पर्सा–३ : कांग्रेसभित्रको कलह र रास्वपाको लहरबाट फाइदा उठाउन सक्छन् एमालेका पाण्डेयले
सारांश
- पर्सा क्षेत्र नम्बर ३ मा विभिन्न दलका उम्मेदवारहरू मतदाताको विश्वास जित्न प्रतिस्पर्धा गर्दैछन्।
- २०७९ को निर्वाचनमा नेकपा एमालेका राजकुमार गुप्ता विजयी भएका थिए भने यसपटक कांग्रेस र एमालेबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ।
- कांग्रेसका सुरेन्द्र प्रसाद चौधरी र एमालेका रुपेश कुमार पाण्डेय मुख्य प्रतिस्पर्धी हुन्, रास्वपाको पनि प्रभाव बढ्दो छ।
वीरगन्ज । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत पर्सा क्षेत्र नम्बर ३ मा विभिन्न दलका तथा स्वतन्त्र उम्मेदवार मतदाताको विश्वास जित्न प्रयासरत छन् । यस निर्वाचन क्षेत्रमा २३ उम्मेदवार प्रतिस्पर्धामा छन् ।
०७९ को निर्वाचनमा यो क्षेत्रमा नेकपा एमालेका राजकुमार गुप्ता २४ हजार ३१९ मतसहित निर्वाचित भएका थिए । माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीसँगको गठबन्धनका बाबजुद नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र प्रसाद चौधरी २४ हजार १०५ मतमा सीमित रहँदै पराजित भएका थिए ।
त्यसो त, समानुपातिकतर्फ यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस १७ हजार ४४३ मतसहित प्रमुख दल बनेको थियो । एमालेले समानुपातिकमा १५ हजार २५४ मत पाएको थियो । यहाँ एकीकृत समाजवादीले ३ हजार ८४६ र माओवादी केन्द्रले ३ हजार १४१ मत पाएका थिए । रास्वपाले भने समानुपातिकमा १ हजार ३६४ मतमात्र पाएको थियो ।
आसन्न निर्वाचनमा कांग्रेसले चौधरीलाई नै उम्मेदवारका रूपमा अघि सारेको छ भने एमालेले रुपेश कुमार पाण्डेयलाई उम्मेदवार बनाएको छ । यहाँ नेपाली कम्युनिस्ट पार्टीले छोटेलाल प्रसाद यादव, राष्ट्रिय स्वतन्त्र पार्टीले रामाकान्त प्रसाद चौरसिया, राप्रपाले नवीन कुमार सिंहलाई उम्मेदवार बनाएको छ ।
यसैगरी जनता समाजवादी पार्टीले नागेन्द्र प्रसाद यादव, उज्यालो नेपाल पार्टीले रामरुप प्रसाद साह, जनमत पार्टीले मालती कुमारी कुशवाहालाई अघि सारेको छ ।
अघिल्लो निर्वाचनमा यो क्षेत्रमा रास्वपाका उम्मेदवार अशोक कडेलले ९२३ मतमात्र प्राप्त गरेका थिए । यद्यपि, यो निर्वाचनमा रास्वपाको लहर अघिल्लो निर्वाचनको तुलनामा लोभलाग्दो देखिन्छ । त्यसैले रास्वपालाई कम आँक्न मिल्दैन । अघिल्लो निर्वाचनमा रास्वपाले प्रत्यक्ष र समानुपातिक तर्फ पाएको मत न्यून रहेका कारण व्यापक लहरका बिच पनि मत परिणाम आफ्नो पक्षमा पार्न निकै संघर्ष गर्नुपर्ने देखिन्छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कांग्रेस र नेकपा एमालेको संगठनात्मक अवस्था र संगठित मत अन्य दलको तुलनामा बलियो छ । त्यसैले यिनै दुई दलबिच मुख्य प्रतिस्पर्धा हुने आकलन छ ।
कांग्रेसका चौधरी पुराना नेता हुन् । यद्यपि उनको सफलता दर कमजोर छ । आन्तरिक कलह र गुटगत राजनीतिका कारण चौधरीलाई अहिले पनि प्रशस्त चुनौती छ ।
एमालेका पाण्डेय भने तुलनात्मक रूपमा युवा हुनका साथै बलियो संगठनको बलमा यस पटक बाजी मार्ने दाउमा छन् । उनले कृषि आधुनिकीकरण अन्तर्गत गुणस्तरीय मल र बिउको उपलब्धता, आधुनिक प्रविधि सम्बन्धी तालिम र परम्परागत खेतीलाई व्यावसायिक फलफूल, तरकारी तथा पशुपालनमा रूपान्तरण गर्नेजस्ता योजना अघि सारेका छन् ।
यस्तै स्वास्थ्य सेवामा सुधार गर्ने पाण्डेयको अर्को एजेन्डा छ, जसअनुसार वडास्तरका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न बनाउने, पोखरिया जिल्ला अस्पतालको सुदृढीकरण गर्ने र डिजिटल एवं प्रविधिमैत्री स्वास्थ्य प्रणालीको विकास गर्ने योजना उनले अघि सारेका छन् ।
पाण्डेयले गुणस्तरीय र सिपमूलक शिक्षाको एजेन्डा पनि अघि सारेका छन् । विद्यालयको सरसफाइ, विद्यार्थी–अभिभावक–शिक्षक अन्तरक्रिया, सिपमूलक शिक्षा र अतिरिक्त क्रियाकलाप (वादविवाद, खेलकुद आदि)लाई प्राथमिकता दिने आफ्नो एजेन्डा मतदातासमक्ष राखेका छन् ।
रोजगारी र उद्यमशीलता अन्तर्गत पाण्डेयले प्रतिष्ठित उद्योगपतिहरूलाई उद्योग स्थापनामा सहजीकरण गर्ने तथा स्थानीय स्रोत–साधनको प्रयोग गरी युवाहरूका लागि स्वरोजगार र सिपमूलक तालिम सञ्चालन गर्ने योजना अघि सारेका छन् ।
दिगो पूर्वाधार विकास अन्तर्गत सडक, पुल, ढल र बिजुलीजस्ता आधारभूत संरचना निर्माण गर्ने तथा विकासका कार्यमा पारदर्शिता, गुणस्तर र समयपालनलाई कडाइका साथ लागु गर्ने उनको एजेन्डा छ ।
पाण्डेयले भने, ‘मतदाताका समस्यालाई संसद् र नीति निर्माण तहसम्म पु¥याउने तथा सार्वजनिक सुनुवाइ र निरन्तर संवादमार्फत जवाफदेही प्रणालीको विकास गर्ने प्रतिबद्धता पनि जनाएको छु ।’
नेपाली कांग्रेसका उम्मेदवार चौधरीले आफ्नो लामो राजनीतिक जीवनमा समग्र पर्सा जिल्ला, खासगरी क्षेत्र नम्बर ३ को समस्या नजिकबाट देखेको र बुझेको बताउँदै तिनको समाधानमा आफ्नो भूमिका सशक्त रहने दाबी गरेका छन् । यद्यपि उनलाई समग्र मतदाताभन्दा पनि आफ्नो पार्टीको संगठित मत जोगाउनै मुख्य चुनौती देखिएको छ ।
रास्वपाले उम्मेदवार बनाएका चौरसिया नेपाली कांग्रेसकै राजनीतिक पृष्ठभूमिका नेता हुन् । कांग्रेस परित्याग गरी रास्वपामा प्रवेश गरेका चौरसियाले आसन्न निर्वाचनमा कांग्रेसको मत तान्न सक्ने सम्भावना प्रबल छ । त्यसैले चौधरीले एमालेका उम्मेदवारसँग मतमा प्रतिस्पर्धा गर्नुअघि रास्वपाका उम्मेदवार चौरसियाको पक्षमा कांग्रेसको मत जान नदिन ठुलो संघर्ष गर्नुपर्ने देखिन्छ । अझ, कांग्रेसको विशेष महाधिवेशनले नयाँ नेतृत्व चयन गरेको विषयलाई लिएर शेरबहादुर देउवा र शेखर कोइराला पक्षका कांग्रेस कार्यकर्ता रुष्ट भएका कारण पनि कांग्रेसले सिंगो कार्यकर्ता पङ्क्तिको साथ र समर्थन पाउन कठिन छ ।
यस निर्वाचन क्षेत्रमा नेपाली कम्युनिस्ट पार्टीको खासै प्रभाव छैन । अन्य दल तथा स्वतन्त्र उम्मेदवारले पनि धेरै ठुलो लहर ल्याउन सकेको देखिँदैन । त्यसैले पनि एमालेका उम्मेदवार पाण्डेयले बलियो संगठनको बलमा नतिजा आफ्नो पक्षमा नपार्लान् भन्न सकिँदैन ।
पर्सा–३ मा ३५ वटा वडा छन् । पटेर्वासुगौली, सखुवाप्रसौनी, विन्दवासिनी, जगरनाथपुर, पकहामैनपुर गाउँपालिका तथा पोखरिया र बहुदरमाइ नगरपालिका यस क्षेत्रभित्र पर्छन् ।
सदरमुकामसँग जोडिएको क्षेत्र भए पनि यहाँ अझै खानेपानी, पर्याप्त सडक, नाला, गुणस्तरीय विद्यालय तथा उद्योग–कलकारखानाको अभाव छ । यसका कारण सर्वसाधारणलाई दैनिक कामका लागि वीरगञ्जमात्र होइन, काठमाडौँलगायत अन्य ठाउँसम्म धाउनुपर्ने अवस्था छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मेसीले बनाए विश्वकपमा १७ गोलको ऐतिहासिक रेकर्ड
-
कोशी प्रदेशको बजेट यथार्थपरक छैन, अंकगणितमै त्रुटि छ: पूर्वमुख्यमन्त्री राजेन्द्र राई
-
ठमेलमा अवाञ्छित गतिविधिमा संलग्न ७ विदेशी नागरिक पक्राउ
-
पुरानै दलहरूको बाटोमा रास्वपा, व्यवस्थापकीय कमजोरीका कारण प्रतिनिधिमाथि थपिँदै छ भार
-
थप कक्षा सञ्चालन अनुमतिको माग गर्दै निजी विद्यालय सञ्चालक आन्दोलित, दबाब दिन बालबालिका प्रयोग
-
ऐतिहासिक रेकर्ड बनाउन पेनाल्टीमा चुके मेसी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण