गौरमा करदाता सेवा कार्यालय सार्ने तयारीविरुद्ध आन्दोलन जारी
सारांश
- रौतहटको गौरमा करदाता सेवा कार्यालय सार्ने तयारीको विरोधमा दोस्रो दिन पनि आन्दोलन जारी रह्यो।
- स्थानीय व्यापारीहरूले बजार बन्द गरी प्रदर्शन गरे, र सरकारको निर्णयको विरोध गरे।
- विभिन्न दलका नेताहरूले पनि आन्दोलनमा ऐक्यबद्धता जनाए, र समस्या समाधानका लागि बैठक बस्ने तयारी छ।
रौतहट । रौतहटको गौरस्थित करदाता सेवा कार्यालय सिमरा सार्ने तयारीविरुद्ध सुरु भएको आन्दोलन दोस्रो दिन पनि चर्किएको छ। कार्यालय गाभ्ने सरकारी तयारीको विरोधमा गौर बजार शनिबार पनि पूर्ण रूपमा बन्द छ भने व्यापारीहरू सडक आन्दोलनमा उत्रिएका छन्।
बिहानैदेखि गौरका मुख्य चोक–चोकमा प्रदर्शन गरिएको छ। बिपी चोक, भन्सार एरियालगायत स्थानमा टायर बालेर नाराबाजी गरिएको छ। बजारका सम्पूर्ण पसल बन्द हुँदा जिल्ला सदरमुकाम सुनसान बनेको छ।
सरकारले कार्यालयलाई सिमरास्थित आन्तरिक राजस्व कार्यालयमा गाभ्ने तयारी गरेपछि स्थानीय व्यवसायी आन्दोलित भएका हुन्। गौरको केन्द्रभागमा आफ्नै भवनबाट सञ्चालन हुँदै आएको कार्यालय चुपचाप सार्न खोजिएको भन्दै व्यापारीहरूले कडा आपत्ति जनाएका छन्।
शुक्रबार कार्यालयका सामग्री बोकेको ट्रक बजारबाट बाहिर लैजान खोज्दा रौतहट उद्योग वाणिज्य संघका पदाधिकारीसहित स्थानीय व्यापारीहरू ट्रकअगाडि धर्नामा बसेका थिए। स्थिति तनावपूर्ण बनेपछि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो। अन्ततः विरोधपछि ट्रकबाट सामान अनलोड गरिएको थियो।
संघका महासचिव सन्तोष केसरीले निर्वाचनको मुखमा कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाउँदै पूर्व जानकारीबिना गरिएको कदम अस्वीकार्य भएको बताए। “गौरबाट सेवा हटाउने निर्णय तत्काल फिर्ता लिनुपर्छ,” उनले भनेका छन्।
यसैबिच विभिन्न दलका नेताहरूले पनि आन्दोलनप्रति ऐक्यबद्धता जनाएका छन्। नेपाल कम्युनिस्ट पार्टी एमालेका नेता अजयकुमार गुप्ता, नेपाल कम्युनिस्ट पार्टीका नेता रेबन्त झा तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार राजेश चौधरीले पनि कार्यालय सार्ने प्रयासप्रति आपत्ति जनाएका छन्। उनीहरूले निर्वाचनको पूर्वसन्ध्यामा सेवा केन्द्र हटाउने कदमले स्थानीय सेवाग्राही र व्यापारीहरू प्रत्यक्ष मारमा पर्ने चेतावनी दिएका छन्। नेपाली कांग्रेसका युवा नेता नितेशकुमार गुप्ताले गौरमै करदाता सेवा कार्यालय पूर्ण क्षमताका साथ सञ्चालन हुनुपर्ने माग गरे। कार्यालय सारिए सेवाग्राहीलाई अनावश्यक सास्ती हुने उनको तर्क छ।
जिल्ला प्रहरी प्रमुख एसपी सिताराम रिजालले व्यापारीहरूले शान्तिपूर्ण रूपमा बजार बन्द गरी प्रदर्शन गरिरहेको पुष्टि गरेका छन्।प्रशासनले अवस्था सामान्य बनाउन पहल जारी रहेको जनाएको छ।
यता रौतहटका सिडिओ दिनेश सागर भुसालले आन्तरिक राजस्व कार्यालय पथलैयाको विषयमा समन्वयको कमीका कारण विवाद चर्किएको बताए। उनका अनुसार यसअघि कार्यालय सार्ने निर्णय तत्काल कार्यान्वयन नगर्ने सहमति भए पनि निर्वाचनको मुखमा ट्रक पठाइनु उपयुक्त नभएको बताए।
समस्या समाधानका लागि आज आन्तरिक राजस्व कार्यालय पथलैयाका प्रमुखलाई बोलाइएको र उद्योग वाणिज्य संघ, स्थानीय व्यापारी, सुरक्षा निकाय तथा सर्वदलीय प्रतिनिधिसहित बैठक बस्ने तयारी रहेको सिडिओ भुसालले जानकारी दिएका छन्।
हाल गौर बजार पूर्ण रूपमा प्रभावित बनेको छ भने भन्सार कार्यालय अगाडि नाराबाजी जारी छ। आन्दोलनको निकास बैठकपछि मात्रै निस्कने अपेक्षा गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक सातापछि मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
-
विज्ञहरूको पर्याप्त सुझावविना विधि विज्ञान प्रयोगशाला विधेयक अघि बढ्दैन: मन्त्री पोखरेल
-
भारतको अस्पतालमा आगलागी, पाँच जनाको मृत्यु, २० जना घाइते
-
राजेन्द्र लिङ्देनले पार्टी छोड्न बाध्य बनाएको धवलशमशेरको आरोप
-
नेपालगञ्जमा चराचुरुङ्गी बचाउ अभियान
-
स्थलयुद्धमा प्रगति हुन नसकेपछि युक्रेनमाथि हवाई आक्रमण तीव्र बनाउँदै रुस
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण