आइतबार, ०३ साउन २०८३
ताजा लोकप्रिय

फेरि एक पैदल यात्रा : डलास टु डिसी

शनिबार, २४ माघ २०८२, ११ : ५८
शनिबार, २४ माघ २०८२

छब्बिस सय वर्ष पछाडि

फेरि एकचोटि

अर्को गोलार्ध लुम्बिनी खोज्दै खोज्दै

टेक्सासको नाङ्गो र फराकिलो सडकबाट

चुपचाप निस्किएका छन्– बुद्ध

 

कति हजार पाइला हिँडेपछि जोडिन्छ 

डलास टु वासिङ्टन डीसी ?

जोडिन्छ, सैँतिस सय किलोमिटरको दुरी ?

 

न जवाफ छ सर्वज्ञ अमेरिकासँग

न छ ट्रम्प महोदयसँग

 

मध्यरातमा

चुपचाप दरबार छाडेर निस्किएझैँ

खाली खुट्टा

खाली हात

भिरेर पातलो एकसरो चीवर

निस्किएका छन् 

त्यही जवाफ दिँदै दिँदै

महाभिनिष्क्रमणमा बुद्ध

 

कि बुद्धले टेकेको

हरेक पाइला पृथ्वी– लुम्बिनी हो

हरेक पाइला लुम्बिनी– पृथ्वी हो

जो सुरु भएको छ

एउटा पैदल यात्रा

अर्को गोलार्ध लुम्बिनीबाट

 

यतिखेर उनलाई 

अठार भिक्षुहरूको मुट्ठीभरि

अठार पिटक मन्त्र फुकाएर

अठारै जोर पैदल खुट्टाहरू चाल्दै

छिचोल्नु छ

सैँतिस सय किलोमिटरको दूरी

र जोड्नु छ 

अठार फन्को शान्तिको डोरोले

डालस टु वासिङ्टन डिसी

 

हिँड्दा हिँड्दै

टेकेर हिँड्नु छ 

असी वर्ष पुरानो भग्न हिरोसिमाको छाती

जहाँ मान्छे नामको महाकाव्यबाट

पहिलोचोटि

मेटिएको थियो मानवताको बीउ अक्षर

र, मान्छेकै एक आदेशमा

खरानी भएका थिए

एक लाख चालिस हजार निर्दोष मान्छेहरू

सम्झिँदै– त्यो पल

मानव सभ्यताले दिएको

संसारकै पहिलो परमाणु– उपहार

त्यो ‘लिटिल व्वाई’

 

पाइलै मुनि छ 

शीत युद्धको बर्बरताले चुटेको भियतनाम

जसले अझै पनि चुकाइरहेछ

बिसौँ लाख नरसंहारको मूल्य

सम्झिँदै

बिसौँ वर्षसम्म रेड रिभरमा बगेको

भियत्कङहरुको रगत

र, फान्सिपान पहाडझैँ अटल– हो ची–मिन्ह

 

पाइलैपिच्छे ठोकिरहेछन् 

हिउँका डल्ला झैँ

खुट्टामा ‘प्रोक्सी वार’ का अनगिन्ती ठेसहरू

सदाबहार दुस्मन जन्माउने 

त्यो दुस्मन नस्लको इरान, अफगानिस्तान

त्यो मध्यपूर्व

कमशः अफ्रिका, ल्याटिन अमेरिका

युफ्रिटस नदीको एकछेउ

६ बुट्टे १० को स्पाइडर टनेलमा 

लुकिरहेको सद्दाम हुसेन

क्यारेबियन सागरको बिचमा तैरिरहेको

सार्वकालिक दुस्मन 

फिडेल क्यास्ट्रोको देश

 

दोहोरिलट्ठ छन् ल्याम्पपोस्टहरु 

तर निभेको छ करुणाको उज्यालो

जसको छायामुनि 

गुन्जिरहेछ दुनियाँको आत्मा काँप्ने गरी

प्यालेस्टाइनी आमाहरूको चित्कार 

पोतिएको छ सडकभरि

अबोध बाल–बालिकाको रगताम्य अनुहार

भर्खरै चिलले झम्टेको चल्ला– भेनेजुएला

र, दुस्मन निकोलस मादुरो

 

हिँड्नु छ

यसरी– टेक्दै टेक्दै

सारा संसारको रगतले रङ्गिएको

‘युएस सिक्स्टी फोर’ हाइवे

 

हाइवेको दुबै किनारमा जम्मा भएका छन् 

हात हल्लाउँदै

स्वागतार्थ हजारौँ नर–नारीहरू

जसले भनिरहेछन् 

पहिलो चोटि यो रक्तरञ्जित सडकमा 

हिँडिरहेछ मान्छेको आत्मा

ओ ! दुर्लभ यात्री

जाऊ, धर्तीको पल्लो किनारसम्म 

युद्धले भुटेको मुटु छुँदै छुँदै 

र, जोड यतिन्जेल भूगोलले जोडेको पृथ्वीलाई

तिम्रो भावनाको नरम भुवाले

जोड आँसु र करुणाले

जोड मानवता र प्रेमले

 

सँगै पर्खिरहेछन् कलिला नानीहरू

हात–हातमा प्रार्थनाका फूलहरू लिएर

जसका आँखाले भनिरहेछन्

यो फूल जस्तै शान्त र सुन्दर पृथ्वी 

चाहिन्छ हामीलाई

ओ ! नौला मान्छे

तिमीसँग मात्र छ त्यो उदार छाती

जसले हाम्रो कामना पुरा गर्न सक्छ

कृपया,

हामीलाई हाम्रो फूलजस्तै पृथ्वी फर्काइदेऊ 

 

तर सर्वज्ञ अमेरिकालाई थाहा छैन

प्रेमको पनि क्षेप्यास्त्र हुन्छ

आँसु र दयाको पनि परमाणु बम हुन्छ

जो बिना हल्ला 

बिना हिंसा र कोलाहल 

बिलकुल मौन र निःशब्द 

जित्दै एक–एक पाइला करुणाको क्षेत्रफल

विस्फोट हुन्छ मानिसको आत्मामा 

 

हेर ! 

ह्वाइट हाउसको गिदी थर्किने गरी

कस्तरी पड्किरहेछ 

यतिखेर निःशस्त्र पैदल यात्राको क्षेप्यास्त्र ! 

जसले उद्घोष गरिरहेछ

एक त्यस्तो मौन युद्ध

जहाँ हार्ने छैनन् कोही पनि

र, जसलाई भनिनेछ

‘शान्तिको तेस्रो विश्वयुद्ध’

 

यात्राको ९०औँ दिन

अठार भिक्षुहरू सोध्छन्– ‘कुन ठाउँ हो यो ?’

कसैले जवाफ दिन्छ–

‘यो तपाईंको प्रिय लुम्बिनी हो 

जो, नर्थ क्यारोलाइनामा पर्छ’

 

छब्बिस सय वर्षपछाडि

यसरी– निस्किएका छन् 

चुपचाप पैदल यात्रामा– बुद्ध

जसलाई दिनु छ 

सैँतिस सय किलोमिटर पाइलाको जवाफ

र, टेक्दै पाँच सय चौतिस वर्ष पुरानो

कोलम्बसको आततायी पाइला 

पत्ता लगाउनु छ

अमेरिका भित्र अर्को नयाँ अमेरिका । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

भूपाल राई
भूपाल राई
लेखकबाट थप