माधवनारायणको जलसहित फूलप्रसाद हनुमानढोका दरबारमा
सारांश
- माधवनारायणको जल र फूलप्रसाद हनुमानढोका दरबारमा ल्याइयो, जुन पुरानो परम्परा हो।
- माघ शुक्ल पूर्णिमापछि आठ दिनमा हनुमानढोकामा जलसहित प्रसाद लैजाने चलन छ ।
- अहिले पनि राजसंस्था नहुँदा पनि यो परम्परा यथावत् चलिरहेको छ।
काठमाडौँ । साँखु शालिनदीस्थित माधवनारायणको जल, फूलप्रसाद आज विश्व सम्पदा सूचीमा सूचिकृत हनुमानढोका दरबारमा ल्याइएको छ । प्रत्येक वर्ष फागुन कृष्ण अष्टमीका दिन साँखुस्थित शालीनदीमा रहेको माधवनारायणको ठुलो कलशमा जलसहित फूलप्रसाद हनुमानढोका दरबार क्षेत्रका देवीदेवतालाई चढाएर राजप्रसाद अर्थात् राजदरबारमा बुझाउने प्रचलन रहिआएको छ ।
माधवनारायण मेला माघ शुक्ल पूर्णिमाका दिन सकिए पनि त्यसको आठ दिनपछि मात्र हनुमानढोका दरबारमा जलसहित फूलप्रसाद लैजाने परम्परा पहिलेदेखि रहँदै आएको थियो ।
राजपरिवारका सदस्य हनुमानढोका दरबारमा हुँदा भने माधवनारायणका मूल पुजारीले प्रसाद लगाइदिने परम्परा रहेको श्री माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिका अध्यक्ष विकासमान सिंहले राससलाई जानकारी दिए । प्राचीन कालदेखि माधवनारायणको जलसहित फूलप्रसाद हनुमानढोका दरबारमा ल्याउने प्रचलन रहेकाले यहाँका देवीदेवतालाई उक्त जल, प्रसाद चढाएर राजदरबारमा पनि दिने परम्परालाई अहिले पनि निरन्तरता दिइएको उनले बताए ।
राजा नारायणहिटी सरे पनि हनुमानढोका दरबारमा जलसहित फूलप्रसाद लैजाने परम्परा भने अहिले पनि निरन्तर चलिरहेको सिंहले उल्लेख गरे । “राजसंस्थाको अन्त्यपछि पनि यो परम्परा भने यथावत् छ । यहाँ ल्याइएको प्रसाद अहिले यहाँका कर्मचारीले लगाउने गरेका छन्”, उनले भने ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण