अक्षत अन्टार्कटिका : पर्यावरणीय चेतनाको साहित्यिक कृति
सारांश
- अक्षत अन्टार्कटिका नामक पुस्तकले पर्या-साहित्यको दृष्टिकोणबाट अन्टार्कटिकाको पर्यावरणीय चुनौतीहरूलाई प्रस्तुत गर्छ।
- पुस्तकमा लेखक जीवा लामिछानेले अन्टार्कटिकाको यात्रा अनुभव, कार्बन बजेटिङको महत्त्व, र पेङ्गुइन लगायतका जीवजन्तुको बारेमा वर्णन गरेका छन्।
- अन्त्यमा, पुस्तकले पर्यावरणीय चेतना जगाउँदै भावी पुस्तालाई पृथ्वीको संरक्षणको लागि जिम्मेवार बनाउनुपर्ने सन्देश दिन्छ।
परम्परागत साहित्यले अधिकांश प्रेम र सौन्दर्य, राजनीतिक र सामाजिक यथार्थ, मानवीय मनोविज्ञान, द्वन्द्व र सङ्कट जस्ता मानव केन्द्रित विषयवस्तुलाई अभिव्यक्त गर्छ । तर मेरो सोचाइमा अक्षत अन्टार्कटिका मानव केन्द्रित भन्दा अलिकति टाढा रहेर पर्याकेन्द्रित दृष्टिकोणबाट लेखिएको साहित्यिक कृति हो । यसबारे पाठकीय धारणा राख्नुअघि पर्या-साहित्यको आधारभूत तत्त्वहरू के के हुन सक्छन् भनेर संक्षेपमा प्रस्ट्याउन चाहन्छु ।
मानव, वनस्पति, वन्यजन्तु र वायु, जल, माटो, ताप, आकाशजस्ता पञ्चमहाभूतबिचको अन्तरसम्बन्धलाई आधार बनाएर लेखिने साहित्यलाई पर्या-साहित्य मानिन्छ । प्रकृति वर्णनमा मात्र सीमित नरही पर्या-साहित्यले वातावरणीय सन्तुलन, पारिस्थितिक सङ्कट, जलवायु परिवर्तन, प्रदूषण, संरक्षण, जैविक विविधता, प्रकृतिमा मानवीय हस्तक्षेपका प्रभावलाई समेट्छ । सरल भाषामा भन्नुपर्दा परम्परागत साहित्यले मान्छेले भोगेका पिडालाई प्रकट गर्छ भने पर्या-साहित्यले पृथ्वीले भोगेको पिडालाई प्रकट गर्छ ।
अक्षत अन्टार्कटिका अध्ययन गर्दा यो कृति सघन रूपमा पर्यावरणीय चेतनाले लेखिएको पाइन्छ । यसले अन्टार्कटिकाको प्राकृतिक छटा, यसको वातावरणीय संवेदनशीलता र मानवीय गतिविधिसँग जोडिएका पर्यावरणीय चुनौतीलाई कलात्मक शैलीमा प्रस्तुत गरेको छ । ऐतिहासिक, सामाजिक र मानव संवेदनाका कौतूहल जगाउने अन्तर्वस्तु त छन् नै; त्यसका बावजुत पनि विकास र विनाश, पर्यानारीवाद, प्रदूषण, जलवायु परिवर्तन, जैविक विविधता, वासस्थान अतिक्रमण, चोरीसिकार जस्ता इको राइटिङका आयामलाई पनि जीवन्त रूपमा पेस गरिएको छ ।
अन्टार्कटिका दक्षिणी ध्रुवमा अवस्थित हिउँ नै हिउँले ढाकिएको सातौँ महादेश हो । त्यसको भ्रमण गरे पश्चात् जीवा लामिछानेद्वारा कोरिएको हृदयस्पर्शी यात्रा संस्मरण हो– अक्षत अन्टार्कटिका । अन्टार्कटिका पुग्नु आफैँमा साहस हो भने त्यसको यात्रानुभूतिलाई शब्दमा कैद गरेर पुस्तकको आकार दिनु चुनौती ।
सदियौँदेखि हिउँको बाक्लो पत्रमा पुरिएको अन्टार्कटिका महादिप । बर्फिलो मानवरहित त्यो थलोमा पाइला टेकेपछि मनमा उत्पन्न भावलाई अभिव्यक्त गर्न शब्द नै नपुगेको जीवाले अनुभूत गरेका छन् । उनी लेख्दछन्– शब्दको निरीहता त अन्टार्कटिका पुगेपछि पो थाहा हुँदो रहेछ । अत्यन्त कठोर, निस्सार तर अद्भुत सुन्दरताले भरिएको स्थान । त्यस्तो परिवेशलाई इतिहास र विज्ञानका तथ्याङ्कले सिँगार्दै रोमाञ्चित अनि सूक्ष्म ढङ्गले प्रस्तुत गरेका छन् जीवाले । सृष्टिकै अनुपम ठाउँमा आउँदा जीवनकै सर्वश्रेष्ठ अनुभूति प्राप्त गरेको छु । आनन्दको यो भाव मेरो हृदय र मस्तिष्कमा सधैँ स्थिर भएर बसिदिए हुने नि– भन्ने भनाइले लेखकको रोमान्चिकताको गहिराई नापेको छ ।
प्रतिव्यक्ति कार्बन फूटप्रिन्टलाई घटाएर जिउन जान्नु दिगो जीवनशैली अपनाउनु हो । यसैलाई मध्यनजर गर्दै पर्यटनमा कार्बन बजेटिङको आवश्यकता भएको तर्क प्रस्तुत गरेका छन् लेखकले । यात्रामा निस्कँदा पैसाको बजेटिङ मात्रै होइन कार्बन बजेटिङ पनि गरिनु पर्छ भन्ने लेखकको आशय हो । एक यात्रीले कति कार्बन उत्सर्जन गर्न पाउनु पर्छ भनी सीमितता तोकिनु पर्छ । उदाहरणका लागि, मानौँ एक यात्रीले हप्ता दिनको यात्रामा १००० किलोग्राम कार्बन उत्सर्जन गर्न पाउँछ । त्यो परिमाण बराबरको कार्बन उसले उत्सर्जन गर्नसक्छ भने उ भ्रमण स्थगित गरेर घर फर्किन पर्छ । जसरी पैसा सिद्धिएपछि यात्री घर फर्किन्छ ।
यदि १०० किलोग्राम बढी कार्बन उत्सर्जन गरेर ११०० किलोग्राम पुर्याउँछ भने उसलाई १०० किलोग्राम ऋण लाग्छ । ऋण लागे बराबरको कार्बन उसले पछि तिर्न पर्छ । तिर्नका लागि कि वृक्षारोपण गर्नपर्छ कि त्यो मूल्य बरावरको पैसा तिर्न पर्छ । यसरी जम्मा भएको कोषलाई सञ्चालन गर्ने निकायले कार्बन घटाउने परियोजनामा त्यस्ता पैसा खर्च गर्नुपर्छ । मेरो बुझाइमा यही नै हो कार्बन ट्रेडिङ् या पर्यापर्यटनको औचित्य ।
लेखक जर्मनदेखि हजारौँ माइलको हवाई यात्रा तय गरेर अर्जेन्टिना पुग्छन् । अनि त्यहाँबाट पानीजहाज मार्फत अन्टार्कटिका पुगेका छन् । आफ्नो त्यो लामो यात्राले कार्बन उत्सर्जन हुन पुगेको सम्बन्धमा लेखक सजग देखिन्छन् । यसो भनौँ, कार्बन बजेटिङ र कार्बन अफसेटिङ जस्ता विषयलाई पनि यात्रासँग नै जोडेर हिँडेका छन् जीवा ।
हाम्रा यस्तै गतिविधिका कारण वायुमण्डलमा अत्यधिक कार्बन ग्यास उत्सर्जन हुनु नै जलवायु परिवर्तन र वैश्विक तापमान वृद्धिको प्रमुख कारण हो । यात्राकै आरम्भमा ‘क्षमा गर, म अन्टार्कटिका घुम्न जाँदैछु’ भन्ने लेखकको भावात्मक अभिव्यक्ति वातावरणप्रति अनुभूत गरेको अपराध बोध हो ।
यहाँनेर अन्टार्कटिका पुगेका एक पर्यटक जीवा र पर्यावरणीय चेत लिएर जिइरहेका एक लेखक जीवाबिच नैतिक द्वन्द्व स्पष्ट रूपमा देखिन आउँछ । त्यो भ्रमणपश्चात जीवालाई एक किसिमको पछुतो लागेको र त्यस अघि अरू कुनै नेपालीले नगरेको कार्य आफूले गरेकोप्रति गौरव पनि महसुस भएको प्रतीत हुन्छ ।
रेफ्रिजेरेटरमा प्रयोग गरिने ग्यास– क्लोरोफ्लुरो कार्बनको कारण ओजन तह पातलिएको थियो । जसको कारणले पराबैजनी विकिरण अन्टार्कटिकाको हिउँमा सजिलै परावर्तन हुँदो रहेछ । यस्ता खतरनाक विकिरणबाट जोगिन त्यहाँ पुगेका पर्यटकलाई शरीरको छाला छोप्नुपर्ने चेतावनी दिइँदो रहेछ । अन्टार्कटिकामा अनुसन्धान गरेका वैज्ञानिकले ओजन पातलिँदै गरेको पत्ता लगाएपछि मोन्ट्रियल प्रोटोकल ल्याइएको हो ।
जसअनुसार विश्वभरि नै क्लोरोफ्लुरो कार्बनको प्रयोग निषेध गर्ने सम्झौता भएको थियो । पर्यावरणीय विनाशबाट मानव सभ्यता जोगाउने यो एउटा ठुलो फड्को मान्दछन् जीबा । उनी लेख्छन्– सबै सुन्दर ठाउँ र चीजलाई बेपर्बाह अँगाल्नु पनि नहुने रहेछ । अन्टार्कटिका जस्तो सुन्दर ठाउँले पनि आफूसँग यति खतरनाक वातावरण बोकिरहेको रहेछ भनेर उनी दङ्ग पर्छन् । घरको संगारबाट पाइला बाहिर निकाल्नसाथ जोखिम कहाँ छैन र, जीवा !
हाम्रा राष्ट्रिय निकुञ्जमा आउने पर्यटकलाई बाघ, भालु, गैँडा, हात्तीले मारिदिन सक्छन् । लामखुट्टेले टोकेर मलेरिया र डेङ्गु लाग्न सक्छ, हैन त !
पर्या-साहित्य लेखनमा जीवामा जस्तै विज्ञानको ज्ञान आवश्यक पर्छ । विज्ञानका कुरालाई साहित्यको लेप लगाएर प्रस्तुत गरिनु नै पर्या-साहित्यको विशेषता हो ।
संसारको स्वच्छ पानीको ७० प्रतिशत भण्डारण अन्टार्कटिकाको हिउँमा रहेछ । यो हिउँ सबै पग्लियो भने समुन्द्रको सतह ६० मिटरले बढनसक्ने प्रक्षेपण छ । विश्वको एक तिहाई भन्दा बढी मानिस समुन्द्रको तटीय क्षेत्रमा बस्दछन् । नेपालको हिमाल पनि त तीव्र रूपमा पग्लिरहेको छ भनेर हाम्रा लेखनमा आइरहेका छन् । जलवायु परिवर्तनका कारण हिमाल पग्लिनु र सामुन्द्रिक सतह बढ्नु हाम्रो समयको गम्भीर विषय हो, जसप्रति जीवाको कलमले गहिरो चिन्ता पोखेको छ ।
उनले अन्टार्कटिकाको बाह्य पत्रको मात्रै वर्णन गरेका छैनन्, पाठकलाई यसको भूगर्वसम्म पु-याउन सफल भएका छन् । हिउँले थिचिएको जमिनमुनि २०० जति तलाउ रहेछन् । ३.७ किमी बाक्लो हिँउगुन्द्रीमुनि भास्तोक तलाउ छ भनेर उल्लेख गरेका छन् ।
यसले लेखकको इको राईटिङ्मा परिपक्वताको प्रमाण पेस गर्छ ।
अन्टार्कटिकामा धुलोको मसिनो कणसम्म लैजाने छुट छैन । प्रस्थान गर्नुअघि पानीजहाजका स्टाफले कमिज र पत्लुङ्का गोजि टकटकाउन लगाउँदा रहेछन् । पेङ्गुइन र सिलजस्ता जनावरबाट ५–१५ मिटर टाढा रहनुपर्छ । खाध्यन्नको एक दाना पनि अन्टार्कटिकाको जमिनमा खसाउन नपाइने नियम रहेछ । बिउ बिजन जमिनमा झरिहाल्यो र उम्रियो भने त्यो एक आक्रामक प्रजातिका रूपमा विकास हुनसक्छ र स्थानीय इकोसिस्टममा असन्तुलन आउन सक्छ ।
त्यहाँको पर्यटन व्यवस्थापनमा शून्य–प्रदूषणको नीति कडाइकासाथ अवलम्बन गरिएको रहेछ । यस्तो थाहा पाउँदा जीवाले सगरमाथा क्षेत्रमा फोहोर व्यवस्थापनका कमजोरीलाई सम्झिन पुग्दै व्यथित मन लिएर अन्टार्कटिकाको यात्रालाई निरन्तरता दिन्छन् । सगरमाथा आज केवल प्रकृतिको मात्रै होइन, विकृतिको पनि शिखर बनेको छ । त्यहाँ जमेको फोहोर अन्तर्राष्ट्रिय लज्जाको विषय बनेको छ र त्यसले जीवालाई झनै लज्जास्पद्द बनाएको प्रतीत हुन्छ ।
प्रदूषण भन्दा पनि अझ चिन्ताजनक कुरा त जीवाजस्ता हजारौँ पर्यटकका चापले उत्सर्जन गराउने ग्रिनहाउस ग्यासको छ । यसको प्रभावले हिउँको मैदानलाई पातलो बनाउँदै गरेको दृश्यलाई जीवाले उल्लेख गरेका छन् । कथित त्यो मानवरहित हिमखण्ड त्यति गम्भीर अवस्थाबाट गुज्रेको होला भनेर जीवाले सोचेकै रहेनछन् ।
उनी आफ्नो प्रायश्चित्त व्यक्त गर्दै लेख्छन्– थाहा हुँदो हो त म आउने पनि थिइनँ कि ? मलाई थाहा छ केही अपूरा सपना पूरा भएका सपनाभन्दा गहन महत्त्वपूर्ण र मीठा हुन्छन् । मेरो रहरले समेत अन्टार्कटिकाको क्षयका लागि सानै भए पनि भूमिका खेलेको छ, यसमा मलाई खेद छ । यी पङ्क्तिले मलाई अब अर्को नेपाली पर्यटक बनेर अन्टार्कटिका नजावोस ्भन्ने गरायो । म त जाँदिन । यही पुस्तक पढेरै अघाएँ । जीवाले जस्तो त्यति धेरै कार्बन उत्सर्जन गरेर म त्यहाँ पाइला टेक्नेवाला छैन ।
यसरी पुस्तकमा व्यक्तिगत यात्रा वर्णन त छँदै छ, त्यो भन्दा पनि अझ पर्यावरणीय आत्मसमीक्षाको गहिरो प्रस्तुति छ ।
कृतिको अर्को रोचक र महत्त्वपूर्ण पक्ष जनावरलाई केन्द्रमा राखेर प्रस्तुत गरिएका दृश्यहरू हुन् । पुस्तकको केही अध्यायहरूमा पेङ्गुइन, सिल र ह्वेल मुख्य पात्रकोरुपमा जीवन्त बनेर उबिएका छन् । पेन्गुइनको सामूहिक अनुशासन, जोडी छान्ने प्रवृत्ति, अण्डा पार्ने कष्टपूर्ण क्षण, जीवनचक्र, र प्रजनन प्रक्रियालाई वैज्ञानिक तथा भावनात्मक रूपमा चित्रण गरिएको छ । आर्डले द्वीपमा पेन्गुइनलाई बाधा हुने भएकाले भुईँमा ओर्लिन नपाउँदा पानीजहाजबाटै देखिएका पेन्गुइनलाई सम्झेर जीवा लेख्छन्– केही क्याटवाक गरे झैँ ढल्किँदै ढल्किँदै हिँडेका, कोही भने आपसमा कानेखुसी गर्न लागे झैँ । मलाई भने नजिकै गएर धीत मरुन्जेल बात मारिहालूँ जस्तो लागेर आयो ।
जसरी मान्छेका जाति र वर्गका आआफ्ना संस्कार संस्कृति हुन्छन् त्यसरी नै जीवहरूका पनि हुन्छन् । उदाहरणका लागि मानव केन्द्रित साहित्यमा राजा महाराजाका जीवनी, पौराणिक ग्रन्थमा भेटिने भगवानका चरित्र र समाजमा कुनै जातिको अस्तित्व पढ्न पाइन्छ। पर्याकेन्द्रित साहित्यमा कुनै वासस्थानमा पशुपक्षीको अस्तित्व र चरित्र पढ्न पाइन्छ । हो, जीवाले त्यही कुरालाई यस पुस्तकमा हाइलाइट गरेका छन् ।
पेङ्गुइन हाम्रो देशमा पाइने चरा नभएकाले जीवाले पुस्तकमा पेन्गुइनबारे लेखेको कुराले मलाई लाग्छ, पाठकले कौतूहलपूर्वक पढ्नेछन् । वासस्थानदेखि आहारा पाउने ठाउँसम्म सधैँ एउटै बाटोमा यात्रा गर्दा गोरेटो निर्माण हुँदो रहेछ जसलाई ‘पेङ्गुइन हाइवे’को संज्ञा दिइन्छ ।
पेङ्गुइन पखेटा भएका चरा हुन तर उडन सक्दैनन् । पानीमा भने तीव्र गतिमा, झन्डै ४० किमी प्रतिघण्टाका दरले, पौडी खेल्न सक्ने अद्भुतको पक्षी हो । सुरक्षित प्रजननका लागि सय किमीसम्म यात्रा गर्छन् । भालेले पोथी फकाउन उपहारस्वरूप ससाना ढुङ्गा दिँदा रहेछन् । त्यस्ता ढुङ्गा पोथीहरू ओथारो बस्न प्रयोग गर्छन् । एम्परर प्रजातिको पेन्गुइनले एउटै पोथीसँग जीवन बिताउँदो रहेछ । अण्डा पारेपछि त्यसलाई कोरल्ने जिम्मा भालेको हुँदो रहेछ ।
मान्छेको पनि त्यस्तै हुनु नि– बच्चालाई श्रीमातीले पाउने श्रीमानले हुर्काउनु पर्ने । अण्डा पारेपछि पोथीहरू खानाको खोजीमा निस्कँदा रहेछन् । वासस्थानमा फर्कँदा अण्डाबाट चल्ला निस्किसकेका हुन्छन् । भालेले सुरक्षितसाथ कोरल्न सकेन भने सबै चल्लाहरू बाँच्न नसक्दा रहेछन् । आफ्ना सन्तान यसरी मरे भने पोथीले भालेलाई त्यागिदिने रहिछ । र सन्तानलाई सुरक्षा प्रदान गर्न जवान र बलियो भालेको छनोट गर्दिरहिछ ।
पेन्गुइनमा यसरी देखिएको मातृसत्तात्मक संस्कार मान्छेले कहिले सिक्ने ? दुर्भाग्यवश कलिला पेङ्गुइन सिलको सबैभन्दा स्वादिष्ट भोजन बन्नु पर्दोरहेछ । बालक पेङ्गुइनलाई अग्लो ठाउँबाट समुन्द्रमा हाम फाल्ने अभ्यास गराइन्छ । पेङ्गुइनहरू यसलाई पर्वकै रूपमा मनाउँछन् भनेको पढ्दा मलाई आश्चर्य लाग्यो । वासस्थानका लागि सुक्खा, अग्लो र सुरक्षित ठाउँ अति महत्वको हुँदोरहेछ । यस्तो ठाउँ सबैभन्दा बलियो भालेले ओगटेर बस्ने हुनाले प्राय त्यही भालेलाई पोथीहरूले छान्ने सम्भावना हुँदो रहेछ । तर एउटा पोथीले छानिसकेको भालेलाई अन्य पोथीले आँखासम्म नलगाउँदा रहेछन् ।
चिसोबाट जोगिन धेरैभन्दा धेरै पेङ्गुइन एक ठाउँमा अटेसमटेस भएर उभिन्छ । त्यति नै बेला पालैपालो छोटोछोटो समयका लागि अल्प निद्रा लिन्छन् । अल्पनिद्रामा सुत्नुको कारण चल्लाहरूलाई सिकारी चरा– खैरे स्कुवाबाट बचाउनका लागि रहेछ । यस्तोलाई सामुदायिक सतर्कता भनिन्छ, जो सिकारीबाट सुरक्षित रहने सफल रणनीति हो । अन्टार्कटिकामा पेङ्गुइन यति धेरै सङ्ख्यामा पाइनुको कारण त्यही हुनसक्छ । सबैभन्दा सक्षम मात्र बाँच्न सक्छ भन्ने इभोलुसन प्रिन्सिपलको एक ज्वलन्त उदाहरण ।
पेङ्गुइनको यस्तो अल्पनिद्राबाट जीवा चिन्तित बन्दै लेख्छन्– मानव संसार पनि प्रकाश र ध्वनि प्रदूषणका कारण अल्पनिद्रातिर धकेलिदै छ । यस्तोमा के हामी पनि पेङ्गुइनजस्तै अल्प निद्रा अँगाल्ने प्राणीमा बिस्तारै परिणत हुने त छैनौ ! बेर छैन, जीवा ! विकास क्रममा यो पनि हुनसक्छ, मानिस पनि ‘इभोल्बिङ् स्पिसिज’ हो ।
जीवाले इतिहास पनि खोतलेका छन् । अठारौँ सताब्दीको सुरुमा ब्रिटिसले ह्वेल र सिलको सिकारमा ठुलो व्यापार देखेछन् । जति दक्षिण गयो उति बढी यी प्राणी प्रचुर मात्रामा भेटिँदै गए । यिनैको सिकार गर्न जाँदा अन्टार्कटिका भेट्टिएको रहेछ । अनि त जीवाले ह्वेल र सिलहरूको भयावह इतिहास प्रस्तुत गरेका छन् । यो अध्यायमा प्रवेश गर्दै गर्दा मलाई १६–१९औँ शताब्दीमा अफ्रिकाबाट अमेरिका र बेलायततिर हुने ट्रान्सएटलान्टिक दास व्यापारबारे स्मरण भयो ।
त्यतिबेला अफ्रिकीलाई जबरजस्ती समातेर वा किनेर एटलान्टिक समुन्द्र पार गराई मजदुरका रूपमा प्रयोग गरिन्थ्यो । २०औँ शताब्दीको मध्यसम्म युरोपियनहरू ह्वेल र सिलको सिकार गरेर त्यसको मासु, बोसो र छालालाई संसारमा बेच्दा रहेछन् । अमेरिकामा सिलको बोसोको तेलले बत्ती बालेर उज्यालो पारिन्थ्यो । सिलको छाला काढेर युरोपको जाडो छेक्ने न्यानो पहिरन बनाइँदो रहेछ ।
त्यस्तो गैरकानुनी धन्दालाई ‘ह्वेलिङ’ र ‘सिलिङ्’ शब्दबाट जीवाले व्याख्या गरेका छन् । अङ्ग्रेजीका यी दुई शब्दले मलाई खुबै आकर्षित गरे । अनि मेरो सम्झनामा आए– ‘माइनिङ्’ र ‘क्लाउड सिडिङ्’ जस्ता शब्दहरू । पृथ्वीको गर्भबाट कोइला, गिट्टिबालुवा, धातु उत्खनन गर्ने कार्यलाई ‘माइनिङ्’ र कृतिम वर्षा गराउने विधिलाई ‘क्लाउड सिडिङ्’ भनिन्छ । यी विषयवस्तुमा पनि कसैले कुनैदिन लेख लेख्ला र तिनलाई मैले पर्या-साहित्य मानेर यस्तै समीक्षा कोरुँला भनेर एकैछिन घोत्लिएँ पनि ।
ह्वेलिङ्ले गर्दा बिसौँ सताब्दीको उत्तरार्धतिर ह्वेलको सङ्ख्यामा गम्भीररुपमा गिरावट आएछ । यसै सन्दर्भमा सन् २००० तिर नेपालमा प्राकृतिक कुचीकारको उपनामले परिचित गिद्धको सङ्ख्या पनि गम्भीर रूपमा घटेको स्मरण गराउन चाहन्छु ।
त्यस्तो अमानवीय क्रूरताबाट ह्वेल मुक्त हुनपर्छ, समुन्द्रमा तिनको सङ्ख्या पुनर्स्थापित हुन आवश्यक छ भन्ने कुराको बोध भएपछि संरक्षणकर्मीहरूले ‘मिट अस, डन्ट इट अस’ नामको अभियान चलाइएको सन्दर्भ जीवाको यस नियात्रामा आएको छ । गिद्धको सङ्ख्या पुनर्स्थापनार्थ नेपालमा हाल जटायु रेस्टुरेन्ट सञ्चालित छन्, जहाँ गिद्दलाई गाइभैँसीको सिनो खुवाइन्छ ।
अहिलेको युगमा ह्वेलिङ र सिलिङ जस्तो व्यापार हरित अर्थतन्त्रमा पर्दैन । आजकल त्यस्ता वातावरण मैत्री व्यापारलाई निरुत्साहित पार्न उपभोक्ताहरूलाई प्रोत्साहन गरिन्छ । उदाहरणका लागि, हङकङका रेस्टुरेन्टमा सार्क फिनको सुपलाई एक उच्चकोटिको परिकार मानिन्छ र अत्यधिक मात्रामा त्यसको सेवन गरिने चलन छ । यो ब्यापारले समुन्द्रमा सार्कको सङ्ख्या गिर्दो अवस्थामा छ । त्यसर्थ सार्क फिन सेवन नगर्न भनी संरक्षण संस्थाहरूले ठुलठुला अभियान चलाइएका छन् ।
सिल र ह्वेललाई अहिले त अन्तर्राष्ट्रिय वातावरण कानुनले नै संरक्षण गरेको अवस्था छ । सिलिङ र ह्वेलिङ अहिले चोरीसिकारी ठहरिन्छ र कानुन बमोजिम त्यस्ता गतिविधि दण्डनीय छन् । जैविक विविधतामा ह्रास आउनुमा जलवायु परिवर्तन र वासस्थान विनाश त छदै छ यद्यपि चोरीसिकारी पनि अर्को प्रमुख कारण हो। त्यही भएर ‘चोरीसिकार’लाई पनि पर्या साहित्यको एक विषय मानेका छौ।
यसरी लेखकले सामुन्द्रिक जीवहरूको सङ्ख्यामा आएको सङ्कटप्रति दर्साएको संवेदना र उपभोक्तावादी तथा साम्राज्यवादी सिकार परम्पराप्रति पोखेको आक्रोश उल्लेखनीय छ । यसले पाठकलाई संरक्षण बहससँग सिधै जोड्छ । अन्तर्राष्ट्रिय स्तरमा पर्यावरणीय समस्या के–के रहेछन् र तिनको संरक्षणमा के कस्ता कार्य भएका छन् भन्ने जानकारी दिन्छ । म स्वयं पनि वातावरणीय संरक्षणमा लामो समय काम गर्दै आइरहेकोछु । तथापि ह्वेलिङ र सिलिङ्को बारेमा यस अघिसम्म अनभिज्ञ रहेछु ।
यी प्रसङ्गले पुस्तकलाई जन्तु केन्द्रित कथनको रूप दिएको छ । अर्थात् जनावरको अस्तित्वलाई साहित्यिक विमर्शको मूल विषय बनाइएको छ ।
पुस्तकभित्र अन्य केही यस्ता विषयहरू छन् जसलाई पर्यानारीवादी सोचबाट पनि विमर्श गर्न सकिन्छ । पहिला–पहिला अन्टार्कटिकामा महिलालाई जान प्रतिबन्ध लगाइएको रहेछ । कठोर वातावरणमा अभ्यस्त हुन नसक्नाले, कतै यौन दुर्व्यवहार भइहाल्ला भन्ने भयले । तर पछि सन् १९३५ मा डेनिस–नर्वेजियन अन्वेषक क्यारोलिन मिक्केल्सन अन्टार्कटिका टेक्ने प्रथम महिला रहेछिन् । (त्यहाँ पुग्ने पहिलो नेपाली भवनसिंह विश्वकर्मा थिए) तर ह्वेल र सिलको सिकार खेल्न जाँदा कम्पनीका कामदारले आफ्ना पत्नीलाई सँगै लग्थे जसलाई ‘ह्वेलिङ वाइभ्स’ भनिन्छ भनेर यस पुस्तकमा उल्लेख गरिएको छ ।
सुरुका दिनहरूमा अन्टार्कटिकामा महिला नपुगेको पनि स्थान नाम चाहिँ महिलाको नाममा राखिएको छ । एक फ्रान्सेली पुरुष त्यहाँ पुगेर एउटा आइलेन्डको नाम ‘एडली’ राखेर आफूलाई पत्नी–प्रेमी दर्साएका रहेछन् । त्यसैगरि अर्जेन्टिनाकी एमिली मार्कोस पाल्मा अन्टार्कटिकामा जन्मिने पहिलो बालिका बनिछन् सन् १९७८ मा । त्यस क्षेत्रमा आफ्नो दावि कायम राख्न एमिलीकी आमालाई सन्तान जन्माउनकै लागि त्यहाँ लगिएको रहेछ । पछिल्लो समय वैज्ञानिक खोजका साथै पर्यटकका रूपमा जाने महिलाको सङ्ख्या पुरुषको भन्दा कम छैन ।
यसरी प्रकृतिलाई नारीसँग जोडेर जीवाले पर्यानारीवादी चिन्तन पोखेका छन् । प्रकृतिलाई स्त्री समान संवेदनशील र असुरक्षित मान्दै आफ्नो लेखनलाई महिला सुलभ स्पर्श दिएका छन् ।
साहित्यमा मानवीय संवेदना आएन भने न्यास्रो महसुस हुन्छ । लेखकले त्यो यात्रामा श्रीमती र छोराहरूलाई पनि जोडेर लेखनलाई अगाडि बढाएको पाइन्छ । घरमा कुरेर बसेकी श्रीमतीलाई सम्झेर अन्टार्कटिकाबाट लेखेको पत्र आफै घर आइपुगेपछि बल्ल हुलाकीले ल्याइदिएको घटनाको वर्णन रोचक लाग्छ । कृतिको पुछारको अनुच्छेदमा छोरा अनुरागले जीवालाई लेखेको चिठ्ठी कृतिको सार हो भनेपनि हुन्छ । चिठ्ठीको एक अंश यस्तो छ–
‘...जबजब तपाईंले कसैलाई अन्टार्कटिकाको अनुपम दृश्यबारे सुनाउनु हुनेछ, त्यो बेला अन्टार्कटिका किन मान्छेका अराजक पाइला र स्पर्शबाट अस्पृश्य नै रहनुपर्छ भन्नेबारे पनि सुनाउनुहोला । किनभने अन्टार्कटिका संसारकै अन्तिम अक्षत स्थल हो; त्यसलाई त्यही रूपमा रहिरहन दिनु हामी मानवजातिका लागि सर्वोत्तम हुनेछ ।’
उक्त पत्रमा आजका पुस्ता पृथ्वीको वातावरणप्रति कति संवेदनशील र त्यसको संरक्षणप्रति कति सचेत छन् भन्ने दृष्टान्त आउँछ । चिठ्ठी पढ्दै गर्दा मलाई क्लाइमेट एक्टिभिस्ट ग्रेथा थुनबर्गको सम्झना आयो । मैले उनै ग्रेथालाई समर्पित गरेर लेखेको कविता ‘मलाई एउटी छोरी चाहिएको छ’ को पङ्क्तिहरू मेरो मानसपटलमा दोहरिए ।
हो, हामीलाई अनुराग जस्तो पर्यावरणीय चेतले भरिपूर्ण छोरा पनि चाहिएको छ । आजका किशोर किशोरीहरू जलवायु चिन्ताबाट ग्रसित छन् । त्यसको सङ्केत अनुरागको पत्रमा पाउन सकिन्छ । मान्छेले आज आफू जति सभ्य भएको दाबी गरेतापनि पृथ्वीप्रति उसको दायित्व त्यति नै कमजोर बन्दै गइरहेको छ । अन्टार्कटिकाजस्तो अक्षत भूभाग आज नाजुक अवस्थामा पुगेको छ र पृथ्वीका अरू स्थानहरू त झनै जोखिममा छन् ।
यात्रामा छँदा छोरा अनुरागले भनेको कुरा जीवाले पटक–पटक स्मरण गर्छन् । अन्टार्कटिकामा त्यसरी निर्बाध पर्यटकहरूलाई यात्रा गराउनू ठिक होइन भनेको रहेछ अनुरागले । त्यो उसको अति–पर्यावादी चिन्तन हो । मेरा केही विचार पनि अनुरागसँग मेल खान्छन् । धर्म र राजनीतिमा अतिवादी सोच भएको त हामीलाई विदितै छ । पर्यावरण संरक्षणको क्षेत्रमा पनि यस्ता अतिवादी चिन्तन, कार्य, र व्यवहार आवश्यक छ भन्छु म त ।
मैले ‘बघिनीको शोकसभा’ भन्ने एउटा कथा लेखेको छु । त्यो कथाको मूलपात्रले आफ्नो बा बित्दा घर जान नभ्याएर काजक्रिया नगरेको, तर आफूले एडप्ट गरेको (धर्मपुत्रीको रूपमा पालेको) गौरी नामक बघेनीको मृत्युमा शोक मनाउन निकुञ्जमा पुगेको दृष्य प्रस्तुत गरेको छु । यो कथा पढेका केही पाठक तथा समालोचकले मलाई अति–पर्यावादीको ट्याग लगाई दिएका छन् ।
अन्टार्कटिका पृथ्वीको ‘अन्तिम अक्षत स्थल’ भएकाले यसलाई मानवीय अतिक्रमणबाट जोगाउनुपर्छ भन्ने दलिलले यो पुस्तकलाई साँच्चै अर्कै उचाइमा पुर्याएको छ ।
आफूले गरेको यात्राले पर्यावरण क्षति हुनबाट मुक्त छैन भन्ने लेखकको स्वीकारोक्ति सह्रानीय छ । पृथ्वीको अन्तिम अप्रभावित स्थलमा पुगेर रोमाञ्चित अनुभव बटुल्नु सकारात्मक पक्ष भए पनि त्यो यात्राले स्वयं प्रकृतिलाई नोक्सान पुर्याइरहेको चिन्ता कृतिभरि प्रतिध्वनित छ ।
प्यारा छोराहरू
मेरो जीवनमा
बाँकी छन् अझै कति गन्तव्य
र बाँकी छन् अझै कति यात्राहरू
अब यात्रामा जाँदा
जहिले पनि
सापट माग्नेछु
तिमीहरूको दृष्टि र विचार...
जीवाको यस कवितात्मक भावले अबको पृथ्वी हाम्रा सन्तानको हो भन्ने सन्देश दिन्छ । यसको संरक्षणको चिन्ता बुढा पुस्तालाई भन्दा ती युवा पुस्तालाई हुनुपर्छ र छ, किनकि जलवायु परिवर्तनको असरलाई प्रत्यक्ष सामना गर्ने त तिनीहरू हुन् ।
अक्सर नियात्राहरू व्यक्तिगत वर्णनमा सीमित रहेको पाइन्छ । तर अक्षत अन्टार्कटिका समग्रमा पर्यावरणीय चेतनाले भरिएको; वैज्ञानिक तथ्य, अनुभूति र नैतिकताको मिश्रण; प्राकृतिक सौन्दर्य, भूगोल, हिमविज्ञान, जीवविज्ञान; इतिहास, राजनीतिशास्त्र र साहित्य सम्मिश्रणको कृति हो ।
यसले केवल अन्टार्कटिकाको वर्णन मात्र गरेको छैन, मानवजातिको प्रकृतिसँगको असमान सम्बन्ध र प्रकृति संरक्षणमा हाम्रो सामूहिक जिम्मेवारीलाई पुनर्विचार गर्न झकझकाएको छ । पृथ्वीको अति संवेदनशील भूभाग– अन्टार्कटिकालाई विषयवस्तु बनाएर प्रस्तुत गरिएको यो लेखन शैलीले पारम्परिक मानवकेन्द्रित कथ्यबाट बाहिर निस्केर इको साहित्यको सिद्धान्तसँग प्रत्यक्ष सम्बन्ध स्थापित गरेको पाइन्छ । यस अर्थमा अक्षत अन्टार्कटिकालाई नेपाली इको साहित्यमा एउटा कोशे ढुङ्गाको रूपमा लिन सकिन्छ ।
र, अन्त्यमा, नेपाली साहित्यको भण्डार पर्या साहित्यका अरु यस्तै कृतिहरुले भरिदै जाउन् । किनकि पर्या-साहित्य मार्फत वातावरण/प्राकृतिक संरक्षणको जनचेतना फैलाउन हामी सबै साहित्यकार÷लेखक लाग्नु पर्ने अहिलेको आवश्यकता हो ।
(लेखक हितान बेलायतको फक्सटनमा बसोबास गर्छन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
सहकारीको प्रयासले फस्टाउँदै दुग्ध व्यवसाय
-
बाँकेका घरवासमा अतिथिलाई सिद्राको अचार
-
क्रिमियामा युक्रेनले ४ जनाको हत्या गरेको रुसी अधिकारीहरूको आरोप
-
जीवनरक्षक औषधिको अभाव चुलिएपछि मन्त्रालयले विभागसँग माग्यो आयातकर्ताको सूची
-
धेरै महँगो हुने भएकाले नेपालले धेरै फरेन्सिक ल्याब बनाउन सक्दैन : महावीर पुन
-
मृत्यु जितेर फर्किएका दावा शेर्पा, तस्बिरहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण