बालेनको डेरा फोर्नेको बयानः ४५ मिनेट बिताएँ, भोक लागेर स्याउ खाएँ
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीका नेता बालेन शाहको मण्डिखाटारस्थित घरमा चोरी भएको थियो।
- चोरीमा संलग्न भएको आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ, जसमा मुख्य आरोपी मनिष राजवाहक पनि छन्।
- आरोपी राजवाहकले यसअघि पनि विभिन्न चोरीका घटनामा संलग्न भएको र उनी नख्खु कारागारबाट भागेका थिए।
काठमाडौं । माघ १५ मा राति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र साह ‘बालेन’ले भाडामा लिएको घरमा चोरी भयो ।
काठमाडौँ महानगरपालिका–४ स्थित मण्डिखाटारमा सीतादेवी गुरुङको घरमा बालेनले भाडामा लिएको निवासमा चोरी भएको घटना १६ गते साँझ मात्र थाहा भयो । डेरामा बत्ती बाल्न जाँदा साहका नातेदारले ढोका खुलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
चोरीमा संलग्न आरोपमा प्रहरीले ३ जनालाई पक्राउ गरेको थियो । दुई जना चोरीको समान व्यवस्थापन गरेको आरोपमा पक्राउ परेका हुन् । चोरीमा संलग्न मुख्य आरोपी ४२ वर्षीय मनिष राजवाहक हुन् ।
काठमाडौँ महानगरपालिका–१६ बालाजु हाइट घर भएका राजवाहक बाँसबारीमा बस्दै आएका थिए । माघ २३ मा उनलाई बाँसबारीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराईले रातोपाटीलाई बताए । साहको घर चोरी गरेपछि राजवाहक बाँसबारी स्थित क्लासिक एण्ड लज इन गेस्ट हाउसमा बस्दै आएका थिए ।
माघ १५ मा राति १० बजेतिर राजबाहक एक्लै बालेनको घरमा छिरे । सीसीटीभी फुटेजमा उनी एक्लै छिरेको देखिएको अनुसन्धानमा संलग्न एकजना अधिकृतले बताए । करिब ४५ मिनेटपछि राजवाहक झोलामा चोरीको सामान लिएर निस्केको देखिएको छ । आरोपीले सीसीटीभी क्यामेरा, धाराका टुटी, डीभीआर र सुनका गहना चोरी गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ ।
चोरी गरेपछि उनले किचनमा भएको स्याउ खाए । अनुसन्धान अधिकृतहरूसँग उनले भनेका छन्, ‘भोक लागेको थियो, स्याउ र सुन्तला खाएर निस्किएँ ।’
राति भैसकेको र त्यसबेलासम्म घरका मानिसहरू नआएपछि उनले ढुक्कले चोरेको अनुसन्धानमा संलग्न अधिकृतहरू बताउँछन् । करिब ४५ मिनेट बिताएर राजबाहक निस्केर हिँडेका थिए । प्रहरीले सोधपुछ गर्दा उनले भनेका छन्, ‘धाराको टुटी खोल्न निकै समय लाग्यो ।’ छतमा पुगेर ट्यांकी बन्द गरेर उनले दुई वटा धाराको टुटी निकालेर लगेको भेटिएको छ ।
जेनजी आन्दोलन हुँदा भदौ २४ मा राजवाहक नक्खु कारागारबाट भागेका थिए । चोरेको सामान उनले दुई जनालाई व्यवस्थापन गर्न दिएको भेटिएको छ । सामान व्यवस्थापनमा संलग्न सिन्धुपाल्चोक घर भएका ४६ वर्षीय खिम बहादुर खड्का र डोटी घर भएर धादिङ धुनिबेशी नगरपालिका–७ बस्ने ४५ वर्षीय संजय श्रेष्ठलाई पनि प्रहरीले पक्राउ गरेको छ ।
संजय श्रेष्ठ पनि राजवाहकसँगै नख्खु कारागारमा थिए । उनी पनि भदौ २४ मा जेलबाट फरार भएका हुन् । राजवाहकले चोरेको डेल कम्पनीको ल्यापटप र म्याक बुक श्रेष्ठलाई दिएका थिए । चोरेको मोबाइल, ल्यापटप, आइप्याड लिएर श्रेष्ठले राजवाहलाई खर्च दिने गरेको अनुसन्धानबाट थाहा भएको छ । श्रेष्ठको साथबाट चोरीको ल्यापटप बरामद गरिएको एसपी भट्टराईले जानकारी दिए ।
खिमबहादुर खड्काले शान्तिनगरमा बालुवा डिपो चलाएका छन् । पहिले राजवाहक त्यही डिपोमा काम गर्थे । चोरेको सुनचाँदी उनले डिपोवालाई दिन्थे । सामान बेचेर खड्काले रकम आधा आधा बाँड्ने गरेको अनुसन्धानबाट थाहा भएको छ ।
३ वटा चोरीमा संलग्न
साहको घर चोरीमा संलग्न राजवाहक ३ वटा चोरीको घटनामा संलग्न रहेको भेटिएको छ । पेन्टरको काम पनि गरेका उनले खड्काको डिपोमा दुई महिना काम गरेका थिए । उनले साहको डेरामा चोरी गरेको प्रहरीसँग स्वीकार गरेका छन् ।
२०७२ जेठमा उनीविरुद्ध कालिमाटीबाट सार्वजनिक अपराध र २०७२ असारमा महाराजगञ्जबाट चोरी मुद्दा चलेको भेटिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्राफिक कारबाहीः २४ घण्टामा १० लाख ५३ हजार ५१० राजस्व दाखिला
-
क्रियाशील सदस्यता डिजिटल रूपमा अध्यावधिक कांग्रेसको विधानभन्दा बाहिरको व्यवस्था हो : वरिष्ठ अधिवक्ता पोखरेल
-
कोशी नदी किनारबाट १६८ केजी गाँजा बरामद
-
वार्तापछि इरानी तेलमाथिको प्रतिबन्धमा छुट भएको छ : इरानी विदेशमन्त्री
-
सुनको मूल्य सामान्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
-
नेपाली कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने सवालमा देउवा–कोइराला पक्षको धारणा के ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण