर मारेर रौं डढाएको, घरमै कुखुरा काटेर भुत्याएको देख्दा उनलाई अनौठो लाग्छ । उनी हुर्किएको समाजमा कुनै पनि जनावरलाई घरमा आफैंले काटेर खाने चलन छैन र त्यसो गर्न कानुनले पनि दिँदैन । गाउँले जीवनमा देखेका यस्ता दृश्यलाई उनी छोटाछोटा भिडियो बनाएर सामाजिक सञ्जाल टिकटक र इन्टाग्राममा पोस्ट गर्छिन् । उनले नेपाल पुगेको पहिलो दिनदेखि नै हरेक दिन यस्ता भिडियो बनाएर पोस्ट गरेकी छन् । ती भिडियोमा उनका हरेक दिनका गतिविधि र स्कुलमा पढाएका क्षणहरूलाई कैद गरेकी छन् ।

04-Cena (4)

नेपाली ग्रामीण जीवनमा रमाइरहेकी उनी केही कुरामा भने दुःखी छिन् । 'यहाँ त स्कुलमा शिक्षकले अनुशासनका नाममा विद्यार्थीलाई पिट्नु र घरमा पनि अभिभावकले सन्तानलाई पिट्नु सामान्य रुपमा लिँदा रहेछन्', उनी सुनाउँछिन्, 'हाम्रो समाजमा त यस्तो भयो भने ढोकामा प्रहरी आइसक्छ ।' उनी प्रतिप्रश्न गर्छिन्, 'तिमी पनि यसलाई सामान्य रुपमा स्वीकार्न सक्छौं ? चाहे त्यो गालामा प्याट्ट हिर्काउनु वा दुख्ने गरी नपिटेपनि पिट्नु भनेको पिट्नु नै हो । यसमा अनुशासनको कुनै स्थान हुँदैन ।'

05-Cena (5)

यस्तो जाडोका बेला पनि उनका कतिपय विद्यार्थी मोजा नलगाई स्कुल आउँछन् । सायद मोजा नभएर होला भन्ने ठानेर उनले किनेर विद्यार्थीलाई वितरण गरिन् । तर कतिपयले भने 'मलाई चाहिँदैन' भन्दै लिन मानेनन् । यो घट्ना पनि उनलाई अनौठो लाग्छ ।

राम्रो शिक्षाका लागि सानासाना बालबालिकालाई पनि गाउँबाट ठुला सहर वा काठमाडौं एक्लै पठाउने र होस्टेलमा राख्ने प्रचलनलाई पनि उनी राम्रो मान्दिनन् । उनी हुर्किएको समाजमा साना बालबालिकाले अभिभावकसँगै बस्ने अधिकार राख्छन् । तर नेपालका धेरैजसो दुर्गम गाउँमा राम्रो शिक्षा उपलब्ध नहुँदा सहर पठाउनु बाध्यता रहेको उनको बुझाइ छ ।

06-Cena (6)

गाउँमा अभाव वा कठिनाइबिच पनि स्कुल आएका बालबालिका खुसी भएको देख्दा उनलाई पनि खुसी लाग्छ । उनी बालबालिकालाई खेलाउँछिन्, हसाउँछिन् र युरोपेली शैलीमै पढाउँछिन् । उनलाई स्कुलका विद्यार्थीले पनि खुब माया गर्छन् । उनी देखेपछि विद्यार्थीहरू झ्याम्मिदै आउँछन् ।

सिना योगाकी शिक्षिका पनि हुन् । उनले सन् २०२४ को जुलाईमा स्पेनको टेनेरिफामा योगा शिक्षिकाको तालिम लिएकी हुन् । उनी स्कुलको कामबाट फुर्सद हुनासाथ अहिले पनि योगा गर्छिन् ।

07-Cena (7)

सिनाले अध्ययनका क्रममा नेपाल मात्र होइन, अन्य देशमा पनि अभ्यास गरेकी छन् । सन् २०२४ फेब्रुअरीदेखि जुनसम्म स्पेनको ग्रान क्यानारियामा विदेश अध्ययन सेमेस्टर पूरा गरेकी थिइन् । उनले चार महिना चाचालुङ गाउँमा स्वयंसेवक शिक्षिकाका रूपमा पढाउँदा विद्यालयले तलब दिँदैन । तर उनले छात्रवृत्ति अन्तर्गत डा. सिग्रिड स्वार्जेनबाकर फाउन्डेसनबाट यात्रा, बीमा, बसोबास लगायत सम्पूर्ण खर्च पाएकी छन् ।

नेपालमा उनलाई अनौठो लागेको अर्को कुरा दैनिक दालभात खाने चलन पनि हो । युरोपमा कहिल्यै दालभात नचाखेकी उनी अहिले दैनिक खान्छिन् । अचेल उनलाई दालभात मिठो लाग्छ । खाजाका रुपमा भने कहिले मःम, कहिले रोटी, कहिले अन्य नेपाली परिकार खान्छिन् । सबैजसो नेपाली परिकार उनलाई मिठो लाग्छ । यसबिचमा उनी गाउँमा हुने विवाह र भोजमा सहभागी भएर नाचिन् । उनलाई नेपाली गाउँमा हुने परम्परागत विवाह र भोजको प्रचलन रमाइलो लाग्छ । युरोपमा कहिल्यै नगरेको काम हातले लुगा धुने पनि अहिले गरिरहेकी छन् । उनी हप्तामा दुईपटक हातले लुगा धुन्छिन् ।

09-Cena (10)

सिना फुर्सदको समयमा स्कुलमा नेपाली भाषा पनि पढिरहेकी छिन् । उनले रमाइलोकै लागि भएपनि नेपालीमा कक्षा एक र दुईको परीक्षा दिएर पास पनि गरिन् । अहिले उनी अलिअलि नेपाली भाषा बुझ्ने र अलिअलि बोल्न सक्ने पनि भएकी छन् । 'बालबालिकाहरूले मबाट अङ्ग्रेजी शब्दहरू सिक्छन् र म उनीहरूबाट नेपाली शब्दहरू सिक्छु तर मेरो नेपाली उच्चारण सुनेर उनीहरू हाँस्छन्,' सिना भन्छिन् ।  

10-Cena (9)

उनलाई काम गर्न मनपर्ने क्षेत्र पनि सामाज सेवा नै हो । भविष्य कता मोडिन्छ भनेर अहिले नै केही भन्न नसकिएपनि उनलाई सामाजिक काम गर्ने दृढ इच्छा छ । सिना भन्छिन्, 'सायद पढाइ सकेपछि सामाजिक काम गर्न फेरि नेपाल नै पो आउँछु कि !'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुबल सापकोटा
टुबल सापकोटा
लेखकबाट थप