शनिबार, ०६ असार २०८३
ताजा लोकप्रिय

गाईभैँसी खरिद गर्न अनुदान दिँदै मोदी गाउँपालिका

मङ्गलबार, २७ माघ २०८२, २१ : ५९
मङ्गलबार, २७ माघ २०८२

पर्वत । मोदी गाउँपालिकाले व्यावसायिक रूपमा दूध उत्पादनका लागि उन्नत जातका गाईभैँसी खरिद गर्न किसानलाई अनुदान दिने भएको छ ।

आर्थिक अभावका कारण व्यवसाय सुरु गर्न नसकेका तथा निरन्तर व्यवसाय गर्दै आएका किसानलाई प्रोत्साहन गर्न अनुदान वितरण गरिने भएको हो । गाउँपालिकालाई दूध उत्पादनमा आत्मनिर्भर गराउँदै व्यावसायिक किसानको जीवनस्तरमा सुधार ल्याउने उद्देश्यले यस वर्षदेखि गाईभैँसी खरिदमा अनुदान दिन लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत बाबुराम पुरीले जानकारी दिए ।

प्रशासकीय अधिकृत पुरीका अनुसार प्रति एक गाई वा भैँसी खरिद गर्ने किसानलाई रु २५ हजार अनुदान दिइने छ । कुनै सहकारी, सामूहिक वा व्यक्तिगत व्यावसायिक फार्म तथा पालिकाभित्रका जुनसुकै किसानले पनि अनुदान लिनसक्ने छन् ।

अनुदान लिन सम्बान्धित वडा कार्यालयको सिफारिस, तोकिएको निवेदन र परियोजना प्रस्ताव, नागरिकताको प्रतिलिपि, व्यवसाय सञ्चालनका लागि जग्गा करारमा लिएको कम्तीमा पाँच वर्षको सम्झौतापत्र वा जग्गाधनी पुर्जा उपलब्ध गराउनुपर्ने गाउँपालिकाारा प्रकाशित सूचनामा उल्लेख छ ।

बढ्दो युवा पलायन, बाँदर आतङ्क, बजार अभावलगायत कारणले कृषि तथा पशुपालन व्यवसायमा लाग्ने किसानको सङ्ख्या न्यून हुँदै गएका बेला यसतर्फ आकर्षित गर्न यो कार्यक्रमबाट प्रोत्साहन मिल्ने मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्माले बताइन् । उनले गाईभैँसी खरिद गर्न माग बढ्दै गएमा अर्को वर्ष लगायी बढाउँदै जाने बताइन् ।

पोखरा–बागलुङ सडक तथा अधिकांश वडा तहसम्म कालोपत्र सडकको पहुँच पुगेको मोदी गाउँपालिका कृषि तथा पशुपालनका लागि उर्वर भूमि मानिन्छ । अहिले पनि बाजुङ, देउपुर, भुकताङ्ले, तिलाहारलगायत स्थानका किसानले व्यावसायिक रूपमा गाईभैँसीपालन, कुखुरापलन तथा बाख्रापालन व्यवसाय गर्दै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप