भारतमा पार्टी विभाजनको इतिहासः कांग्रेस र भाजपाका विद्रोह कति सफल कति असफल ?
सारांश
- कांग्रेसबाट अलग भएका दलहरू प्रायः सफल भएका छन् भने भाजपाका विद्रोहीहरू असफल भएका छन्, जसले भारतमा दुई फरक राजनीतिक परम्परा देखाउँछ।
- कांग्रेसका विभाजनहरूले इन्दिरा गान्धीको नेतृत्वमा कांग्रेस (आई) जस्ता शक्तिशाली दलहरूलाई जन्म दिएका छन् भने तृणमूल कांग्रेस र एनसीपी जस्ता क्षेत्रीय शक्तिहरू पनि कांग्रेसबाटै उदाएका छन्।
- भाजपाबाट विभाजित भएका अधिकांश दलहरूले सीमित सफलता पाएका छन्, धेरैजसो मूल दलमै फर्किए वा राजनीतिक रूपमा प्रभावहीन बनेका छन्।
सन् २०२४ मा पश्चिम नेसनल तृणमूल कांग्रेस भारतको पश्चिम बंगालबाट लोक सभा निर्वाचनमा कुल ४२ मध्ये २९ सिटमा वियजी भएको थियो । दुई वर्षपछिको पश्चिम बंगाल विधान सभा निर्वाचनमा उक्त पार्टी कुल २९४ मा ८० सिटमै खुम्चियो, यसले प्रान्त सरकारबाट हात धुनुपर्यो ।
परिणामः यो पार्टी विधान सभा निर्वाचनमा मात्र सीमित भएन, लोकसभाका २९ सांसदमध्ये २० जना राष्ट्रवादी नागरिक पार्टी अफ इन्डिया (एनसीपीआई) मा विलय भए । उनीहरूले नयाँ दिल्लीमा लोकसभा सभामुख ओम बिरलालाई निवेदन दिएपछि स्पष्ट रूपमा भारतकै चौथो ठुलो पार्टी विभाजनको नियतिबाट गुज्रिरहेको छ ।
राष्ट्रिय पार्टी पटक–पटक फुटबाट गुज्रने विषय दक्षिण एसियामा अनौठो होइन, विश्वकै ठुलो लोकतान्त्रिक मुलुक कहलिएको भारतमा यो अभ्यास झनै नौलो होइन, मतदाताका हिसाबमा संसारकै ठुला लोकतान्त्रिक पार्टी भारतका कांग्रेस र भाजपा पनि इतिहासमा फुटका सिलसिलाबाट गुज्रिएका छन्, तर यी दुई पार्टी विभाजनको परिणाम भने मूलतः ठीक विपरीत देखिन्छ ।
प्रायः पार्टी विभाजनमा कांग्रेसबाट अलग भएका अधिकांश दल सफल देखिएका छन् भने भाजपाका विद्रोहीहरू भने असफल । अर्थात् कांग्रेसबाट छुट्टिएका धेरै समूह पछि शक्तिशाली राजनीतिक दल बने, तर भाजपा छाड्ने अधिकांश नेता भने या त मूल दलमै फर्किए वा राजनीतिक रूपमा प्रभावहीन बने ।
यस्तो छ तिनको विभाजनको इतिहास र परिणामः
कांग्रेसः विभाजनले स्वरुप प्रदान गरेको दल
भारतमा कांग्रेसजत्तिको धेरै आन्तरिक विभाजन भोगेको राजनीतिक संगठन सायद अरू छैनन् । स्वतन्त्रतापछि कांग्रेसले वैचारिक मतभेद, नेतृत्व संघर्ष, क्षेत्रीय महत्त्वाकांक्षा र गुटीय द्वन्द्वका कारण बारम्बार विभाजनको सामना गर्यो । केही समूह चाँडै हराए भने केहीले सम्पूर्ण राज्यहरूको राजनीतिक नक्सा नै बदलिदिए ।
- केरल कांग्रेसको विद्रोह
यसको प्रारम्भिक र दीर्घकालीन उदाहरणमध्ये एक थियो केरल कांग्रेस । सन् १९६४ मा केरलको राजनीतिक उथलपुथलपछि केएम जर्जले यो दल गठन गरेका थिए । विभाजनको जरो सन् १९६३ को एउटा विवादमा थियो । तत्कालीन मुख्यमन्त्री आर शंकरले गृहमन्त्री पीटी चाकोलाई मन्त्रिपरिषद्बाट हटाएका थिए । चाकोको सन् १९६४ मा निधन भएपछि उनका १५ राजनीतिक सहयोगी, केएम जर्जको नेतृत्वमा, शंकर सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउन एकजुट भएका थिए । ६ दशकभन्दा बढी समयपछि पनि केरल कांग्रेस विभिन्न गुटमा विभाजित भए पनि राज्य राजनीतिमा सक्रिय शक्ति रहँदै आएको छ ।
- इन्दिरा गान्धीको विद्रोह
कांग्रेस इतिहासको सम्भवतः सबैभन्दा महत्त्वपूर्ण विभाजन सन् १९६९ मा भएको थियो । त्यसबेला प्रधानमन्त्री इन्दिरा गान्धी र पार्टीको संगठनात्मक नेतृत्व, जसलाई ‘सिन्डिकेट’ भनिन्थ्यो । यीबिच तीव्र शक्ति संघर्ष सुरु भयो । यो टकराव अन्ततः पार्टीको औपचारिक विभाजनमा परिणत भयो ।

लोकसभामा २२० कांग्रेस सांसद इन्दिरा गान्धीको पक्षमा उभिए भने केवल ६८ सांसद ‘कांग्रेस (ओ)’ मा रहे । यहाँ ‘ओ’ को अर्थ ‘अर्गनाइजेसन’ अर्थात् संगठन थियो । इन्दिरा गान्धीको पक्ष ‘कांग्रेस (आर)’ का रूपमा चिनियो । सुरुमा ‘आर’ को अर्थ ‘रिक्विजिसनिस्ट्स’ थियो, पछि यसले ‘रुलिङ’ अर्थात् सत्तारूढ भन्ने अर्थ लिन थाल्यो ।
यो विभाजनले भारतीय राजनीतिलाई गहिरो रूपमा बदलिदियो । कांग्रेस (आर) प्रमुख शक्ति बनेर उभियो र इन्दिरा गान्धी पार्टीकी निर्विवाद नेता बनिन् । लगभग एक दशकपछि यो प्रक्रिया फेरि अगाडि बढ्यो ।
१९७८ जनवरी १ मा इन्दिरा गान्धीले भारतीय राष्ट्रिय कांग्रेस (आई) गठन गरिन्, जहाँ ‘आई’ को अर्थ स्पष्ट रूपमा ‘इन्दिरा’ थियो । अर्को आन्तरिक विभाजनपछि उनको गुटले अहिले परिचित ‘हात’ चुनाव चिह्न अपनायो ।
सन् १९८१ मा निर्वाचन आयोगले कांग्रेस (आई) लाई आधिकारिक भारतीय राष्ट्रिय कांग्रेसका रूपमा मान्यता दियो । यससँगै आधुनिक भारतको सबैभन्दा नाटकीय राजनीतिक पुनर्संरचनामध्ये एक प्रक्रिया पूरा भयो ।
- कांग्रेसबाट जन्मिएका अन्य क्षेत्रीय शक्तिहरू
कांग्रेसका धेरै विभाजित समूह हराए पनि केही विशाल राजनीतिक शक्तिमा परिणत भए । सबैभन्दा सफल उदाहरण सम्भवतः अखिल भारतीय तृणमूल कांग्रेस नै हो । ममता बनर्जीले सन् १९९८ मा स्थापना गरेको यो दल पश्चिम बंगाल र राष्ट्रियस्तरमा कांग्रेस नेतृत्वप्रति बढ्दो असन्तुष्टिबाट जन्मिएको थियो ।
बनर्जीको विश्वास थियो कांग्रेसले दशकौँदेखि बंगालमा प्रभुत्व जमाएको वाममोर्चाप्रति अत्यधिक नरम नीति अपनाइरहेको छ । उनको अलगावले अन्ततः भारतकै सबैभन्दा लामो समयसम्म निर्वाचित कम्युनिस्ट सरकारमध्ये एकलाई सत्ताच्युत गर्ने राजनीतिक आन्दोलन जन्मायो ।
एक वर्षपछि कांग्रेसमा अर्को ठुलो विभाजन भएको थियो । शरद पवार, पीए संगमा र तारिक अनवरले सन् १९९९ मा राष्ट्रवादी कांग्रेस पार्टी स्थापना गरे । सोनिया गान्धी विदेशी मूलकी भएकाले प्रधानमन्त्री बन्न नहुने तर्क यस विभाजनको केन्द्रमा थियो । एक चौथाइ शताब्दीभन्दा बढी समयपछि पनि आन्तरिक विभाजन र चुनावी झट्काका बाबजुद एनसीपी महाराष्ट्रको राजनीतिमा महत्त्वपूर्ण शक्ति रहँदै आएको छ ।
फेरि यस्तै कथा आन्ध्र प्रदेशमा पनि दोहोरियो ।
सन् २००४ मा वाइएस राजशेखर रेड्डीको नेतृत्वमा कांग्रेस राज्यको सत्तामा फर्किएको थियो । २००९ मा उनको निधनपछि उत्तराधिकारको संघर्ष सुरु भयो । उनका छोरा वाइएस जगनमोहन रेड्डीले राजनीतिक विरासत सम्हाल्न खोजे, तर के रोसैयालाई मुख्यमन्त्री बनाइएपछि उनी किनारामा परे । जगन रेड्डीले २०१० मा कांग्रेस छाडे र २०११ मा औपचारिक रूपमा वाइएसआर कांग्रेस पार्टी गठन गरे । यो निर्णय अत्यन्त फलिफापपूर्ण भयो । २०१९ को विधानसभा चुनावमा वाइएसआरसीपीले भारी बहुमतसहित सत्ता जित्यो र आन्ध्र प्रदेशको प्रमुख राजनीतिक शक्ति बन्यो ।
यस्तै घटना पुनः पुडुचेरीमा पनि देखियो ।
पूर्वमुख्यमन्त्री एन रंगासामीले २०११ को विधानसभा चुनावअघि अखिल भारतीय एनआर कांग्रेस गठन गरेका थिए । २००८ मा मुख्यमन्त्री पदबाट हटाइएपछि उनी कांग्रेसप्रति असन्तुष्ट बनेका थिए । पछि यो दल पुडुचेरीको प्रमुख राजनीतिक शक्तिका रूपमा स्थापित भयो र गठनपछिका धेरै वर्षसम्म सरकारको नेतृत्व गर्यो ।
- अस्तित्व जोगाउने प्रवृत्ति
कांग्रेसबाट छुट्टिएका दलहरू प्रायः स्वतन्त्र पहिचान, क्षेत्रीय आधार र चुनावी शक्ति भएका दीर्घकालीन संगठनमा विकसित भएका छन् । हराउनुको सट्टा तिनीहरूले राज्यस्तरीय राजनीतिलाई पुनर्परिभाषित गर्दै स्थायी जनाधार निर्माण गरेका छन् ।
तृणमूल कांग्रेसले पश्चिम बंगालको राजनीति परिवर्तन गर्यो । एनसीपी महाराष्ट्रको गठबन्धन राजनीतिको केन्द्र बन्यो । वाइएसआरसीपी आन्ध्र प्रदेशको प्रमुख दलका रूपमा उदायो । अखिल भारतीय एनआर कांग्रेसले पुडुचेरीमा आफ्नो बलियो स्थान बनायो । यी सबै उदाहरणमा, विभाजनको कारण बनेको मूल विवाद हराइसकेपछि पनि नयाँ दलहरू दीर्घकालसम्म जीवित रहे र प्रभावशाली राजनीतिक शक्तिका रूपमा स्थापित भए ।
भाजपाको फरक अनुभव
भाजपाको इतिहासले भने केही फरक तस्बिर प्रस्तुत गर्छ । कांग्रेसको तुलनामा भाजपाले राष्ट्रियस्तरमा निकै कम ठुला विभाजनहरूको सामना गरेको छ । राजनीतिक विश्लेषकहरूका अनुसार यसको मुख्य दुई कारण छन् । एक, राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) सँग जोडिएको बलियो वैचारिक आधार र विशेषगरी सन् २०१४ पछि अझ केन्द्रीकृत बनेको नेतृत्व संरचना ।
भाजपाको उत्पत्ति भारतीय जनसंघबाट भएको हो । भारतीय जनसंघ सन् १९७७ मा जनता पार्टीमा विलय भएको थियो । पछि आन्तरिक मतभेदका कारण सन् १९८० मा पुनः भारतीय जनता पार्टी (भाजपा) का रूपमा स्थापित भयो ।
भाजपाबाट भएका अधिकांश विद्रोहहरू राष्ट्रियभन्दा राज्यकेन्द्रित प्रकृतिका थिए । ती प्रायः नेतृत्व विवाद, गुटीय प्रतिस्पर्धा वा उम्मेदवारी वितरणसम्बन्धी असहमतिबाट उत्पन्न भएका थिए । अनि यस्ता दलहरूको अस्तित्व जोगाउने क्षमता निकै कमजोर देखिएको छ ।
- शंकरसिंह वाघेलाको विद्रोह
भाजपाविरुद्धको प्रारम्भिक ठुला विद्रोहमध्ये एक गुजरातमा भएको थियो । सन् १९९६ मा वरिष्ठ भाजपा नेता शंकरसिंह वाघेलाले राष्ट्रिय जनता पार्टी गठन गरे । केशुभाइ पटेललाई मुख्यमन्त्री बनाउने भाजपाको निर्णयप्रति असन्तुष्टि जनाउँदै उनले विद्रोह गरेका थिए ।
त्यसपछि राज्यमा राजनीतिक संकट उत्पन्न भयो । धेरै विधायकहरूले वाघेलालाई समर्थन गरे पनि भाजपाले अन्ततः केशुभाइ पटेललाई हटाएर सुरेश मेहतालाई मुख्यमन्त्री बनायो, तर वाघेलालाई अवसर दिएन ।
त्यसपछि वाघेलाले कांग्रेसको समर्थनमा आफ्नै दल गठन गरे र गुजरातका बाह्रौँ मुख्यमन्त्री बने । तर यो प्रयोग मुस्किलले एक वर्ष टिक्यो । अन्ततः वाघेलाले आफ्नो दल कांग्रेसमा विलय गरे । वर्षौँपछि उनले फेरि कांग्रेससँग पनि सम्बन्ध तोडे । सन् २०१७ को राज्यसभा निर्वाचनमा कांग्रेस नेता अहमद पटेलविरुद्ध क्रस भोटिङ गरेपछि उनले कांग्रेस छाडेर जनविकल्प मोर्चा गठन गरेका थिए ।
- कल्याण सिंहको राजनीतिकः भाजपादेखि भाजपासम्म
अर्को महत्त्वपूर्ण उदाहरण उत्तर प्रदेशका पूर्वमुख्यमन्त्री कल्याण सिंह हुन् । राम मन्दिर आन्दोलनका प्रमुख अनुहारमध्ये एक तथा बाबरी मस्जिद विध्वंसको समयमा मुख्यमन्त्री रहेका कल्याण सिंह सन् १९९७ को विधानसभा निर्वाचनपछि उत्पन्न राजनीतिक अस्थिरताका क्रममा भाजपाभित्रको आन्तरिक संघर्षमा फसे ।

गुटीय द्वन्द्वका कारण पदबाट हटाइएपछि उनले सन् १९९९ मा राष्ट्रिय क्रान्ति पार्टी गठन गरे । हिन्दुत्वको एजेन्डामा आधारित उक्त दलले सन् २००२ को विधानसभा निर्वाचनमा चार सिट जित्यो र समाजवादी पार्टीसँगै विपक्षमा बस्यो ।
तर यो स्वतन्त्र राजनीतिक यात्रा पनि लामो समय टिकेन । सन् २००४ मा कल्याण सिंह पुनः भाजपामा फर्किए । पछि उनले सन् २००९ मा जन क्रान्ति पार्टी पनि गठन गरे, तर त्यो प्रयोग पनि असफल भयो र सन् २०१३ मा दल फेरि भाजपामै विलय भयो ।
- भाजपा विभाजनका अन्य दृष्टान्तहरू
मध्यप्रदेशकी पूर्वमुख्यमन्त्री उमा भारतीले सन् २००६ मा भारतीय जनशक्ति पार्टी गठन गरेकी थिइन् । सन् २००८ को विधानसभा निर्वाचनमा उक्त दलले केवल पाँच सिट जित्न सफल भयो । २०११ जुन ७ मा उमा भारती औपचारिक रूपमा भाजपामा फर्किइन् र भारतीय जनशक्ति पार्टी मूल दलमै विलय भयो ।
गुजरातका पूर्वमुख्यमन्त्री केशुभाइ पटेलले सन् २०१२ मा गुजरात परिवर्तन पार्टी स्थापना गरे । तर दलले उल्लेखनीय जनसमर्थन प्राप्त गर्न सकेन । अन्ततः पटेल सन् २०१४ मा भाजपामा फर्किए । यस्तै अवस्था कर्नाटकमा पनि देखियो । पूर्वमुख्यमन्त्री बीएस येडियुरप्पाले सन् २०११ मा कर्नाटक जनता पक्ष गठन गरेका थिए । सन् २०१३ को विधानसभा निर्वाचनमा उक्त दलले भाजपाको लिङ्गायत मताधारमा क्षति पुर्यायो, ६ सिट जित्यो र भाजपाको सिट संख्या ४० मा सीमित गर्न सहयोग गर्यो ।
तर तुलनात्मक रूपमा सफल मानिएको यो विद्रोह पनि छोटो समयमै सकियो । जनवरी २०१४ मा येडियुरप्पाले आफ्नो दल विघटन गरी पुनः भाजपामा फर्किए । पूर्व केन्द्रीय अर्थमन्त्री यशवन्त सिन्हाले सन् २०१८ मा भारतीय सब लोग पार्टी गठन गरेका थिए । उक्त दलले सन् २०२० मा ३० सिटमा चुनाव लड्यो, तर एउटा पनि सिट जित्न सकेन । अन्ततः सन् २०२२ मा यो दल लोक जनशक्ति पार्टी (रामविलास) मा विलय भयो ।
विभाजनका फरक परिणाम
कांग्रेस र भाजपाबाट अलग भएका दलहरूको तुलना गर्दा अन्तर स्पष्ट देखिन्छ । कांग्रेसबाट छुट्टिएका धेरै दलहरूले बलियो क्षेत्रीय पहिचान र दीर्घकालीन चुनावी आधार निर्माण गर्न सफल भएका छन् । भाजपाबाट अलग भएका अधिकांश दलहरू भने त्यति लामो समय टिक्न सकेनन् । धेरैले सीमित चुनावी सफलता मात्र हासिल गरे । कतिपय विघटन भए । अरू केही वर्षपछि फेरि भाजपामै विलय भए ।
यसले भारतमा दुई फरक राजनीतिक परम्पराको चित्र प्रस्तुत गर्छ । कांग्रेसको इतिहास विद्रोहीहरू क्षेत्रीय शक्ति केन्द्र बनेका उदाहरणहरूले भरिएको छ । भाजपाको अनुभव भने प्रायः अस्थायी विद्रोह, पुनर्मिलन वा राजनीतिक पतनले चिनिएको छ ।
के होला तृणमूल कांग्रेसको भविष्य ?
तृणमूल कांग्रेसका २९ मध्ये २० लोकसभा सदश्यले भनेका छन्, ‘हामी तृणमूल कांग्रेसका सांसदहरूको दुईतिहाइभन्दा बढी संख्या हौँ र राष्ट्रवादी नागरिक पार्टी अफ इन्डियासँग विलय हुँदैछौँ । देशको हितका लागि हामी प्रधानमन्त्री नरेन्द्र मोदी र एनडीएसँग मिलेर काम गर्नेछौँ ।’
तर तिनको अघिल्लो रण्नीत भने फरक छ । विद्रोही पक्षका सबैभन्दा वरिष्ठ सांसद सुदीप बन्द्योपाध्यायले भनेका छन्, ‘हामी राष्ट्रवादी नागरिक पार्टीसँग विलय हुनेछौँ, जुन दर्ता भएको क्षेत्रीय दल हो । यही प्रक्रिया हो । जब तपाईं दलका दुईतिहाइ सदस्यसँग बाहिरिनुहुन्छ, पहिलो दिनमै सोही दलको नाम दाबी गर्न सकिँदैन । जुलाईमा हामी तृणमूल कांग्रेसका रूपमा मान्यता माग्नेछौँ, किनभने हामीसँग त्यसका दुईतिहाइ सांसद छन् ।’
पश्चिम बंगालमा भएको २०२६ को विधानसभा निर्वाचनमा तृणमूल कांग्रेस पराजित भएपछि उसका अधिकांश लोकसभा सांसदहरूले छुट्टै समूह बनाउने निर्णय गरेका छन् । आधिकारिक मान्यता र पार्टीमाथिको दाविका विषयमा निश्चयनै अदालतले निर्णय दिनेछ ।
कहाँ जालान् त तृणमूलका टुक्राहरू ? कुनै क्षेत्रीय दलले औपचारिक रूपमा अर्को दलमा विलय गर्दा सामान्यतया उसको राजनीतिक मोलमोलाई गर्ने क्षमता, सार्वजनिक पहिचान र संगठनात्मक नियन्त्रण कमजोर हुने गर्छ । पक्कै पनि यसको विलय चाहिँ हुँदैन ।
तृणमूल कांग्रेस, राष्ट्रवादी कांग्रेस पार्टी र अन्य क्षेत्रीय दलहरूसँग आफ्नै स्थापित मतदाता आधार, छुट्टै राजनीतिक ब्रान्ड र दशकौँको मेहनतले बनाइएका संगठनात्मक संरचना छन् । उनीहरूका लागि कांग्रेसमा विलय हुनु भनेको वर्षौँको स्वतन्त्र राजनीतिक यात्राबाट कमाइएका सम्पत्ति र पहिचान त्याग्नु सरह हुनेछ । त्यसैले इतिहासले देखाउँछ कि यस्ता दलको पूर्ण स्तरको औपचारिक विलयको सम्भावना निक्कै नै कम हुन्छ, भला तिनको शक्ति अकल्पनीय ढंगले क्षय नै किन नहोस् ।
एजेन्सीको सहयोगमा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोल्यान्डको सुप्रन्यासनलमा नेपालको प्रतिनिधित्व पूर्णिमा र मृदुलले गर्ने
-
सुर्खेत प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्युबारे छानबिन गर्न समिति गठन
-
परराष्ट्रमन्त्रीद्वारा चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीका लागि आह्वान
-
प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल, अर्काे बैठक बुधबार
-
रास्वपा कर्णालीको सभापतिमा मदन खड्का निर्वाचित
-
सार्वजनिक सुनुवाइः बाँदर समस्यादेखि गुणस्तरीय शिक्षासम्मका कुरा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण