मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
ब्याटल ग्राउन्ड बागलुङ

बागलुङमा इतिहास रच्ने दाउमा दुई महिला उम्मेदवार

सोमबार, २६ माघ २०८२, ०७ : ०१
सोमबार, २६ माघ २०८२

सारांश

  • बागलुङमा नयाँ संविधान जारी भएयता प्रतिनिधि सभामा महिला निर्वाचित हुन सकेका छैनन्।
  • आगामी निर्वाचनमा बागलुङका दुई निर्वाचन क्षेत्रमा महिला उम्मेदवारहरू इतिहास रच्ने दाउमा छन्।
  • गुमा कुमारी बुढा राना मगर र मञ्जु शर्मा चालिसे बागलुङका विभिन्न क्षेत्रबाट उम्मेदवार बनेका छन्।
00:00 / NaN:NaN
Audio By AI

बागलुङ । नयाँ संविधान जारी भए यता बागलुङबाट प्रतिनिधि सभाको प्रत्यक्षतर्फ कुनै पनि महिला निर्वाचित हुन सकेका छैनन् । आसन्न निर्वाचनमा बागलुङका दुई निर्वाचन क्षेत्रमध्ये दुवैमा एक–एक जना महिला उम्मेदवार छन् । यी दुवै महिला इतिहास रच्ने दाउमा छन् ।

संविधान सभा निर्वाचनमा भने बागलुङबाट प्रत्यक्षतर्फ महिला निर्वाचित भएका थिए । २०७० सालको संविधान सभा निर्वाचनमा बागलुङ–२ बाट ज्ञान कुमारी छन्त्याल र ०७१ सालको संविधान सभाको उपनिर्वाचनमा बागलुङ–१ बाट चम्पादेवी खड्का निर्वाचित भइन् ।

त्यस यता चुनाव लडेर सांसद बन्ने महिला अहिलेसम्म बागलुङले पाउन सकेको छैन । छन्त्याल र खड्का नेपाली कांग्रेसका तर्फबाट निर्वाचित भएका थिए ।

आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा बागलुङका दुवै निर्वाचन क्षेत्रमा गरी जम्मा २३ जना उम्मेदवार छन् । तीमध्ये बागलुङ क्षेत्र नम्बर १ मा ११ जना र क्षेत्र नम्बर २ मा १२ जना उम्मेदवार छन् ।

बागलुङ क्षेत्र नम्बर १ बाट गुमा कुमारी बुढा राना मगर र बागलुङ–२ बाट नेकपा एमालेकी मञ्जु शर्मा चालिसे उम्मेदवार छन् । तनहुँको व्यास नगरपालिका–१३ की गुमा मंगोल नेशनल अर्गनाइजेशन पार्टीको तर्फबाट बागलुङमा आएर उम्मेदवार बनेकी हुन् । बाहिरी जिल्लाबाट आएका कारण उनलाई बागलुङका मतदाताको विश्वास जित्न सहज भने छैन ।

guma kumari rana

गुमाले आफ्ना मुद्दा स्थापित गर्नका लागि अन्तरजिल्ला चुनाव लड्न थालेको बताइन् । अहिले पनि समाजले महिलाप्रति हेर्ने दृष्टिकोण फरक रहेको भन्दै त्यसलाई चिर्नका लागि आफू चुनावमा होमिएको उनको भनाइ छ ।

संविधानमै महिलालाई ३३ प्रतिशत आरक्षणको सुविधा दिए पनि त्यसको कार्यान्वयन नभएको बताउने उनी महिलाको हक अधिकारका लागि विद्रोह गर्नुपर्ने धारणा राख्छिन् । गुमाले महिलासँगै पिछडिएका आदिवासी जनजातिको मुद्दालाई उठाउनका लागि आफू उम्मेदवार बनेको बताइन् ।

‘यो चुनावबाट हामीले पिछडिएको वर्गको मुद्दा स्थापित गर्नु पर्नेछ । महिलालाई खाली घरभित्र मात्रै सीमित बनाउने प्रचलनलाई तोड्नु पर्छ । अब यसरी चुलोचौकोमा मात्रै सीमित हुनु हुँदैन,’ उनले भनिन्, ‘आफ्नो हक अधिकारका लागि लड्नैपर्ने भयो । त्यसका लागि चुनावमा होमिएको छु । मैले महिलाको मात्रै होइन, आदिवासी जनजाति र आम नागरिकको मुद्दालाई उठाउनु पर्छ ।’

बागलुङ–२ बाट उम्मेदवार बनेकी चालिसे गलकोट नगरपालिका–३ निवासी हुन् । लामो समय नेपाली कांग्रेसमा सक्रिय रहेकी उनी २०७९ सालको स्थानीय तह निर्वाचनमा गलकोट नगरपालिकाको प्रमुखका लागि कांग्रेसले टिकट नदिएपछि स्वतन्त्र उम्मेदवार बनिन् । सोही वर्ष नेकपा एमालेमा प्रवेश गरेर प्रतिनिधि सभा सदस्य निर्वाचन सहभागी उनी निर्वाचित हुन भने सकिनन् ।

manju sharma chalise

त्यसबेला तत्कालीन नेकपा माओवादी केन्द्रका नेता तथा पूर्वशिक्षामन्त्री देवेन्द्र पौडेलसँग उनी पराजित भएकी थिइन् । पौडेलले २७ हजार ७९४ मत प्राप्त गर्दा चालिसेले २० हजार १९३ मत प्राप्त गरेकी थिइन् ।

नयाँ पार्टीको संगठन विस्तार र एमालेको घट्दो ‘क्रेज’का कारण चालिसेलाई अघिल्लो पटक पाएको मत जोगाउन समेत अहिले निकै गाह्रो देखिन्छ । अघिल्लो पटक कांग्रेसका धेरै नेता–कार्यकर्ता उनका पक्षमा थिए, तर कांग्रेसले आफ्नै उम्मेदवारका रूपमा टेकराज पौडेललाई अघि सारेको छ ।

चालिसेले महिलालाई कमजोर ठानेर पार्टीहरूले चुनावमा प्रत्यक्षतर्फ टिकट नदिने परिपाटी रहे पनि आफूले भने दुई/दुई पटकसम्म टिकट पाएको बताइन् । महिलाले सामाजिक, पारिवारिक, आर्थिक लगायत थुप्रै व्यवस्थापकीय पक्ष मिलाउनु पर्ने हुँदा कमैमात्र राजनीतिमा होमिएको उनको भनाइ छ ।

आफू लामो समयदेखि स्वास्थ्य सेवामा रहेका नागरिकको समस्या समाधान गर्ने प्रयास गर्दै आएको हुँदा यसपाली पश्चिम बागलुङमा विजयी हुनेमा ढुक्क रहेको चालिसेको भनाइ छ ।

आफूले समाजमा धेरै योगदान पुर्‍याएको जिकिर गर्दै उनले पश्चिम बागलुङवासीको समस्यालाई राम्रोसँग बुझेको दाबी गरिन् । उनले भनिन्, ‘सभ्य समाज निर्माणका लागि काम गरेँ । यसभन्दा अगाडि पनि ठुलो मत पाएँ । यो क्षेत्रका जनताले मलाई चाहेका छन् ।’

बागलुङ क्षेत्र नम्बर १ मा मंगोल नेशनल अर्गनाइजेशनकी गुमा कुमारी बुढा राना मगरसहित नेपाल मानवतावादी पार्टीबाट भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का कल्याण आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना, नेशनल रिपब्लिक नेपालका सहविर थापा, राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी (माओवादी)का टेकबहादुर केसी उम्मेदवार छन् ।

क्षेत्र नम्बर २ मा एमालेकी चालिसेसहित नेपाली कांग्रेसबाट टेकराज पौडेल, नेपाली कम्युनिस्ट पार्टीबाट ज्ञामनाथ गैरे, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट अञ्चल शाही, मंगोल नेशनल अर्गनाइजेशनबाट जुनबहादुर थापा, मानवतावादी पार्टीबाट टेकप्रसाद कामी, नेशनल रिपब्लिक पार्टीबाट नरबहादुर बुढा, प्रगतिशील लोकतान्त्रिकबाट पदमबहादुर कुँवर, जसपाबाट पूर्णबहादुर घर्ती मगर, नेपाल कम्युनिस्ट पार्टी (माओवादी)बाट लोकेन्द्र घिमिरे, राष्ट्रिय स्वतन्त्र पार्टीबाट सोम शर्मा र श्रम संस्कृति पार्टीबाट हर्कबहादुर पुन उम्मेदवार छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डम्मर बुढामगर
डम्मर बुढामगर
लेखकबाट थप