६ महिनामा ४ खर्ब निक्षेप थपिँदा २ खर्ब मात्रै कर्जा लगानी
काठमाडौं । अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटको अर्धवार्षिक मूल्यांकन प्रतिवेदन सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार बैंक तथा वित्तीय संस्थाहरुको ब्याजदरमा उल्लेख्य कमी आएको छ भने निक्षेप संकलनको तुलनामा कर्जा प्रवाहको गति सुस्त देखिँदा बैंकहरूमा लगानीयोग्य रकम (तरलता) थुप्रिएको छ ।
सरकारी तथ्यांक अनुसार वाणिज्य बैंकहरूले प्रवाह गर्ने कर्जाको औसत ब्याजदर एकल अंकमा झर्दै ७.१२ प्रतिशत कायम भएको छ । अघिल्लो वर्षको पुस मसान्तमा यस्तो ब्याजदर ८.६९ प्रतिशत थियो । एक वर्षको अवधिमा कर्जाको ब्याजदर करिब डेढ प्रतिशत विन्दुले घटेको हो । विकास बैंकहरूको कर्जाको ब्याजदर ८.३४ प्रतिशत र वित्त कम्पनीहरूको ९.७३ प्रतिशतमा झरेको छ । कर्जा सस्तो भएसँगै निक्षेपकर्ताले पाउने ब्याज पनि घटेको छ । वाणिज्य बैंकहरूको निक्षेपको भारित औसत ब्याजदर ३.५६ प्रतिशतमा सीमित भएको छ, जुन अघिल्लो वर्ष ४.७५ प्रतिशत थियो ।
चालु आर्थिक वर्षको पहिलो ६ महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा निक्षेप संकलन उत्साहजनक देखिए पनि कर्जा प्रवाह भने त्यसको तुलनामा आधा मात्र भएको छ । समीक्षा अवधिमा निक्षेप ४ खर्ब १७ अर्ब ४८ करोडले बढेर कुल निक्षेप ७६ खर्ब ८१ अर्ब ३५ करोड रुपैयाँ पुगेको छ । यो ५.७ प्रतिशतको वृद्धि हो । तर, सोही अवधिमा निजी क्षेत्रतर्फ जाने कर्जा भने १ खर्ब ९७ अर्ब ४७ करोडले मात्र बढेको छ । हाल निजी क्षेत्रमा कुल ५६ खर्ब ९५ अर्ब १७ करोड कर्जा प्रवाह भएको छ । ६ महिनामा ४ खर्बभन्दा बढी निक्षेप आउँदा २ खर्ब पनि ऋण नजानुले बजारमा कर्जाको माग कम भएको र बैंकहरूसँग पैसा थुप्रिएको देखाउँछ ।
बजारमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले विभिन्न उपकरणमार्फत बजारबाट पैसा तानेको छ । समीक्षा अवधिमा राष्ट्र बैंकले निक्षेप संकलन बोलकबोल र स्थायी निक्षेप सुविधामार्फत कारोबारमा आधारित भई खुद २८६ खर्ब ९९ अर्ब रुपैयाँ बराबरको तरलता प्रशोचन गरेको छ । अघिल्लो वर्ष सोही अवधिमा १३९ खर्ब ९९ अर्ब बराबरको तरलता प्रशोचन भएको थियो । बजारमा पैसा पर्याप्त हुँदा बैंकहरूबीचको सापटी ब्याजदर (अन्तर बैंक दर) पनि घटेर २.७५ प्रतिशतमा झरेको छ । त्यस्तै, ९१ दिने ट्रेजरी बिलको ब्याजदर पनि २.३५ प्रतिशतमा सीमित भएको छ ।
अर्थतन्त्रमा मुद्रा प्रदायको स्थिति हेर्दा चालु आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय ५.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यो वृद्धिदर ३.९ प्रतिशत मात्र थियो । बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपको संरचना हेर्दा मुद्दती निक्षेपको हिस्सा सबैभन्दा बढी ४२.८ प्रतिशत र बचत निक्षेपको हिस्सा ४१.३ प्रतिशत रहेको छ । चल्ती निक्षेप भने ६.९ प्रतिशत मात्र रहेको मन्त्रालयको प्रतिवेदनमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्करलाई सघाएको आशंकामा सशस्त्रका दुई डीएसपीसहित ११ जनामाथि छानबिन
-
तस्बिरमा हेर्नुहोस् जगन्नाथ रथयात्रा महामहोत्सव
-
बढी रक्षात्मक बन्ने टुकलको गल्तीले इंग्ल्याण्डको विश्वकप सपना चकनाचुर
-
अन्तर्वार्ता सकिएर पनि ‘होल्ड’ भयो लुम्बिनी बौद्ध विश्वविद्यालयको उपकुलपति नियुक्ति
-
आम उपभोक्ताको हकहितका लागि सरकारलाई जगाउँदै उपभोक्ता जागरण अभियान
-
पूर्वमुख्यमन्त्री शाक्यको आकस्मिक रुपमा ‘एन्जियोप्लाष्टी’ शल्यक्रिया
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण