मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
अछाम–१

एमालेलाई आफ्नै पूर्वनेताको त्रास, नयाँ चुनाव चिह्न बोकेका रावलले जोगाउलान् विरासत ?

कांग्रेस र रास्वपाको आ–आफ्नै दाउ
मङ्गलबार, २० माघ २०८२, १६ : ००
मङ्गलबार, २० माघ २०८२

सारांश

  • सुदूरपश्चिमका प्रभावशाली नेता भीम रावल अछाम क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार छन्।
  • एमालेविरुद्ध चुनाव लड्दै रावललाई पूर्वप्रतिस्पर्धी र कांग्रेसका उम्मेदवारसँग प्रतिस्पर्धा गर्नुपर्ने चुनौती छ।
  • २०७९ को निर्वाचनमा एमालेले झपट बोहरालाई टिकट दिए पनि कुँवरसँग पराजित भएपछि यसपटक दीपक साउदलाई अघि सारेको छ।

धनगढी । सुदूरपश्चिम प्रदेशमात्र नभएर राष्ट्रिय राजनीतिमा कहलिएको नाम हो भीमबहादुर रावल । दशकौँसम्म नेकपा एमालेको राजनीतिमा सक्रिय रहेर पार्टीलाई सुदूरपश्चिममा संगठित बनाउन भूमिका निर्वाह गरेका रावलका लागि संसदीय निर्वाचन नौलो होइन ।

आसन्न निर्वाचनमा अछाम क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य पदमा उम्मेदवार बनेका रावलका लागि यो निर्वाचन विगतका सबै निर्वाचनभन्दा भिन्न र अहम् छ । उनी यसअघिको भन्दा फरक चुनाव चिह्न बोकेर निर्वाचनमा होमिएका छन् भने आफूले दशकौँसम्म संगठन निर्माण एवं विस्तारमा योगदान गरेको पार्टी नेकपा एमालेविरुद्ध नै जित निकाल्नु पर्ने चुनौतीबाट घेरिएका छन् ।

रोचक त यो छ कि, १२ वर्षअघि माओवादी पार्टीबाट सो क्षेत्रमा रावलसहित एमालेलाई चुनौती दिएका दिपक बहादुर साउद अहिले एमालेका उम्मेदवार छन् भने रावलचाहिँ तत्कालीन माओवादी, नेकपा एकीकृत समाजवादी लगायतमा दल मिलेर बनेको नेकपाका उम्मेदवार बनेका छन् ।

२०७० सालको दोस्रो संविधान सभा निर्वाचनमा भीम रावल एमालेका प्रभावशाली उम्मेदवार थिए भने दिपक साउद माओवादीबाट उम्मेदवार बनेका थिए । आफ्नो व्यक्तिगत प्रभाव र बलियो सङ्गठनको बलमा रावलले उक्त चुनावमा बाजी मारेका थिए । रावलकै धेरथोर मेहनतले सुदूरपश्चिममा प्रभाव जमाउन सफल एमालेबाट उम्मेदवार बनेका साउदसँग अहिले बलियो सङ्गठनको साथ छ भने रावलसामु व्यक्तिगत प्रभाव र साविकका माओवादी र एकीकृत समाजवादीका कार्यकर्तालाई समेटेर नेकपालाई स्थापित गराउनुपर्ने चुनौती छ ।

२०७९ सालको प्रतिनिधि सभा निर्वाचनमा यो क्षेत्रबाट एमालेले झपट बोहरालाई टिकट दिएको थियो । भीम रावललाई पाखा लगाउँदै टिकट पाएका बोहराले नतिजा भने आफ्नो पक्षमा पार्न सकेनन् । उनी तत्कालीन नेकपा एकीकृत समाजवादीका शेरबहादुर कुँवरसँग पराजित भएका थिए । कुँवरले १९ हजार ५३४ मत ल्याएर जित हासिल गर्दा बोहराले १५ हजार ४५ मतमा चित्त बुझाउनुपरेको थियो ।

यसपटकको निर्वाचनमा भने एमालेका अछाम इन्चार्ज समेत रहेका झपट बोहराले नै जित सुनिश्चित गर्न भन्दै दीपक साउदका लागि बाटो खाली गरिदिए । एमालेले साउदलाई अघि सार्नुको पछाडि माओवादी पृष्ठभूमिको मत तान्ने र रावललाई उनकै पूर्वप्रतिस्पर्धीबाट परास्त गर्ने रणनीति देखिन्छ ।

विगतको निर्वाचनमा अछाम–१ को लडाइँ निकै पेचिलो देखिन्छ । २०७९ को निर्वाचनमा समानुपातिकतर्फ एमालेले यहाँ १३ हजार ९६८ मत ल्याएको थियो । एमाले आफ्नो यही करिब १४ हजार कोर भोट जोगाउँदै थप मत बढाउने रणनीतिमा छ ।

अर्काेतर्फ, भीम रावलको नजर एमालेको असन्तुष्ट मत र अन्य कम्युनिस्ट घटकका भोटमा छ । २०७९ मा माओवादी केन्द्रले समानुपातिकमा ७ हजार २२८ र एकीकृत समाजवादीले २ हजार ७४७ मत ल्याएका थिए । यी दुई पार्टीको कुल मत करिब १० हजार ३ सय हुन्छ । रावल तत्कालीन माओवादी र एकीकृत समाजवादीको यो भोट बैंक आफूतिर तानेर र आफ्नो व्यक्तिगत प्रभाव प्रयोग गरी एमालेको केही भोट तानेर जित निकाल्ने दाउमा देखिन्छन् ।

२०४८ देखि नै संसदीय निर्वाचनमा उम्मेदवार बन्दै आएका रावलले पहिलो निर्वाचनमा हार बेहोर्नु परेको थियो । उनी २०५१, २०७० र २०७४ मा निर्वाचित भए ।

यहाँका कतिपय मतदाता रावललाई एमालेले अन्याय गरेको ठान्छन् । ‘पार्टीले उहाँलाई अन्याय ग¥यो । राष्ट्रियताको सवालमा खरो उत्रने नेतालाई पाखा लगाउन खोज्दा हामीले न्याय गर्नुपर्छ,’ अछामका बीरवहादुर साउदले भने । वर्षौंसम्म योगदान गरेको नेतालाई पार्टीबाट लखेटेर भर्खरै पार्टीमा प्रवेश गरेका नेतालाई उम्मेदवार बनाएको भन्दै असन्तुष्ट एमालेजनको मत र सहानुभूति रावलले बटुल्न सक्ने सम्भावनालाई नकार्न सकिँदैन ।

जेनजी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिबारे पनि अछामका मतदाता सचेत छन् । कतिपय मतदाताले परिवर्तनको पक्षमा उभिने अठोटसमेत व्यक्त गरेका छन् । साँफेबगर नगरपालिकाका स्थानीय सरेश ताम्राकारले यस पटक आफू परिवर्तनको पक्षमा उभिने बताए । ‘काम गर्नेलाई भोट दिने हो, पार्टी हेरिँदैन । व्यक्ति हेरेर भोट दिने हो,’ उनले भने ।

नेपाली कांग्रेस यहाँ लामो समयपछि जित निकाल्ने तयारीमा छ । यहाँ कांग्रेसका उम्मेदवार भरतकुमार स्वाँर छन् । २०५६ सालमा कांग्रेसले जिते यता यो क्षेत्रमा कांग्रेसले कहिल्यै जित हासिल गर्न सकेको छैन ।

रावल र साउदको लडाइँको फाइदा उठाएर जित निकाल्न सकिने कांग्रेसको रणनीति छ । ‘कम्युनिस्ट मत राम्रैसँग विभाजन हुने देखिन्छ, हामीले आफ्नो मत सुरक्षित गर्न सकेको खण्डमा जित निकाल्न सहज हुन्छ,’ स्वारले भने । यद्यपि, पार्टीभित्रको गुटबन्दीले कांग्रेसलाई आफ्नो मत सुरक्षित राख्न चुनौती देखिन्छ ।

अछाम–१ मा साना दल र स्वतन्त्र उम्मेदवारहरू पनि आफ्नो उपस्थिति देखाउन सक्रिय छन् । अहिले चर्चामा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीका ओमप्रकाश रावल नयाँ पुस्ताको मत तान्न घरदैलोमा छन् । २०७९ मा सम्पन्न निर्वाचन अन्तर्गत समानुपातिकमा ७८५ मत पाएको रास्वपा यसपटक युवाहरूको निराशालाई भोटमा बदल्न चाहन्छ ।

त्यस्तै, राप्रपाका लोकेन्द्र बहादुर शाह पनि हिन्दु राष्ट्र र राजसंस्थाको एजेन्डा बोकेर भोट बढाउने दाउमा छन् । विप्लव नेतृत्वको नेकपाका लोकेन्द्र शाही, नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र शाही र स्वतन्त्र उम्मेदवार भीम बहादुर कुँवरले पनि चुनावी माहोल तताएका छन् ।

यहाँ सात राजनीतिक दल र एक स्वतन्त्र उम्मेदवार मैदानमा भए पनि मुख्य प्रतिस्पर्धा त्रिपक्षीय हुने देखिन्छ । एमाले, कांग्रेस र नेकपाबिचकै त्रिपक्षीय प्रतिस्पर्धामा रास्वपा लगायतका दलले परिवर्तनको पक्षमा माहोल तताएर आफ्नो अनुकूल नतिजा निकाल्न प्रयास गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सविता बुढा
सविता बुढा
लेखकबाट थप