हामी तारामा पुगिक्यौँ, सूर्यभन्दा माथि हुन्छ तारा : प्रचण्ड
सारांश
- प्रचण्डले नेकपा चुनावी सभामा आफूहरू तारामा पुगिसकेको व्यंग्यात्मक टिप्पणी गरे।
- उनले समानुपातिकमा नयाँ दलको प्रभाव देखिए पनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने दाबी गरे।
- प्रचण्डले कुनै पनि शक्तिसँग गठबन्धन नगरी आफ्नै बलमा पहिलो पार्टी बन्ने बताए।
पोखरा । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफूहरू तारामा पुगिसकेको बताएका छन् ।
बुधबार पोखरामा नेकपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले व्यङ्ग्यात्मक रूपमा आफूहरू तारामा पुगेको र तारा सूर्यभन्दा धेरै माथि हुने तर्क गरेका हुन् । ‘तारामा हामी पुगिसकियो । सूर्य भन्दा कति हो कति माथि हुन्छ तारा, त्यति माथि पुगिसकियो भन्ने कुरा अझै राम्रो जानकारी भएको छैन,’ उनले भने, ‘तपाईँहरूले आफ्नो चुनाव चिन्ह र पार्टी राम्रोसँग जनतालाई चिनाउने कुरालाई पनि त्यत्तिकै ध्यान दिन जरुरी छ ।’
समानुपातिकमा नयाँ दलको राम्रो देखिएपनि प्रत्यक्षमा नेकपा नै पहिलो हुने उनको दाबी छ ।
‘सबैतिरको स्थिति हेर्दा, समानुपातिकमा चाहिँ अलिकति नयाँहरूको वेभ चाहिँ नयाँ ठाउँमा देखिएपनि प्रत्यक्ष तर्फको वेभ चाहिँ नेपाली कम्युनिस्ट पार्टीमै छ,’ अघि भने, ‘प्रत्यक्ष तर्फको वेभ हामी तिर बढी छ । त्यसकारण यसलाई हामीले क्यास गर्न सक्नुपर्ने छ ।’ प्रचण्डले आफ्नै खुट्टामा उभिएर पहिलो पार्टी बन्ने दाबी गरेका छन् । उनले कुनै पनि शक्तिसँग गठबन्धन नगर्ने दोहोर्याएका हुन् ।
‘हामी कुनै खालको समीकरण वा तालमेल गर्नेवाला छैनौँ,’ उनले भने, ‘आफ्नै खुट्टामा उभिएर जनताको विश्वासको बलमा हामी टेस्ट हुन चाहन्छौँ र मलाई विश्वास छ, हामी त्यो परीक्षामा उत्तीर्ण हुनेछौँ । चुनाव आउँदा नआउँदै हामी चाहिँ एक नम्बर पार्टी बन्ने ठाउँमा पुग्ने छौँ ।’
असहज राजनीतिक परिस्थितिकाबिच २०८४ मा हुनुपर्ने निर्वाचन २०८२ मा नै हुन लागेको उल्लेख गर्दै प्रचण्डले यसलाई सामान्य निर्वाचन नभई राष्ट्रको अस्तित्वसँग जोडिएको बताए।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण