यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो : प्रचण्ड
सारांश
- प्रचण्डले निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताको अवसरको रूपमा लिन आग्रह गरे।
- उनले देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहने बीचको लडाइँ भएको बताए।
- प्रचण्डले बागलुङका युवा नेतालाई टिकट दिँदा गर्व महसुस भएको र पार्टीले जनताको हितमा काम गर्ने प्रतिबद्धता जनाए।
बागलुङ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान निर्वाचनलाई राष्ट्रको रक्षा र स्वाधीनताको पक्षमा उभिने असाधारण अवसरका रूपमा लिनुपर्ने बताएका छन् । बिहीबार बागलुङको बुर्तिबाङमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् ।
बागलुङ बुर्तिबाङका जनता, मतदाता तथा नेता कार्यकर्तासँग संवाद गर्दै उनले राजनीतिक दल र जनताले २०८४ सालमा निर्वाचन चाहेको भए पनि अहिलेको निर्वाचन बाध्यात्मक परिस्थिति सिर्जना भएपछि हुन गएको बताए । उनले भदौ २३ र २४ गतेका घटनाले देशमा भयावह अवस्था सिर्जना गरेको उल्लेख गर्दै त्यसबेला राजनीतिक नेतृत्वले विशेष गरी आफू र सहसंयोजक माधव नेपालले विवेक प्रयोग गरेर विशेष पहल लिएर संकटबाट जोगाएको बताए ।
‘२४ गतेको त्यो घटनाको उद्देश्य केवल जलाउने र लुट्ने मात्रै थिएन, राष्ट्रपति हटाएर देशमा कठपुतली सरकार बनाउने र नेपाललाई युक्रेनजस्तै अवस्थातर्फ धकेल्ने योजना रहेको थियो भन्ने हामीले थाहा पायौं,’ उनले भने । यो घटनाबाट संविधान केही हदसम्म ‘घाइते’ भएको उल्लेख गर्दै अब त्यसको रक्षा गर्ने जिम्मेवारी राष्ट्रवादी शक्तिको काँधमा आएको उनको भनाइ थियो।
संयोजक प्रचण्डले यो निर्वाचन सामान्य प्रतिस्पर्धा नभई विदेशी शक्तिको इसारामा देशलाई अस्थिर बनाउन खोज्ने र राष्ट्रवादी शक्ति बलियो बनाउन चाहने बिचको लडाइँ भएको बताए । ‘२४ गतेदेखि २६ गतेसम्म राज्य कसले चलाएको थियो भन्ने गम्भीर प्रश्न उठेको छ। यो निर्वाचन देशको नेतृत्व जनताकै हातमा छ भन्ने स्थापित गर्ने लडाइँ हो,’ उनले भने ।
उनले विश्व राजनीति नयाँ चरणमा प्रवेश गरिसकेको उल्लेख गर्दै नेपालजस्तो सानो देश पनि ठुला शक्तिको प्रतिस्पर्धाका लागि दुरुपयोग हुन नहुने बताए । ‘नेपालको खनिज वा स्रोत साधनभन्दा पनि यसको भूगोल अन्यत्रको द्वन्द्व अघि बढाउन प्रयोग हुन सक्छ भन्ने खतरा देखिएको छ,’ उनले भने।
युक्रेन युद्ध र भेनेजुएलाका घटनाको उदाहरण दिँदै उनले विदेशी हस्तक्षेपको जोखिमप्रति सजग रहन आग्रह गरे । ‘साँढेको जुधाइ, बाच्छाको मिचाइ नहोस् भन्ने चिन्ता हामीमा छ,’ उनले भने । निर्वाचनलाई राष्ट्र र स्वाधीनताको रक्षा गर्ने अवसरका रूपमा लिन आह्वान गर्दै उनले जनतालाई एकजुट भएर देशविरुद्धका जालझेल र षड्यन्त्र रोक्न सक्रिय हुन आग्रह गरे ।
सो अवसरमा बागलुङ, रुकुम पूर्व, रुकुम पश्चिम र रोल्पाको विकासलाई जोड्न आफूले विभिन्न योजना बनाउँदै गरेको उल्लेख गरे । उनले बागलुङ–२ का उम्मेदवार ज्ञानलाल गैरेजस्ता युवा नेतालाई टिकट दिँदा आफूलाई गर्व महसुस भएको बताउँदै निर्वाचनमा मत दिएर जिताएर पठाए पार्टीले बागलुङ–२ का जनताको हितमा उनलाई उचित जिम्मेवारी दिने प्रतिबद्धता जनाए ।
उक्त कार्यक्रममा नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंह, नेपाली कम्युनिस्ट पार्टीकी नेतृ पम्फा भुसाल तथा बागलुङ–२ का उम्मेदवार ज्ञानलाल गैरेललगायत नेताहरूले पनि सम्बोधन गरे । उनीहरूले वर्तमान राजनीतिक परिस्थितिमा वामपन्थी तथा राष्ट्रवादी शक्तिहरू एकजुट भएर देशको स्वाधीनता र संविधानको रक्षा गर्नुपर्नेमा जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पश्चिम तराईमा अत्यधिक गर्मी, नेपालगन्जको तापक्रम ४१ डिग्रीसम्म पुग्ने पूर्वानुमान
-
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
-
विष्णु पौडेल पक्राउपछि एमालेले बोलायो संसदीय दल र सचिवालयका छुट्टाछुट्टै बैठक
-
सम्पत्ति छानबिनको मागमा अझै अडिग छु : जनार्दन शर्मा
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण