जब मैले चेन्नइमा नेपाली राहदानी देखाएँ...
सारांश
- लेखकले भारत भ्रमणमा भोगेको अपमानजनक व्यवहारबारे सामाजिक सञ्जालमा पोस्ट गरे, तर कुनै प्रतिक्रिया आएन।
- नेपाल-भारत सम्बन्धमा देखिएको असमानता र हेपाहा प्रवृत्तिलाई औंल्याउँदै, लेखकले आत्मसम्मान र स्वाधीनताको कुरा उठाए।
- आगामी निर्वाचनमा परराष्ट्र नीति, छिमेकीसँगको सम्बन्ध र आत्मसम्मानका मुद्दाहरूमा बहस हुनुपर्ने कुरामा जोड दिइएको छ।
हालैको भारत भ्रमणका क्रममा भोगेका केही अनुभवहरू जति नै बिर्सन खोजे पनि मनमा गहिरो हीनताबोधको छाया मेटिन सकेन । केही समय मौन बसेर ती क्षणहरूलाई विस्मृतिका कुनामा थन्क्याउने प्रयास गरेँ, तर सम्झनाले पोलिरह्यो, झकझक्याई रह्यो । अन्ततः बाध्य भएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस. जयशंकर, गृहमन्त्री अमित शाह तथा दिल्लीस्थित नेपाली दूतावासलाई ट्याग गर्दै एक्स र लिंक्डइनमा पोस्ट गरेँ ।
अपेक्षित त के, सामान्य प्रतिक्रिया समेत आएन ।
सायद सामाजिक सञ्जालमा मेरो सक्रियता न्यून भएकाले होला वा यस्ता भोगाइ आम नेपालीका लागि ‘सामान्य’ भइसकेका हुनाले पनि हुन सक्छ । परिस्थिति सामान्यीकरण गर्ने अद्भुत क्षमता हामी नेपालीमा छ, चाहे विषय भ्रष्टाचारको होस्, शोषण वा अन्यायको । यी सबै कारणहरूले मौनतालाई थप बल दिएको हुन सक्छ । ‘टेकन फर ग्रान्टेड’ हाम्रो नियति भएको छ ।
घटना न त बिल्कुलै नयाँ हो, न विशुद्ध मेरो मात्र ।
फेब्रुअरी ४ मा चेन्नईबाट ढाका फर्किने क्रममा अध्यागमन काउन्टरमा मेरो नेपाली राहदानी देख्नासाथ एउटा कुना रहेको डेस्कमा पठाइयो र त्यहाँका अधिकारीले राहदानी पल्टाउँदै अत्यन्तै अशिष्ट तवरले सोधे– तु चेन्नइ क्यु आया है ?
अचम्मित हुँदै मैले छोरालाई कलेज ड्रप गर्न आएको भनी अङ्ग्रेजीमा बताएँ । मेरो जवाफ भुईँमा झर्न पाउँदा नपाउँदै उनको पारो अनायासै चढ्न थाल्यो र नाकका पोरा फुलाउँदै अत्यन्तै हेपाहा लवजमा डुक्रियो– हिन्दी में बोल ।
मैले हिन्दी बोल्न नसक्ने बताएपछि उसले भन्यो– नेपाली होकर भी हिन्दी नहीं आती ? तु नेपाली है लेकिन तुझे हिन्दी नहीं आती ?
मैले फेरि पनि साधारण शैलीमै हिन्दी नबोल्ने कुरा जनाउँदै आफु ढाकाको संयुक्त राष्ट्र संघमा काम गर्ने र त्यहीँ जान लागेको जनाएँ । मेरो कुरा सकिन नपाउँदै उसले फेरि प्रश्न गर्यो– नेपाली होकर बांगलादेश में काम करता हैं ?
उसको प्रश्न त्यसरी आइरहेको थियो मानौं मैले कुनै अपराध नै गरेको हुँ । उसका त्यस्ता प्रश्नहरूलाई वास्ता नगरी मैले अङ्ग्रेजीमा जवाफ दिँदै गएँ । तर अन्त्यमा अति नै अपमानजनक ढंगले उसले भन्यो– सब के सब गुलाम हैं ।
क्षणभरमै मनमा प्रतिवाद गर्ने विचार आयो । भारतको उपनिवेशवादी इतिहास र नेपालीहरू कहिल्यै कसैको गुलाम नभएको स्मरण गराउने इच्छा पनि मनमा नआएको होइन । तर, दुई सय वर्ष गुलाम मानसिकतामा हुर्किएको दरिद्र चिन्तन प्रणाली र पूर्वाग्रहले ग्रस्त ‘बिमार’ व्यक्तिसँग बहस गर्नुको खासै अर्थ ठानिन् । त्यसैले ‘गेट वेल सून’ भनेर त्यहाँबाट निस्किएँ ।
यात्रा अवधिभर र त्यसपछि पनि उसको कुराले मनमा साह्रै उकुसमुकुस भयो । दुई दिनपछि सामाजिक सञ्जालमार्फत विषय सार्वजनिक गरेँ ।
कम्तीमा नेपाली दूतावासबाट प्रतिक्रिया आउला भन्ने झिनो आशा थियो । तर, दूतावासको एक्स पेजमा महमहिम राजदूत र कृषिमन्त्रीको गजक्क परेको तस्बिर टसमस भएन, न त केही शब्दहरू नै झरे । कहिले कसो ताजुब लाग्छ, हाम्रा दूतावासहरू नागरिकको सार्वजनिक चिन्ता र सरोकारमा भन्दा भ्रमणमा रहेका मन्त्री र नेताहरूको सवारी चलाउने सामन्ती परम्परालाई धान्ने बाहेक अन्य केही गर्दैनन् ।
खैर, मेरो भोगाइलाई एकैछिन थाती राखौँ !
नेपाल भारत सम्बन्धलाई प्रायः ‘रोटी–बेटीको सम्बन्ध’, ‘विशेष र ऐतिहासिक’ तथा ‘विशिष्ट’ सम्बन्धका रुपमा व्याख्या गरिन्छ । तर, मलाई के लाग्छ भने यी विशेषणहरूले नेपाल–भारतबिचको यथार्थ र असहज पार्ने हेपाइलाई कार्पेटमुनि लुकाएर नक्कली हार्दिकता प्रदर्शन गर्न बल पुर्याइरहेका हुन्छन् ।
खुला सिमाना, असमान सन्धी–सम्झौता, नीति–निर्माणमा दबाब र बेलाबेलामा देखिने संस्थागत दुर्व्यवहारलाई यी र यस्ता भाष्यहरूले भारतीय प्रभुत्वशाली चिन्तन प्रणालीको आलोचनामा, त्यसलाई सच्चाउन मद्दत गर्नुको सट्टा त्यसलाई झनै मलजल गरिरहेका हुन्छन् । त्यसैले कतै यी शब्दहरू भारतीय प्रभुत्व विस्तारका भारतीय भाष्य त होइनन् ?
मेरो भोगाइ नितान्त नौलो र अपवाद होइन । वास्तवमा ‘टिप अफ द आइसवर्ग’ जस्तै हो । मेरो अनुभव नेपाल–भारत सम्बन्धमा दीर्घकालदेखि देखिँदै आएको शक्ति–असन्तुलन र हेजोमोनिक वर्चस्वको एउटा सानो तर गहिरो प्रतिबिम्ब हो । यस्ता घटनाहरू व्यक्तिगत पीडाभन्दा पर पुगेर राज्य–राज्यबिचको सम्बन्धको प्रश्न बन्न पुग्छन् ।
हिजोआज निर्वाचनको मुखमा मैले उठाएको यो प्रसङ्ग अलिक ‘अफ द ट्र्याक’ लाग्न सक्छ तर यो नै उपर्युक्त समय हो । चुनाव केवल सरकार फेर्ने प्रक्रिया मात्र नभई परराष्ट्र नीति कस्तो बनाउने, छिमेकीसँग कसरी व्यवहार गर्ने र कति आत्मसम्मानका साथ उभिने भन्ने निर्णय गर्ने घडी पनि हो ।
दुर्भाग्यवश, नेपालका राजनीतिक बहसमा भारतसँगको सम्बन्ध प्रायः या त अतिरञ्जित राष्ट्रवादमा सीमित हुन्छ वा पूर्ण मौनतामा । यो समय भनेको केही सय थान गाडी उपहारमा दङ्ग परेर बस्ने वा दीर्घकालीन, पारस्परिक लाभ, आत्मसम्मान र स्वाधीनताका मुद्दाहरुमा पनि बहस गर्ने भनी कित्ता काट गर्ने बेला हो ।
‘मोनरो डोक्ट्रिन’ को घंटी बजाउने हो या ठोरीका राम भन्दै राष्ट्रवादको डङ्का पिट्ने हो वा भारतीय भैँसी चढेर एसियाली मापदण्डमा पुग्ने हो, छनोट गर्ने समय यही हो ।
अवश्य पनि नेपाल–भारत सम्बन्ध मित्रतामा आधारित छ । तर मित्रता भन्दा बढी महत्त्वपूर्ण सह–अस्तित्वको सवाल छ । तसर्थ भारतीय प्रभुत्ववादको आलोचना गर्नु, हामीसँग गरिएको अपमानपूर्ण व्यवहारलाई चिन्हित गर्नु भनेको भारत विरोधी हुनु भन्दा पनि आफ्नो राष्ट्रिय अस्मिताको पहिचानका लागि गरिने प्रश्न हो ।
आफ्ना नागरिकसँग गरिएको अपमानपूर्ण व्यवहारमा राज्य, सरकार र परराष्ट्र मन्त्रालय के सोच्छ र भावी दिनमा के सोचिनुपर्छ भनी छलफल गर्नु उपयुक्त देखिन्छ । किनभने विश्वका जुनसुकै सार्वभौम मुलुकका नागरिकको हैसियत समान हुन्छ । कोही भूगोलमा ठुलो छ भन्दैमा उसको सार्वभौमिकता ठुलो हुने र भूगोलमा सानो छ भन्दैमा उसको सार्वभौमिकता सानो हुने भन्ने हुँदैन ।
छिमेकीसँग सम्बन्ध राख्दा हाम्रो जस्तो सानो देशले झनै स्पष्ट, संस्थागत र आत्मसम्मानयुक्त कूटनीति अपनाउनुपर्छ । अझै भन्नु पर्दा दृढ र सन्तुलित कूटनीति हाम्रा आवश्यकता हुन् । हामीलाई जति उग्रराष्ट्रवादबाट हानी छ, त्यति नै नव–जेलेनेस्कीहरुबाट पनि हानि छ ।
त्यसैले हामीलाई न त सुरुङ युद्धका रुमानी कथा चाहिएको छ न भारतीय नाकाबन्दीलाई ‘सीमाको असहज परिस्थिति’ भन्ने शासक चाहिएको छ । चाहिएको छ त केवल आत्मसम्मानको रक्षा गर्ने, आफ्नो राष्ट्रिय हितलाई सर्वोपरि राखी सह–अस्तित्वमा आधारित सम्बन्धको विकास गर्ने शासक ।
सम्मान बिनाको कूटनीति खोक्रो हुन्छ र आत्मसम्मान बिना लोकतन्त्र अपूरो । आगामी निर्वाचन यही आत्मसम्मानको पुनः दाबी गर्ने अवसर हो– सीमा भित्र मात्र होइन, सीमापार पनि । यो लेखोट व्यक्तिगत आक्रोशको अभिव्यक्ति भन्दा, नागरिकको आत्मसम्मान खोज्ने चेष्टा हो ।
आशा छ, वर्तमान सरकारले र भावी बन्ने सरकारले पनि आफ्नो नागरिकको आत्मसम्मानलाई सर्वोपरि महत्त्व दिनेछ किनभने अन्ततः राष्ट्र नागरिकको आत्मसम्मानमा त टिकेको हुन्छ ।
(लेखक कणेल हाल संयुक्त राष्ट्रसंघ, ढाका, बगंलादेशमा कार्यरत छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१० प्रतिक्रिया
भर्खरै
-
जग्गाधनी पूर्जा बनाइदिने भन्दै ६० हजार घुस लिने अमिन अख्तियारको फन्दामा
-
विगतका बजेटले दलितलाई ढाँटे, अहिले सुधारमुखी छ : सचेतक परियार
-
मधेस प्रदेशमा मानसिक स्वास्थ्य समस्या बढ्दै, एक वर्षमा एक हजार २९८ जनाको मृत्यु
-
भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
-
मुस्ताङका होटल र पसलमा अनुगमन
-
६ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपकुलपतिका उम्मेदवारहरूको ‘सर्ट लिस्ट’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण